२०७८ श्रावण २२ शुक्रबारको “नयाँ पत्रिका”मा “नयाँ पुस्ताले देख्न पाउने छैनन् महाकवि देवकोटाको घर” शीर्षकको लेखमा फेरि पनि महाकविका छोराछोरीलाई दोषी देख्ने प्रवृत्ती छर्लङ्गिएको छ । अरू सामान्य मानिसले बोलेको भए म यो जवाफ लेख्ने थिइन, तर नेपाल प्रज्ञा–प्रतिष्ठानका उप–कूलपति जगमान गुरुङले “पद्म देवकोटाले म जन्मिएको घर भत्काउँदा दु:ख लागेको बताउँदै आउनुभएको रहेछ । सरकारबाट पैसा लिएपछि यसो भन्नु राम्रो होइन, कि त पैसा नलिएको भए हुन्थ्यो” भनिसकेपछि म चुप लाग्न सकिन । मैले आफूले अनुभव गरेको दु:ख मेरो आफ्नै फेसबुकमा व्यक्त गर्नु गल्तिभयो भन्ने हैसियत के उहाँ उप–कूलपति भएवापत आएको हो ? अनि के देवकोटा परिवारले चाहिँ सो घरजग्गा सित्तैमा सरकारलाई दिनुपथ्र्यो भन्ने उहाँको भनाई हो ? उहाँलाई यति पनि थाहा रहेनछ कि सो घरजग्गा “तीन करोडभन्दा बढी मूल्यमा”मा हैन कि दुई करोड पचास लाखमा बेचेको हो । अनि सो रकम पद्म देवकोटाले मात्र बैंकमा लुकाएको छैन ।
साथै, जगमान गुरुङले बताउनु भएको रहेछ, “छोराछोरीले घर संरक्षण गरेको भए प्रतिष्ठानले उक्त घर भत्काएर नयाँ घर बनाउन हातै नहाल्ने” थियो । यस्ता कुरा बताउनु हुने जगमान गुरुङलाई मेरो एक प्रश्न छ – २०४८ सालमा घरको छानो चुहिएर घरै भत्किने स्थिति आउँदा कस्ले छानो फेर्यो होला ?
क) नेपाल सरकारले
ख) नेपाल प्रज्ञा–प्रतिष्ठानले
ग) जगमान गुरुङले
घ) महाकविका छोराछोरीले ?
साउन २२, २०७८
No comments:
Post a Comment