Wednesday, May 8, 2013

एकै ऐक्य

पद्म देवकोटा

आज मलाई आफूले प्रष्टसँग नबुझेका कुराहरूको चर्चा गर्न मन लागेको छ । स्कूलमा बाहेक भौतिकशास्त्र नपढेको मानिसले क्वान्टम मेकानिक्स बुझे जस्तो गर्नु पाखण्डीपना हो । मलाई क्वान्टम मेकानिक्सको क पनि आउँदैन । मलाई संस्कृत पनि आउँदैन । अन्य भाषामा अनुदित नै सही मैले वेदको अध्ययन गरेको छैन । अनि मैले बुद्धका बारेमा थोरै कुरा मात्र पढेको छु र अनेकौं कुरा सुनेको छु । सुनेका आधारमा केही बुझे जस्तो पनि लाग्छ । यथार्थमा मलाई बोधिसत्व के हो भन्ने प्रष्ट छैन । त्यसैले मैले बुद्धत्वका बारेमा जे भन्छु ती सबै क्वान्टम मेकानिक्स र वेदान्तका बारेमा जस्तैं कमसल ज्ञान, श्रुती र कल्पनाका लेप मात्र हुन् भन्ने मान्नु पर्छ । यी तीनवटै क्षेत्रमा म यौटा यस्तो नाबालक छुँ जसले आफ्ना आश्चर्यका आँखा ठूला पारेर हेरिरहेको छ र एक निमेषकै निम्ति किन नहोस् समस्त विश्व बिर्सिएर उसको मन, भावना र चेतना आफ्ना लागि अस्पष्ट र अनौठा विषयमा केन्द्रीत रहन गएका छन् । हामी सबैका निम्ति नबुझेका कुरा जति जादू र रहस्यका मिठासमा घोलिएका हुन्छन् । एकातिर यस्तै आकर्षणको बलले मलाई आज आफूले नबुझेका कुराहरूको चर्चा गर्न आँट दिलाएको छ भने अर्कोतिर साधारण मानिसको प्रवृत्ती स्वभावैले आध्यात्मिकता र भौतिकता बीचको लङ्गुर हो जसले स्रष्टाको खाँचो र भौतिक नियतत्त्ववादको सम्भवत एक्लो यथार्थ बीच धर्मराउँदै उसको व्यक्तित्त्व निर्माण गर्दै लान्छ, चेतनालाई अझ व्यापक पार्ने प्रयास गर्दै जान्छ । त्यसैले म पनि आज आफैबाट कुरा सुरु गर्न चाहान्छु ।
मेरो मनमा के चाहीँ आउँछ भने विभिन्न विचार र भावना, विचारमा तर्क र थोरै प्रष्टता, भावनामा प्रेम र त्रास, प्रष्टतामा संशय र त्रासमा आफ्नो सुरक्षाको आवश्यकताको बोध । म छु को अर्थ मेरो इच्छाशक्ति छ जसको प्रयोगद्वारा म अन्य वस्तु र व्यक्तिउपर नियन्त्रण जमाएको अनुभव पनि गर्न सक्छु र यसो गर्न सके वापत मलाई आनन्द पनि आउँछ । नियन्त्रण गर्न चाहेर पनि नसकेको खण्डमा म दुखी भइदिन सक्छु । त्यसैले मेरा मानसिक दु:ख मेरा पूरा हुन नसकेका चाहानाबाट उत्पन्न हुन्छन् जुन चाहानाहरू त्याग्न सके म दुखी हुने छैन । म आफ्नो मुटुको ढुक्ढुकी सचेत नियन्त्रणमा लिन चाहान्न, त्यसैले मुटुको गति मेरो नियन्त्रणमा नभए पनि म दुखी छ्रैन । श्वास प्रश्वास, पाचन प्रक्रिया, आदि पनि मेरा नियन्त्रणमा छैनन् । तर म दुखी छैन किनभने मेरो जैविक ऐक्य ऐच्छिक र अनैच्छिक क्रियाका आपसी संपोषणमा निर्भर छ । पश्चिममा देकार्टले भौतिक जगत्का नियम लागू नहुने मन र लागू हुने शरीर र संसारको द्वैतवादी अवस्था बताए पछि आत्मा र भौतिक पदार्थको आपसी विरोधलाई लिएर अनेकौं तर्क वितर्क चले । यता मलाई पनि सानै उमेरदेखि धार्मिक वेदान्ती परम्पराका सोचाईमा रहेर मेरो जीवात्मा अलग अविनाशी वस्तु हो भनेर सिकाइयो; मैले पछि गएर बुझें कि म शरीर पनि त्यति नै हूँ जति कि आत्मा पनि हूँ । म आकारलाई नकारेर निराकारलाई मात्र स्वीकार्न नसक्ने नै थिएँ । मलाई सिकाउनेहरूले आत्मालाई बढी महत्त्व दिए; मैले दुवैको समान महत्त्व स्वीकारे वापत म नास्तिक देखिएँ । तर मेरो शरीर पनि पदार्थ भएकै कारणले अविनाशी छ भन्ने कुरा विज्ञान नपढेका अध्यात्मवादीहरूले नमान्नु स्वाभाविक लाग्थ्यो । जे अविनाशी छ त्यही नै आत्मा हो भन्न म पनि सक्दिन थिएँ । अध्यात्मवादीहरूको चेतना यही भौतिक पदार्थमा आश्रित छ भन्ने मेरो सोचाई बन्दै गएको थियो र चैतन्यले लिने अनुभूति ज्ञानको मात्र नभएर दु:खको पनि श्रोत हो भन्ने कुरामा अझै पनि विश्वास गर्छु । बुद्धले पनि अरू धेरैले झैं दु:ख निवारणकै उपाय खोजेथे र निर्वाण प्राप्त गरेथे, त्यो निर्वाण अथवा सारा तृष्णाहरू निस्क्रिय भएको अवस्था जहाँ मनको चांचल्य स्थिरतामा परिणत भएर शान्त शरोवर झैं विश्व नियन्त्रण गर्ने चाहानाविना नै विश्वलाई छातिभरी खेलाइरहेको हुन्छ । दु:ख निवारणको परम् मार्ग हाम्रा छवटा इन्द्रीयका पोषणमा चम्किएको तृष्णाको ज्वाला निभाउने क्रिया हो भनेर बुद्धले विश्वलाई सिकाए । यस बोधको विशेषता के हो भने चाहेर होस् वा नचाहेर होस् शान्त सरोवरमा विश्वको प्रतिविम्ब झल्किरहेझैं महाप्रस्थानको घडीसम्म पनि बोधिसत्वको छातिभरी यो संसार प्रतिविम्बित भइनै रहेको हुन्छ र त्यहाँ यस दुखी मानव संसारप्रति करुणा छचल्किइरहेको हुन्छ ।
मृत्युपश्चात् के छ भन्ने कुराले बुद्धलाई त्यति आकर्षण गरेन जति कि मानव जीवनको वास्तविक अवस्थाले गर्योक । बुद्धले पहाड उचालेनन्, समुद्र सुकाएनन्, पानीमाथि हिंड्दै कोरीको रोग निको पारेनन् । उनीले कारण र कार्यको अनवरत् गतिमा बहेको चेतनालाई सो प्रवाहबाट उम्किने बाटो देखाए । त्यो देख्नेलाई सजिलो थियो । सत्य बुझ्न भ्रम र यथार्थ छुट्याउने विवेकको आवश्यकता मात्र थियो, दृष्टिकोणमा सानो परिवर्तन ल्याउनु मात्र थियो । आफ्नो आफ्नो घैंटोको चेतनाले कि बुझ्यो, कि बुझेन । हामीलाई सरल यथार्थवादले दिलाएको अनुभव सत्य लाग्छ । ढुङ्गामा ठेस लाग्दा न ढुङ्गा नकार्न सक्छौं, न दर्द । अनुभव गर्ने चैतन्य र अनुभव दिलाउने ढुङ्गाको सरल ऐन्द्रिय यथार्थमा द्वैतवाद फष्टाउँछ । तर बुद्धले यस प्रकारको द्वैतवादलाई यसरी नकारे कि उनको निम्ति यस्तो संभ्रम अहंको चर्काईले टुक्राएको विश्वबोध थियो । यो चर्किएको चेतना थियो । बुद्धका निम्ति यथार्थ क्षणीक र अनित्य हुन सक्दैनथ्यो, त्यसैले अनित्य र क्षणीक संसार र पदार्थलाई नै उनले संभ्रमात्मक ठहराए । जुन वैदीक परंपरमा बुद्ध जन्मिएका थिए, त्यसले पनि बताएकै थियो कि जहाँ विश्व दुई वा बढी टुक्रामा विभाजित भई अलग अलग अस्तित्वमा प्रस्तुत भएको तथ्यलाई यथार्थ मानिन्छ त्यहाँ अविद्याले काम गरेको हुन्छ । सबै अलग देखिएका टुक्राका सम्बन्ध देख्ने वा देखाउने काम विद्या अर्थात् उच्चतम् चेतनाले गर्छ । अलग देखिने वस्तुका सारगत समानता दृष्टिकोण मात्र होइन, नित्यज्ञानको निम्ति यथार्थ हो । यस यथार्थबोधले अहंंको भ्यागुतो फुलाईमा लगाम लगाउँछ । व्यक्तिको एक्लोपनालाई ध्यानकेन्द्रित एकान्तमा अन्तर्मुखी हुन आव्हान गर्छ । यसरी मानव अवस्थाको यथार्थ दु:ख हो भनेर देख्ने बुद्धले अहं निभाउन अहिंसा अपनाउनु पर्ने कुरा समेत बताएका छन् । बुद्धलाई न वैदीक परम्पराको टुप्पो न भौतिक दर्शनका छेऊले आकर्षण गरे । उनी यस अर्थमा मध्यममार्गी थिए ।
एकातिर बुद्धको खोज मानव दु:ख निवारणको खोज थियो भने ब्रह्ज्ञानीहरू परमार्थको खोजमा समर्पित थिए । उनिहरूले पनि शायद यही तथ्य बुझेर चर्मचक्षुको भर नपर्न आग्रह गरेथे किनभने इन्द्रियहरूले कुन बेला छकाइरहेका हुन्छन् भन्ने कुरा भन्न गार्होर छ । मायाको नृत्यमा तिर्मिराएका इन्द्रियहरूले त्यसपारीको तथ्यबोध लिन भ्रम र यथार्थ फेरी पनि छुट्याउन आवश्यक थियो । आफ्नै इन्द्रिय र त्यसबाट पैदा हुने अनुभव उपर शंका उठाउन व्यक्तिलाई कठीन हुन्छ किन भने “म” सबैभन्दा बढी प्रयोग हुने त्यो भाषिक आधार हो जसको प्राचुर्य र प्रबलतामा नीजि अनुभव मानव ज्ञानमा परिणत हुन्छ । यसैले विज्ञानले समेत “म”को प्रभुत्वमा पलाएको ज्ञान नकार्दै निजात्मकतालाई भन्दा वास्तविकतालाई अँगाल्दै आएको हो । एकातिर हाँस र बँदेलका विपरित दिशाका यात्रामा झैं निर्धक्क जुटेका बाह्य संसारको गहिराईमा परमाणुको अध्ययन र बोधले पाएको परिष्कार विरूद्ध अन्तज्र्ञानको रहस्यात्मक झल्याकझुलुकमा प्राप्त ज्ञानको परिष्कार हाम्रो शिथिल मथिङ्गलमा प्रभुत्वका लागि लडिरहेका छन् जस्तो देखिन्छ । तर वास्तवमा यो ज्ञान र विज्ञानको युद्ध होइन; युद्ध तर्क र अन्तज्र्ञानको हो । त्यसैले हामीले यस युद्धको वयान भाषामा गर्ने चेष्टा गर्दा सँधै फसिरहेका हुन्छौं किन भने तर्क र गणीत दुवै भाषाभन्दा परका अनुभव हुन् जसरी कि अन्तज्र्ञान पनि । अमूर्त अवधारणा र मिलिक्क दर्शन भाषामा अटाउँदैनन् । गणीत भाषा होइन – अङ्क र अक्षर यौटै हुन सक्दैन । तर्कले अवधारणालाई सांकेतिक भाषाका आधारविना व्यक्त गर्न सक्दैन । अन्तज्र्ञान क्षणीक, मिठो, छोटो, उज्यालो विजुली चम्काई हो जसलाई भाषाले समात्नु अगाडिनै ऊ लोप भइसक्छ, तर आफ्नो अमिट छाप छोडेर मात्र – बबल चेम्बरमा वर्षिएका कणका डोबहरू जस्तै । यस्तै अन्तज्र्ञानको प्रकाशमा मात्र बोधिसत्व जन्मिन्छ र छिपेरै मुस्काइरहन्छ किन कि आत्मप्रदर्शन यसको उद्देश्य हुन सक्दैन । यसैले कुनै बुद्धमार्गी गुरुले भनेका थिए – जान्न चाहाने मान्छे बड्दै जान्छ, बुद्धमार्गमा चल्ने मान्छे घट्दै जान्छ ।
ब्रह्मज्ञान स्रष्टा, सृष्टि, आत्मा र परमात्माका अवधारणा खेलाउँदै मायाबाट उत्पन्न संभ्रम अविच्छिन्न चेतना अथवा विद्याले हटाउन सके मात्र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास अगि सार्छ । जहाँसम्म भ्रम र यथार्थको द्वैत अवस्थाको सवाल छ, त्यहाँसम्म हामीलाई अद्वैत वेदान्त सुपाच्य छ । हामी यतिसम्म स्वीकार्न सक्छौं कि ब्रह्मलीला छ पनि र छैन पनि – यसलाई जीवात्माको चेतनाले टिपेको क्षणमा यो छ, लीला भ्रमको जाली भएकोले भ्रमकै रूपमा भए पनि लीला छ, तर त्यसमा जे छ त्यो छैन पनि किन भने त्यो यथार्थ हैन । हुनु र नहुनु बीचको अवस्था मायाको खेल हो, यही नै सृष्टी हो । सपनाको पात्रले झैं जीवात्माले आफ्नो अस्तित्व बोध गरे तापनि अन्तिम यथार्थ मात्र एक्लो शास्वत ऐक्य हो जसको सपना/लीलाले समेत (वैज्ञानिकको परोक्ष कणलेझैं) हुनुको मात अनुभव गर्न पाएको छ । तर जब परमार्थ बोध भाषामा उत्रिन्छ, त्यसको साथै अनेकौं शंका पनि उत्रिन्छन् किनभने भाषाको स्वभाव नै अस्पष्टता हो । “तत् त्वं असी” भन्ने गुरूको जिब्रो लर्बराएको हो कि भन्ने ठान्ने विद्यार्थीले एक दिन नदी किनारमा स्नान र जप पश्चात् “अहं ब्रह्मास्मी †” भनेर मनमनै अकस्मात् उच्चारण गर्दा के उसको अन्तज्र्ञान खुल्यो भन्न मिल्ला ? गौण रहस्यको विजुली यहाँ कसरी झिल्कियो ? अनि त्यसको प्रकाश चेतनामा पर्योर वा मनमा पर्यो भन्ने कुराले मात्र उसको मोक्ष निर्धारण गर्छ । गुरूले घोकाएको वाक्य अकस्मात् आर्कै भावमा सम्झिनु विद्या होइन, स्मृति हो । “ओहो † मैले जसरी सोच्छु मेरो विश्व त्यस्तै बन्छ । यस विश्वको सृष्टिको क्रममा मेरो पनि चेतनाको केही देन रहेछ । म पनि स्रष्टा रहेछु । अझ, म त्यही स्रष्टा हूँ जसको ह्दयको ध्वनि साकार भएर आयो – ‘एकोहं, बहु स्याम †’” यति सोच्ने व्यक्तिले ज्ञानको आर्को सिंढी चढिसक्यो । परमार्थसँगको सम्बन्ध साक्षात्कार गर्न यसरी अलग व्यक्तिगत अस्तित्वको खण्डनविना सम्भव छैन । जहाँ अलग अस्तित्व नकार्न सुरु गरिन्छ त्यहाँ विश्व चराचरको एकै ऐक्यको अनुभूति प्रेमभावमा गरिन्छ ।
सृष्टि क्रिडामा सम्पन्न भइरहेछ । दीव्यक्रिडा त्यो लिला हो जसको विशेषता हाम्रो क्षणीक नीजित्व चम्काउनुमा रहेको छ । नतिजा स्वरूप हामी त्यस परमार्थप्रति अन्धो भएर आफ्नै दृष्टिकोणलाई यथार्थ देख्न थाल्छौं । हामीलाई यही मात्र संपूर्ण सत्य लाग्न थाल्छ । यस अलमलको नाम माया हो । र यसबाट क्रिडाले लिएको गतिशीलता हाम्रो कर्म हो जसको बन्धनबाट मुक्ति पाउनु मोक्ष प्राप्त गर्नु हो । तर आजका धेरै मानिसलाई यस प्रकारको मोक्ष चाहिएको छैन किनभने वैज्ञानिक अनुसन्धानले ल्याएका सुविधासम्पन्न जीवनबाट वञ्चित नहुनु नै उनिहरूको जीवनको सबैभन्दा ठुलो लक्ष बन्न पुगेको छ । विज्ञानप्रतिको आस्था र आकर्षण झन्झन् प्रबल बन्दै गएको सन्दर्भमा वेदान्ती वक्वास् कसलाई मन पर्ला र ? तर विज्ञानले वक्वास् गर्न थालेको दिन मानिसको सहारा के होला ? यसैले उत्तरदायी विज्ञानले वक्वास् गर्दैन । यसले ईश्वरको अस्तित्वको प्रमाण खोज्छ जहाँ कि तपाईं हामीलाई विश्वास मात्र भए यथेष्ठ छ । विज्ञान र खास गरी भौतिकशास्त्रले पनि जीवन के हो, कहाँबाट आयो, विश्वको सुरुआत के हो, समयको आरम्भ छ कि छैन, पदार्थ के हो र यसको नाश हुन्छ कि हुँदैन जस्ता अनेकौं प्रश्नका जवाफ यथार्थ बुझ्ने सन्दर्भमा खोज्दै आएको छ । यही सिलसिलामा क्वान्टम फिजिक्सले न्युटनको यान्त्रिक विश्वलाई पछिल्तिर धकेल्दै अझ ताजा रहस्योद्घाटन गर्दै विश्वलाई चकित तुल्यायो मात्र होइन कि आफै पनि ठुलो विश्मयमा परेर उप–परमाणविक कणहरूको उर्जा–नृत्यमा रमाइरहेको छ । यसको सगर्व रहस्योद्घाटन गर्न प्रयासरत छ ।
क्वान्टम फिजिक्सले सर्वप्रथम उर्जाका छाल मात्रा मात्रामा प्रसारित हुँदा रहेछन् भन्ने बुझ्यो । यिनै उर्जाका मात्रालाई क्वान्टम भनियो । न्युटनको विश्वले बुझे झैं पदार्थको सबैभन्दा सानो अंश अणु होइन रहेछ भन्ने कुरा क्वान्टम फिजिक्सले बुझ्यो; त्यो त कण रहेछ । अनि बुझ्यो कि कण तरङ्ग पनि र तरङ्ग कण पनि रहेछ । संपूर्ण पदार्थ एकै पटकमा कण पनि तरङ्ग पनि रहेछन् । व्यक्तिले त्यसलाई निरीक्षण गर्ने क्षणमा तरङ्ग कणको रूपमा प्रस्तुत हुँदा रहेछन्, मानौं चेतनाकै प्रभावले गर्दा कणरूपी पदार्थ तरङ्गबाट पैदा भइरहेछन् । यसले गर्दा निरीक्षण गर्ने क्षणमा कणको स्थान र त्यसको वेग एकैताल निर्धारण गर्न असंभव रहेछ । साथै कुनै पनि कण निश्चित् समयमा कुन ठाउँमा हुन्छ भनेर बताउन असंभव रहेछ । यी तरङ्ग–कणहरू कुनै एक स्थानमा नभएर एकै समयमा विभिन्न स्थानमा (करीव सर्वव्यापी झैं) भएर रहँदा रहेछन् । कहाँ छन् भन्ने ज्ञानभन्दा कहाँ हुन सक्छन् भन्ने संभावना मात्र हामी बुझ्न सक्दा रहेछौं । यस्ता पजिटिभ र निगेटिभ कणका जोडीमध्ये यौटामा कुनै परिवर्तन आएमा आर्को त्यस पहिलो कणबाट जति टाढा रहे तापनि त्यसमा पनि तुरुन्तै त्यही परिवर्तन आउँदो रहेछ, मानौं कि यस्ता कणमा पनि चेतना छ र एकले आर्कोको अवस्था बारे बोध लिइरहेको छ । कणको अस्तित्व व्यक्तिले निरीक्षण गर्ने समयमा मात्र रहेकोले यस्तो तरङ्ग–कणले “हुने” प्रवृत्ती मात्र देखाउँदो रहेछ र यसलाई निरीक्षकको चेतनाले असर पार्दोरहेछ । अनि यस्ता कणहरूका अलग अलग अस्तित्व बेमतलवको कुरा रहेछ किनभने आपसी सम्बन्धबाट मात्रै अरू कणका नाश र निर्माणको क्रिडा अविरल चलिरहँदो रहेछ । यि कणहरू एक आपसमा ठोकिएर अन्य परोक्ष कण पैदा हुँदा रहेछन् जसको शिथिल वा प्रबल सम्बन्धका आधारमा अन्य विभिन्न कण जन्मिदा रहेछन् । यसरी तरङ्ग–कणहरूको तन्नामा हाँडीबाट मकै उफ्रिएर बसेझैं करीव निर्मित हुनासाथै नाश हुने स्वभावका सूक्ष्म परोक्ष कणहरूलाई वैज्ञानिकहरूले घटनाको रूपमा स्वीकारेका रहेछन् र सूक्ष्म कणको जन्म र मृत्युका अनन्त घटनाक्रमलाई उप–परमाणविक विश्वको गतिशील नृत्यको रूपमा हेर्दारहेछन् । यस्ता आपसी सम्बन्धहरू फोर्स नभएर अब फोर्स फील्डका रूपमा बुझिन थालेका रहेछन् । शिथिल, प्रवल, गरूत्वाकर्षक र विद्युतिय–चुम्बकीय फोर्स फील्ड समेत गरेर जम्मा चार प्रकारका अन्र्तकणीय सम्बन्धले मान्यता पाएका रहेछन् । किन र कसरी भन्ने जवाफ दिन म सक्दिन, तर क्वान्टम फिजिक्सले आइन्स्टाइनको सापेक्षताको सिद्धान्तको समेत आड लिएर आज हामीलाई बताइरहेछ कि हामीले सत्य वा यथार्थ भनेर बुझेको जगत् (वेदान्तले भने झैं) वास्तवमा यथार्थ हैन रहेछ, संभ्रमात्मक रहेछ; पदार्थको सूक्ष्म यथार्थ ठोस जगत्भन्दा परको कुरा रहेछ किनभने कुनै पनि वस्तुको अकाट्य, सूक्ष्मतम् रूप रहेनछ । वैज्ञानिकहरूले ठोकेरै भनिसके, “पदार्थको अस्तित्व छैन, यो सब भ्रम हो ।” अणु नै पनि इलेक्ट्रन, प्रोटोन, न्यूट्रन, आदिले बनेका तथ्य प्रमाणित भइसकेकोले प्रोटोन वा न्यूट्रन पनि अझै साना क्वार्कहरूले बनेको हुनसक्ने सैद्धान्तिक सम्भावना उनिहरूले स्वीकारे तापनि क्वार्क अझतक प्रयोगशालामा फेला नपरेको वस्तु रहेछ । साथै कुनै पनि दुइवटा कणका बीचको दुरी ती कणका परिमाणका आधारमा धेरै व्यापक रहेछन् । अनि पुरानो भौतिकशास्त्रका नियमहरू यस उप–परमाणविक कणहरूको विश्वमा लागू हुँदा रहेनछन् । त्यहाँ त सृष्टिको नियम आर्कै रहेछ । अनि यस विचित्रको विश्वमा शून्यता व्यापक रहेछ । फोर्स फील्डहरूको अन्तक्र्रियाबाट सिर्जना भएका परोक्ष कणहरू वस्तु रहेछन् जसको पुरानो भौतिकशास्त्रको पदार्थ अविनाशी छ भन्ने निष्कर्श विपरित आदि पनि अन्त्य पनि अवश्य रहेछ । यस तरङ्ग–कणको फैलावट बुद्धको शून्य जस्तो पनि हो जो वेदको पूर्ण जस्तो पनि हो जसबाट जति झिके पनि पूर्ण रहन्छ । कारण, जसले झिकें भन्छ ऊ पनि त्यही पूर्णताको अंश हो र यसैले पनि उसले झिकेको हुँदैन, झिक्न सक्दैन । उर्जा कण बन्छ, कण उर्जा बन्छ । त्यसको कूल परिमाणमा परिवर्तन आउँदैन ।
यसरी विज्ञानले आज इन्द्रियगोचरलाई मात्र यथार्थ भनेर बुझ्नेहरूलाई भनिरहेछ – “इन्द्रियगोचर विश्व अन्तिम यथार्थ होइन, संपूर्ण यथार्थ पक्कै होइन । हामीले देख्ने रङ्गहरूभन्दा थप रङ्गहरू छन्, हामीले देख्ने प्रकाश र ध्वनिभन्दा परका संभावना विज्ञानले प्रमाणीत गरिसक्यो । एक्स रे नदेख्दैमा छैन भन्न मिल्छ र ? त्यसैले अन्धो–दृष्टिबाट उम्किन र माथि उठ्न प्रकृतिले कल्पना दिएकी छन् । यसको प्रयोगबाट थप रहस्योद्घाटन हुने पक्का छ । कल्पनाको प्रयोग गर †” तव त ध्यान र एकाग्र चिन्तनबाट उद्घाटन गरिएको ज्ञान र प्रयोगशालामा प्रमाणीत ज्ञानले करीव यौटै तथ्य बताइरहेका छन् । केवल मानव चेतना वा त्यसको मात्राले थप वा कम रहस्य सिर्जिएको छ । सानो र सीमित चेतनाले सिर्जिएको इन्द्रियगोचर संसार व्यापक चेतनाले अँगालेको बहुलोकको सम्भावना र यथार्थसम्म पुग्न सक्दैन । त्यसैले पनि हिन्दुको तीव्र कल्पनाले देखेको चौध भुवन क्वान्टम फिजिक्स र सापेक्षितताको सिद्धान्तको आधारमा संभावनाको रूपमा देखेको समानान्तर विश्व र बहुलोक अर्थात् मल्टिभर्सको अवधारणासम्म पुग्न खोजेको जस्तो देखिन्छ । यस चमत्कार मानव चेतनाकै उपज हो ।
चेतना आफैंमा यौटा विचित्रको कुरा छ । यसको शून्यस्थिति निर्जीव पदार्थ हो भने यसको पूर्णस्थिथि सच्चिदानन्द स्वरूप ब्रह्म हो । ब्रह्माको सृष्टिकार्यमा नित्यज्ञान वाधक तत्त्व बन्न पुगकैले अविद्या आवश्यक पर्न गएको हो भन्ने लिङ्ग पुराणको कथ्य छ । अज्ञान, अनैश्वर्य, अवैराग्य र अधर्मका पर्दा लागे पछि मात्र सृष्टि संभव भएको बुझिन्छ । मायाको सुरुआत यही हो । सामान्य भाषामा यी छेकबारहरू हुन्, सीमानाहरू हुन् – आजको वैज्ञानिकको भाषामा यी यस्ता फरक फरक आयामहरू हुन् जसले गर्दा बढी आयामको विश्व बुझ्न कम आयामको चेतना सँधै असमर्थ छ । त्यसैले कम आयामको चेतनाले हेतु वा चिन्हका आधारमा गौणको संकेत स्थुलबाट पाएर सत्यको ज्ञान प्राप्त गर्छ । यस प्रकारको सीमाना मायाले लगाउने भएकोले गर्दा ब्रह्मको सत्ता संशयको नास्तिमा परिणत हुँदै जीवात्माको अनुभवभित्रको यथार्थ र परमार्थमा विभाजित हुन्छ; उसको चेतना विद्या र अविद्यामा; उसको आनन्द दु:ख र सुखमा । यस ध्रुवत्वमा पदार्थ र प्रतिपदार्थ (आन्टिम्याटर) अथवा पजिटिभ र निगेटिभ चार्ज भएका कणहरूका आपसी सम्बन्धको खेल कताकता प्रतिविम्बित भएको पाइन्छ । अविद्या विद्यामा परिणत हुने कामको उप–परमाणविक विश्वमा तुलनिय कार्य के छ ? मलाई थाहा छैन । तर कताकता दु:खमा सुखको सम्भावना रहेझैं अविद्यामा विद्याको सम्भावना रहेकै कारणले पनि चेतना भौतिकशास्त्रभन्दा परको वस्तु हो कि जस्तो लाग्छ – त्यो वस्तु जसलाई न उप–परमाणविक अन्वेषणले ठम्याओस् न आधारभूत क्वार्कहरूको संयोजनले रचोस् । तर यही चेतनाको प्रभावले तरङ्ग कण बन्छ, कणको सृष्टि हुन्छ र त्यसको विनाश पनि स्वत हुन्छ । चेतनाको प्रभावमा जन्म लिने कणलाई म कसरी निर्जीव भनू ? मलाई त सिङ्गो सृष्टि सजीव छ भन्ने लाग्न थालेको छ । सिङ्गो सृष्टि ढुक्ढुकाइरहेको छ जस्तो लाग्न थालेको छ । र नाश र निर्माणको क्रमभन्दा पर र उपर रहने सिर्जनशील पूर्ण उर्जाको नाम ईश्वर हो भन्न मन लाग्न थालेको छ । यो उर्जा, यो शक्ति अनन्त चेतना हो, अनन्त सत्ता हो, अनन्त आनन्द हो । यहाँनिर मैले आफ्नो अज्ञान छिपाउँदै सजिलोसँग विश्वास बोलिरहेको छु । वेदान्तले त मभन्दा उत्तरदायी बन्दै हो पनि भन्दैन, होइन पनि भन्दैन । मिथकीय सृष्टिकर्ता भएको कुरा एकातिर पन्छाउँदै ब्रह्मन् वा परमार्थ आध्यात्मिक पनि हुन सक्छ भौतिक पनि हुन सक्छ भन्ने भाव व्यक्त गर्छ । मैले सुरुमै भनेझैं यस विषयमा मेरो ज्ञान कमसल छ । तरै पनि म दोहोराउन चाहान्छु – नाश र निर्माणको क्रमभन्दा पर र उपर रहने सिर्जनशील पूर्ण उर्जा अदृश्य तरङ्ग र चेतनाको निम्ति.सदृश बन्न सक्ने कणको रूपमा यो क्वान्टम फिजिक्समा व्यक्त छ ।
यसरी उप–परमाणविक भौतिकशास्त्रले इन्द्रियहरूलाई अन्तिम यथार्थउपर लागेको पर्दाको रूपमा देख्दा देख्दै यही इन्द्रियगोचर जगत्को सापेक्षित सत्यलाई कसैले जीवन र मृत्युको बाजी राखेर शाश्वत सत्य मान्छ भने त्यसको उपचार छैन । विज्ञानउपर ठुलो आस्था राख्नेले बुझ्नु पर्ने आर्को कुरा के पनि छ भने बुद्धले मानेका कारण र कार्यको जञ्जीरसमेत उप–परमाणविक विज्ञानले पूर्ण रूपमा नकारी सक्यो । विश्वको गहिराईमा लहड छ, क्रिडा छ, उत्तेजना र उल्लास छ । एकातिर बुद्धको मानविय करुणा बढी व्याबहारिक देखिन्छ, तर बुद्धमार्गमा उत्तेजना र उल्लासको दमन छ । आर्कोतिर चेतनाको प्रभावमा उर्जाको तरङ्ग साकार भएर कण र पदार्थ बनेर आएको वैज्ञानिक प्रमाण छ । एक अनन्त तरङ्गको तन्ना विछाएर चेतना लयवद्ध नृत्यमा आल्हादित छ – मानौं यो प्रकृतिको स्वमग्न चंचल बेहोसी नृत्य र पुरुषको त्यसउपरको सचेत, बौद्धिक र उत्सुक सृष्टिकारक स्पर्शको योग हो । विज्ञानले यसका कति थप प्रमाण निकट भविष्यमा दिंदै जान्छ भन्ने कुरा हेर्न बाँकी छ । तर जुन बाटोबाट उक्लिए पनि पुग्ने त टुप्पोमै हो । परमार्थबोधको शिखरत्वतर्फ यात्रा गर्न विश्वको ऐक्य बोधविना सम्भव छैन । शायद बोधिसत्वको पहिलो खुडकिला यही हो । यहाँसम्म पुगेपछि अहंभाव रहने सम्भावना पनि त हराइसक्ने छ । यतिसम्म त हामी तर्क गर्न सक्छौं । परमार्थसँगको ऐक्यभाव प्राप्त गरिसके पछि, पानीको थोपा सागरमा विलाइसके पछि, “अहं ब्रह्मास्मी” भन्न जानिसके पछि यहाँ बोधिसत्वको अर्थ के बाँकी रहला त ? बुद्ध, वैज्ञानिक र वेदान्तीमा के अन्तर बाँकी रहला त ? केही अन्तर बाँकी रहेको रहेछ भने त्यो त यस पहिलो खुड्किला उक्लिन नसकेकाका निम्ति मात्र बाँकी रहने छ ।
मैतीदेवी
३० असोज २०६९

Sunday, February 10, 2013

म, पाठक



पद्म देवकोटा

                यस लेखको उद्देश्य लेखनाथ पौड्यालको वंशीधरको दिव्य वंशीर म पाठकबीचको अन्तरसम्बन्ध केलाउनु रहेको छ । अन्ठाउन्न वर्षको पाको उमेरमा लेखनाथले शारदा ८.८मा प्रकाशन गर्नु भएको यो कविता र मेरो आजको आवश्यकता वा रूचीकै बीच पनि के सम्बन्ध हुनसक्छ भन्ने प्रश्न उठाउन गइरहेको छु । पाठकको अभावमा कुनै पनि साहित्यिक कृति मृतप्राय: हुने भएकाले कृतिमा प्राण पाठकले भर्छ या लेखकले भर्छ भन्ने प्रश्नको जवाफ जटिल छ । कृतिको आधिकारिक जन्मदाताको मृत्युको घोषणापश्चात् जन्मिएको पाठकले पितृवधको आवश्यकता स्वीकारीसकेपछि भस्मबाट पुर्खा व्युँताउने आर्को आवश्यकता बोध समेत गरिसकेको अवस्थामा पाठ र पाठकको अन्तरसम्बन्ध विश्लेषण योग्य ठान्दै एउटा पाठसँगको मेरो जम्काभेटको अनुभव बताउन गइरहेको छु ।
                यस कविता र मेरो जम्काभेट वासुदेव त्रिपाठीले सम्पादन गर्नुभएको लेखनाथका प्रमुख कवितामा हुनगयो । यस प्रथम जम्काभेटमा मलाई कविताको अनुहार मन परेन । अनुहारभनेर मैले त्यसको शीर्षकलाई जनाइरहेको छु । ममा आजसम्म पनि पूर्वेली अर्थमा धर्मसँग निकट सम्बन्ध राख्ने आध्यात्मवादको सम्मोहन नभएकाले र कविताको अनुहारमा कृष्णको लीलाप्रति भक्तिभाव छचल्किएको जस्तो लागकोले पनि कविताले अपेक्षा गरेको पाठक म होइन भन्ने कुरामा विश्वस्त भएँ । यो पाठले त्यस प्रकारको पाठक खोजेको छ जसले पाठमा रहेको आध्यात्मिक उत्सर्ग सजिलै र निर्विरोध ग्रहण गरोस् । मानौ कि पाठमा यौटा पाठक अन्तर्लिखित छ जो म हैन । अनि, पहिलो पटक सरर्र पढ्दा कविताको त्यति अर्थ पनि खुलेन । तरै पनि जम्काभेट त भइहाल्यो र मलाई पाठको कुनै कुराले आकर्षण नगरेको भए म यो लेख लेख्न बस्ने थिइन । सतहमा दुईवटा कारणले म यस पाठप्रति आकर्षित भएको हूँ पहिलो, यो लेखनाथ पौड्यालको कविता हो र उहाँप्रति मेरो गहिरो श्रद्धा छ; दोस्रो, यो कविता आठ हरफको मात्र छ जसले गर्दा यसलाई पढ्न धेरै समय खर्चिनु पर्दैन ।
                अब, सबै पठन रूपान्तरणकारीनै हुन्छन् किनभने पत्येक पढाईमा पाठको नयाँ अर्थ लाग्छ भन्ने डेरिडाको भनाईलाई स्वीकादै प्रत्येक पढाईले ममा पनि नयाँ प्रभाव पारिरहेको हुन्छ भन्ने विश्वास लिएर प्रश्न उठाउँछु पुनर्पठनपश्चात् यस कविताले ममा के परिवर्तन ल्यायो र मैले यसमा के पाएँ जो प्रथम जम्काभेटमा पाएको थिइन ? हाम्रो जम्काभेट हुनु अगाडिनै लेखनाथका कालमहिमापिंजराको सुगाजस्ता कृतिसँग म परिचित भइसकेको हुँदा तिनीहरूको उँचाईसम्म यो कविता पुग्न सक्ने कुराप्रति मेरो पाठकीय क्षमता पूर्वाग्रहीत भइदिएको हुनसक्छ । छ्या ! यसका दिदीवहिनीहरू जस्ती यो त राम्री रहिनछ !” भन्ने भावना लिएर यस पाठसँग संपर्कमा आएको म पाठकले सुरूमै केही गुमाइसकेको अवस्था हुन्छ । त्यो गुमेको वस्तु हो निष्पक्ष निक्र्यौल ।
                यसै गरेर म पाठकका अन्य कमजोरी छन् । म नेपाली साहित्यको इतिहास र परंपरा राम्ररी नबुझेको पाठक भएकोले नेपाली कविता पढेर बुझ्न त्यति शिपालु छैन । शायद कविता जस्तो भाषाको उत्कृष्ठ प्रयोग हुने विधाको सफल पठनकालागि मेरो भाषिक क्षमता पनि कमै होला । तर यसो भन्दैमा मेरो र यस कविताको जम्काभेट हुनु गल्ति हो भनेको हैन । यसको अतिरिक्त मेरो संस्कृत भाषाको अध्ययन शून्य भएवापत मेरो पाठकीय क्षमता अझ कमजोर भएको अनुभव गरिरहेको छु । मेरानिम्ति भौतिकवृन्दरूप,” “विस्तीर्ण,” “परा,” “व्यामोहवर्षा,” धीवृत्तिजस्ता अनेपाली शव्दका आवरणले लक्षित अर्थको समस्या ठडाएकोभन्दा कवि स्वयंले मजस्ता पाठकका लागि लक्षित नगरेको पाठले मेरो सामुन्ने गलत अवतरण गरेको अनुभव हुन्छ । यो कविता आध्यात्मिक संस्कृतविद्को निम्ति रचिएको हो भन्ने भावनाले म निराश हुन्छु । प्रश्न उठ्छ, “समस्या म पाठकको हो कि कविताको हो ?”
                तर साहित्य र खासगरी कविताप्रतिको अनुरागले म पाठकलाई यो कविता पढ्न प्रेरित पार्छ । शव्दकोषले कविता नबुझाए तापनि शव्दार्थसम्म दिएकै हुन्छ । शाव्दिक अर्थको ज्ञानपछि विलियम वर्डस्वर्थको The Lost Love को विम्ब आँखा अगाडि आउँछ
A violet by a mossy stone
                Half hidden from the eye
अर्थात्, काई परेको पत्थरपछाडि आधि छिपेकी फूलको सौन्दर्य संपूर्ण प्रकाशित नहुँदैमा नघटेझैं (र वास्तवमा बढे झैं) जटिल शव्दका काईले छिपाएको रहस्य मेरा निम्ति अझ आकर्षक बन्न पुग्छ । अनि कविताको रहस्योद्घाटन गर्ने आह्वान पाठक र पाठको अन्तर्सम्बन्धको रूपमा फेरी उठ्छ । यसरी मेरो साहित्यपठनको पूर्व अनुभवले नयाँ काव्य पठनकालागि सहायता गरिरहेको हुन्छ ।
                त्यसैले म कविता बुझ्ने चेष्टा यसरी गर्दछु । सिङ्गो कविताको भाव यौटै वाक्यमा उतार्नु परे यस्तो सुनिन्थ्यो होला जडमा जीवन भर्दै बाँसुरी घन्काएर, गोपिनीलाई जगाएर, आफू लुकेर हाँसीहाँसी रमाउने हे वंशीधर, तिमी विश्वमोहन छौ । यो कविता दुई श्लोकको भए तापनि यसलाई वाक्य संरचना र ती मार्फत् भनिएका कुरा तथा भावका आधारमा तीनवटा भागमा विभाजन गर्न सकिन्छ । प्रथम श्लोकको फुक्छौक्रियामा आधारित वाक्यको सरलीकृत भाव हो — “हे वंशीधर ! तिमी बाँसुरी फुक्छौ ।यसरी चारहरफको यौटै वाक्यमा धेरै शव्दमा थोरै कुरा बताइएको छ । वर्णन र विश्मयको प्राचूर्यले भाषा केही खुकुलो भएको अनुभव दिन्छ ।
                अनि दोस्रो र तेस्रो भाग दोस्रो श्लोकका प्रथम र अन्तिम दुईदुई हरफमा अटाएका छन् । दोस्रो भागमा केही शव्दमा केही कुरा व्यक्त भएका दुई हरफको वाक्य छन्क्रियामा बनेको छ । यसको भाव हो — “त्यो ... सुरबाट जागृत बनी ... धीवृत्ति छन् गोपिनी ।यसैगरी तेस्रो भागको भाव संक्षिप्तमा दिन मुश्किल पर्दछ किनभने दोस्रो श्लोकका अन्तिम दुई हरफमा थोरै शव्दमा धेरै कुरा धेरै छोटाछोटा वाक्यमा बताइएको छ १) साथै छौ,” २) लुक्नमा चतुर छौ,” ३) हाँसी रहन्छौ,” र ४) तिम्रो रसरङ्गमा ... यो सृष्टिको चक्चकीछ । यसरी भाषा र भाव कविताका तीन भागमा क्रमश बढी खँदिला बन्दै जान्छन् र सुरुको लामो, खुकुलो वाक्य अन्त्यमा कस्सिएको र छोटाछोटा वाक्यहरूको यौटै जडानमा आधार लिएर सशक्त बन्छ । यो शक्ति त्यो चर्को सुरको प्रतीक बनेर दिव्य वंशी (कविता) अझ चर्किंदै गएको भाव दिलाउँछ । अनि दिव्य वंशीले गोपिनीलाई झैं कविताले पाठकलाई जागृतबनाउन थाल्दछ ।
                यसैगरी कविताको संरचना हेर्दा पहिलो र तेस्रो भागमा वंशीधर कर्ता भएर उभिएका छन् भने बीचको भागमा गोपिनीहरू कर्ता भएका छन् । उनिहरू वंशीधरलाई खोज्छन्, “रासविलासकोरहर गर्छन्, “धीवृत्तिछन् जसरी कि म पाठक यस कवितामा आफूले चिनेको कवि खोज्दै पिंजराको सुगाकालमहिमाको रसास्वादनको रहर लिएर धीवृत्तिछु । उनिहरू जागृत हुने क्षणको अगाडि पनि र जागृत भइसकेपछि पनि वंशीधर अदृश्य र अप्राप्त छ । गोपिनीहरू फेरि निदाउनेअवस्था (प्रलय)को भने यहाँ चर्चा छैन । यो मौनताको अर्थ म पाठक आफ्नो संस्कृतिको ओत लागेर हेर्दा महत्त्वपूर्णको छ किनभने लय, स्थिति र प्रलयको चक्र घुमाउने उही वंशीधर प्रथम स्रष्टा पनि हो । अनि यो पनि बिर्सिनु हुन्न कि वंशीको धून लयक्रिडा हो । यसैले त गोपिनी अर्थात् जीवात्माहरू वंशीको सम्मोहनले सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावनजसले जीवात्माको भौतिक आधारको भूमिका खेलिरहेको छ तिनको स्थिति अवस्था र निरन्तरताको आवश्यकता बुझ्ने वंशीधर लुकेर हाँसीरहेको भावमा म (काव्यीक पनि) स्नेह र श्रृङ्गार भरिएको पाउँछु । सुरुको व्यमोहवर्षासृष्टि र नवजागृत चेतनाको टक्करावटबाट पैदा भएको छ । यो चेतनको सृष्टिप्रतिको प्रेमपूर्ण प्रतिक्रिया हो, स्थितिको आरम्भ हो किनभने निरन्तरताको रहर यसमा अझै अव्यक्त छ तर अन्तर्निहित छ । वंशीको धून बासी नभएको वा हुन नसकेको अवस्था पनि यसमा प्रष्ट छ किनभने नयाँ नयाँ सुरयसरी लहराइरहेछन् कि यी सुर बन्द हुनु प्रलय हुनु हो, प्राण जडतातर्फ र जड आदिगर्तको अस्तव्यस्ततातर्फ अभिमुख हुनु हो । अनि यी सुर लहराइरहँदा व्यामोहगोपिनीले झैं म पाठकले पनि यस कवितासँगको प्रथम जम्काभेटमा गरेको अनुभव बन्नपुग्छ ।
     तर लय र स्थितिका कुराका सिलसिलामा प्रलयका कुरा नउठ्नु वा नउठाइनु लेखनाथिय मानव संवेदनशीलता हो जुन कुरा तर्क गरी बस्दा निराकारमा पाउन सकिँदैन । पाउने भए त्यो निराकार हुने पनि थिएन ! हो, म संस्कृतिभन्दा अलि पर गएर बोलिरहेको छु । तर गाई, गोरू, कुक्कुर र मानिस समान देख्ने वा देख भन्ने पूर्वेली आध्यात्मिक ज्ञानले मानव गौरवको लांछना गरेको अनुभव मेरो पनि छ किनभने यहाँ समान दृष्टिकोभन्दा करूणाको आवश्यकता ठूलो छ । विविधतामा समानता देख्नु साधुत्व प्राप्त गर्नु हो जुन कुरा न यस कविताका रचनाकारले, न पाठकले प्राप्त गरेको छ । कविले अतीतमुखि भएर सनातन आदर्श स्वीकारेकासम्म बुझिन्छ, तर यसो भन्नु कविको जीवनमा त्यस आदर्श रूपान्तरीत भएको थियो भन्नु होइन । यति राम्रो कलाकारीताले भरेको कविता प्रलयको वर्णन वा भावमा अन्त्य भइदिएको भए अथवा मानिस, कुक्कुर, श्याल र गिद्धसँगसँगै लोप हुनेछन् भन्ने तर्क आइदिएको भए यो काव्यदोष ठहर्ने थियो । कविशीरोमणि लेखनाथ पौड्याल नभएर यसका रचयिता कुनै ब्रह्मज्ञानी साधु, सन्त वा महर्षी हुने थिए । तर लेखनाथ साधु हैन, कवि हो । यस कवितामा मानव अनुभवको (गोपिनीको) यौटा मिठो चर्को क्षणको वर्णन मात्र गरिएको छ जसले गर्दा कविताले दुखाउँदैन, आनन्द दिन्छ । यो त कुनै पनि नास्तिक वा माक्र्सिष्ट पाठकले पनि स्वीकारेर रसास्वादन गर्न सक्ने कविता हो यदि उसले शीर्षककै आधारमा यसलाई नपढ्ने अठोट लिदैन भने ।
                कविता भनेको आस्तिकको वा नास्तिकको लागि मात्र भनेर लेखिदैन । कुनै पनि साहित्य एउटा सर्जकको अनुभव हो; त्यसबाट कसले के लिन्छ भन्ने कुरा आर्कै छ । लेखनाथ जस्था आस्थावान् कविले वंशीधरको प्रशंसा गाउनु सहज थियो; बालकृष्ण सम जस्ता नास्तिक प्रवृत्तिका व्यक्तिकालागि यही कुरा सहज नहुनु पर्ने हो, तर उनले पनि वंशीधरको प्रशंसा अंग्रेजीमा ूत्जभ ागितष्कतुक क्यलनू शीर्षकमा गाएका छन् । उक्त कविताको चर्चा मैले ब् एयलम या क्धबलक बलम इतजभच भ्ककबथक मा गरेको छु । तसर्थ यौटै कविताको आधारमा कुनै पनि कविलाई लेबल लगाउनु अनुचित नै ठहर्छ ।
                यहाँसम्म आइपुग्दा यो कुरा सिद्ध भएको जस्तो लाग्छ कि एकातिर पाठले लक्षित पाठक शिक्षित वर्ग हो भने पाठमै अन्तर्लिखित पाठक कुनै आध्यात्मिक चिन्तनमा सक्षम वा अग्रसर संस्कृतविद् पनि हो । लक्षित पाठकको रूपमा म आदर्श पाठक नभए पनि यौटा हदसम्म सुसूचित पाठकसम्म भएको हुनाले सक्षम पाठक पनि हूँ भन्ने कुरा स्वीकार्न मन लाग्छ ।
                यस अवस्थामा मैले पाठको गहिराईलाई नकार्दै सतहमा मात्र तैरिने अभियान चलाउन कविताको दोस्रो भागलाई यसरी प्रस्तुत गर्न चाहान्छु
त्यो चर्को सुरबाट जागृत बनी तिम्रो गरी खोजनी
घुम्ने रासविलासको रहरमा धीवृत्ति छन् गोपिनी ।
रासलीलाको कथाको निम्ति भावानुकुल शार्दुलविक्रिडितको उचित प्रयोग हुँदाहुँदै पनि यस छन्दले जनजिब्रोको मिठास तप्काउन सकेको छैन । अनि धीवृत्ति छन् गोपिनीभन्दा के बुझिन्छ कुन्नि ? “धीका विभिन्न अर्थमध्ये बुद्धि, मन, विचार, धारणा र कल्पना पनि हुन् । यस कविताका पुनर्जीवन पाएका रचनाकारले कतै यो कविता फलानाका निम्ति लेखेको हूँ नभने तापनि पाठभित्रका संकेतका आधारमा लक्षित पाठक अथवा पाठमै लिखित पाठक जसका स्वभावगत केही गुण पाठमा पाइन्छन् उसले काव्यको शिक्षाप्रद स्वभावलाई स्वीकार्दै धीको अर्थ ज्ञान वा बुद्धि भन्ने बुझेको हुनुपर्छ । त्यसैले लिखित पाठकले यी दुई हरफका अर्थ लगाउँदा आफ्ना नवजागृत ज्ञानले गोपिनीहरूको वृत्ति श्रीकृष्णको खोजमा एकाग्र छ भन्ने अर्थ लाग्न जाने सम्भावना ठूलो छ ।
                तर म अव्दैत वेदान्तबाहिर ज्ञानको अर्थ अनेकौं फेला पारिरहेको हुन्छु र मलाई शव्दकोषले ठडाएको होसियारीको औंलाले अन्य संभावनाहरूतर्फ सचेत गराउँछ । शायद लक्षित अर्थ गोपिनीहरूको मनको प्रवाह प्रेमको धारमा कृष्ण(भक्ति)तिर थियो । शायद उनिहरूको विचारमा यति चर्को सुरघन्काउन सक्ने व्यक्ति प्रेमयोग्य थिए । शायद उनिहरूको कल्पनाले मनकामनापूर्ती गर्ने सन्दर्भमा रासविलासको रहरजगाइदिएको थियो । संभावना अनेकौं छन् । यिनै संभावनामा उनिहरू (म, पाठक झैं) भौंतारिएका अवस्था छ । तर चर्कोविशेषणले कतै सुरको मिठास घटाएको पनि त छैन ? चर्को संगीतले आनन्द भन्दा असंतोष र छटपट पैदा गर्छ र सुषुप्त वा लोलाएको अवस्थाबाट जागृतगराउन सक्छ जसरी कि मन्द धूनले मिठो निन्द्रा र आराम ल्याउन सक्छ । शायद अलि कम चर्को सुर भएको भए रासविलास अझै मिठो हुने त थिएन ?
                शायद म यहाँ फेरि त्यो लक्षित पाठक बन्नबाट पाठमा लिखित पाठकले नगर्ने तर्क गरेर टाडिएँ । तर के यस तर्कमा दम छैन र ? लेखक वा रचनाकार मरेका छैनन् भने लक्षित अर्थ र पाठमा लिखित पाठकको आधारमा मेरो तर्क गलत होला; नत्र यदि लेखक मेरकै हो र म, पाठक, मात्र आजको सन्दर्भमा पाठसँगको अन्तक्र्रियामा उत्रिएको छु भने अर्थको एकलौटी शासनको जमाना समाप्त भइसकेको परिप्रेक्ष्यमा पाठका विविध व्याख्या संभव छन् । सगरमाथा उँचाईको एक्लो अधिनायक बन्न वामन चुचुराहरूले निषेध गरेका छन् ! ऊ अग्ला मध्येका एक बन्ने अधिकार मात्र पाएर संतुष्ट हुनु पर्ने आवश्यकता उत्तराधुनिकताले ल्याएको छ ।
                त्यसैले यो पनि भन्न आँट आउँछ कि आत्मारूपी प्रतीकका रूपमा बाहेक गोपिनीहरूको रासविलासको रहरमाचित्तको कूलो स्त्रीको पुरुषप्रतिको शारिरीक आकर्षर्णदेखि अध्यात्मिक योगसम्मको अर्थको सम्भावनामा लुकेको छ । ग्रामीण समाजमा वनमा हुने प्रेमपूर्वक नाचगान (लीला) आजको शहरीकरण भएपछिको डान्सबारमा हुनु स्वाभाविक हो । दुवैमा आनन्द प्रेरकतत्त्व छ । फरक यत्ति छ म मिथकबाट वा धार्मिक आस्थाबाट फुत्किन नसकुञ्जेलसम्म मेरा र म जस्ताकालागि यस अर्थ गलत ठहर्ने हुँदा विनिर्माणका अभियान पनि गलतनै ठहरिन जानेछन् किनभने म यस संभावनालाई नकारिरहेको हुन्छु । यसैले म पाठकले बुझ्न धेरै बाँकी छ, बौद्धिक क्षमताको विकाश गर्न बाँकी छ ।
                कविताको तेस्रो भागले भने सरल नेपालीमा राम्ररी अवतरण गरेको छ । यसैले यो सुबोध छ । रसरङ्गशव्दले जीवनको उत्सवमुखी प्रवृत्तिलाई स्रष्टाकै स्वभावसँग गाँसेको छ भने सृष्टिको चक्चकीअर्थात् फुर्तीफार्ती वा चमकले स्रष्टाकै स्वभावमा अडेको रहस्य व्यक्त गरेको छ । यसैगरी कविताको चमक पनि कविको व्यक्तित्वमा आश्रित हुन्छ ।
                कविताको यति चर्चा गरिसकेपछि म पाठकले उठाएका केही प्रश्नका प्रष्ट जवाफ दिनु आवश्यक देख्छु । त्यसैले पहिलो प्रश्न फेरि दोहोराउँछु यो कविता र मेरो आजको आवश्यकता वा रूचिकै बीच पनि के सम्बन्ध होला ? ह्दय र मस्तिष्कको दोहोरो यथार्थमा संपूर्ण दर्शनशास्त्र अटाएको छ । कहिले ह्दय माथि पर्छ त कहिले मस्तिष्क । भौतिकवाद र अध्यात्मवादको खेल पनि यही हो । कुनै पनि मानिसभित्र यि दुईका खिंचातानीबाट उत्पन्न तनाव कहिले ह्दयको र कहिले मस्तिष्कको पक्षमा विजयी हुन्छ । कुनै पनि विचारधाराले ह्दय वा आस्थालाई प्रतिगामी र मस्तिष्क वा तर्कलाई अग्रगामी बनाउने प्रयास गर्दैमा यही प्रस्तावनै सत्य ठहरिंदैन । दुईटामा कुनै यौटालाई संपूर्ण नकार्नु वा राजनैतिक लेबल लगाउनु गलत हुनजाने भएकाले नश्वर देह र अमर आत्माको (द्वन्द्वात्मक भौतिकवादकै शव्दावलीमा समेत) संश्लेषणमा मानवजीवन उभिएको तथ्य सर्वधर्ममान्य छ । युगको पनि परिवर्तन हुन्छ कहिले भौतिक र कहिले अध्यात्मिक बन्छ । त्यसैले म पाठकले आफ्ना नास्तिक प्रवृत्तिलाई बढी जोड दिए मात्र यो कवितासँग नाता टुट्ने छ, नत्र मेरो परिवेशबाट नटाढिएको पाठ शायद मेरो आध्यात्मिक आवश्यकताको रूपमा मैले प्रथम पठनमा स्वीकार्न नसकेको मात्र हुनसक्छ । कविताका काव्यीक गुणका आधारमा म पाठकको साहित्यिक अभिरूचिसँग पाठको सम्बन्ध मैत्रिय छ ।
       दोस्रो प्रश्न थियो कृतिमा प्राण भर्ने काम लेखकले गर्छ वा पाठकले ? यस कविताको सन्दर्भमा म पाठकमाभन्दा कविमा बढी आस्था र आध्यात्मिक परिपक्वता पाइएको छ । पाठको प्राण त्यसको अलंकारमार्फत ह्दयस्पर्शीतामा र बौद्धिक आग्रहमा पनि रहेको हुन्छ । अलंकार रचनाकारले कवितालाई लगाइदिने वस्तु हो जसरी कि प्रेम र चिन्तन पनि कवि स्वयंले कवितामा भर्ने तत्त्व हुन्; पाठको बौद्धिक आग्रह पाठकको बुझ्ने प्रयास र उसको बौद्धिक क्षमताद्वारा खुल्दै आउने कुरा हो । कुनै कविता बुद्धि नभएकी सुन्दरी जस्ता हुन्छन्, कुनै बुद्धि भएका जस्ता । बुद्धि र सौन्दर्य दुवै नभएकी नारीको चर्चा आवश्यक छैन । तर सौन्दर्यले आकर्षण गरेपछि मात्र धेरैले बुद्धि पनि छ कि छैन भनेर जाँच्छन् । बुद्धि भएका तर आकर्षण नभएका भाले रूपमा उदाउन खोजेका कतिपय आधुनिक कवितामा लेखनाथिय लालित्य पाइँदैन । त्यसैले कविताको पाठमा प्राण भर्ने काम लेखक र पाठकको संयुक्त अभियान हो ।
                तेस्रो प्रश्न थियो पुनर्पठनका रूपान्तरित पाठ के हुन् र यी पाठले म पाठकमा के परिवर्तन ल्याए ? प्रथम जम्काभेटमा यौटा मिथकमा आधारित संस्कृत परंपराको अध्यात्मवादी र आधुनिकताभन्दा धेरै अगाडिको शायद भक्तिमार्गी अभिव्यक्ति र त्यो पनि नेपाली जनजिब्रोमा सहजता पाउन नसकेर संस्कृतमय जटिलतामा रूमल्लिएको पाठ भनेर झण्डैले पन्छाइसकेको कविताको पुनर्पठनपश्चात् यसमा भौतिकवाद र अध्यात्मवादको दीर्घकालीन द्वन्द्वबाट आफ्नो परिपक्व विश्वासका आधारमा आध्यात्मिकताका पक्षधर स्रष्टाले साग्रह सचेत कलाकारीतासहित मानव यथार्थको रूपकको रूपमा व्यामोहित गोपिनीको दशा वर्णन गर्दै सो दशाको कारण अर्थात् स्रष्टा (कलाकार, कवि) स्वयंको आनन्दको वर्णन गरेको सफल कविताको पहिचान गरिएको छ । साथै शव्द र तीनका संभव अर्थका आधारमा आधिकारिक अर्थ नकार्दै प्रत्येक पाठमा नवीन रहस्य खुल्ने संभावना स्वीकारेको छ । यसो गर्दा पाठले मेरो आफ्नै आध्यात्मिक विश्वासउपर सन्देह घटाएर सो विश्वासलाई र मानव संवेदनशीलतालाई तिखार्ने काम समेत गरेको छ ।
                र अन्तिम प्रश्न थियो कुनै पाठ प्रथम जम्काभेटमा आकर्षक लागेन भने समस्या पाठको हो कि पाठकको हो ? दुवैको हुनसक्छ । तर यस कवितामा भने मूल समस्या म पाठककै भएको ठहराएको छु किनभने धार्मिक अभ्याससँग गाँसिएको अध्यात्मवाद मेरो जीवनको खुराक हैन । यसो भन्दैमा अरूको पनि हुनुहुदैन भन्न गएँ भने म एउटा अगाध अन्धविश्वासको खाडलमा पर्ने छु । साथै, पाठको जटिलता समेत आफूलाई सुसूचित पाठक ठहराउने मेरै समस्या हो । पाठ समस्याजनक त्यस बेला बन्छ जब त्यो क्लीष्टताको चरमसीमामा पुग्छ अथवा क्लीष्टता सहज पारिसकेपछि लागेको अर्थ यति सामान्य हुन्छ कि त्यसले फलको मिठास दिन सक्दैन अथवा भाषा र अलंकारको चहकको अभावमा काव्यकारीतानै हराएको हुन्छ । यस अर्थमा वंशीधरको दिव्य वंशीधेरै समस्याजनक कविता नभएता पनि लेखनाथका उत्कृष्ठ कवितामध्येको एउटा यसकारणले होइन कि कवि शिरोमणिले यस कवितामा आधुनिकतातर्फभन्दा संस्कृत वाङ्मयको परंपरातर्फनै आफ्नो काव्यभार बिसाएको अनुभव पाठकलाई हुन्छ ।