पद्म देवकोटा
मुना–मदन छोडेर आफ्ना अरू सबै कृति जलाईदिए हुन्छ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाले पृथ्वीराज चौहान रचना गर्ने क्रममा उहाँ स्वयंलाई सबैभन्दा राम्रो लागेको आफ्नो कृतिको संझना गरेको उदाहरण सो महाकाव्यको नवम सर्गको तेर्हौं श्लोकमा पाइन्छ । अविबाहित अजमेरका राजा पृथ्वीराज चौहानलाई दरबारीया कवि चन्दाले कन्नौजका घमण्डी राजा जयचन्दकी छोरी शाहज्यादी संयोगीताको रूप, गुण, शील, स्वभावको प्रशंसा गर्दै ऊ यसरी राजकूलकालागि सुयोग्य कन्या बन्न सक्ने बताउँदै गएपछि पृथ्वीराजले हल्का र मिठो व्यङ्ग्य गर्दै भन्छन्,
कविका कुरा गफीका छुरा
गाँजाका सुर, मिथ्याका पुरा
सबै हुन् पाथी भूस । (श्लोक ४ पृ. ८८)
तर उनको कौतुहल जागिसकेको छ र कन्नौजमा गएर कन्या हेर्न मान्छन् । यौटा जोगीको भेषमा र अर्को जोगीको चेलाको भेषमा कन्नौजको यात्रा थाल्छन् । बाटामा “अतिथि उदार भारतका किसान” (श्लोक ८ पृ. ९०) का झोपडीमा रात बिताउँदै जाँदा यौटा यस्तै झोपडीभित्रको चित्रण कविले यसरी गरेका छन्,
चन्दाले यस्तै गर्दथे गाना
बराबर गिराई मोतीका दाना
किसान नजरका ।
ईश्वरको हाँसो पाएको फूल–
हरूको कथा सुगन्ध मूल
सुनेर दिलले भक्तको सच्चा
रातको पहरमा ।
किसान शिशु वरि र परि
बस्दथे सुन्दै तिनलाई घेरी
सुन्नको रहरमा ।
यस्तो ली चाला ती दुई पुगे
कन्नौज शहरमा । (श्लोक १४ पृ. ९२)
कविले यसरी आफ्नै सफल कृतिको साहित्यिक संकेत दिंदै नयाँ कृति रचना गर्नु आफैमा यौटा रोचक तथा विरल घटना हो ।
मुना–मदनको “सज्जन वर्गप्रति”बाट कविले आफ्नो कृतिको सफलतालाई लिएर व्यक्त गरेका इच्छाका विभिन्न अभिव्यक्तिमध्ये हरफ १२ मा भनिएको छ, “झोपडीभित्र यसैले बालोस् मनको दियालो ।” नभन्दै पृथ्वीराज चौहानको उपर्युक्त श्लोकमा कथा सुन्ने र सुनाउने दुवै थरी झोपडीभित्र छन् । यो झोपडी किसानको हो र किसान भारतको जसले गर्दा मुना–मदन भारतका झोपडीमा समेत चर्चित भएको बुझिन्छ । यस झोपडीभित्र यौटा मात्र कथा हालिएको छैन । “–हरू”ले मुना–मदनबाहेक शायद लूनी, म्हेन्दू, सुलोचना, आदि सबैलाई इङ्गित गरिरहेको छ ।
जे होस्, माथिको श्लोकमा मार्मिक कथाहरू सुन्ने र सुनाउने दुवैका आँखामा आँसू छन् । मुना–मदनकै पंक्ति — “ईश्वरको हाँसो पाएका फूल” (हरफ २९६) — यस महाकाव्यमा उतारेर मुनाको याद दिलाउँदै ऊ जस्तै अन्य नारीको संस्मरण गर्न हामी निम्त्या–इएका छौं । श्रोताको दिल भक्तको जस्तो सफा छ । वास्तवमा झोपडीभित्रका श्रोता बालक र बालह्दय भएका किसान छन् । कथा सुनौसुनौ लागिरहने रोचक छ किनभने मार्मिक छ । हुन त यी सबै कुरा कविकै कथनभित्र पर्छन् तापनि पाठकको हैसियतले बोल्नुपर्दा यस कथनले पृथ्वीराज चौहानको यस सर्ग अझै रोचक बन्न गएको मेरो अनुभव छ ।
संन्दर्भ ग्रन्थ
देवकोटा, महाकवि लक्ष्मीप्रसाद । पृथ्वीराज चौहान । साझा प्रकाशन : ललितपुर, २०६३ ।
Devkota, Laxmi Prasad. Muna-Madan. Translation: Padma Devkota. Adarsh Books: New Delhi, 2018.
No comments:
Post a Comment