Tuesday, June 28, 2011

दोहोरो मापदण्डको प्रयोग

श्री श्रीओम श्रेष्ठज्यू
सम्पादक
मधुपर्क
गोर्खापत्र संस्थान
काठमाडौं

मिति : वैशाख २५, २०६८

विषय : दोहोरो मापदण्डको प्रयोग बारे ।

पत्रकारिताको नियम अनुसार कसैले यौटा पत्रिकामा कुनै व्यक्तिलाई आक्षेप लगाएर मानहानी वा चरित्रहत्या हुने गरी लेख छाप्यो भने यसरी मानहानी वा चरित्रहत्या गरिएको व्यक्तिले सोहि पत्रिकामा आफ्ना कुराहरू जनतालाई बताउन पाउने नैसर्गिक अधिकार प्रजातान्त्रिक अभ्यास हो । कात्र्तिक २०६६ सालको मधुपर्क (महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्क) मा छापिएको कृष्ण अविरलको “महाकवि : उपेक्षा, असहयोग र लेखकस्व विवाद” शीर्षकको लेखमा मलाई लिएर केही चरित्रहत्या गर्ने खालका आरोप र मानहानीहरू परेका रहेछन् भन्ने कुरा २०६७ सालको चैत्रको आधाआधीपछि मात्र थाहा पाएँ र त्यसको लगत्तै त्यस लेखको प्रतित्रिया पनि लेखें । मैले लेखेको सो लेख तपाईंलाई वैशाख ९, २०६८ सालमा मधुपर्कमा छाप्न भनेर पठाएको हुँ । बीचका अनेकौं फोनवार्तापछि वैशाख २३, २०६८ का दिन तपाईंले फोनबाट बताउनु भयो, “हामीले सल्लाहा गर्यौं र तपाईंको लेख मधुपर्कमा नछाप्ने भयौं ।” मेरो जवाफ थियो, “म गोर्खापत्र संस्थानको निर्णयको कदर गर्छु, तर म तपाईंहरूको निर्णयसँग सहमत छैन ।”

तपाईंकै अनुसार मेरो लेख नछाप्ने कारण मध्ये प्रमुख कारण निम्न तीनवटा रहेको बुझेको छु :– १) लामो भयो (कम्प्युटरमा आठ पेज लामो थियो), २) त्रि.वि. केन्द्रीय अंग्रेजी विभागको पुरानो आगोको इतिहास दोहोरियो र ३) अभि सुवेदीका बारेमा भनिएका कुरा कडा भए । के मेरा बारेमा छापिएका कुरा कडा थिएनन् ? कृष्ण अविरलको लेख छाप्ने बेलामा यो कुरा किन सोचिएन ? जनताले पसिना चुहाएर कर तिरेर पालेको संस्थानले दोहोरो मापदण्ड अपनाएर मेरा बारेमा अनेकौं गलत प्रचार गरिसकेपछि मैले बोलेको सत्यले कुनै संरक्षित व्यक्तिको छवि धमिलिएला कि भनेर मेरा पक्षका तर्क छाप्न अस्वीकार गर्नु कति न्यायोचित हो ? यो भन्दा ठूलो विडम्बना के हुन सक्छ ? मेरा बारेमा अनेकौं गलत आरोप र चरित्रहत्या छाप्न तपाईंलाई जति सहज थियो मैले आफ्नो लेखमा बोलेको सत्य छाप्न तपाईं उति नै डराउनु भयो । यो अनैतिक पत्रकारिता हो ।

“तपाईंले तीललाई पहाड बनाउनु भयो” भनेर तपाईंले मलाई फोनबाट भन्नुभएको कुरा पनि ठीक होइन । दैनिक पत्रपत्रिकामा मृत्युको समाचार पढिरहेका व्यक्तिका लागि मृत्यु समाचार बन्न छोडेझैं एकआर्कालाई लुछिरहने कवि र साहित्यकारका ह्दयले गैंडाको छाला ओडिसकेका हुन्छन् । त्यसैले उनिहरूलाई मुङ्ग्रोको मारसमेत पुष्पस्पर्श लाग्दो हो । मेरानिम्ति कृष्ण अविरलको लेखमा मुङ्ग्रोकै प्रहार थियो । यो कुरा तपाईंले बुझ्नुभएन ।

र अन्त्यमा कुरा प्रष्ट होस् कि राष्ट्रको शिक्षा र संम्पति नाश्ने अधिकार कसैको नहुँदा नहुँदै पनि त्रि.वि. केन्द्रीय अंग्रेजी विभागको आगो केही होइन भन्नेहरूले यो कुरा बुझ्न बाँकी छ कि बार्ह वर्ष त के बीस वर्ष पछि पनि भावि पुस्ताले यसको कारण खोज्ने छन् । सत्यलाई जति टाउकोमा ठटाए पनि त्यसले टाउको उठाइरहने छ । सत्यको जीत सभ्य समाजको आवश्यकता हो ।

प्रजातान्त्रिक अभ्यासतिर तपाईंहरूको मन जाओस्,

मधुपर्कको शुभचिन्तक,

पद्म देवकोटा

गिट्टी कुट्ने महिला

पद्म देवकोटा

गिट्टी कुट्ने महिला

माटा डल्ला देख्ने आँखा माटो सिवाय देख्दैन,
भावविना जो लेख्दछ त्यसले आध्यात्मिक सत्य लेख्दैन ।
ढुङ्गा फोर्ने महिलालाई सोध, “के अैया सुन्यौ कतै ?”
उसले भन्ली, “कसले सुन्छ ? ह्द्ध्वनिको पीडा कठै !”
मन छ धुपको धुवाँ जस्तै स्वर्ग–पिपाषु, हरिकिच्च !
कोमलताले घन उचाली थुक्दछे धरतीलाई पिच्च ।
धुवाँ घुम्रिई, पतली जान्छ, पाषाण बोल्दछ, “ट्वाक्क !”
अर्थविनाको माटा डल्लो बुझिकन महिला छ वाक्क ।

जिवन भन्नु रीक्ततामा हो लम्बिएको दर्द भने
तिम्रो आत्मा घन हो है ! सिङ्गो विश्व छ एक पत्थर !
उठ्नु छ फोडी यसलाई, उक्लिनु छ सगर भने,
नारी, उभिऊ पत्थरमाथि ! विश्वसमक्ष किन थर्थर ?
माटो रोला शक्ति तिम्रो पढि, बुझिकन गिट्टिमा
“सक्दैन” भन्ला “यस्तो शक्ति मिल्न कुनै दिन मिट्टीमा ।”