Pages

Pages

Thursday, July 4, 2013

धर्म र प्रगति

पद्म देवकोटा

                वर्षौं अगाडी एक दिन नेपालमा धर्म निरपेक्षताको विरुद्ध हस्ताक्षर संकलन गर्न आउनु भएका एक जना मित्रलाई मैले निराश बनाएको छु । ब्राह्मण कूलमा जन्मिए तापनि आफूले कहिल्यै पनि ब्राह्मणत्वलाई आफ्नो परिचयको रूपमा प्राथमिकता नदिएकोले उहाँको जस्तो धर्मका आधारमा राष्ट्रिय पहिचान कायम रहनु पर्छ भन्ने मेरो मान्यता थिएन । मलाई लाग्थ्यो कि सबै मानिसले आआफ्नो धार्मिक वा अन्य विश्वास लिएर बाँच्न पाउनु पर्छ । हो, जसरी नेपाललाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष मुलूकमा कुनै यौटा शक्ति समूहले सम्भवत् विदेशी प्रभावमा समेत परेर जनमतसङ्ग्रहविना नै बलैको आधारमा धकेलेको थियो त्यो अप्रजातान्त्रिक अभ्यासको यौटा ठोस उदाहरण थियो । तर मेरा मित्र हस्ताक्षर संकलनको सिलसिलामा मकहाँ आउनुभएको ताका मेरो धर्म निरपेक्षताको पक्षमा जे सोच थियो त्यो बौद्धिक पाश्चात्य जगत्को पोषणबाट पलाएको यौटा हाँगा थियो । म त्यस पश्चिमी विश्वको याद गर्दै छु जहाँ एकातिर क्रिश्चियन जगत्ले ईश्वर यौटा मात्र भएको कुरालाई जोड दिंदै बाइबलको विरोध गर्न मनाही गर्‍यो भने आर्कोतिर यस्ता धर्मका निषेधाज्ञा तोड्दै त्यहाँ ती सामाजिक र वैचारिक क्रान्ति जन्मिए जसले मानववादको ध्वजामा अज्ञान, अन्धविश्वास, दमन र शोषणका विरुद्ध मानव गौरव र स्वतन्त्रताका नारा लगाउँदै आए । यस पश्चिमी विश्वले एकातिर आफ्नो बौद्धिक इतिहास र सभ्यताको उद्गमस्थल ग्रीसलाई मानेको छ भने आर्कोतिर गैरइसाइ ग्रीसले मान्दै आएका सारा देवीदेवताहरू क्रिश्चियन धर्मसँगको टक्करमा अडिन नसकेर कसरी सैतानी रूप धर्दै गए भन्ने वयान जन मिल्टनले ओड अन द मर्निङ्ग अफ क्राइष्टस् नेटिभिटीभन्ने कवितामा यसरी गरेका छन् :
Peor and Baalim
Forsake their temples dim,
With that twice-batter’d god of Palestine;
And moonéd Ashtaroth
Heaven’s queen and mother both,
Now sits not girt with tapers’ holy shine;
The Lybic Hammon shrinks his horn,
In vain the Tyrian maids their wounded Tahmmuz mourn.
विजेताले पराजितलाई सँधै केही न केही खोट लगाउँछ, कालो मुसो दल्छ र सैतानीकरण गर्छ । मलाई किन हो कुन्नि यो कविता पढ्दा इन्दस सभ्यताका कृष्णले गोवर्दन पहाड कान्छी औंलाले उचालेर सम्भवत पामीर गाँठो पारीकै इन्द्रको शेखी झारेको याद आउँछ । जन किटस्ले पनि आफ्नो अपूरो हाइपेरियन काव्यमा प्राचीन देवीदेवतालाई नयाँ र बलिया देवीदेवताले विस्मृतिसम्मै धकेलेको मार्मिक कथा हालेका छन्, जवानी र सौन्दर्यको सन्दर्भमा । उनको निम्ति जवानीको तेजीलो सौन्दर्यनै शक्ति थियो । मिथक र कल्पना जहाँ भए पनि यथार्थमा प्रगतिको गतिशीलता विरूद्ध जहाँ धर्म उभिन्छ त्यहाँ द्वन्द सुनिश्चित छ । नेपालमा पनि सामाजिक उन्नती र प्रगतिकै निम्ति धर्म निरपेक्षताको अभियान सुरु भएको अनुभव मैले गरेको हूँ ।
मिथकबाट यथार्थसम्म आइपुग्दा बेलायती इतिहासमा राज्य र धर्मको ढिक्कीच्याउँ शक्तिका आधारस्थलमा निकै मच्चिएका छन् । एकले आर्कोको आलोचनामा युगौं विताए । यही शक्तिको खेलको यौटा रोचक दृष्टान्ट हेन्री आठौंको शासनकालका राननीतिज्ञ, दार्शनिक तथा लेखक टमस मोरको जीवन छ जसलाई विषयवस्तु बनाएर रबर्ट बोल्टले अ म्यान फर् अल सिजन्स शीर्षकको नाटक लेखेका छन् । यही राज्य र धर्मको जुधाईमा टमस मोरले आफ्नो ज्यान गुमाउनु परेको थियो । बार्‍हौं शताब्दीको फ्रान्सबाट सुरु भएको प्रतिधर्मी र नास्तिकहरू विरुद्धको अभियान स्वरूप थालिएको इन्क्वीजिशनले क्रिश्चियन धर्मको राजधानी मानिने रोमबाट युरोपका अनेकौं मुलूकमा कडा धार्मिक नियन्त्रण कायम राख्दै वेलायती राजतन्त्र जस्ता शक्तिहरूलाई समेत प्रभाव पार्दै आएको थियो । रोमको धार्मिक शासन विरुद्ध शुद्ध राजनीतिक शक्ति कायम राख्न ठुलो र लामो प्रयासपछि मात्र बेलायत सफल भएको हो । यसै गरी धार्मिक  प्रभावबाट नवनिर्मित अमेरीका पनि विमुक्त थिएन । त्यहाँ पनि युरोपेली उपनिवेशवादको सुरुदेखिनै प्रभावकारी उपस्थिति जमाउने प्युरिटन्स् र तिनका पिल्ग्रीमस् पादरी तथा मोर्मोन्स्ले राष्ट्र निर्माणका कार्यमा प्रभाव पारेका छन् । तर धर्मको प्रभाव कुन मानव समाजमा परेको छैन र ? स्वच्छ पानी बहने हराभरा फाँटका नदी किनारमा बस्ती बसाएका सबै मानव समाजले आफूहरू उद्देश्यपूर्ण भेला हुने कुनै स्थलमा आफ्नो विश्वासको प्रतीक ठडाएर दिनका दिन त्यस स्थलमा पुगेका छन् र सामूहिक कार्यमा निजी अस्तीत्व सगौरव पाएका छन् । गंगा र सिन्धुका तटमा धेरै मन्दिर ठडाइएका छन् जसका इतिहास र गौरवले आजसम्म पनि एक अर्कासँग अपरिचित लाखौंका भावना एकत्रित गर्दै आएका छन् । तिनै सिन्धुका तटमा अवस्थित आस्थापुञ्जहरू हिन्दुत्वको नाममा यौटा यस्तो सभ्यता बनेको हो जसलाई न मुसलमानको आक्रमनले न बेलायतको साम्राज्यवादले नाश गर्न सक्यो । नेपाल पनि यही सभ्यताको यौटा दरो खम्बा बनेर विश्वको एक मात्र हिन्दु राज्यको पहिचान जमाएर बसेको मुलूक थियो । यस प्राचीन गौरव नाश हुन लागेको देखेर धेरैलाई चिन्ता लाग्नु स्वाभाविक थियो ।
                हुन पनि प्रत्येक मन्दिर यही सभ्यताको भावनाको डल्लो हो जसमा त्यस वरपरका मानिसहरूको संस्कार र संस्कृति गाँसिएको हुन्छ । उनिहरूको जीवनको आरम्भ र अन्त्य यिनै मन्दिरमा हुन्छ । व्रतबन्ध र विवाह जस्ता जीवनका हर महत्त्वपूर्ण कार्य यहीँ सम्पन्न हुन्छन् । यिनै मन्दिरका वरपर निवास बन्छन्, आवागमन चल्छन् र व्यापार पुष्टिन्छन् । यसरी मन्दिरहरू हाम्रा जिवनका केन्द्रविन्दु बन्न गएका छन् । क्राइष्टले भने झैं मानिस अन्नले मात्र बाँच्न सक्दैन । वामे, प्रगतिशील, समाजवादी र कम्युनिष्टहरू सबैले मानिसको समाजिक पक्षलाई मात्र महत्त्व दिंदै उसको व्यक्तिगत तथा नितान्त निजी र आध्यात्मिक पक्ष केही होइन भने जस्तो गर्दछन् । मलाई भने कम्युनिष्ट क्रिश्चियन, समाजवादी इश्लाम, वामे आस्थिक र प्रगतिशील हिन्दू यस विश्वमानव जगत्का अव्यक्त यथार्थ हुन् जस्तो लाग्छ । वामपन्थी सोचले मानिसको आध्यात्मिक यथार्थ निखार्न सक्दैन । बरु यस्ता सोचका व्यक्तिहरूले नै पनि बराबर त्यस्तो आध्यात्मिक एकान्तबाट आनन्द पाएको हुनुपर्छ जुन एकान्तले सूर्य उदाएको हेर्दा, हिमालका सेता पंक्ति निहार्दा वा चराले गाएको सुन्दा ह्दयमा एक प्रकारको आनन्दको घाम लगाइदिन्छ । कल्पना, मिथक, भ्रम, सपना, आस्था र यस्तै यस्तै कुराले सिर्जिएको निजी विश्वविना मानवता सँधैका लागि अपूरो रहन्छ । कार्ल माक्र्सले बुझेको यस सत्यलाई अन्य कतिपय माक्र्सवादीहरूले बुझेनन् वा बुझ्न चाहेनन् । ह्दयको कुनै प्रगाढ आस्थाविना जीवन धर्मराउँछ, जीवनका लक्ष र मूल्य अल्मलिन्छन्, सोच खल्बिलिन्छ र समाज टुक्रिन थाल्छ । धर्मको जति विरोध गरे पनि यसले मानव समाजलाई युगौंयुगसम्म एकत्रित, अनुशासित र संवेदनशील बनाएर राख्न मद्दत पुर्‍याएको तथ्य अनास्थाको ढिपीले इतिहासबाट मेट्न खोज्नु मुर्खता मात्र हो । मानव सभ्यता आस्थाको ढुक्ढुकीमा आधारित छ, अनास्थाले बर्बरतालाई प्रोत्साहन गर्दछ । धर्मले जीवनका हर पेशा, शिक्षा, उमेर, प्रान्त, आदिका मानिसलाई एकत्रित गरेको छ, उनिहरूलाई सहवास, सत्संगत, आपसी सहयोग र आस्था तथा त्यसैमा आधारित कार्यक्रममा जुट्न सहायता गरेको छ । यसरी युगौं युगसम्म धर्मले मानव समाजको संरक्षण गर्दै आएको छ ।
                धार्मिक थलोको परिशर बाहिर सुरु भएको व्यापारले आज धर्मको नाममा र मन्दिरभित्रै पनि यसरी प्रभाव जमाइसकेको छ कि यसले हाम्रो सोच्ने तरिकामै परिवर्तन ल्याएको छ । अब हामी नबोल्ने ढुङ्गोलाई देवता मान्न छोडिसक्यौं । हामीलाई हाम्रा प्रार्थनाका नतिजा तराजुमा उठेको देखे मात्र विश्वास गर्ने आदत लागिसकेको छ । त्यसैले नयाँ ईश्वरहरू ती दरबारमा बस्न थालेका छन् जसका ढोकाढुकाईले साधारण मानिसको जिन्दगीमा रौनक धेरै पटक ल्याएकोले उसले आदतैले फेरी पनि दरबारको ढोका ढुक्न जान सिकीसक्यो । ढोका ढुक्न सगर्व नजानेले नै पनि पुजारीले दिने पर्सादले भन्दा व्यापारीले दिने छुटले आफ्नो जीवनमा सुख थपेको अनुभव पक्कै गरेको हुनुपर्छ । साधारणतया कल्पिएको सुखभन्दा अनुभव गरिएको सुख वास्तवीक लाग्छ । त्यसैले स्वर्गभन्दा पृथ्वीकै मोजमज्जा ठुलो मान्नेहरूका लागि प्राचीन मन्दिरभन्दा आधुनिक मल आनन्ददायी स्थल बन्न गएको छ । यस्ता उपभोक्ता समाजका सदस्यहरूले सार्थक र सफल जीवनबीच खासै फरक नदेख्ने भएकाले भौतिक सम्पन्नता र ऐशलाई जीवनको लक्ष बनाएर चल्न थालेपछि मानव संस्कृतिमा विकार पनि बढ्दै गयो । उनिहरूको सम्पन्नता प्रदर्शन गर्ने प्रवृत्ती, आर्थिक दौड र संस्कारको अभावको संयुक्त त्रिवेणीमा जीवनको आध्यात्मिक खुराक जेठको शीत बनेको छ ।
धर्मले मानिसलाई ह्दयको गहिराइमा छुन्छ, खल्तीको गहिराइमा होइन । खल्तीको वजनमा विश्वास गर्नेहरूका लागि नोटको क्रय क्षमता र बजार भाऊले उनिहरूको सुख र शान्ति खल्बलाउने वा सन्तुलित राख्ने काम गर्छ, तर धर्ममा विश्वास राख्नेहरूका मूल्य र मान्यता अन्तै छन् । ईश्वर सम्झिन दु:ख भोग्नु पर्छ भने झैं धार्मिक आस्था पलाउन ढुकुटी हल्का हुनुपर्छ कि जस्तो लाग्छ । कम्युनिष्ट चीनको राजनीतिक विमर्षले धर्म निषेध गर्‍यो भने अमेरिकी पूँजिवादले विकाशको नाममा धार्मिक अभ्यासका परिधीलाई राज्यको कानूनी संरक्षण क्षेत्रको घेराभित्र हाल्दै छ । अज्ञान र आर्थिक मलिनताको दोहोरो चेपमा परेको चेतना धर्मपूर्वको जादुचिन्तनतिर ढल्किन्छ । यस सोचाईले जेम्स फ्रेजरले बताए झैं टाढैबाट वस्तुहरूको समानताको वा नजिकबाट वास्तविक संस्पर्शको आधारमा उच्चारित ध्वनि वा मन्त्रद्वारा भूतप्रेत, भौतिक पदार्थ तथा मानिस र देवताहरू उपर नै पनि प्रभाव पार्न सक्ने विश्वास राख्छ । धर्मले यसभन्दा एक कदम अगाडि बढेर भौतिक विश्व तथा संपूर्ण प्राणीउपर कुनै आध्यात्मिक शक्तिको प्रभाव रहेको कुरा स्वीकार्छ । त्यसैले मानव चेतनाको विकाशको क्रममा जादुचिन्तनबाट धर्ममा प्रवेश गर्दा यसरी रूपान्तरीत सभ्यताले यौटा सिङ्गो कोल्टे फेरेको थियो । त्यसको धेरै पछि कार्ल माक्र्सले धर्मलाई जनताको अफिम भन्दै यसको विरोध गर्दै मिथकीय कल्पनालाई हतोत्साही पारे । यसै गरी कार्ल गुस्ताभ योङ्गले अलि कडैसँग सबै देवताहरू रोग बनेको तर्क प्रश्तुत गरे । त्यसै ताका डार्विनले प्राइमेटको र प्राकृतिक छनौटको रहस्य खोलेर एकातिर ईश्वरको रूपमा मानिस बनेको बाइबलको धारणालाई नकारे भने ढेडु मानिसको सभ्यता विकासोन्मुखी मात्र होइन कि र्‍हासोन्मुखी पनि हुन सक्ने तथ्यलाई समान सम्भावनाका रूपमा स्थापित गरे । यस्तै यस्तै तर्कका प्रभावमा राजनीतिक चिन्तन र अभ्यासले नै पनि धर्मको उपस्थितिमा मात्र आर्थिक विकाश देख्न छोडेर भाग्यवादको ठुलो विरोध गर्दै सामुहिक सहकार्यमा जोड दिन थाल्यो । सबैलाई थाहा भएको कुरा हो, समाजवादी रुसमा भौतिक विकाशसँगै धर्मको नाश हुँदै गएको थियो; तर शीतयुद्धपश्चात् कमजोर अर्थतन्त्र भएको त्यही रुसमा धर्मको प्रभाव बढ्दै गयो रे भन्ने पनि सुनियो । विकास, प्रगति, उद्योगीकरण, तक्निकीकरण, आधुनिकीकरण, भौतिक उन्नती र आजको शब्दावलीमा आर्थिक उन्नती पनि पर्यायवाची शब्द हुन् । जति प्रगतिशील भयो उति आत्मनिर्भर बनेको समाजमा परमेश्वरको बल मलिन भएर जाँदो रहेछ । यसैले होला भौतिकवादी प्रगतीशील समाजको विचारमा धर्म केवल अन्धता हो । उनिहरूको सच्चा आँखाले सामन्ती शत्रु देख्छ र मनको आँखाले शोषणरहित समाज मात्र
                आध्यात्मिक दृष्टिकोणबाट हेर्दा प्रगतिको नाममा ईश्वर नकार्नु आर्को खाले अन्धता हो जसले विज्ञानको विनम्रतासमेत स्वीकार्न नसकेको बताउँछ । मानिसले ईश्वर त्यस दिन नकारुन् जुन दिन उनिहरूले निर्णायक ढङ्गले भाग्य नकार्न सक्छन् । नत्र सम्भाव्यताका गणितीय अभ्यास गैरवैज्ञानिक हुन् भनेर प्रमाण दिन पनि सक्नु पर्छ । विज्ञान यथार्थ बुझ्ने प्रयास मात्र हो । अन्तिम यथार्थ बुझ्ने यहाँ कोही पनि छैन । सबै आआफ्नै बुझाईको हठमा चुर्लुम्म डुब्दा विवेक पनि साथसाथै डुबिदिन्छ । ईश्वर जे होला त्यसको सम्भावना स्वीकार्नु बुद्धिमानी हो किनभने आफूभन्दा शक्तिशाली तत्त्व नकार्नु घमण्ड हो । अनास्थाको भौतिकवाद प्रकृतिको चक्रसँग सँधै परास्त छ । प्रकृति स्वयं नाशवान् छ । नाश र निर्माणको क्रममा पदार्थ उर्जा बन्ने र उर्जा पदार्थ बन्ने क्रम नितान्त चलिनै रहन्छ । मानिस स्वभावैले  आस्था उमार्ने प्राणी हो । विकृतिले अनास्था उम्रिन्छ । यसो हुँदाहुँदै पनि तटस्थ दृष्टिले हेर्दा हामीलाई आस्थिकता र नास्तिकता बीचको होडबाजीभन्दा सुखी जीवनको लागि संवेदनशीलताको बढी खाँचो छ । आस्था र अनास्थाको सहअस्तित्व सहनशीलता, शिष्ठाचार र संवेदनशीलताबाट संम्भव छ । सुख, स्वास्थ्य, शान्ति बजारका मूल्य होइनन्, न हुन् यी आलु र प्याज यस विश्वमा आलु र प्याज बाहेक अन्य धेरै महत्त्वपूर्ण कुराहरू छन् जसको मूल्य पेटले होइन ह्दयले मात्र बुझ्न सक्छ । मानवता गणीत र तर्कमा अटाउँदैन, कल्पनामा छचल्किन्छ । यदि ईश्वर मानिसको मिथकीय कल्पना मात्र रहेछ भने पनि कल्पनाबाट प्राप्त हुने उसको आनन्दउपर आक्रामक वचन र कार्य सदाका लागि तुच्छ छन् । मानिसले विश्वासका लागि ज्यान दिन सक्छ । कल्पना नै किन नहोस्, ईश्वर जस्तो कल्पनाको निम्ति ऊ ज्यान दिन सक्छ किनभने उसको ह्दयले यसको मूल्य तोकिसकेको छ । यस्तो विश्वासको अनादर गर्ने प्रवृत्तीलाई सभ्यता भनिदैन । यो प्रगति हैन, निर्मल ह्दयको अनावश्यक विकार हो ।
                पश्चिमी मुलूकहरूले बाइबल र धर्म उपर प्रश्न चिन्ह ठडाउँदै गए । प्रश्न गर्न वा व्याख्या गर्न ग्रन्थ पढ्नै पर्छ । बाइबल सन्डे स्कूलको साक्षारता अभियान मात्र बनेन, स्कूलका र कलेजका पाठ्क्रममासमेत यसले प्रवेश पायो । नेपाल जस्तो कुनै बेलाको हिन्दू राष्ट्रमा समेत ती दिन थिए जब पादरीहरूले साहित्य र संस्कृति बुझ्न आवश्यक विषय भनेर नेपाली बालबच्चालाई बाइबल पढाउँदै आए । यस्ता अध्ययन गर्ने र गराउने क्रममा पश्चिममा क्रिश्चियन धर्मग्रन्थको व्याख्या यति धेरै भए कि यिनकै आधारमा यस धर्मका हजारौं शाखा र उपशाखा उम्रिदै गए वापत क्राइष्ट स्वयंले म त क्रिश्चियन होइन †” भन्नु पर्ला जस्तो स्थिति पनि आइसकेको छ । यसै गरी कार्ल माक्र्सले आफ्नो अर्थतन्त्रबारेको सिद्धान्त राजनीतिमा लागू गरेको देखेर आफू माक्र्सवादी नभएको कुरा बताउन बाध्य भएका थिए । समाजको सशक्तिकरण आधुनिकताको मूलाधार हो । युगौंदेखि धर्मले समाज सुधार्ने र त्यसका प्रत्येक व्यक्तिको आध्यात्मिक भविष्य सपार्ने अभिभारा लिएर यस अभियानमा पादरी र पुरोहितको सहायता लिएर शक्ति जमाउँदा जमाउँदै समाजले धर्म यसरी आफूमा सोस्यो कि अब समाजले धर्मका सीमाहरू निर्धारण गर्दै आफू भने ठोस जगत्को भौतिक खनिज र अन्य सम्भावनाको खोजमासमेत समर्पित भयो । उपनिवेशहरू बनायो । धर्मभन्दा समाज गतिशील रहेछ, व्यापक रहेछ । व्यापकले कम व्यापकको सीमाना निर्धारण गर्छ । तर समाज भनेको राजनीतिको र राज्य वा राष्ट्र संरचनाको आधार पनि हो र यही समाजको आड पाएर पश्चिममा राज्यले धर्मउपर प्रथम विजय त्यस दिन पायो जुन दिन रोमका प्रमुख पुरोहित र बेलायतका राजा दुइवटा अलग अलग र स्वायत्त शक्तिका रूपमा स्थापित भए । व्यापकताको हिसावले अतुलनीय हुँदाहुँदै पनि नेपालमा झण्डैले यस खाले घटना धर्म निरपेक्षता घोषणा भएको दिनमा यस अर्थमा घटेको हो कि यहाँ पनि धर्म र राज्यशक्ति फाटेर दुइ अलग अस्तित्वमा परिणत भएका हुन् । अब सनातन धर्म हिन्दु राज्यको स्वायत्त शक्तिको एकलौटी आधारविना अडिरहन सक्छ भन्ने देखाउन निरपेक्ष लोकतान्त्रीक राष्ट्रले यसलाई सहायता गर्न अत्यन्त आवश्यक भएको छ ।
                अबको नेपालमा हिन्दुको सबैभन्दा बलियो प्रतिद्वन्दी क्रिश्चियन हुने स्थिति पैदा भएको छ । उन्नाइसौं शताद्वीको अन्त्यतिर देखि नै वेलायती साम्राज्यले सनातन जस्ता पूर्वेली धर्मले क्रिश्चियन धर्मको प्रचारमा कडा रोक लगाउन सक्ने कुरा बुझिसकेको थियो । त्यस ताका वास्तवमा नै साम्राज्यविरुद्ध हिन्दु सभ्यता बलियो भएको हुनाले मात्र आफ्नो धर्म संरक्षण गर्न सफल भएको थियो । तर अहिले पुन: फर्किएको आर्को छाल अझ निस्फिक्री अगाडि बढ्दै छ । यौटा मात्र ईश्वर भएको सत्यलाई अघि सार्दै हिन्दुका देवीदेवताहरूको गति ग्रीस र रोमका देवीदेवताका समान हुने कुराको संकेत दिंदै, अशिक्षित र गरीव जनतालाई क्रिश्चियन मार्काका शिक्षा दिंदै र पैसा बाँढ्दै हिंडेपछि भोलिको नेपालमा क्रिश्चियनको बाहुल्य हुनु स्वाभाविक हुने छ । हिन्दुहरूको जन्म, मृत्यु, बिवाह र व्रतबन्ध जस्ता आवश्यक कर्महरू साधारण व्यक्तिको आयले धान्न मुश्किल पर्ने भइसकेको हुँदा र धर्म परिवर्तन गर्दा केटाकेटीको थोरै भए पनि शिक्षासमेत सुनिश्चित हुने हुँदा धेरै गरीव नेपालीहरू क्रिश्चियन बनेका छन् । तर धर्म निरपेक्ष राष्ट्रमा धर्म नत्यागी विश्वास परिवर्तन गरेछन् भने पनि के भयो त ? आजका नेपाली बुद्धिजीवी कहलिएकाहरूले पनि त विश्वास बेचेर ज्यान पालेकै छन् सबैले आआफूले देखेको र भोगेको सत्य सबैभन्दा राम्रो हो भनेर त्यसको प्रचार गर्ने अधिकार पाउनै पर्छ । सनातन धर्म अल्प संख्यकको भएछ भने पनि के भयो त ? जन्मले जात पाउन हामी जस्तै अरू पनि बाध्य हुने नै छन् स्वेच्छा र विवेकले आस्था अपनाउनु के गल्ति हुन्छ र ? लाखौं नेपालीले धर्म परिवर्तन गर्न थालिसके । उनिहरूको शिक्षाले कहिल्यै पनि उनिहरूलाई हिन्दु बन्नुको महत्त्व बुझाएन । जुन जुन बेला कुनै नवजवानले आँट गरेर धर्मउपर कुनै प्रश्न गरे तिनलाई चित्त बुझ्दो जवाफ दिने शायद कोही भएनन् । धर्मग्रन्थमा यही भानिएको छ अथवा पुरेतले यसै गर्नु पर्छ भनेका छन्, त्यसैले भनेको मान्नु पर्छ र गर्नु पर्छ भन्ने खालका बुढाहरूका हास्यास्पद जवाफ बाहेक सही छलफलको अवशर कमैले पाए होलान् । सबैले परंपरावादी बन्न अझै पनि  घर र समाजबाट प्रोत्साहन पाइरहेका छन् । विश्व अगाडि बढ्न चाहान्छ, धर्म जम्न चाहान्छ ।
                अनि त मानिस नास्तिक र अविश्वसी भएर जान्छ । यस्तै मानिसहरूको समूह प्रगतिको र अग्रगामी विचारको नाममा भौतिकवादी, माक्र्सवादी, माओवादी, इत्यादी बनेका छन् । अनि अल्प शिक्षित पुरोहितले झैं उनिहरूले पनि आफ्नै हठमा डुबेर विवेकसमेत गुमाउने संभावना बलियो देखिन्छ पनि । गरीवप्रतिको कर्तव्यको नाममा भ्रष्टाचारीहरूका नेताहरूका सामन्ती अनुहार देख्दादेख्दै पनि निरपेक्ष लोकतन्त्र र वैज्ञानिक चेतना फर्फराउने प्रयासमा आफूहरू नवसामन्तीवर्गमा परिणत भएको पत्तो पाउँदैनन् वा पाएर पनि चुप लाग्छन् । उनिहरू एकातिर कुनै यौटा धर्मको पहिचानमा राज्य संचालन हुनु प्रगतिशील दर्शनका लागि वैज्ञानिक कुरा हुन सक्दैन भन्छन् भने आर्कोतिर जात र जातिय पहिचानका आधारमा सहअस्तीत्वमा विश्वास नभएझैं गरी नेपालीपना टुक्राउनुलाई विवेकपूर्ण कदम देख्छन् । शान्तिको साँचो सहअस्तित्व हो । धर्म जस्तै जात र जातिय परिचय पनि समाजका विभिन्न सांस्कृतिक रूप मध्येकै अनेक वास्तविकता हुन् र सबैलाई यस धर्तीमा बाँच्ने अधिकार छ । तर आजको नेपालमा प्रगति बहिरो छ, अन्धो छ धर्म जस्तै । प्रगति आँखा चिम्लिएर दिशाहीन कुदिरहेछ, हान्निइरहेछ विनाशको अन्धकारमा केवल नाराकै भरमा, यौटा घन्किएको मन्त्रनारा जुन चारैतिर व्याप्त छ – “निर्माणका लागि विनाश †” कति राम्रो नारा छ यो यदि पत्यारिलो भइदिएको भए यदि कानूनसम्मत भइदिएको भए प्रत्येक ह्दयका लागि फौंजी रेखीय गतिभन्दा नदीको जस्तो लहडी गति प्यारो लाग्छ । समाजलाई रेखीय गतिमा लैजान खोज्ने प्रत्येक शासकले कतै गएर व्यक्तिको ह्दय कुल्चिएकै हुन्छ । तर ह्दयमा बाँच्नेले दु:ख र पीडा पनि स्वीकार्न र सहन सिक्नु पर्छ । यो सामाजिक जीवनको बाध्यता हो ।
                धर्म पनि आँखा चिम्लिएरै बसिरहन चाहेको देखिन्छ । यसले आत्मआलोचना नगरेको खण्डमा चारैतिरबाट परित्यक्त हुने अवस्था एकातिर आएको छ भने आजका अल्प शिक्षित पुरोहितका वचनमा हजारौं वर्ष अगाडिका ज्ञान अडाएर तिनै ज्ञानका आधारमा बनेका नियम आजको समाजमा लागू गरिरहन खोज्नु अब्यावहारिकताको उत्कृष्ट उदाहरण हो । निराकार बाहेक सबै परिवर्तनशील छन् भन्ने बुझेको धर्मले आफ्ना नियमहरू समाज र समय सापेक्षित पार्दै नलैजानु आफ्नै अन्त्य निम्त्याउनु हो । धर्म निरपेक्षता कानूनको आँखामा सबै धर्मको सहअस्तित्व हो भने सबै धर्मको कानूनी राज्यमा अस्तित्व पनि हो । जबसम्म कुनै पनि धर्मले जनताले बुझ्ने भाषामा बोल्दैन, जनताले त्यो धर्म बुझ्दैन र मान्दैन । रुढि र रीतिका भरमा एक्काइसौं शताद्वीको समाज चल्न चाहाँदैन र सक्दैन पनि । यसको लागि स्कूलदेखि नै सरल भाषामा धार्मिक साहित्यको महत्त्व नबताउने हो भने आजको अन्तर्राष्ट्रिय भाषामा सजिलो अंग्रेजीमा लेखिएको बाइबल धेरैका लागि सुपाच्य हुने प्रष्ट छ । यसका नेपाली उल्थाहरू पनि आउन थालिसकेका छन् । धेरै धर्महरूमध्येको यौटा सनातन धर्मले आफ्नो प्रभाव कायम राख्न अब आत्मआलोचना गर्दै समय सुहाउँदो रूपमा समाजमा उपस्थित हुनु अत्यावश्यक भइसकेको छ । अब हिन्दुको रगतमा संस्कृत र संस्कार बगेको धाक लगाएर संस्कृतिको संरक्षण गर्न नसकिने कुरा पनि प्रष्ट छ । यस यथार्थलाई नकार्नु सनातन धर्मीहरूका लागि हानिकारक छ । अब आस्था जोगाएर धर्म परिवर्तनशील बन्नु नितान्त आवश्यक छ । साथै धार्मिक आस्था राखेर आआफ्ना पेशा र क्षेत्रमा ठुलो योगदान दिने मानिसहरू पनि छन् जसले आफूलाई प्रगतिवादी वा प्रगतिशील नभनिकन राष्ट्र र समाजको सेवामा जुटेका छन् । यस्ता मानिसका आस्था कुल्चिनु नास्तिकहरूका लागि पनि हानिकारक छ । कट्टरता पाप हो चाहे त्यो धार्मिक होस् वा प्रगतिशील होस् ।
                माथि भने झैं धर्म निरपेक्ष मुलूकमा सबैले आआफ्नो विश्वास अँगाल्ने अधिकार छँदै छ । त्यसैले संख्यात्मक ब्राह्मणत्वमा र्‍हास आए पनि गुणात्मक ब्राह्मणत्वको विकाश होस् । यसमा सबै नेपालीले गौरव गर्ने नै छन् । यस्तै  राष्ट्रको प्रगति र सामाजिक गतिशीलता पनि आवश्यक कुरा हुन् । धर्म निरपेक्ष समाजमा व्यक्तिको भौतिक सुख र शान्तिको एकलौटी जिम्मा राष्ट्रको हुन्छ । तर जसरी कुनै बेलामा धर्म सबैको साथी थियो यसलाई पन्छाएपछि राष्ट्रले हामीलाई साथ दिन नसके वापत हामी अझै मुन्टो फर्काएर त्यही विगतलाई हेर्दै छौं जहाँ कमसेकम दिलको दर्द मानिसहरूले आफ्नो आस्थाको ईश्वरसँग पोख्न पाएका थिए ।

साउन ३, २०६९


“सुकुलमाथि” : प्राकृतिक र अप्राकृतिकको सवाल

पद्म देवकोटा

                कला कला जस्तो नदेखाई प्रयोग गर्न जान्नु नै सच्चा कला हो । श्रृङ्गारभन्दा सरल सहजता ह्दयस्पर्शी हुन्छ । लक्ष्मीनिबन्ध संग्रहको लेखनशैलीको यौटा विशेषता यही हो । उदाहरणको लागि सुकुलमाथिपढ्दा सुरुमा लेखकको लहडले टिपेको विषयमा यौटा रसिलो गफ सुनेको जस्तो मात्र लाग्छ । तर यस निबन्धको लेखनशैली र विषयवस्तु दुवै सतही छैनन् । केवल भाषा बोलिचालिको सरलता टिपेर मानव समाज र त्यसका आचरणका प्राकृतिक र अप्राकृतिक पक्षलाई निबन्धकारको दृष्टिकोण मार्फत् छर्लङ्ग्याउँदै यसरी बहन्छ कि त्यसको प्रवाहका साथै बग्ने पाठकले धेरै मिहिन कुराहरू छुटाएरै पनि संतुष्ट भइदिने खतरा छ । तसर्थ सुकुलमाथिको विषयवस्तुका केही पत्र पल्टाएर हेर्ने अभिप्राय यस आलेखले राखेको छ ।
                कुनै पनि साहित्यिक अभिव्यक्ति स्वरका न्यूनतम तीन तहमा केलाउन सकिन्छ । पहिलो तह हो लेखकको स्वर अर्थात् लेखक स्वयंले प्राप्त गरेको अभिव्यक्ति जसमा उसका विश्वास र प्रवृत्तीसमेत झल्किएका हुन्छन् । उसले केही भन्न चाहेको हुन्छ, तर उसले त्यो कुरा भन्ने क्रममा कति स्पष्टसँग, कति मिठोसँग, कति विश्वसनियताका साथ सो कुरा भन्न सकेको छ भन्ने कुरा अध्ययनको यौटा तह हो । दोस्रो तह हो युगको स्वर अर्थात् लेखकमार्फत् निस्किएको युगको आवाज । लेखक व्यक्तिको रूपमा समाज र शक्ति केन्द्रहरूसँगको सम्पर्कमा रहे वापत यिनका उसमाथि परेका प्रभाव तथा उसका व्यक्तिगत प्रतिक्रियाहरू उसका अभिव्यक्तिमा झल्किनु स्वाभाविक हो । जहाँ शक्ति छ, त्यहाँ द्वन्द्व छ । यी द्वन्द्वहरू लेखमा कसरी उत्रिएका छन् भन्ने कुराको अध्ययन आवश्यक र सार्थक छ । अनि तेस्रो तह हो भाषाको स्वर अर्थात् भाषाको आफ्नै आन्तरिक झन्कार । तीर हानेपछि धनुषको टङ्कार गुञ्जिएझैं लेखकले भन्ने कुरा भनेपछि भाषिक माध्यम लेखकले दिएको अर्थमा हैन कि आफ्नै सम्भावनाका अर्थहरूमा झन्किन्छ । भाषाको स्वभावैले गर्दा लेखकले यौटा अर्थमा बोले पनि लेखमा धेरै अर्थ र धेरै स्वर निस्किन सक्ने भएकाले तीनको लेखउपर रहेको प्रभावको अध्ययन गर्न सकिन्छ । यसो गर्दा ख्याल राख्नु पर्ने कुरा यो छ कि लेखकले भन्न चाहेको कुरा यही हो भनेर ठम्याउन धेरै कठिन छ; लेखले बोलेको कुरा सप्रमाण प्रस्तुत गर्न सकिन्छ । यसैले लेखकलाई भन्दा लेखलाई विश्वास गर्नु उचित र उपयोगी समालोचकीय अभ्यास हो जसका लगि पाठकेन्द्रित अध्ययन आवश्यक पर्छ । यस स्वर सैद्धान्तिक आग्रहलाई ध्यानमा राखेर सुकुलमाथिनिबन्धको चर्चा गरौँ ।
                छोटकरीमा भन्नु पर्दा पठनको पहिलो तहमा यस निबन्धमा प्राकृतिक जीवनको प्रतीक (सुकुल) र अप्राकृतिक जीवनको प्रतीक (टेबुल र मेच) को ध्रुवत्वमा अप्राकृतिक तथा आधुनिक सभ्यताको परिवेश (कोठभित्रको टेबुल र मेच) र प्राकृतिक तथा प्राचीन परिवेश (बँगैचामा ओछ्याएको सुकुल) को आपसी बेमेलबाट उठेका अन्य मानवीय आचरण र व्यवहारका द्वन्द्वलाई समेत समेटेर प्राचीन महर्षीका स्थिर पद्मासनमा एकाग्र चित्त र मूलग्राही चेतनाले समेटेका सार्थक चिन्तन तथा सच्चा बोधका विरुद्ध मेचका माष्टरहरूका चंचलता र उनिहरूको पल्लवग्राही चेतनाबाट पलाएका नक्कल, उल्था, उतार र आधुनिक अज्ञान (२५)यस निबन्धले लेखकको भावनाको तराजुमा जोखेर पाठकलाई पस्किएको छ । पठनको दोस्रो तहमा गएर महर्षी र माष्टरमा राणाकालिन राजधानीको परंपरागत संस्कृत शिक्षा र आधुनिक अंग्रेजी शिक्षाको भेद बोलेको छ भने यसको साथसाथै वेद र आधुनिक अज्ञानको भेद पनि संकेत गरेको छ । यस अर्थमा टेबुल र मेच पनि अंग्रेजी भाषा जस्तै नेपालमा भित्र्याइएको त्यो शीप र संस्कृति हो जुन थोरै सचेत भनाउँदा व्यक्तिले बाहेक स्वदेशमै सुकुल बुनेर त्यसको प्रयोग गर्ने जनसाधारणको आदति चेतनाले सहज स्वीकार्न सकिरहेको थिएन । यहाँ मैले भौतिक सुविधाको रूपमा नेपालीले टेबुल र मेच रूचाएनन् भन्न खोजेको हैन; टेबुल र मेचले औँलाएको म्लेच्छको भाषा र संस्कृति नेपालभित्रका सबै समूहले न पाउने थिए, न रूचाएका थिए । म्लेच्छ कहलिएको भाषा र संस्कृति त्यस समाजका लागि प्राय: अस्वीकार्य नै थियो । यस अवस्थामा लेखक स्वयं प्राचीन र संभवत त्यसैले प्राकृतिक सभ्यताको परिष्कृत निरन्तरताको पक्षमा र केही हदसम्म म्लेच्छशब्दमा अन्तर्निहित भाव नस्वीकारीकनै पनि साधारण सामाजिक मान्यताको पक्षमा आयातित पश्चिमी सभ्यता उपर शङ्का उठाउँदै उभिएका देखिन्छन् । सामान्य बुद्धि सँधै विद्रोही हुनु पर्ने आवश्यकता छैन । स्वास्थ्यकै हिसावले पनि मेरूदण्ड सीधा राख्ने अभ्यास टाउको घोप्टाएर छातिको भरमा लेखपढ गर्ने बानी (जसले गर्दा गर्धनका हाड खिइन सक्छन्) भन्दा स्वास्थ्यकर भएको स्वीकार्दै यसकै आधारमा मानव प्रगतिको कृत्रिम पक्षउपर यस निबन्धले प्रश्न उठाएको पाइन्छ । अनि पठनको तेस्रो तहमा गएर निबन्ध केलाउन बस्दा प्राकृतिक र अप्राकृतिकका भेदउपर निबन्धको भाषा यसरी झन्किएको छ कि हामीले लेखकलाई तपाईंले यसै भन्नु भएको हो त ?” भनेर प्रश्न गर्न आवश्यक पर्न जान्छ । यसरी तीन सय आठ शब्दमा देवकोटाले प्राचीन संसारको, वेदको, ऋषिमुनिको, एकाग्र चिन्तनको, प्राकृतिक जीवनको र उद्देश्यपूर्ण सोचको पृष्ठभूमिमा आयातित संस्कृति विरुद्ध सच्चा नेपालीपनाको चित्रण गर्दै आर्य संस्कारमा उभिएको परंपरा र नेपालीको आफ्नोपनाको कदर गर्न सिकाएका छन् ।
                लेखकले पछि २००२ सालमा प्राकृतिक र प्राचीन सभ्यताको महिमा नेपाली शाकुन्तलमा पनि मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको /हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको” (१.३) भनेर गाएका छन् । आज ती नै हरफको याद गर्दै सुकुलमाथिमा भेटिएका आयातित आधुनिकताको विपक्षी देवकोटालाई भारतवर्षकै सोचका आधारमा केलाउन मन लागेको छ । एकातिर हामी उनीलाई रोमान्टिक भन्न रुचाउँछौ, मानौं कि त्यस शब्दले ईश्वी अठ्ठारौं शताव्दी बुझाउँछ । आर्कोतिर रोमान्टिक धारा नेपाली साहित्यको इतिहासको निम्ति आधुनिक नै हो । वेलायती साहित्यको सन्दर्भमा पनि रोमान्टिक धाराको आरम्भसाथै साहित्यको आधुनिक युगारम्भ भएको मानिन्छ । यस अर्थमा देवकोटा आधुनिक बाहेक केही हुन सक्दैनन् । त्यसैले देवकोटालाई प्राचीन भारतवर्षीय संसार रूचाउने आधुनिक रोमान्टिक कवि मानिदिंदा आपत्ती छैन । वेलायती रोमान्टिक कविहरू पनि त प्राचीन ग्रीसमुखी थिए । उनिहरूले त्यसवेला विदेशी सभ्यताको गाथा गाइरहेका थिए भने देवकोटाले हाम्रै भारतवर्षको गाथा गाएका छन् । रोमान्टिकहरूको प्रकृतिप्रेम यस निबन्धमा पनि बोलेको छ । जँ जाक रुसोको प्रकृतितर्फ फर्कअभियानसँग वेलायती रोमान्टिक कविहरू धेरै प्रभावित थिए भने सुकुलमाथीपनि सोही भावको आर्को अभिव्यक्ति हो । त्यसो त यो निबन्ध अमेरिकी ट्रान्सेन्डेन्टल धारका हेन्रि डेभिड थोरो मार्काको प्रकृतितर्फ फर्किने अभियानसँग नजिकिन खोजेको हो कि जस्तो पनि लाग्नसक्छ । देवकोटाले यस अघि मलाईशीर्षकको कवितामा केही हदसम्म प्रकृतितर्फको अलि अपरिपक्व जवानप्रेम देखाइसकेका छन्
अलग यौटा झोपडी, गिरि र जंगल मर्मर
मिर्ग डुल्ने, पंछी झुल्ने, घाँसको हाँसो निर । (११)
यस्तो सभ्यताको कैद खाना बाहिर” (१२) एक सुन्दरीसँग प्रेम र सौन्दर्यको जगत्मा समय बिताउने आकांक्षा युवक देवकोटाले व्यक्त गरेका छन् । प्रकृतितर्फ फर्किने अभियानमा थोरोले भने १८५४ मा प्रकाशित वाल्डेनमा आफ्ना दुई वर्ष दुई महिना दुई दिनका वाल्डेन पोखरीको छेऊमा आत्मनिर्भर भएर एकान्तमा प्रकृतिको परिपक्व अध्ययनमा बिताएको समयावधिको कथा हालेका छन् । यो उनको वाल्डेन पोखरीको प्रयोगशालामा प्राकृतिक जीवनको अभ्यास थियो । त्यहाँ रहँदा उनीले आफ्नो झोपडि र त्यसभित्रका टेबुल र मेच आफैले बनाएका हुन् ।
                “सुकुलमाथिमा सभ्यताको कैदखानाको धारणा नेपाली भाषानुवाद परिषद्को कार्यालय कक्षभित्रको काम गर्ने वातावरणको सन्दर्भमा आउँछ । नेपाली भाषानुवाद परिषद्मा लेखकहरू भर्ना गरिन्थे र देवकोटाले पनि त्यहीँ २००० सालमा जागीर खाएका हुन् । यसका लेखकजागीरेहरूका लागि लेख्ने र चिन्तन गर्ने वातावरण परिषद्ले दिन सक्नु पर्ने थियो, तर दिन सकेको जस्तो यस निबन्धले देखाउँदैन । यसै त स्वतन्त्र भएर लहडिन चाहाने कवि देवकोटालाई जागीरको दशपाँचको समयावधि कैदखाना जस्तो लाग्थ्यो होला । त्यसैले त सुकुलमाथियौटा उकुसमुकुसबाट सुरु हुन्छ, त्यसको प्रथम वाक्यको चिच्याट” (२४) अलि तल टेबुलमेचको आतंक” (२४) मा परिणत हुन्छ, र परिषदभित्र बस्दा गंभीर चिन्तलाई मुक्तिको मार्ग बनाउँन चाहाने लेखकजागीरे त्यहीँभित्र उत्पन्न बाधाहरू उपर व्यङ्ग्य प्रहारको मार्ग अपनाउन बाध्य बन्छ । यौटा ठुलो संभावना यो छ कि देवकोटा यही भाषानुवाद परिषदमा ध्यान मग्न भएर सोचिरहेको बेलामा पल्लो टेबुल मेचमा बसेका व्यक्तिले भुईंमा मेचका खुट्टा घिसार्दै वा मेचलाई दुई खुट्टामा चुईँकाउँदै हल्ला गरेर उनको एकाग्रता धेरै पटक भङ्ग गरिदिएका थिए । यो केवल अनुमानको कुरा हो भने यस प्रकारको असभ्य आचरणले आजसम्म पनि हामीमध्ये कति ग्रसित छँदै छौं । देवकोटा स्वयं मानिसलाई चित्त दुख्ने कुरा नगर्ने स्वभावका भएकाले यस प्रकारका असंवेदनशील आचरण सच्चाउनाका लागि लेख्नुको विकल्प उनीसँग थिएन । त्यसैले यो निबन्ध लहड मात्र नभएर यौटा आवश्यक शिक्षादायी प्रहारको रूपमा जन्मिएको हुन सक्छ । निबन्धको पहिलो वाक्यको दिक्दारीको स्रोत भाषानुवाद परिषद्भित्रको सोच्ने र लेख्ने वातावरणको कमी हुन सक्ने सम्भावना बलियो छ । जानेर होस् वा नजानेर होस्, टेबुल र मेचको बीचमा अभागी आधुनिकताको कैदीलाई कहिले यता हिल्न मन लाग्छ कहिले उता फर्कंदा पनि खर्‍याकखुरुक आवाज नगरी फर्कन सक्दैन र यसको मुख्य अवगुण त्यस वेला थाहा हुन्छ, जब भाषा परिषद्मा मग्न भएर मिहीन विचारहरू उब्जाइरहेको लेखनदासका मगजका गिर्खा खर्खराउँछन्” (२४२५) ।
                त्यसो त चित्त नियन्त्रणको प्रयास ध्वनिले मात्र हैन, गतिले पनि भङ्ग पार्छ । भाषा परिषदको कोठामा मेचविराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन् कि पीङ खेल्छन् (२४) ।यति मात्र हैन कि उनिहरूका अङ्गहरू ठिङ्गुरामा हाले जस्ता हुन्छन्” (२४) र सजिलो खोज्दै कहिले यता कहिले उता फर्किन्छन् । यसरी ऋषिमुनिको झैं स्थिर आसनसम्म जमाउन नसक्ने टेबिल मेचको भक्त” (२५) ले उच्च आसनबाट उच्च विचार जन्मिने हास्यास्पद तर्क गर्छ भन्दै देवकोटा मेचमा बसेका माष्टर र भलादमी उपर आर्को व्यङग्य प्रहार गर्छन् ।  यो व्यङ्ग्य तेस्रो अनुच्छेदमै सुरु भइसकेको छ जहाँ प्राय: रुखका हाँगाबाट प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुण्डाएर बनकर जस्तो गरी” (२४) बस्थ्यो भन्दै उच्च आसन र मानिसको अविकशित अवस्थालाई एकै ठाउँमा लेखकले गाँसिदिएका छन् । विकशित मानिस (ऋषिमुनि) समाहित पद्मासनमा” (२४) स्थिर भएर ध्यानमग्न हुन्थ्यो भन्ने प्रष्ट छ । बनकरको अविकशित चेतना त्यो गधाको जस्तो छ जसलाई ओखल बाँधिदिए पनि घाँस खान सजिलै लाग्छ (२५) । यो गधा  मेचविराजमान भलादमी” (२५) जस्तो छ जसका अङ्गहरू ठिङ्गुरामा हाले जस्ता हुन्छन्” (२५) र पनि ऊ उच्च आसनको भक्त” (२५) छ । स्वतन्त्रताको अभाव नखट्किने चेतना भएको मानिसको आकार बनकर (पशु) हो भन्ने यहाँसम्म सर्व स्वीकार्य मान्यता प्रष्ट छ । यसरी पाठकको विश्वास जित्दै निबन्ध त्यस अन्तिम अनुच्छेदको सशक्त निष्कर्षतर्फ बढ्छ जसले माष्टर र भलादमीभन्दा स्थानको हैन कि सोचाईको उच्चतामा पुगेका ऋषिमुनिहरूको पलेंटी र पद्मासनको अनुमोदन गर्छ ।
                यो थियो ती प्रगतीमुखी माष्टर र भलादमीउपरको व्यङ्ग्य जो आफू अप्राकृतिक आचरणका भएर पनि आफूलाई प्राकृतिक ठान्छन्, “संस्कृतभन्दा नाक चेप्राउँछन्, श्री कृष्णलाई कथाका गुण्डा राजा भन्दछन्, र प्राचीन आर्य सभ्यतामा नफरत देखाउँछन्; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन् ... (२५) ।यस प्रकारको द्वैध चरित्र अप्राकृतिक हो सत्य सोझो हुन्छ, सरल हुन्छ । नेपालको यस कालखण्डमा प्रगतिको नाममा प्रजातन्त्रको मागसाथै वेलायती उपनिवेशबाट अनुकरण र उल्था सिक्दै गएको नेपाल र नेपालीको सानो समूह विरुद्ध नेपालभित्रकै त्यो संस्कृत शिक्षा वनारसमै किन नहोस् प्राप्त गरेको आर्को ठुलै नेपाली जनसमूह थियो जसले काँग्रेसीविकारको विरुद्ध च:च: गर्दै नकारात्म शीर हल्लाउँदै थियो । एक सानो हदसम्म सुकुलमाथिमा देवकोटा यिनीहरूसँग सहमत भएर सोचिरहेका छन् जस्तो बुझिन्छ । यस प्रसङ्गमा हृषीकेश उपाध्यायले पनि २००२ तिर नै देवकोटाले अङ्ग्रेजी शिक्षा र त्यसप्रति बढ्दै गएको आकर्षणले नेपाली राष्ट्रिय भावनालाई कति संरक्षण र प्रोत्साहन मिल्न सक्छ” (१७) भन्ने बारे आशङ्का जनाएका छन् भन्दै निम्न आग्रह प्रस्तुत गरेका छन्
देवकोटाको चिन्तनमा पश्चिम भनेको अर्कै जगत् हो र यसबाट लिइने ज्ञान, दर्शन र
विचारले नेपाल संसारको सहजै हित हुन्छ भन्ने छैन । पश्चिमेली प्रभाव ज्यादाजसो बाहिरी आवरण, पोसाकपहिरन र सतही अनुकरण र देखावटी स्वरूपको हुन धेरै सम्भव छ । आर्य सभ्यता र आर्य संस्कारको उज्यालोबाट नेपाल राष्ट्रलाई अघि बढाउनु हाम्रो उद्देश्य हुनुपर्छ ... । (१८)
यसरी देवकोटाको प्रतिभाले ठीक र वेठीक आचरण र आधुनिकता विवेकशील भएर छुट्याइरहेको पाइन्छ । एकाग्र चिन्तन वा लेखनमा लागेकालाई खल्बल्याइदिनु असंवेदनशीलता हो, तर अंग्रेजी पढेर उच्च आसनमा बस्दैमा मानिस सभ्य वा संवेदनशील बन्छ भन्ने छैन, न त उच्च आसनमा विराज हुँदैमा संस्कृत परंपराको उच्च चिन्तन बुझ्छ नै । जे होस्, परिषद्मा यस्ता भलादमी र माष्टरहरू भएकैले यो निबन्ध जन्मिएको हुनुपर्छ ।
                यति सजिलो र सरल नेपालीमा लेखिएको पाठमा अर्थका ध्वनिहरू कसरी झन्किएका छन् भन्नेतर्फ पनि अब अलिकति ध्यान पुर्‍याउँ । सुकुलमाथि यसरी सुरु हुन्छ – “मलाई एक दिन टेबिल र मेचको चिच्याटले बँगैचामा गएर सुकुल ओछयाएर बस्न मन लाग्यो (२४) ।मैले माथि चर्चा गरेझैं एकातिर टेबुल र मेच अप्राकृतिकको र आर्कोतिर सुकुल प्राकृतिकको एक आपसमा विरोधी प्रतीकहरू हुन् र लेखकले पनि यही अर्थमा प्रयोग गरेका छन् भन्ने बुझिन्छ । अब अप्राकृतिकशब्द परिभाषित गर्नु पर्दा हामीले यसरी बुझ्दै आएको छौं कि जुन वस्तु मानवनिर्मित छ त्यो अप्राकृतिक छ । रुख प्राकृतिक छ, टेबुल अप्राकृतिक छ । तर यस अर्थमा सुकुल पनि अप्राकृतिक छ किनभने यो मानिसले बनाएको वस्तु हो । अनि परालभन्दा रुख कम प्राकृतिक हो भन्न पनि मिल्दैन; तर हामीलाई यसको प्रमाण नभए तापनि टेबुल र मेचभन्दा सुकुल बढी प्राचीन होला जस्तो लाग्छ । के त बढी प्राचीन लाग्ने वस्तु बढी प्राकृतिक हुन्छ भन्न खोजेका हुन् त देवकोटाले ? मेरो विचारमा देवकोटाले प्राचीन उत्पादनको सरलता विरुद्ध आधुनिक उत्पादनको बौद्धिक जटिलतालाई समेत ख्याल गरेर यी प्रतीकहरूको प्रयोग गरेका हुन् । आर्को एउटा थप उदाहरण लिऔं बँगैचा पनि प्राकृतिक होइन किनभने यो पनि मानिसको सचेत कार्यले मिलाएको, श्रृङ्गारेको, बनाएको वस्तु हो । यो जङ्गल त होइन । देवकोटाले यहाँ बँगैचाको सट्टा जङ्गल शब्द प्रयोग गरेका भए टेबुल र जङ्गलको भेद कृत्रिम र प्राकृतिकको अर्थमा अझ प्रष्ट हुन्थ्यो । तर देवकोटाको जङ्गल पस्ने उद्देश्य यस निबन्धमा पक्कै देखिंदैन । यसैले पनि लगत्तैको वाक्यमा भाषाप्रति सचेत निबन्धकारले यसरी थप व्याख्या गरेका छन् – “कोठामा भन्दा बगैंचामा मनुष्य प्रकृतिको नजीक भए जस्तो हुन्छ (२४) ।” “भए जस्तोभनेको हो नै भनेको हैन । बगैंचा र प्रकृतिमा केही समानता छन् भनेको मात्र हो ।
                अनि यस पछिको बनकरको उपमा अझ क्लिष्ट छ –“पहिलेको प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुण्डाएर बनकर जस्तो गरी बस्तो रहेछ (२४) ।यहाँ साधारण अर्थमा बनकर पनि प्राकृतिक हो जसरी कि टेबुलमेचमा बस्ने भलादमी पनि प्राकृतिक हो भन्ने प्रष्ट छ । एक अर्थमा दुवै फरक खालका प्राकृतिक जनावर हुन् भने आर्को अर्थमा भलादमीको आचरण अनुकरणात्मक हुन गएको हुँदा ऊ अप्राकृतिक पनि लाग्न जान्छ । यसरी भलादमी द्वैध चरित्रको सावित भएको छ एकातिर सामान्य अर्थमा बनकरको झैं खुट्टा झुन्डाइमा उसको प्राकृतिकपना र आर्कोतिर व्यङ्ग्यवश टेबुल मेचमा विराजमान भएर वेलायतको उपनिवेशको नक्कल, उल्था र उतार गराइमा उसको अप्राकृतिकपना देखिन जान्छ । यही अर्थ भिन्नताको माध्यमबाट भलादमी उपर निबन्धकारले व्यङ्ग्य गरेका छन् । यसरी बगैँचा र सुकुल प्रतीकात्मक अर्थमा प्राकृतिक हुनु र बनकर साधारण अर्थमा प्राकृतिक हुनुमा ठुलो अन्तर छ । प्रकृतिको दुवै अर्थले स्वभावको सहजता र सरलता स्वीकारेको छ भने बगैँचा र सुकुलको प्रतीकात्मक अर्थमा प्राकृतिक त्यो हो जो गतिशील भइकन पनि स्वीकार्य छ र बनकरको अर्थमा प्राकृतिक त्यो हो जो गति लिन नसकेवापत मानव परिष्कारको कोटीका लागि अस्वीकार्य छ । तर अन्त्यमा गएर स्पष्ट पार्नु पर्दा आफू आफू जस्तै हुनु वा आफ्नोपना कायम राख्नु प्राकृतिक हो भने आफ्नोपना गुमाएर अरू जस्तो बन्नुलाई देवकोटाले अप्राकृतिक मानेका छन् । यसैले परिषदका मिमिक मेन अर्थात् वेलायती साम्राज्यवादका अनुकरण र उल्थामा आफ्नोपना गुमाउँदै टेबुल र मेचमा चंचंल आसन जमाएर बसेकाहरू सुकुलमाथि ध्यानमग्न स्थिर आसन जमाउन नसकेकैले पनि अप्राकृतिक छन् भन्ने उनको भनाई छ । यस अर्थमा यी भलादमी र माष्टरभन्दा बनकर बढी प्राकृतिक छ, बढी आफ्नोपना कायम राख्न सफल छ ।
                यस प्रकारको चिन्तन भारतवर्षकै चिन्तनको निष्कर्षसँग मिलिरहेको छ । पाश्चात्य चिन्तनले आत्मपरकता र वस्तुपरकताको द्वैतवादमा मानवकेन्द्रीत विश्वमा ईश्वरनिर्मितको विरूद्ध मानवनिर्मितलाई ठडाउँदै आएर पहिलोलाई प्राकृतिक र दोस्रोलाई अप्राकृतिक वर्गमा राख्दै आएको हो । ईश्वी एक्काइसौं शताब्दीको आसपासमा आएर मात्र मानव केन्द्रीत दार्शनिक विचारले पर्यावरणीय केन्द्रमा मानिसलाई समेत राखेर त्यो नयाँसोचतर्फ लम्किरहेछ जुन सोचलाई भारतवर्षको अद्वैत वेदान्तले यौटा शीखरमा पुर्‍याइसकेको थियो । अर्थात्, अद्वैतले मानव र प्राकृतिकको द्वैत अस्तित्व स्वीकार्न सक्दैन किनभने मानिस पनि लीलाको प्रकृतिरूपी चमत्कार हो जो अप्राकृतिक हुन सक्दैन । ऊ त्यहि ब्रह्म हो जुन दुईवटा छैन, जसको भित्र र बाहिर छैन किनभने उ एउटै मात्र छ । ऊ आफै ब्रह्म हो र उसको सृष्टि (प्रकृति) गतिशील छ, तटस्थ छ, अदुराग्रही छ । यस अर्थमा मेच, टेबुल, भलादमी, माष्टर, बनकर, लेखक, सबै प्राकृतिक छन्, एउटै छन् ।
                अब यस अर्थमा पनि निबन्धकार देवकोटाको भनाईमा गड्बडी छैन । अद्वैत वेदान्तको दार्शनिक सन्दर्भमा सुकुलमाथिनिबन्धमा गतिशील प्रकृतिको महत्त्व के हो भने आजको नयाँउत्पादन हिजोको पुरानोउत्पादनभन्दा कम प्राकृतिक हुन सक्दैन किन भने दुवै प्राकृतिक वस्तु हुन् । यस अर्थमा सुकुल मेचभन्दा बढी प्राकृतिक हुन सक्दैन । बगैँचा कोठाभन्दा प्राकृतिक हुन सक्दैन । तर जब हामी इन्द्रियहरूको तहमा रहेर हेर्छौं, बगैँचाको हरियाली कोठामा नपाएरै त्यसलाई बढी प्राकृतिक ठान्छौं – “हरियो रङ्गको समीपमा” (२४) उठ्ने भ्रम (माया) लाई सोही वाक्यको झैंले निबन्धकारले व्यक्त गरेका छन् । यसो गरे तापनि निबन्धकार दार्शनिक बन्ने चेष्टा गरिरहेका छैनन्, उनी कवि रहेरै इन्द्रियहरूको तहमा रमाएका छन् । अद्वैत वेदान्तले देवकोटालाई प्रभाव पारेको तथ्य मैले दोहोराउन आवश्यक छैन । यस अर्थमा पाश्चात्य पर्यावरणीय दर्शनले पर्यावरणमा मानिसलाई पनि राखेर मात्र नपुग्ने देखिन्छ किनभने चेतनशीलले ऋषिमुनिले झैं आफूभित्र ब्रह्माण्डको केन्द्र पाउन बगैँचाको एकान्तमा सुकुलमाथि पद्मासन कस्नै पर्छ ।
                तर यसले आर्को प्रश्न उठाउँछ के अद्वैत वेदान्तको सोचभित्र रहेर साहित्यलेखन सम्भव वा अर्थपूर्ण छ त ? अवश्य छ जस्तो लाग्छ । विवेकानन्दले पनि कविता रचेका थिए; तर यस्ता कविताले दैनिक जीवनका सबै पक्षसँग खेल्न सक्दैनन् । यसरी नै कुनै पनि विचारधाराको साहित्यले जति आफ्नो पूर्णताको धाकधक्कु लगाए पनि त्यसले मानव जीवन र जगत बारे स्पष्टाएकाभन्दा नस्पष्टाएका पाटा धेरै हुन सक्छन् । चौबिसै घन्टा कसैलाई पनि समाधि लाग्दैन । परिषद्मा जागीरे भएर कर्ममा लाग्नु पर्ने बाध्यता देवकोटालाई छँदै थियो । मुनामदनमा कर्ममै पुज ईश्वर †” (हरफ १०७३) भन्ने देवकोटाले आफ्नो कर्म साहित्यलेखन मात्र बनाएनन्, सामाज सेवा पनि गरे । समालोचकीय दृष्टिकोणबाट हामी यतिसम्म तर्क गर्न सक्छौं कि सभ्यताको आधार सबै आख्यानउपर गरिएको यौटा प्रमुख आख्यान  (माष्टर वा मेटान्यारेटिभ) ले बोलेका मूल सिद्धान्तहरूमा निहित हुन्छ जसको धरातलमा रहेर त्यस सभ्यताभित्रका मानिसले आफ्ना व्यक्तिगत मूल्य, मान्यता, विश्वास र सोही अनुरूपको आचरण सिर्जंदै जान्छन्, र अन्य ससाना सामुहिक वा व्यक्तिगत घटना र आख्यान (माइक्रो न्यारेटिभ अथवा सूक्ष्माख्यान) रच्दै जान्छन् । यहाँ म यो आग्रह राख्न गइरहेको छु कि यो निबन्ध रचिएको समयको नेपाली समाज धार्मिक विकृतिको जुन हदमा पुगेको भए तापनि हिन्दू राष्ट्रको त्यस वेद र उपनिषदका दर्शन र सिद्धान्तमा आधारित समाज थियो जसले मानवताको अन्तिम लक्षनै विद्यामार्फत् मोक्ष हो भन्ने कुरा बताउँदै आएको थियो । यस प्रस्तावमा स्थापित ग्य्रान्ड अथवा माष्टर न्यारेटिभको पहुँचभित्र रहेर नेपाली भाषानुवाद परिषदको जागीरेलेखकको भूमिका निभाउनु पर्ने अवस्थाको याद गर्दै रचिएको यस निबन्ध साहित्य (जुन भाषाको यौटा उन्मुक्त खेलको रूपमा यहाँ प्रस्तुत छ) यौटा सानो नीजि आख्यान पनि हो जसले गंभीर चिन्तनका लागि भाषानुवाद परिषदको कार्यकक्षबाट मोक्ष वा मुक्ति पाउने आकांक्षा राखेको छ । यसले आफूलाई त्यो प्रमुख आख्यानबाट संपूर्ण रूपमा मुक्त गर्न सकेको वा चाहेको छैन, जुन कुरा आफैंमा कुनै खराबी होइन । यी अद्वैत वेदान्त जस्ता मेटान्यारेटिभ कि विवेकानन्द कि उनका पनि गुरु रामकृष्णले झैं बाँच्नु पर्‍यो, नत्र देवकोटा जस्ता कवि तथा निबन्धकारले आफ्ना भाषाका खेलहरूमा उनीहरूकै नीजित्व प्रदर्शन गरिरहेका हुन्छन् भनेर स्वीकार्न हामीलाई सजिलो पर्न जान्छ । अनि दार्शनिक जति अद्वैत वेदान्ततिर उक्लिन खोजे पनि कविले आफ्ना ईन्द्रियहरूको प्रयोग गर्न रूचाउने भएकैले पनि, माया सही, उसले ईन्द्रियगोचर प्राकृतिक हरियालीको मिठासमा सौन्दर्यबोध गर्नु उसको आफ्नो धर्म मान्नु हो, कवि कवि रहनु हो । कवि र ऋषिको एउटा अन्तर पनि यही हो । आफ्नो कार्यक्षेत्रको सीमाभित्र रहेर समाजलाई अडाइहने व्यापक सिद्धान्तलाई केही हदसम्म पन्छाउँदै वैकल्पिक भाषाका खेल मार्फत् नयाँ नयाँ सत्यलाई आधिकारिकता दिनु सच्चा कवि तथा लेखकहरूको प्रकृति हो । शायद विज्ञानदेखि वेदसम्म समान दृष्टिले हेरेर दुवैको आंशिक सत्य स्वीकार्दै लहडिनु सत्यको आर्को अन्वेषणविधि हो जुन आफैमा सुन्दर छ । यस अर्थमा पनि सुकुलमाथीनिबन्धकारको आर्को यौटा मिठो गफ हो जसले भाषामार्फत जे झन्कारे पनि युगबोध दिलाउँदै लेखक स्वयंको रसिलो, सरल र सहज (प्राकृतिक) स्वभाव उजागर गरेको छ ।
                ऋषिमुनिको उच्च ज्ञान (वेद) समक्ष पुड्को, आयातित, पाश्चात्य, आङ्ग्ल र आधुनिक ज्ञानको धाकधक्कु उपर यसरी सुकुलमाथीले व्यङ्ग्य गरेको पाइन्छ ।



सन्दर्भ सूचि

उपाध्याय, हृषीकेश । देवकोटा र राष्ट्र चिन्तन ।देवकोटा अध्ययन १३ (कात्र्तिक २०६९) : १४१९ ।
देवकोटा, लक्ष्मीप्रसाद । गर्दभरवकी हँस्सी ।पाण्डुलिपि ।
––– । नेपाली शाकुन्तल । (दोस्रो संस्करण) । काठमाडौं : नेपाली भाषाप्रकाशिनी समिति, २०१९ ।
––– मलाई ।जन्मोत्सव मुटुको थोपा । (दोस्रो संस्करण) । काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेशन्स, २०५५ ।
––– मुनामदन ।महाकवि लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यहरू । काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र, २०६६ ।
––– सुकुलमाथि ।लक्ष्मीनिबन्ध संग्रह । (तेस्रो संस्करण) । नेपाल : नेपाली भाषाप्रकाशिनी समिति, २०२० ।

मैतीदेवी, काठमाडौं

मंसिर २६, २०६९