“इतिहासकार खनालले अमेरिकाको निर्जन गाउँमा भेटे नेपाली साहित्यको दुर्लभ सामग्री” शीर्षकमा सुदीप श्रेष्ठको “सेतोपाटी”मा प्रकाशित लेख पढ्न पाउँदा मलाई विगतको त्यस दिनको याद आयो जुन दिन म र मेरा कान्छा फुपाज्यू अनङ्गनाथ पौडेलका कान्छा छोरा रविदाज्यू उहाँकै आग्रहमा उहाँका मित्र मोहनप्रसाद खनालको बानेश्वरस्थित घरमा गफ गर्दै हिंडेर पुगेको थियौं । हाम्रो लक्ष थियो उहाँले अमेरिकामा संगोगवश पाउनुभएको महाकवि देवकोटाले बोलेको टेप संभव भए प्राप्त गर्ने, नत्र त्यसको बारे केही जानकारी लिएर केही अंश सुन्ने । मोहनप्रसाद खनालसँग मेरो यस अघि भेट भएको थिएन, तर उहाँ पनि त्रिभुवन विश्वविद्यालयमै पढाउने मानिस हुनु भएकोले मलाई उहाँसँग कुरा गर्न सजिलो लागेको थियो ।
हामी दाज्यूभाई उहाँको घरमा पुग्यौं र उहाँले पनि हामीलाई एक तलामाथिको वैठकमा स्वागत गर्नुभयो । साधारण कुराकानी पश्चात् उक्त टेपको कुरा उठ्यो । उहाँले सो टेप कसरी उहाँको हातलाग्यो भन्ने कथा सुनाउनु भयो । मैले त्यस दिन माथिको लेखमा मोहलप्रसाद खनालले हालेको कथा सुन्ने अवशर पाएको थिएँ । अन्य साहित्यकारसमेतका पाण्डुलिपिका कथा भने उहाँले बताउनु भएको थिएन जस्तो लाग्छ किनभने मेरो संपूर्ण ध्यान उक्त टेपमै थियो । कथा पनि टेपमै सिमित भयो । मैले सो टेप पाए आफूले त्यसलाई सुरक्षित राख्ने र त्यसको कुरा उतार्ने प्रस्तावसमेत राखेँ । उहाँले टेप मलाई दिन चाहानुभएन । भन्नुभयो, यो कुनै राम्रो संस्थालाई सुम्पिनु पर्ला जसले त्यसको सम्भार गर्न सकोस् । कुरा ठीक थियो । त्यसपछि मैले सो टेपको केही अंश सुन्ने ईच्छा व्यक्त गरेँ । उहाँले सो टेप सार्है कमजोर स्थितिमा रहेको र त्यसका केही भाग एकअर्कामा टाँस्सिएका पनि हुँदा त्यसलाई सिसाकलमले नचुँढिने गरी बिस्तारै घुमाएर चल्ने स्थितिमा ल्याउनु पर्ने कुरा बताउनुभयो । केही अंश त चल्थ्यो पनि क्यार, तर भन्नुभयो, “म पहिले श्रीधर लोहनी जस्ता अंग्रेजी बुझ्ने मानिसलाई सुनाउन चाहान्छु ।” श्रीधर लोहनी मेरा आदरणीय गुरु हुनुहुन्छ । तर अंग्रेजी त म पनि बुझ्थें जस्तो लागेको थियो ।
अन्त्यमा हामी दाज्यूभाई कथा मात्र सुनेर फर्कियौं । बाटोमा दाज्यूले भन्नुभयो, “उसले दिंदैन । तिमीलाई देला जस्तो लाग्यो ? अलिकति प्रचार खोजेको जस्तो छ ।” म चुप लागें ।
सो सामग्री आजसम्म सुरक्षित राखिदिनुभएकोमा प्राध्यापक मोहनप्रसाद खनाललाई मुरीमुरी धन्यवाद छ !
No comments:
Post a Comment