Pages

Pages

Wednesday, April 10, 2024

वर्षा

गाढा नीलो जलधिहृदको सारको सुस्त बोली
चढ्दै उक्ल्यो ज्वलन नभको शान्त पार्दै छिचोली ।
चर्काधर्का किरणकिरणै व्योममा ती उज्याला
पोल्थे ज्यादै, जलद नभमा फैलियो ढाक्न सारा ।।

बाक्लो जालो नभभर जसै वाष्पको टम्म लाग्यो
के के के के मनभर यसै भावको भार जाग्यो ।
बोली बोलूँ भनिकन कतै गड्गडाएर आयो
थोपा थोपा छरछर छरी बर्बराएर गायो ।।

थोपा झर्थे तपतप यसै भू सिंगारी, रसाई,
बुट्टा बन्थे जमिन भरनै शुष्कले भिज्न पाई ।
बोल्थ्यो भाषा सगरहृदको पात हाँगा नचाई
यस्ले गायो अवनितलमा शस्य सारा हँसाई ।।

झम्झम् वर्षी तृण र तरुमा छन्दको मूल दीक्षा
झर्थ्यो, उठ्थ्यो सरस दिलमा गाउने तीब्र ईच्छा ।
खोलूँ आफ्नो हृदय पनि यो वृष्टिको ताल टिप्दै
भन्दै झीना सबतिर जरा फैलिए गान खोज्दै ।।

छंछंछंछं छमछम सबै टिप्न भाषा प्रयास
गर्दा साना कुसुमविरुवा छर्न खोज्छन् सुवास ।
यिन्कै गर्दै अनुकरण यो लेख्न खोज्दो छु केही
खोली यो कुड्मल दिल फुले वास्निनेनै छ देही ।

आओस् वर्षा नवरस छरी झार्छ कालो विषाद,
हाँसोस् वर्षा मधुर स्मितिमा काव्यको पाद पाद ।
रुख्खा सुख्खा दिल पनि सफा आद्रता ली मिठास
गद्गद् एक्लै नभमुख गरी फेर्दछ स्वच्छ स्वास ।।

बग्दै जाने कलकल गरी अन्त्यमा सागरै हो
पानी पर्दा सब नद मिली खोज्न जाने त्यतै हो ।
जम्दै भर्दा विफल पलमा भर्छ यौटा तलाऊ
नाच्दै कुद्ने मन लहर भो ! भिज्न हे मित्र आऊ ।। 


- पद्म देवकोटा

No comments:

Post a Comment