Wednesday, January 15, 2025

कविता

 

गुलाफ
 
प्रेमको ज्वाला जस्तो
भर्भराउँदो गुलाफ,
तेरो जवानी मेरो स्मृतिपटमा
व्युँझिन्छ — आफ्नै खरानी !
सहज चमकमा अहो ! कस्तो
भर्भराउँदो छस्, हे गुलाफ !
तँ कविताझैं मुलायम, सुन्दर,
म तेरो खोजमा ...
निरन्तर खोजमा ... अलमल, अलमल ।
चमक अनन्त छ,
त्यहि हो जिवन !
तर सत्यमा हैन, सतमा व्युँझिएस् !
हुनु जस्तो सुन्दर केही छैन ।
नबिर्सिएस् !
 
माघ २, २०८१
 
 
कविता

निरर्थक मिठासका संगीतकार
धतुरो बाँढ्दै चिर्बिराउँछन् ।
दिल दुख्दा
ढुङ्गाले हृदय फुटेको बताउँछन् ।
हर्षभाव उछलाउँदा
पूर्णिमाको जुनमा अप्सरासँग रत्तिइँदै
देशकालभन्दा पर पुगेको बताउँछन् ।
कसैलाई “हो” भनिदिन्छु ।
कसैलाई “होइन” भनिदिन्छु ।
मेरा पनि त क्षणक्षणका निर्णय छन् नि !
गन्नैपर्नेलाई भने म पक्कै गनिदिन्छु ।

     माघ १, २०८१
 
 
विवश, लाचार !

उसको शव बोकेर हिंडेका नायकले आफ्नो कुमबाट
गोप्याङ्ग भारतमा, स्तन अफ्रिकामा, नितम्ब मध्यपूर्वमा
र हात पाऊ यूरोपमा वा अन्य कतिपय पृथ्वीका बेनाम बगरमा
तप्काउँदै हिंडेका भए पनि
शवको शीर काठमाडौंकै होटेलहरूमा पाइएको समाचारले

पोलेको मन यस्तै यस्तै थलोमा मन्दिर निर्माण गर्न मान्दैन ।
ढुकुटीको झैं न्यायको चुहावटले होला
आँशु सम्भाल्न जान्दैन ।

क्रोधको के कुरा भो र ?
निरीह हेर्ने लाचारले
दुखेको दिल पोख्नबाहेक जान्दैन ।
महाकाली आफै जागेको दिनको प्रतिक्षामा
धेरै कुर्न पनि मान्दैन ।

कस्तो संसार यो !
उता अत्याचार,
यता विवश, लाचार !

माघ २०, २०७४

No comments:

Post a Comment