आज बिहान म पैदल हिंड्न निस्किन लाग्दा एक जोडी जुरेली विजुलीको तारमा बसेको देखेर खल्तिबाट फोन निकालिहालेँ । तिनीहरूलाई नतर्साउन शतर्कता अपनाउँदै विस्तार क्यामरा खोलेर माथि फर्काउँदा नफर्काउँदै ती दुवै चरा खतराको आ–आफ्नै सहज ज्ञानले भुर्र उडे तापनि मैले यौटालाई उडदै गरेको क्षणमा समात्न सफल भएँ । मेरो खुसी उनीहरूको त्रास थियो ।
म बाहिरबाट हिंडेर फर्किंदा चोकमा ठुलो खल्बल थियो । पहिले त के भएछ भनेर बुझ्न सकिन । अनि देखें मेरी श्रीमतिको हातमा यौटा काठको कचौरा जस्तो वस्तु जुन उसले कतै लुकाएर राखिदिने प्रयासमा थिइन् । त्यो रहेछ जुरेलीको गुँड जसलाई कागले चोकको अम्बाको बोटबाट तानेर भुईंमा खसालिदिएको रहेछ । सुधाले त्यसलाई दुईवटा गमलाको अन्तरमा लुकाइदिन खोज्दा तर्सिएर हात तान्दै एक पाईला पछाडि हटेपछि देखेँ कि त्यसमा त बच्चा पनि रहेछ ! त्यो उड्न सकिरहेको थिएन र पनि गुँडबाट भुईंमा झरेर फूलको झ्याङ्गभित्र लुक्न सफल भयो । सिधैमाथि तार र फलामे बारमा बसेर जुरेलीका आमाबाबु संतापले चिर्बिराइरहेका थिए । सुधाले गुँडलाई दाखको झ्याङ्गभित्र पर्खालमाथि लुकाइन् । बच्चो पहेँलो फूलको हरियो डाँठ समातेर बसिरहेको थियो । त्यसको मुटुको धड्कन हामीले नसुने पनि बुझिरहेका थियौं । माथि छाना र रुखबाट कागहरू बसेर दाउ हेर्दै थिए । पाएको खण्डमा कुनै क्षणमा पनि झम्टिएर त्यस बच्चोलाई एक मिठो छाक बनाउने उनिहरूको मनसाय थियो ।
मृत्युको तत्कालिन् संभावना उपर हामी कसैले पनि केही गर्न सक्ने कुरा छैन । कोरोना जस्ता काला कागहरूबाट बच्न त्यो बच्चो आफैं सक्षम नभएको खण्डमा न हामी जस्ता हितैषीले न त्यसका आमाबाबुले गर्ने नै केही थियो । केही बेर त्यसलाई कागबाट बचाउन भनेर हामी शतर्कताकासाथ चोकमै उभिइरह्यौं । तर कति बेर उभिने ? अनि हाम्रो उपस्थिति जुरेलीका आमाबाबुका निम्ति थप खतराका संकेत थिए । उनिहरू यौटा अन्योलको छट्पट्मा रुँदै र कराउँदै छिनमा बच्चा हेर्थे, छिनमा गुँड खोज्थे । आफूले लालनपालन गरेर यतिसम्म हुर्काएको बचरोको बेहालले संतप्त पक्षीह्दयको ध्वनिमा मिठासभन्दा बेसुरा चित्कार मात्र थियो । उनिहरूको ईश्वर हुँदो हो त प्रकट हुने बेला यही थियो । शायद थिएन होला ! तिनीहरूको पीडामा हाम्रो व्यर्थको उपस्थिति अझ नमिठो हुने बुझेर हामी पनि घरभित्र छिर्ने निर्णय गर्यौं । हाम्रो अनुपस्थितिमा हल्लाखल्ला केही शान्त भयो ।
माया कुन आमाबाबुलाई हुँदैन ? प्रकृतिको नियम हो – बालबच्चा हुर्काएपछि विश्व तिनीहरूलाई छोडेर आफूहरू क्षितिजपारी लाग्ने काम हो । हुर्काउने क्रमको चिन्ता र पीडामा प्रेमको मलमले शीतल गरिरहन्छ । यिनै प्रेमका नजरले विश्वतिर फर्किएर हेरेका जोडीको इतिहास यसरी काव्य बन्छ –
"बच्चा काढी यस गुँडमा जब
तिनको पखेटा उम्रन्छ !
वनमा लगीकन तिनलाई उडाउन,
हाम्रो मीठो मनसूब छ !
त्यसपछि प्यारा, प्यारी हामी
... ... ...
सागर–किनार पुग्छौं, फ्यारफ्यार
एक बार फर्की,
आँसुले हेर्न,
मानिसहरूको जङ्गल जुन छ !"
(“गौंथली र देवकोटा”)
तर आजका जुरेलीका बाबुआमाले जति दु:ख र नैराश्यका गीत गाए पनि तिनीहरूलाई दैवले हेर्यो । मेरी श्रीमतिले पछिबाट गएर त्यस बच्चोलाई समातेर दाखको झ्याङ्गमा काग, न्याउरीमुसा र बिरालाहरूका आँखाबाट लुकाइदिइछन् र त्यसका आमाबाबु आएर पालैपालो चारा खुवाउँदै उड्दै गएछन् । आज बिहानको यौटा कोरोनारूपी कागको कहरबाट त्यो उम्कियो । भोलि जे होला !
जेठ १७, २०७७ शनिबार
No comments:
Post a Comment