Pages

Pages

Thursday, March 15, 2012

केन्द्रीय अंग्रेजी विभागको आगो

पद्मप्रसाद देवकोटा

    बुधवार असार १९, २०५९ का दिन एम.ए. अंग्रेजी प्रथम वर्षको परीक्षाफलबाट असन्तुष्ट विद्यार्थी समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभाग, कीर्तीपूरमा तोडफोड गरी आगो समेत लगाए । त्यस पछि उनिहरुले त्रि.वि.वि.का हाकीमसमक्ष प्रकाशित नतिजामा पुनर्विचार गरिदिन आग्रह गर्दै अन्य कतिपय मध्ये पठनपाठन सुचारु हुनु पर्ने र विभागमा प्राध्यापकले विद्यार्थीको पढाइमा बाधा पुग्ने गरी बाहिर अध्यापन गर्न नपाउने मागहरु राखे (कान्तिपुर असार २१, २०५९) । यी बाहेक असार २० को विद्यार्थीको "अपिल" अनुशार "शिक्षक शिक्षीकाहरुले कक्षाकोठामा देखाउँदै आएको अहँ, तथा पूर्वाग्रही भनाईको वारेमा स्पष्टीकरण दिनुपर्ने" माग पनि छ । मलाई यस तेस्रो मागको अर्थ खुलेको छैन । त्यसैले म यसको बारेमा चर्चा गर्न असमर्थ छु । छोटकरीमा यिनै विद्यार्थीहरुको विज्ञप्तिको आधारमा उनिहरुको प्रमुख गुनासो थियो, केन्द्रीय अंग्रेजी विभागका शिक्षकहरुले आई.ए.सि.ई.आर.मा पैसा कमाउन गएर विभागका विद्यार्थीहरुलाई "सुनियोजीत षडयन्त्र" गर्दै फेल गराएर एम.फिल.मा भर्ना गराउने उद्देश राखेका हुन् ।
    जहाँसम्म प्राध्यापकहरुको कुरा आउँछ, विद्यार्थीले माग राख्ने क्रममा (मैले नबुझेको तेस्रो आरोप बाहेक) विभागलाई दुइवटा मुख्य आरोप लगाएका छन् । यी दुवै आरोपहरुका जवाफ कक्षामा पढ्न आइरहने विद्यार्थीहरुलाई नै थाहा छ । विभागको सुचारु पठन पाठनको पुष्टी गर्दै विभागिय प्रमुख स्वयंले असार २७, २०५९ को कान्तिपुरलाई "विभागका शिक्षक वर्गको उत्तरदायित्व र जिम्मेवारीमा एकरत्ती पनि आशंका गर्न नमिल्ने" बताउदै भन्नु भएको छ, "विद्यार्थीको पढाइमा बाधा गरेर एकजना शिक्षक पनि बाहिरी काममा लागेका छैनन् ।" त्रि.वि.वि.का उपकुलपतिले असार २६ गतेको बुधबारले "विश्वविद्यालयका प्राध्यापकहरुले बाहिर पढाउने गरेकोले परीक्षाफल विग्रेको विद्यार्थीको आरोप छ नि?" भनेर सोधेको प्रश्नको जवाफ यसरी दिनु भएको छ, "त्यो झुट्ठा कुरा हो । पढ्ने बेलामा नपढ्ने अनि अरुलाई आरोप लगाउने? यहाँको कुनै प्राध्यापकले पढाई बिगार्ने गरी बाहिर पढाउनु भएको छैन । यहाँ क्लास नभएको बेला बाहिर पढाउनु स्वाभाविक हो ।" यसको लगत्तै पछि अमरराज जोशी आइ.ए.सि.ई.आर.को प्रिन्सिपल भएर काम गरेको कुरा उठेको छ । तर जोशीले एक वर्षे वेतलवी विदा लिएर यस नीजि संस्थामा प्रिन्सिपल बन्नु भएको तथ्यप्रति भने आरोप लगाउनेहरु अनभिज्ञ रहेको कुरा स्वयंसिद्ध छ ।
    विभिन्न निकायहरुबाट केन्द्रीय अंग्रेजी विभागमा भएको तोडफोड र आगजनीको न्यायोचित निन्दा र भत्र्सनाहरु पत्रपत्रीकाहरुमा छापिदै पनि आएका छन् । २०५९ असार २१ गतेको कान्तिपुरले आफ्नो सम्पादकीयमा यस्तो व्यबहारको घोर निन्दा गर्‍यो । त्यस पछि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले तथा प्राध्यपक संघले पनि यस्तो क्रियाकलापको निन्दा र भत्र्सना गरे । असार २६ गते विभागले आफ्नो वक्तव्य मार्फत यस आपराधिक कार्यको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गर्‍यो । विभागमा आगो लगाउने काम अपराध हो भन्ने कुरामा कसैको दुइ मत भएन, तर अपराधिलाई सजाय दिने कुरा भने आजसम्म पनि विरालोको घॉटीमा घण्टी झुण्डाउने कथा भएको छ । यसको प्रमुख कारण यस देशको प्रदुषित राजनैतिक अवस्था हो जसले देशको न्यायपालिका असक्षम र दुर्बल तुल्याएको छ भन्ने कुरामा म विश्वस्त छु ।
    एकातिर यसरी सवैतिरबाट यस आपराधिक कार्यको घोर भत्र्सना भएको छ भने सम्बन्धित धेरैले केन्द्रीय अंग्रेजी विभागका शिक्षक तथा विद्यार्थी दुवैको शैक्षिक अनुष्ठानप्रति विवश भएर प्रश्न उठाउन बाध्य भएका छन् । एकातिर विद्यार्थीले शिक्षकलाई विभिन्न गलत आरोप समेत लगाएर वक्तव्यहरु प्रकाशमा ल्याएका छन् भने अर्कोतिर शिक्षकहरु पनि अगिल्लो दिनसम्म आफूले कक्षामा पढाइरहेका विद्यार्थीहरुबाट यस्तो फजुल र अप्रत्यासित घटना घटेकोमा दुखी र स्तब्ध छन् । भौतिक संरचना खाग भएकोले भन्दा विशेषज्ञ बन्ने तहका विद्यार्थीको अविवेकी आचरणले उनिहरुको मनमा अझ ठूलो चोट लगाएको छ । उनिहरु आफैंसँग प्रश्न गर्दैछन्, "यस्तो सुनियोजित तवरले विभागका केही शिक्षकहरुलाई मात्रै छानेर पीत पत्रकारीता मार्फत समेत किन चरीत्र हत्या गरिंदै छ ? यसरी यौटै विभागभित्र कोही देवता र देवी कहलिने र कोही व्यापारी प्राध्यापक भनी चिनिन जाने वातावरणको सिर्जना कहाँबाट भयो ?" यसको जवाफ अत्यन्तै आवस्यक छ ।
    यो प्रश्न यसै उठेको छैन । विद्यार्थीको प्रेस विज्ञप्तिको भाषा हेरौं, "हामीले भन्दै आएको एम.फिल. कलेज जहाँ जुन सुकै विषयमा स्नातक गरेको भए पनि अंग्रेजीमा एम.ए. गर्न पाउने व्यवस्था जुन यस त्रिभुवन विश्वविद्यालयका ऐनको खिलाफमाछ शिक्षकहरुको त्यस प्रतिको अत्याधिक लगावका कारण दूरावस्थामा पुगेको यस अंग्रेजी केन्द्रीय विभागको शैक्षिक स्थितिको विरोध गर्ने विभागिय प्रमुख एवं शिक्षाविद प्रा.डा. अभि सुवेदी स्वयं निरिह भई टुलुटुलु हेरेर बस्नु हामी सवैका लागि दुर्भाग्यपूर्ण कुरा हो ।"  कुनै पनि नयाँ प्राज्ञिक वा संरचनात्मक कार्यको शुरुमा विरोध आउनु स्वभाविक हो । केही वर्ष अगाडि केन्द्रीय अंग्रेजी विभागले एम.फिल. प्रोग्राम संचालन गर्न मानविकी डीन कार्यालयमा निवेदन हाल्दा यौटा मात्र विभागमा एम.फिल. खोल्न नदिने कुरा भएको थियो र आजसम्म अरु कुनै विभाग यस्तो प्रोग्राम खोल्न तयार छैनन् । त्रि.वि.वि.ले एम.फिल खोल्न मानेको भए आज आएर विभागीय प्रमुख निरीह भई टुलुटुलु हेर्न बाध्य हुने थिएनन् होला ।
    यसै गरी नेपाल अमेरीका इन्टरडिसिप्लिनरी स्टडिज खोल्ने सन्दर्भमा लामो मानसिक यातना पश्चात मैले मानविकीका डीन प्रा.डा. त्रिरत्न मानन्धरज्यूलाई यो प्रोग्राम खोल्न नपाए अन्यत्र लगेर खोलिने छ भनेर धम्काउन परेको थियो । यस्ता प्राज्ञिक क्षेत्रका मानसिक यातना हामीले अरु पनि भोगी आएका छौं । कसको निम्ति ? विद्यार्थीहरुले विभागले दिएको एम.ए.ले भन्दा बढी ज्ञान हासिल गर्ने अवशर पाउन भनेर । प्राज्ञिक क्रियाकलापको विरोध हामीलाई सँधै असह्यनै हुनेछ ।
परीक्षाफलबाट असंतुष्ट विद्यार्थीलाई धेरै कुरा बुझाउन पर्ने स्थितिमा विभागीय प्रमुख अभि सुवेदीजीले यौटा कुरा नभन्नु भएको भए राम्रो हुने थियो । उहाँले परीक्षा बल्खुले हेर्छ, विभागको यसमा कुनै हात हुँदैन भन्नु भएको कुरा अखबारमा पढदा सवैको जानकारीको निम्ति त्रि.वि.वि.को नियमको चर्चा गर्न मन लाग्यो । यस नियम अनुशार कुनकुन शिक्षकलाई प्रश्नपत्र बनाउन दिने, कसलाई प्रश्नपत्रको मोडरेशन बोर्डमा राख्ने, कसलाई कापि जाच्न दिने, कसलाई स्क्रूटिनी बोर्डमा राख्ने जस्ता कुरा विभागीय प्रमुखले बल्खुस्थित परीक्षा नियन्त्रकको कार्यालयलाई शिफारीस गर्ने हो । त्यस कार्यालयले विभागीय प्रमुखको शिफारीसमा शिक्षकहरुलाई परीक्षा सम्बन्धि विभिन्न काममा नियुक्ति दिन वा नदिन सक्छ । शिफरीसलाई नियुक्ति मान्न मिल्दैन । यसैले पनि विद्यार्थीको जाँचमा विभागको हातै हुँदैन भन्नु पनि सरासर गल्ती ठहर्छ । बरु उहाँले आफूले परीक्षाको काम विभागको तर्फबाट राम्ररी हेरेको र यहाँ ूसुनियोजित षडयन्त्रू को सम्भावना नरहेको बताउन सक्नु पर्दथ्यो ।
तर हामी विद्यार्थीले भन्दै हिंडेका कुराहरुमा विश्वास गरेर विभागीय प्रमुख अभि सुवेदीजीको प्राज्ञिक प्रतिभा, प्रशासनिक दक्षता र नैतिक गरिमा उपर तर्कशून्य नजर उठाउन पनि चाहादैनौ । विद्यार्थीहरु त भन्छन् नै, उहाँले उनीहरुलाई जाँचको नतीजा हुनु भन्दा अगाडिदेखिनै "यसपाली तिमीहरुको कापि गलत शिक्षकहरुकहाँ गएको छ," "यसपाली तिमीहरुलाई गिनी पिग बनाइएको छ, तिमीहरु धेरै फेल हुन्छौ," "यसपाली तिमीहरु धेरै फेल भएका छौ," र "मलाई साथीहरुले धोका दिए," इत्यादि । उहाँले विद्यार्थीहरुसँग यस्ता भ्रम उत्पन्न गराउने कुरा अवश्य गर्नु भएन भन्ने विश्वास गर्न चाहान्छौ । तर उहाँले विभागको सहकर्मी श्रीमति गीता खड्का जसले यस वर्षको कापि जाच्नु भएको थिएन उहाँलाई विद्यार्थीले नम्बर थोरै दिएर फेल गराएको आरोप लगाउँदा पनि "गीताले कापि जाचेको छैन" नभनिदिंदा कताकता आवश्यक र अनावश्यक शव्दहरुको भूमरीमा उहाँ हराउनु भएको त होइन भन्ने पनि लाग्दछ ।
    हो, गत सालदेखि विद्यार्थीको चापको कारणले केन्द्रीय अंग्ेरजी विभागले विभिन्न क्याम्पसमा अंग्रेजी एम.ए. तहमा पनि पढाउने शिक्षकहरुलाई कापि जाच्न तालिम दिएर उनीहरुलाई पनि एम.ए. को कापि परीक्षणमा संलग्न गराएको हो । नत्र त परीक्षकको खतरानक कमी भइसकेको थियो । यस पालिको विद्यार्थीको विज्ञप्तिमा विभागले आफूले लिन सक्ने भन्दा बढी भर्ना गरेको भनी आरोप लगाएको छ । हुन पनि २०५८ सालको प्रथम वर्षमा ४६७ विद्यार्थी र २०५९ को भर्नामा लगभग ६७० विद्यार्थी भर्ना लिइएको छ । यसको दुइवटा कारण छन् । पहिलो हो, ज्यान कि शिक्षा भन्ने विद्यार्थीलाई विभागीय प्रमुखले शिक्षा दिन चाहनु । दोस्रो कुरा हो, अगाडि पनि विभागले अनियन्त्रित संख्यामा विद्यार्थी भर्ना रोक्ने प्रयास गर्दा विद्यार्थी यूनियनले आपत्ति जनाएर पढ्न चाहाने जतिलाई पढाउन पर्छ भन्ने जिद्दी गर्नु जसको नतीजा स्वरुप विभागका सवै प्राध्यापकले राजीनामा दिएका थिए । यसपालि त हामीले उपकुलपतिज्यूसँग विद्यार्थी संख्याको कोटा निर्धारण होस् भनी माग पनि राखिसकेका छौं ।
    मेरो नीजि अनुभवमा केन्द्रीय अंग्रेजी विभागका संपूर्ण शिक्षक साथीहरु प्राज्ञिक उत्कर्षणको निम्ति दिलोज्यान कर्मठ र निष्ठावान हुनुहुन्छ । प्राज्ञिक कुशलता र प्रशासनिक शिल्प बराबर डाक्टर ज्याकल र मिष्टर हाइड जस्ता विभाजनमा पर्दछन् । सवै प्राज्ञिक व्यक्तित्वहरुको अभिव्यक्ति स्तरको यौटै उँचाई हुँदैन । प्राज्ञिक यात्रामा कोही अगाडि र कोही पछाडि भइहाल्दछन् । तर असफलताले जन्माएको आक्रोश सेलाए पछि विद्यार्थीहरुले पनि पक्कै बुझ्ने छन् कि गुरुहरुको उनीहरुप्रतिको भावना असंख्य सकारात्मक, न्यानो र मीठासपूर्ण थियो । आसा गरौं, असमझको बदली क्षण फारेर फेरी पनि घाम लाग्ने छ ।
    र अन्त्यमा साहित्यको विद्यार्थीको नाताले मैले नबुझेको यौटा प्रश्न राखिहालौं । के कुनै प्राध्यापक जो आजीवन धन र ख्यातिको वेवास्ता गर्दै विश्वविद्यालयको यौटा सानो विभागमा प्राज्ञिक उत्कर्षणको लागि दिलोज्यान प्रयत्नरत छ, जसको एक्लो प्रयासले विभागमा पुस्तकालय बन्यो, कम्प्यूटर, भिडियो, क्यामरा, टेलिभिजन, डेक, इन्टर्नेट र फोटोकपि मेशिनहरु आए, जसले विभाग भित्र मात्र नभएर देशभरीका क्याम्पसहरुमा तालीम दिन विशेषज्ञहरुको टोली लिएर हजारौं पटक ओहोर दोहोर गर्‍यो, जसले नेपाल भित्र अंग्रेजी शिक्षामा पढाई हुने संपूर्ण पाठ्क्रमलाई समकालीन, उपयोगी र अन्तर्राष्ट्रिय स्तरको बनायो, जसको सल्लाहा विभिन्न शिक्षण संस्थाहरुलाई निरन्तर आवश्यक भइरहेछ, जो आज पनि अमेरीका तथा एशियाका विभिन्न वरीष्ठ प्राध्यपकहरुसँग मिलेर विश्वमै प्रथम बार परिकल्पित पुस्तकको सम्पादन मण्डलमा नेपालको नेतृत्व गर्दै कार्यरत छ, जसको प्राज्ञिक क्षमताको कदर विश्वकै ख्यातिप्राप्त विव्दानहरुबाट भएको छ, त्यो व्यक्ति आज नेपालमै "व्यापारी प्राध्यापक"को सूचिमा गनिनु गन्धे मानसिक परंपरा चिरायु रहेको प्रमाण हो कि होइन ? यो हाम्रो दुर्भाग्य हो कि राम्रो काम गर्ने अनेकौंले झैं प्रा.डा. श्रीधर लोहनीज्यूले पनि बराबर यस्ता विवेकहीन "कदर" पाउनु भएको छ ।
    कहीले काहीँ ता मन उल्टो बहँदो रहेछ । विदेशमा बस्ने अवशर एक पटक मात्र आएन । पैसा कमाउने अवशरहरु अझै प्रशस्त छन् । पत्रकार किन्न सके, पुरष्कार किन्न सके, पद किन्न सके, हामीलाई नपुग्ने के छ र ? तर साहित्य पढेर संवेदना चर्कियो मात्र, मानिस हुन छाड्न सकिएन । नैतिक चेतनाले आदर्शप्रति उन्मुख राखिराख्यो । यसैले त युग सुहाँउदो बन्न सकिएन । हामी बिकेनौं किनभने आफूलाई बेच्न चाहेनौं । यसमै हाम्रो गौरव छ ।

कान्तिपुर दैनिक बुधबार साउन १५, २०५९ (जुलाई ३१, २००२) मा छापिएको ।

No comments:

Post a Comment