ईस्वी संवत् १९५८ मा राष्ट्रकवि माधवप्रसाद घिमिरे र महाकवि लक्ष्मीप्रसाद देवकोटा तासकन्दमा आयोजना गरिएको एफ्रो–एशियाली सम्मेलनमा भाग लिन जाँदा हाम्री माता मनदेवी देवकोटा साथमै हुनुहुन्थ्यो । सो सम्मेलनको वयान मैले मुमाबाट धेरै सुनेको छु । उहाँले बयान गर्नुभए अनुसार त्यस कार्यक्रमको प्रसारण टेलेभिजनबाट पनि भएको बुझिन्छ । सो कार्यक्रम आफूहरू बसेको होटेलमा पनि देख्न सकिन्थ्यो भने सम्मेलन भइरहेको स्थानमा पनि देख्न सकिन्थ्यो रे । यस बयानबाट थाहा हुन्छ कि त्यस सम्मेलनको श्रव्यदृश्य रेकर्डिङ भएको हुनुपर्छ । बुबाले रुसबाट फर्किंदा हिज मास्टर्स भ्वाइस कम्पनीको दम दिएर रेकर्ड बजाउने ग्रामाफोन र रेकर्डहरू दुवै लिएरै आउनुभएको थियो । मैले नबुझे तापनि त्यस ग्रामाफोनबाट बजेको गीत सुनेर रमाएको हुँ । त्यसमा कसकसले बोलेको फेरी सुन्नुपर्छ भन्ने कुरा बुबाले गर्नु भएको पनि थियो । मेरै कारणले ती रेकर्डहरू फुटेर चकनाचुर भएका हुन् जुन कुरा मैले आफ्नो पुस्तकमा बताइसकेको छु ।
सो पुस्तकमा नबताएको एउटा घटना यहाँ बताउन चाहान्छु । यो घटना त्यस बेलाको हो जुन बेलामा रुसी दूतावास पहिले बुबा मन्त्री भएको बेलामा हामी डेरा गरेर कालीकास्थानबाट डिल्लीबजार सडक काटेर सिधै उत्तर हानिदै ज्ञानेश्वर निस्किने बाटोमा अवस्थित जुन घरमा बसेका थियौँ त्यही श्रीमती अंगुरबाबा जोशीको घरमा थियो । मलाई मिति याद भएन । म एक दिन बुबाको माथि बताएझैं रेकर्ड भएको टेप अथवा श्रव्यदृश्य रेकर्डिङ पाइने सम्भावना के छ त भनेर त्यस रुसी दूतावासको प्रथम कल्चरल आटाचेसँग कुरा गर्न समय मागेरै उपस्थित भएको थिएँ । हामी त्यस घरमा डेरा गरेर बस्दा गोलो भर्याङ चढेर माथिल्लो तलामा जान्थ्यौं भने मलाई भूइँतलाको त्यस बीचको छिंडीमा प्रथम कल्चरल आटाचेलाई कुर्न राखियो जहाँ पस्न तीनतिरबाट सकिन्थ्यो । त्यस छिंडीको कोठामा केही काठका मेच र एउटा टेबुल पनि थिए । म चुप लागेर कुरिराखेँ । प्रथम कल्चरल आटाचे एक महिला हुनुहुँदो रहेछ । उहाँलाई मैले उठेर अभिवादन गरेँ । कुराकानी सुरुभयो । मैले आफ्नो परिचय दिंदै आफूले त्यसरी भेट्न चाहेको कारण बताउँदै थिएँ । त्यसै बेला छिंडीको एउटा कुनाबाट ढेडु मुसा खुरुरुर्र कुद््यो । मुसो देखाउँदै प्रथम कल्चरल आटाचेलाई भने, “मुसा आयो ।” मुसा देख्नासाथै ती प्रथम कल्चरल आटाचे यसरी चिच्याएर उफ्रिनुभयो उहाँ कसरी काठको मेचमाथि पुग्नुभयो भन्ने कुरा मैले थाहा पाउनै सकिन । त्यस मेचमाथि उभ्भिएर बढो आत्तिदै र खुट्टा ठटाउँदै उहाँले चिच्याउनुभएको देख्दा म जिल्ल परेँ । मैले गर्नसक्ने कुरा केही थिएन ।
अनि छिंडीका तीनवटै निकासबाट मानिस आए । उनिहरू पक्कै पनि सुरक्षा गार्डहरू हुनुपर्छ । एक जनाको हातले काखीमुन्तिर कोटले लुकाएको केही वस्तु समातेको जस्तो देखिन्थ्यो । उनिहरूले म जिल्लिएको दखे । प्रथम कल्चरल आटाचे मेचमाथि उभिनुभएको देखे । रुसी भाषामै के भयो भनेर सोधे होलान् । मेचमाथिकी प्रथम कल्चरल आटाचेले रुसी भाषामै तथ्यसत्य बताइन् होला । म रुसी भाषा बुझ्दिन थिएँ । अनि ती सुरक्षा गार्डमध्ये दुईजनाले उहाँलाई मेचबाट ओर्लिन सहायता गरेर भित्र लगेभने मलाई अर्का गार्डले “उहाँलाई आज संचो छैन । तपाईं अर्को दिन आउनुहोस्” भनेर बाहिर निस्किने बाटो देखाइदिए । श्रव्यदृश्यको रेकर्डबारे जानकारी आज मसँग यति मात्र छ !
त्यसपछि म फर्किएर रुसी दूतावासमा गइन । अन्य माध्यमबाट कुरा बुझ्ने चेष्टा त्यति सफल भएन । रुस टुक्रिएपछि आज तासकन्द उजबेकिस्तानको भूमिमा पर्छ । सन् १९५८ सालको त्यस श्रव्यदृश्य रेकर्डिङ उनिहरूले माया गरेर कुनै संग्रहालयमा अथवा पुस्तकालयमा राखेका छन् कि भन्ने आसा चाहिँ अझै लागेको छ । रुची हुने अनुसन्धान कर्ताको पहुँच भए यस विषयमा केही समय खर्चिनु पक्कै पनि समयको सार्थक सदुपयोग हुनेथियो भन्ने लाग्छ ।
पद्म देवकोटा
मंसीर ५, २०८१