Monday, September 21, 2020

दुई दन्त्यकथा बीच

कसै कसैले ‘हुनु’को विशेषता विचार गर्ने क्षमतासँग गाँस्छन्, कुनै कुनै क्षणमा मलाई त्यो त्यहि त्यसरी गाँस्नसक्ने क्षमतासँग जोडिएको छ भन्ने लाग्छ । त्यो क्षमता सचेत र चिन्तनशील जीवनले मात्र सम्भव तुल्याउँछ । अनि त्यही संभावनासँग ‘बन्नु’को अर्थ पनि गाँसिदै जान्छ । यस्तो सम्बन्ध गाँसिन सक्ने सम्भावनाको सन्दर्भमा ढुङ्गा ‘हुनु’ र मानिस ‘हुनु’मा खासै फरक छैन । कुनै व्याप्त तर अप्रत्यक्ष विश्व संचालकले सबै जड र अजडको समीकरण गरिरहेकै छ । जीवन त आखिर ढुङ्गाकै पनि छ । शिशुको कम जागृत चेतनाले अनुकरण गर्छ, युवाको बढी जागृत चेतनाले निर्णय लिन्छ । प्रत्येक निर्णयले स्वत्व व्युझाउँदै स्वतन्त्रताको मिठास चखाउँछ । तर निर्णय लिने क्रम भने अति नै कठीन हुन्छ किनभने दुईवटा कुन्यौ बीचको गधाले कुन कुन्यौको पराल मिठो होला भन्ने निर्णय लिनु अगाडि नै ज्यापू यमराजले उसलाई खेतैबाट लखेटिदिए पछि उसले न यताको पराल चाख्न पाउँछ न उताको । हामी मध्ये कसै कसैको आत्मकथाको सार संक्षेपमा यही हो । अरू त प्रमाणको आवश्यकता नदेख्ने वा प्रमाणविना केही नस्वीकार्ने दुई बेग्लाबेग्लै विश्वासका कुन्यौका वादी र प्रतिवादी बनेर आ–आफ्ना पक्षका सफल वकालती गर्न सक्षम छन् – कट्टरतापूर्वक वा विनम्रतापूर्वक ।

अन्नकोषभन्दा माथि उठ्ने क्षमता भएका प्राणी परालको कुन्यौ बीच जस्तै परापूर्वकालदेखि एकले अर्कोलाई विभिन्न पाराले हाल्दै आएका दुईवटा दन्त्यकथा बीच रुमल्लिएका हुन्छन् । दन्त्यकथा नै किन नहोस्, त्यो जीवनसँग गाँसिएकै हुन्छ नै । इतिहासकारको औपन्यासिक उत्प्रेक्षा र कविको काल्पनिक यथार्थ बीच जति दूरी देखिए तापनि दुवैमा तथ्यभन्दा वनावटी बुट्टाप्रतिको आकर्षण समान छ । यौटाले तथ्यको धाक दिंदै दृष्टिकोणको फूलजडी बिर्सिन्छ, अर्कोले कल्पनाको बुरुसले यथार्थका रेसामा रङ्ग भर्दै छ भन्ने कुरा भुल्छ । मापदण्डका सूक्ष्म अन्तरमा छड्केको भ्रम र यथार्थको खिचडी हरेक आत्मालाई चखाउँदै सांस्कृतिक मानिस हिंड्दै छ त्यस विजयपथमा जहाँ हिंड्न् पाउनु नै उसका लागि स्वतन्त्रता बोधको वर्तमान बनेको हुन्छ ।

यिनै क्रममा वेद, पुराण, महाभारत र रामायणहरू जस्ता आर्ष तेजका झिल्काहरू जन्मिए । कुनै पनि मानव–समूहका धर्मग्रन्थले झैं यिनीहरूले पनि ‘हुनु’का उद्देश्य र लक्ष त्यसको आदिम कारणको साथै व्याख्या र वयान गर्दै गए । यी व्याख्या र वयान कसैको अन्तस्करणले टिपेको सत्य थियो जसको प्रभावमा हजारौं वर्षसम्म पनि मानिसहरू यौटा सपना देख्दै छन् – आत्मा, परमात्मा, स्वर्ग, नरक, धर्म र मनुष्यत्वको । यस्तो सपना नदेख्न यसैले छुट पनि दिएको छ, स्वतन्त्र छाडिदिएको छ । त्यसैले यी सारा दन्त्यकथा हुन् भनेर यथार्थको खोजमा अन्यत्र लाग्नेहरूले आर्कै विश्व पाएका छन् जसमा इन्द्रियमा जँचेको यथार्थ र तथ्यका आधारमा निर्मित चमत्कारीला प्रविधि र यन्त्रहरूले मानिसको ठोस भौतिक सुविधा र सुखसामग्रीमा विविधता र परिष्कार ल्याएका छन् । सरल यथार्थवादी व्यक्तिहरू बहुसंख्यक भएको वास्तविकतामा धर्मको भन्दा विज्ञानको महिमा ताजा र तात्कालीक हुन्छ, उपलब्धि ठोस हुन्छ, उपयोगिता स्पष्ट हुन्छ । प्रोटोन र प्रार्थनाको अन्तर यहीँ प्रष्टिएको हुन्छ । विगतका उपलब्धि र तिनका उत्पादन प्रक्रियाका आधारमा विज्ञान उपर विश्वास सजिलै बस्छ । यसको संभावना अनन्त देखिन्छ र भौतिक जगत्का नियमविरोधी कुरा बाहेक सबै अनाविष्कृत कुरा भविष्यमा सम्भवत पैदा हुन सक्ने वस्तुको रूपमा हाम्रा विश्वस्त मस्तिष्कमा अंकित हुन्छन् । हामी शायद मेरी पपिन्सको जस्तो उडने साइकल कल्पना गथ्र्यौं, बेलायती जन फोडन र यानीक रीडले साइकल उडाएर देखाइदिए । हामी क्वान्टम कम्प्युटरको प्रतिक्षामा छौं जसरी कि भोलि गएर हाम्रा जीर्ण कलेजा र फोक्सो भित्रभित्रै पलाउन संभव पार्ने प्रविधिको प्रतिक्षामा छौं ।

अन्तस्करणले स्वीकारेको यथार्थ र इन्द्रियहरूले भोगेको यथार्थका दुई कुन्यौ बीचको गधाले अनिश्चितताको श्रापबाट मुक्त हुन इच्छाशक्तिको वरदान पनि पाएको छ । दुवै मिठा छन् । दुवैमा सत्यको मात्रा छ र दुवैमा असत्यको मात्रा पनि छ । कुनै पनि ज्ञानको पूर्णता सम्भव नभएको हुँदा सत्यको सापेक्षितताभित्र असत्यको अंश अन्तर्निहित छ नै । म यहाँ तत्थ्यको कुरा गरिरहेको छैन किन भने “पानी तल बग्छ” को पछाडि ‘तल’ र ‘माथि’का प्रश्नले पिरोलिरहेका हुन्छन् र हामी फेरि त्यही सापेक्षिततामा फर्किनु पर्छ जहाँ शाश्वत मानव मस्तिष्कका लागि प्रमाणहीन, काल्पनिक, आस्थाआश्रित दन्त्यकथाको रूपमा मात्र प्रस्तुत हुन्छ । यसै गरी मानव इन्द्रियका लागि ठोस भनी मानिआएको जगत् ठोस् होइन र यथार्थ भनी मानिआएको जगत् भ्रम मात्र हो भने भ्रम नै यथार्थ हो भनी स्वीकार्न हामी बाध्य छौं । यसैले हाम्रो भ्रम नै हाम्रो यथार्थ हो । शायद हाम्रो यथार्थ पनि हाम्रै भ्रम हुन सक्छ । यो पछिल्लो सम्भावनालाई सम्भावनाकै रूपमा रहन दिऊँ । त्यसैले हामीले बढी रोचक कथाले जीवनमा आनन्द भर्नु दुई कुन्यौ बीचको गधाभन्दा अलि फरक बन्नु हो । अरू सम्भावना के छ ? मलाई थाहा छैन ।


२० असार २०७०


No comments:

Post a Comment