Showing posts with label note. Show all posts
Showing posts with label note. Show all posts

Wednesday, November 20, 2024

महाकवि देवकोटाको तास्कन्दको भाषण बारे

    ईस्वी संवत् १९५८ मा राष्ट्रकवि माधवप्रसाद घिमिरे र महाकवि लक्ष्मीप्रसाद देवकोटा तासकन्दमा आयोजना गरिएको एफ्रो–एशियाली सम्मेलनमा भाग लिन जाँदा हाम्री माता मनदेवी देवकोटा साथमै हुनुहुन्थ्यो । सो सम्मेलनको वयान मैले मुमाबाट धेरै सुनेको छु । उहाँले बयान गर्नुभए अनुसार त्यस कार्यक्रमको प्रसारण टेलेभिजनबाट पनि भएको बुझिन्छ । सो कार्यक्रम आफूहरू बसेको होटेलमा पनि देख्न सकिन्थ्यो भने सम्मेलन भइरहेको स्थानमा पनि देख्न सकिन्थ्यो रे । यस बयानबाट थाहा हुन्छ कि त्यस सम्मेलनको श्रव्यदृश्य रेकर्डिङ भएको हुनुपर्छ । बुबाले रुसबाट फर्किंदा हिज मास्टर्स भ्वाइस कम्पनीको दम दिएर रेकर्ड बजाउने ग्रामाफोन र रेकर्डहरू दुवै लिएरै आउनुभएको थियो । मैले नबुझे तापनि त्यस ग्रामाफोनबाट बजेको गीत सुनेर रमाएको हुँ । त्यसमा कसकसले बोलेको फेरी सुन्नुपर्छ भन्ने कुरा बुबाले गर्नु भएको पनि थियो । मेरै कारणले ती रेकर्डहरू फुटेर चकनाचुर भएका हुन् जुन कुरा मैले आफ्नो पुस्तकमा बताइसकेको छु ।
    सो पुस्तकमा नबताएको एउटा घटना यहाँ बताउन चाहान्छु । यो घटना त्यस बेलाको हो जुन बेलामा रुसी दूतावास पहिले बुबा मन्त्री भएको बेलामा हामी डेरा गरेर कालीकास्थानबाट डिल्लीबजार सडक काटेर सिधै उत्तर हानिदै ज्ञानेश्वर निस्किने बाटोमा अवस्थित जुन घरमा बसेका थियौँ त्यही श्रीमती अंगुरबाबा जोशीको घरमा थियो । मलाई मिति याद भएन । म एक दिन बुबाको माथि बताएझैं रेकर्ड भएको टेप अथवा श्रव्यदृश्य रेकर्डिङ पाइने सम्भावना के छ त भनेर त्यस रुसी दूतावासको प्रथम कल्चरल आटाचेसँग कुरा गर्न समय मागेरै उपस्थित भएको थिएँ । हामी त्यस घरमा डेरा गरेर बस्दा गोलो भर्याङ चढेर माथिल्लो तलामा जान्थ्यौं भने मलाई भूइँतलाको त्यस बीचको छिंडीमा प्रथम कल्चरल आटाचेलाई कुर्न राखियो जहाँ पस्न तीनतिरबाट सकिन्थ्यो । त्यस छिंडीको कोठामा केही काठका मेच र एउटा टेबुल पनि थिए । म चुप लागेर कुरिराखेँ । प्रथम कल्चरल आटाचे एक महिला हुनुहुँदो रहेछ । उहाँलाई मैले उठेर अभिवादन गरेँ । कुराकानी सुरुभयो । मैले आफ्नो परिचय दिंदै आफूले त्यसरी भेट्न चाहेको कारण बताउँदै थिएँ । त्यसै बेला छिंडीको एउटा कुनाबाट ढेडु मुसा खुरुरुर्र कुद््यो । मुसो देखाउँदै प्रथम कल्चरल आटाचेलाई भने, “मुसा आयो ।” मुसा देख्नासाथै ती प्रथम कल्चरल आटाचे यसरी चिच्याएर उफ्रिनुभयो उहाँ कसरी काठको मेचमाथि पुग्नुभयो भन्ने कुरा मैले थाहा पाउनै सकिन । त्यस मेचमाथि उभ्भिएर बढो आत्तिदै र खुट्टा ठटाउँदै उहाँले चिच्याउनुभएको देख्दा म जिल्ल परेँ । मैले गर्नसक्ने कुरा केही थिएन ।
    अनि छिंडीका तीनवटै निकासबाट मानिस आए । उनिहरू पक्कै पनि सुरक्षा गार्डहरू हुनुपर्छ । एक जनाको हातले काखीमुन्तिर कोटले लुकाएको केही वस्तु समातेको जस्तो देखिन्थ्यो । उनिहरूले म जिल्लिएको दखे । प्रथम कल्चरल आटाचे मेचमाथि उभिनुभएको देखे । रुसी भाषामै के भयो भनेर सोधे होलान् । मेचमाथिकी प्रथम कल्चरल आटाचेले रुसी भाषामै तथ्यसत्य बताइन् होला । म रुसी भाषा बुझ्दिन थिएँ । अनि ती सुरक्षा गार्डमध्ये दुईजनाले उहाँलाई मेचबाट ओर्लिन सहायता गरेर भित्र लगेभने मलाई अर्का गार्डले “उहाँलाई आज संचो छैन । तपाईं अर्को दिन आउनुहोस्” भनेर बाहिर निस्किने बाटो देखाइदिए । श्रव्यदृश्यको रेकर्डबारे जानकारी आज मसँग यति मात्र छ !
    त्यसपछि म फर्किएर रुसी दूतावासमा गइन । अन्य माध्यमबाट कुरा बुझ्ने चेष्टा त्यति सफल भएन । रुस टुक्रिएपछि आज तासकन्द उजबेकिस्तानको भूमिमा पर्छ । सन् १९५८ सालको त्यस श्रव्यदृश्य रेकर्डिङ उनिहरूले माया गरेर कुनै संग्रहालयमा अथवा पुस्तकालयमा राखेका छन् कि भन्ने आसा चाहिँ अझै लागेको छ । रुची हुने अनुसन्धान कर्ताको पहुँच भए यस विषयमा केही समय खर्चिनु पक्कै पनि समयको सार्थक सदुपयोग हुनेथियो भन्ने लाग्छ ।  


पद्म देवकोटा
मंसीर ५, २०८१



Monday, August 2, 2021

“यादव खरेलको महाकवि प्रेम” उपर टिप्पणी

 कात्तिक २८, २०७७ को इकागजमा सामीप्यराज तिमल्सेनाले लेख्नुभएको  “यादव खरेलको महाकवि प्रेम” शीर्षकको लेख पढेँ । 

लेखिएको रहेछ, “छोराछोरीको कुरा राख्न पाएको भए राम्रै हुन्थ्यो होला तर छोराहरूले खासै रुचि देखाउनु भएन ।”

मेरो संझनामा यादव खरेलजीले पहिले मसँग पनि अन्तर्वाता लिने सोच राख्नुभएको थियो, तर कुनै कारणवश उहाँले मलाई एक दिन भन्नुभयो, “मित्रनाथजीको उमेर पनि भइसकेकोले यस वृत्तचित्रमा उहाँको अन्तर्वाता राख्न उचित होला । तपाईंको नराखौ है ?” मैले यस विषयमा हुन्न भन्ने ठाऊँ थिएन । मेरो पनि अन्तर्वाता राख्नुपर्छ भन्ने वाला म पक्कै थिइन !

Tuesday, October 27, 2020

पृथ्वीराज चौहानमा मुना–मदनका श्रोता (टिप्पणी)

 पद्म देवकोटा


मुना–मदन छोडेर आफ्ना अरू सबै कृति जलाईदिए हुन्छ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाले पृथ्वीराज चौहान रचना गर्ने क्रममा उहाँ स्वयंलाई सबैभन्दा राम्रो लागेको आफ्नो कृतिको संझना गरेको उदाहरण सो महाकाव्यको नवम सर्गको तेर्‍हौं श्लोकमा पाइन्छ । अविबाहित अजमेरका राजा पृथ्वीराज चौहानलाई दरबारीया कवि चन्दाले कन्नौजका घमण्डी राजा जयचन्दकी छोरी शाहज्यादी संयोगीताको रूप, गुण, शील, स्वभावको प्रशंसा गर्दै ऊ यसरी राजकूलकालागि सुयोग्य कन्या बन्न सक्ने बताउँदै गएपछि पृथ्वीराजले हल्का र मिठो व्यङ्ग्य गर्दै भन्छन्, 

कविका कुरा गफीका छुरा

गाँजाका सुर, मिथ्याका पुरा

सबै हुन् पाथी भूस । (श्लोक ४ पृ. ८८)

तर उनको कौतुहल जागिसकेको छ र कन्नौजमा गएर कन्या हेर्न मान्छन् । यौटा जोगीको भेषमा र अर्को जोगीको चेलाको भेषमा कन्नौजको यात्रा थाल्छन् । बाटामा “अतिथि उदार भारतका किसान” (श्लोक ८ पृ. ९०) का झोपडीमा रात बिताउँदै जाँदा यौटा यस्तै झोपडीभित्रको चित्रण कविले यसरी गरेका छन्, 

चन्दाले यस्तै गर्दथे गाना

बराबर गिराई मोतीका दाना

किसान नजरका । 

ईश्वरको हाँसो पाएको फूल–

हरूको कथा सुगन्ध मूल

सुनेर दिलले भक्तको सच्चा

रातको पहरमा ।

किसान शिशु वरि र परि 

बस्दथे सुन्दै तिनलाई घेरी

सुन्नको रहरमा ।

यस्तो ली चाला ती दुई पुगे

कन्नौज शहरमा । (श्लोक १४ पृ. ९२) 

कविले यसरी आफ्नै सफल कृतिको साहित्यिक संकेत दिंदै नयाँ कृति रचना गर्नु आफैमा यौटा रोचक तथा विरल घटना हो ।  

मुना–मदनको “सज्जन वर्गप्रति”बाट कविले आफ्नो कृतिको सफलतालाई लिएर व्यक्त गरेका इच्छाका विभिन्न अभिव्यक्तिमध्ये हरफ १२ मा भनिएको छ, “झोपडीभित्र यसैले बालोस् मनको दियालो ।” नभन्दै पृथ्वीराज चौहानको उपर्युक्त श्लोकमा कथा सुन्ने र सुनाउने दुवै थरी झोपडीभित्र छन् । यो झोपडी किसानको हो र किसान भारतको जसले गर्दा मुना–मदन भारतका झोपडीमा समेत चर्चित भएको बुझिन्छ । यस झोपडीभित्र यौटा मात्र कथा हालिएको छैन । “–हरू”ले मुना–मदनबाहेक शायद लूनी, म्हेन्दू, सुलोचना, आदि सबैलाई इङ्गित गरिरहेको छ ।

जे होस्, माथिको श्लोकमा मार्मिक कथाहरू सुन्ने र सुनाउने दुवैका आँखामा आँसू छन् । मुना–मदनकै पंक्ति — “ईश्वरको हाँसो पाएका फूल” (हरफ २९६) — यस महाकाव्यमा उतारेर मुनाको याद दिलाउँदै ऊ जस्तै अन्य नारीको संस्मरण गर्न हामी निम्त्या–इएका छौं । श्रोताको दिल भक्तको जस्तो सफा छ । वास्तवमा झोपडीभित्रका श्रोता बालक र बालह्दय भएका किसान छन् । कथा सुनौसुनौ लागिरहने रोचक छ किनभने मार्मिक छ । हुन त यी सबै कुरा कविकै कथनभित्र पर्छन् तापनि पाठकको हैसियतले बोल्नुपर्दा यस कथनले पृथ्वीराज चौहानको यस सर्ग अझै रोचक बन्न गएको मेरो अनुभव छ । 


संन्दर्भ ग्रन्थ


देवकोटा, महाकवि लक्ष्मीप्रसाद । पृथ्वीराज चौहान । साझा प्रकाशन : ललितपुर, २०६३ । 

Devkota, Laxmi Prasad. Muna-Madan. Translation: Padma Devkota. Adarsh Books: New Delhi, 2018.