Thursday, July 4, 2013

धर्म र प्रगति

पद्म देवकोटा

                वर्षौं अगाडी एक दिन नेपालमा धर्म निरपेक्षताको विरुद्ध हस्ताक्षर संकलन गर्न आउनु भएका एक जना मित्रलाई मैले निराश बनाएको छु । ब्राह्मण कूलमा जन्मिए तापनि आफूले कहिल्यै पनि ब्राह्मणत्वलाई आफ्नो परिचयको रूपमा प्राथमिकता नदिएकोले उहाँको जस्तो धर्मका आधारमा राष्ट्रिय पहिचान कायम रहनु पर्छ भन्ने मेरो मान्यता थिएन । मलाई लाग्थ्यो कि सबै मानिसले आ–आफ्नो धार्मिक वा अन्य विश्वास लिएर बाँच्न पाउनु पर्छ । हो, जसरी नेपाललाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष मुलूकमा कुनै यौटा शक्ति समूहले सम्भवत् विदेशी प्रभावमा समेत परेर जनमत–सङ्ग्रहविना नै बलैको आधारमा धकेलेको थियो त्यो अप्रजातान्त्रिक अभ्यासको यौटा ठोस उदाहरण थियो । तर मेरा मित्र हस्ताक्षर संकलनको सिलसिलामा मकहाँ आउनुभएको ताका मेरो धर्म निरपेक्षताको पक्षमा जे सोच थियो त्यो बौद्धिक पाश्चात्य जगत्को पोषणबाट पलाएको यौटा हाँगा थियो । म त्यस पश्चिमी विश्वको याद गर्दै छु जहाँ एकातिर क्रिश्चियन जगत्ले ईश्वर यौटा मात्र भएको कुरालाई जोड दिंदै बाइबलको विरोध गर्न मनाही गर्‍यो भने आर्कोतिर यस्ता धर्मका निषेधाज्ञा तोड्दै त्यहाँ ती सामाजिक र वैचारिक क्रान्ति जन्मिए जसले मानववादको ध्वजामा अज्ञान, अन्धविश्वास, दमन र शोषणका विरुद्ध मानव गौरव र स्वतन्त्रताका नारा लगाउँदै आए । यस पश्चिमी विश्वले एकातिर आफ्नो बौद्धिक इतिहास र सभ्यताको उद्गमस्थल ग्रीसलाई मानेको छ भने आर्कोतिर गैरइसाइ ग्रीसले मान्दै आएका सारा देवीदेवताहरू क्रिश्चियन धर्मसँगको टक्करमा अडिन नसकेर कसरी सैतानी रूप धर्दै गए भन्ने वयान जन मिल्टनले “ओड अन द मर्निङ्ग अफ क्राइष्टस् नेटिभिटी” भन्ने कवितामा यसरी गरेका छन् :–
Peor and Baalim
Forsake their temples dim,
With that twice-batter’d god of Palestine;
And moonéd Ashtaroth
Heaven’s queen and mother both,
Now sits not girt with tapers’ holy shine;
The Lybic Hammon shrinks his horn,
In vain the Tyrian maids their wounded Tahmmuz mourn.
विजेताले पराजितलाई सँधै केही न केही खोट लगाउँछ, कालो मुसो दल्छ र सैतानीकरण गर्छ । मलाई किन हो कुन्नि यो कविता पढ्दा इन्दस सभ्यताका कृष्णले गोवर्दन पहाड कान्छी औंलाले उचालेर सम्भवत पामीर गाँठो पारीकै इन्द्रको शेखी झारेको याद आउँछ । जन किटस्ले पनि आफ्नो अपूरो हाइपेरियन काव्यमा प्राचीन देवीदेवतालाई नयाँ र बलिया देवीदेवताले विस्मृतिसम्मै धकेलेको मार्मिक कथा हालेका छन्, जवानी र सौन्दर्यको सन्दर्भमा । उनको निम्ति जवानीको तेजीलो सौन्दर्यनै शक्ति थियो । मिथक र कल्पना जहाँ भए पनि यथार्थमा प्रगतिको गतिशीलता विरूद्ध जहाँ धर्म उभिन्छ त्यहाँ द्वन्द सुनिश्चित छ । नेपालमा पनि सामाजिक उन्नती र प्रगतिकै निम्ति धर्म निरपेक्षताको अभियान सुरु भएको अनुभव मैले गरेको हूँ ।
मिथकबाट यथार्थसम्म आइपुग्दा बेलायती इतिहासमा राज्य र धर्मको ढिक्कीच्याउँ शक्तिका आधारस्थलमा निकै मच्चिएका छन् । एकले आर्कोको आलोचनामा युगौं विताए । यही शक्तिको खेलको यौटा रोचक दृष्टान्ट हेन्री आठौंको शासनकालका राननीतिज्ञ, दार्शनिक तथा लेखक टमस मोरको जीवन छ जसलाई विषयवस्तु बनाएर रबर्ट बोल्टले अ म्यान फर् अल सिजन्स शीर्षकको नाटक लेखेका छन् । यही राज्य र धर्मको जुधाईमा टमस मोरले आफ्नो ज्यान गुमाउनु परेको थियो । बार्‍हौं शताब्दीको फ्रान्सबाट सुरु भएको प्रतिधर्मी र नास्तिकहरू विरुद्धको अभियान स्वरूप थालिएको इन्क्वीजिशनले क्रिश्चियन धर्मको राजधानी मानिने रोमबाट युरोपका अनेकौं मुलूकमा कडा धार्मिक नियन्त्रण कायम राख्दै वेलायती राजतन्त्र जस्ता शक्तिहरूलाई समेत प्रभाव पार्दै आएको थियो । रोमको धार्मिक शासन विरुद्ध शुद्ध राजनीतिक शक्ति कायम राख्न ठुलो र लामो प्रयासपछि मात्र बेलायत सफल भएको हो । यसै गरी धार्मिक  प्रभावबाट नवनिर्मित अमेरीका पनि विमुक्त थिएन । त्यहाँ पनि युरोपेली उपनिवेशवादको सुरुदेखिनै प्रभावकारी उपस्थिति जमाउने प्युरिटन्स् र तिनका पिल्ग्रीमस् पादरी तथा मोर्मोन्स्ले राष्ट्र निर्माणका कार्यमा प्रभाव पारेका छन् । तर धर्मको प्रभाव कुन मानव समाजमा परेको छैन र ? स्वच्छ पानी बहने हराभरा फाँटका नदी किनारमा बस्ती बसाएका सबै मानव समाजले आफूहरू उद्देश्यपूर्ण भेला हुने कुनै स्थलमा आफ्नो विश्वासको प्रतीक ठडाएर दिनका दिन त्यस स्थलमा पुगेका छन् र सामूहिक कार्यमा निजी अस्तीत्व सगौरव पाएका छन् । गंगा र सिन्धुका तटमा धेरै मन्दिर ठडाइएका छन् जसका इतिहास र गौरवले आजसम्म पनि एक अर्कासँग अपरिचित लाखौंका भावना एकत्रित गर्दै आएका छन् । तिनै सिन्धुका तटमा अवस्थित आस्थापुञ्जहरू हिन्दुत्वको नाममा यौटा यस्तो सभ्यता बनेको हो जसलाई न मुसलमानको आक्रमनले न बेलायतको साम्राज्यवादले नाश गर्न सक्यो । नेपाल पनि यही सभ्यताको यौटा दरो खम्बा बनेर विश्वको एक मात्र हिन्दु राज्यको पहिचान जमाएर बसेको मुलूक थियो । यस प्राचीन गौरव नाश हुन लागेको देखेर धेरैलाई चिन्ता लाग्नु स्वाभाविक थियो ।
                हुन पनि प्रत्येक मन्दिर यही सभ्यताको भावनाको डल्लो हो जसमा त्यस वरपरका मानिसहरूको संस्कार र संस्कृति गाँसिएको हुन्छ । उनिहरूको जीवनको आरम्भ र अन्त्य यिनै मन्दिरमा हुन्छ । व्रतबन्ध र विवाह जस्ता जीवनका हर महत्त्वपूर्ण कार्य यहीँ सम्पन्न हुन्छन् । यिनै मन्दिरका वरपर निवास बन्छन्, आवागमन चल्छन् र व्यापार पुष्टिन्छन् । यसरी मन्दिरहरू हाम्रा जिवनका केन्द्रविन्दु बन्न गएका छन् । क्राइष्टले भने झैं मानिस अन्नले मात्र बाँच्न सक्दैन । वामे, प्रगतिशील, समाजवादी र कम्युनिष्टहरू सबैले मानिसको समाजिक पक्षलाई मात्र महत्त्व दिंदै उसको व्यक्तिगत तथा नितान्त निजी र आध्यात्मिक पक्ष केही होइन भने जस्तो गर्दछन् । मलाई भने कम्युनिष्ट क्रिश्चियन, समाजवादी इश्लाम, वामे आस्थिक र प्रगतिशील हिन्दू यस विश्व–मानव जगत्का अव्यक्त यथार्थ हुन् जस्तो लाग्छ । वामपन्थी सोचले मानिसको आध्यात्मिक यथार्थ निखार्न सक्दैन । बरु यस्ता सोचका व्यक्तिहरूले नै पनि बराबर त्यस्तो आध्यात्मिक एकान्तबाट आनन्द पाएको हुनुपर्छ जुन एकान्तले सूर्य उदाएको हेर्दा, हिमालका सेता पंक्ति निहार्दा वा चराले गाएको सुन्दा ह्दयमा एक प्रकारको आनन्दको घाम लगाइदिन्छ । कल्पना, मिथक, भ्रम, सपना, आस्था र यस्तै यस्तै कुराले सिर्जिएको निजी विश्वविना मानवता सँधैका लागि अपूरो रहन्छ । कार्ल माक्र्सले बुझेको यस सत्यलाई अन्य कतिपय माक्र्सवादीहरूले बुझेनन् वा बुझ्न चाहेनन् । ह्दयको कुनै प्रगाढ आस्थाविना जीवन धर्मराउँछ, जीवनका लक्ष र मूल्य अल्मलिन्छन्, सोच खल्बिलिन्छ र समाज टुक्रिन थाल्छ । धर्मको जति विरोध गरे पनि यसले मानव समाजलाई युगौंयुगसम्म एकत्रित, अनुशासित र संवेदनशील बनाएर राख्न मद्दत पुर्‍याएको तथ्य अनास्थाको ढिपीले इतिहासबाट मेट्न खोज्नु मुर्खता मात्र हो । मानव सभ्यता आस्थाको ढुक्ढुकीमा आधारित छ, अनास्थाले बर्बरतालाई प्रोत्साहन गर्दछ । धर्मले जीवनका हर पेशा, शिक्षा, उमेर, प्रान्त, आदिका मानिसलाई एकत्रित गरेको छ, उनिहरूलाई सहवास, सत्संगत, आपसी सहयोग र आस्था तथा त्यसैमा आधारित कार्यक्रममा जुट्न सहायता गरेको छ । यसरी युगौं युगसम्म धर्मले मानव समाजको संरक्षण गर्दै आएको छ ।
                धार्मिक थलोको परिशर बाहिर सुरु भएको व्यापारले आज धर्मको नाममा र मन्दिरभित्रै पनि यसरी प्रभाव जमाइसकेको छ कि यसले हाम्रो सोच्ने तरिकामै परिवर्तन ल्याएको छ । अब हामी नबोल्ने ढुङ्गोलाई देवता मान्न छोडिसक्यौं । हामीलाई हाम्रा प्रार्थनाका नतिजा तराजुमा उठेको देखे मात्र विश्वास गर्ने आदत लागिसकेको छ । त्यसैले नयाँ ईश्वरहरू ती दरबारमा बस्न थालेका छन् जसका ढोका–ढुकाईले साधारण मानिसको जिन्दगीमा रौनक धेरै पटक ल्याएकोले उसले आदतैले फेरी पनि दरबारको ढोका ढुक्न जान सिकीसक्यो । ढोका ढुक्न सगर्व नजानेले नै पनि पुजारीले दिने पर्सादले भन्दा व्यापारीले दिने छुटले आफ्नो जीवनमा सुख थपेको अनुभव पक्कै गरेको हुनुपर्छ । साधारणतया कल्पिएको सुखभन्दा अनुभव गरिएको सुख वास्तवीक लाग्छ । त्यसैले स्वर्गभन्दा पृथ्वीकै मोजमज्जा ठुलो मान्नेहरूका लागि प्राचीन मन्दिरभन्दा आधुनिक मल आनन्ददायी स्थल बन्न गएको छ । यस्ता उपभोक्ता समाजका सदस्यहरूले सार्थक र सफल जीवनबीच खासै फरक नदेख्ने भएकाले भौतिक सम्पन्नता र ऐशलाई जीवनको लक्ष बनाएर चल्न थालेपछि मानव संस्कृतिमा विकार पनि बढ्दै गयो । उनिहरूको सम्पन्नता प्रदर्शन गर्ने प्रवृत्ती, आर्थिक दौड र संस्कारको अभावको संयुक्त त्रिवेणीमा जीवनको आध्यात्मिक खुराक जेठको शीत बनेको छ ।
धर्मले मानिसलाई ह्दयको गहिराइमा छुन्छ, खल्तीको गहिराइमा होइन । खल्तीको वजनमा विश्वास गर्नेहरूका लागि नोटको क्रय क्षमता र बजार भाऊले उनिहरूको सुख र शान्ति खल्बलाउने वा सन्तुलित राख्ने काम गर्छ, तर धर्ममा विश्वास राख्नेहरूका मूल्य र मान्यता अन्तै छन् । ईश्वर सम्झिन दु:ख भोग्नु पर्छ भने झैं धार्मिक आस्था पलाउन ढुकुटी हल्का हुनुपर्छ कि जस्तो लाग्छ । कम्युनिष्ट चीनको राजनीतिक विमर्षले धर्म निषेध गर्‍यो भने अमेरिकी पूँजिवादले विकाशको नाममा धार्मिक अभ्यासका परिधीलाई राज्यको कानूनी संरक्षण क्षेत्रको घेराभित्र हाल्दै छ । अज्ञान र आर्थिक मलिनताको दोहोरो चेपमा परेको चेतना धर्मपूर्वको जादु–चिन्तनतिर ढल्किन्छ । यस सोचाईले जेम्स फ्रेजरले बताए झैं टाढैबाट वस्तुहरूको समानताको वा नजिकबाट वास्तविक संस्पर्शको आधारमा उच्चारित ध्वनि वा मन्त्रद्वारा भूतप्रेत, भौतिक पदार्थ तथा मानिस र देवताहरू उपर नै पनि प्रभाव पार्न सक्ने विश्वास राख्छ । धर्मले यसभन्दा एक कदम अगाडि बढेर भौतिक विश्व तथा संपूर्ण प्राणीउपर कुनै आध्यात्मिक शक्तिको प्रभाव रहेको कुरा स्वीकार्छ । त्यसैले मानव चेतनाको विकाशको क्रममा जादु–चिन्तनबाट धर्ममा प्रवेश गर्दा यसरी रूपान्तरीत सभ्यताले यौटा सिङ्गो कोल्टे फेरेको थियो । त्यसको धेरै पछि कार्ल माक्र्सले धर्मलाई जनताको अफिम भन्दै यसको विरोध गर्दै मिथकीय कल्पनालाई हतोत्साही पारे । यसै गरी कार्ल गुस्ताभ योङ्गले अलि कडैसँग सबै देवताहरू रोग बनेको तर्क प्रश्तुत गरे । त्यसै ताका डार्विनले प्राइमेटको र प्राकृतिक छनौटको रहस्य खोलेर एकातिर ईश्वरको रूपमा मानिस बनेको बाइबलको धारणालाई नकारे भने ढेडु मानिसको सभ्यता विकासोन्मुखी मात्र होइन कि र्‍हासोन्मुखी पनि हुन सक्ने तथ्यलाई समान सम्भावनाका रूपमा स्थापित गरे । यस्तै यस्तै तर्कका प्रभावमा राजनीतिक चिन्तन र अभ्यासले नै पनि धर्मको उपस्थितिमा मात्र आर्थिक विकाश देख्न छोडेर भाग्यवादको ठुलो विरोध गर्दै सामुहिक सहकार्यमा जोड दिन थाल्यो । सबैलाई थाहा भएको कुरा हो, समाजवादी रुसमा भौतिक विकाशसँगै धर्मको नाश हुँदै गएको थियो; तर शीतयुद्धपश्चात् कमजोर अर्थतन्त्र भएको त्यही रुसमा धर्मको प्रभाव बढ्दै गयो रे भन्ने पनि सुनियो । विकास, प्रगति, उद्योगीकरण, तक्निकीकरण, आधुनिकीकरण, भौतिक उन्नती र आजको शब्दावलीमा आर्थिक उन्नती पनि पर्यायवाची शब्द हुन् । जति प्रगतिशील भयो उति आत्मनिर्भर बनेको समाजमा परमेश्वरको बल मलिन भएर जाँदो रहेछ । यसैले होला भौतिकवादी प्रगतीशील समाजको विचारमा धर्म केवल अन्धता हो । उनिहरूको सच्चा आँखाले सामन्ती शत्रु देख्छ र मनको आँखाले शोषणरहित समाज मात्र †
                आध्यात्मिक दृष्टिकोणबाट हेर्दा प्रगतिको नाममा ईश्वर नकार्नु आर्को खाले अन्धता हो जसले विज्ञानको विनम्रतासमेत स्वीकार्न नसकेको बताउँछ । मानिसले ईश्वर त्यस दिन नकारुन् जुन दिन उनिहरूले निर्णायक ढङ्गले भाग्य नकार्न सक्छन् । नत्र सम्भाव्यताका गणितीय अभ्यास गैरवैज्ञानिक हुन् भनेर प्रमाण दिन पनि सक्नु पर्छ । विज्ञान यथार्थ बुझ्ने प्रयास मात्र हो । अन्तिम यथार्थ बुझ्ने यहाँ कोही पनि छैन । सबै आ–आफ्नै बुझाईको हठमा चुर्लुम्म डुब्दा विवेक पनि साथसाथै डुबिदिन्छ । ईश्वर जे होला त्यसको सम्भावना स्वीकार्नु बुद्धिमानी हो किनभने आफूभन्दा शक्तिशाली तत्त्व नकार्नु घमण्ड हो । अनास्थाको भौतिकवाद प्रकृतिको चक्रसँग सँधै परास्त छ । प्रकृति स्वयं नाशवान् छ । नाश र निर्माणको क्रममा पदार्थ उर्जा बन्ने र उर्जा पदार्थ बन्ने क्रम नितान्त चलिनै रहन्छ । मानिस स्वभावैले  आस्था उमार्ने प्राणी हो । विकृतिले अनास्था उम्रिन्छ । यसो हुँदाहुँदै पनि तटस्थ दृष्टिले हेर्दा हामीलाई आस्थिकता र नास्तिकता बीचको होडबाजीभन्दा सुखी जीवनको लागि संवेदनशीलताको बढी खाँचो छ । आस्था र अनास्थाको सहअस्तित्व सहनशीलता, शिष्ठाचार र संवेदनशीलताबाट संम्भव छ । सुख, स्वास्थ्य, शान्ति बजारका मूल्य होइनन्, न हुन् यी आलु र प्याज † यस विश्वमा आलु र प्याज बाहेक अन्य धेरै महत्त्वपूर्ण कुराहरू छन् जसको मूल्य पेटले होइन ह्दयले मात्र बुझ्न सक्छ । मानवता गणीत र तर्कमा अटाउँदैन, कल्पनामा छचल्किन्छ । यदि ईश्वर मानिसको मिथकीय कल्पना मात्र रहेछ भने पनि कल्पनाबाट प्राप्त हुने उसको आनन्दउपर आक्रामक वचन र कार्य सदाका लागि तुच्छ छन् । मानिसले विश्वासका लागि ज्यान दिन सक्छ । कल्पना नै किन नहोस्, ईश्वर जस्तो कल्पनाको निम्ति ऊ ज्यान दिन सक्छ किनभने उसको ह्दयले यसको मूल्य तोकिसकेको छ । यस्तो विश्वासको अनादर गर्ने प्रवृत्तीलाई सभ्यता भनिदैन । यो प्रगति हैन, निर्मल ह्दयको अनावश्यक विकार हो ।
                पश्चिमी मुलूकहरूले बाइबल र धर्म उपर प्रश्न चिन्ह ठडाउँदै गए । प्रश्न गर्न वा व्याख्या गर्न ग्रन्थ पढ्नै पर्छ । बाइबल सन्डे स्कूलको साक्षारता अभियान मात्र बनेन, स्कूलका र कलेजका पाठ्क्रममासमेत यसले प्रवेश पायो । नेपाल जस्तो कुनै बेलाको हिन्दू राष्ट्रमा समेत ती दिन थिए जब पादरीहरूले साहित्य र संस्कृति बुझ्न आवश्यक विषय भनेर नेपाली बालबच्चालाई बाइबल पढाउँदै आए । यस्ता अध्ययन गर्ने र गराउने क्रममा पश्चिममा क्रिश्चियन धर्मग्रन्थको व्याख्या यति धेरै भए कि यिनकै आधारमा यस धर्मका हजारौं शाखा र उप–शाखा उम्रिदै गए वापत क्राइष्ट स्वयंले “म त क्रिश्चियन होइन †” भन्नु पर्ला जस्तो स्थिति पनि आइसकेको छ । यसै गरी कार्ल माक्र्सले आफ्नो अर्थतन्त्रबारेको सिद्धान्त राजनीतिमा लागू गरेको देखेर आफू माक्र्सवादी नभएको कुरा बताउन बाध्य भएका थिए । समाजको सशक्तिकरण आधुनिकताको मूलाधार हो । युगौंदेखि धर्मले समाज सुधार्ने र त्यसका प्रत्येक व्यक्तिको आध्यात्मिक भविष्य सपार्ने अभिभारा लिएर यस अभियानमा पादरी र पुरोहितको सहायता लिएर शक्ति जमाउँदा जमाउँदै समाजले धर्म यसरी आफूमा सोस्यो कि अब समाजले धर्मका सीमाहरू निर्धारण गर्दै आफू भने ठोस जगत्को भौतिक खनिज र अन्य सम्भावनाको खोजमासमेत समर्पित भयो । उपनिवेशहरू बनायो । धर्मभन्दा समाज गतिशील रहेछ, व्यापक रहेछ । व्यापकले कम व्यापकको सीमाना निर्धारण गर्छ । तर समाज भनेको राजनीतिको र राज्य वा राष्ट्र संरचनाको आधार पनि हो र यही समाजको आड पाएर पश्चिममा राज्यले धर्मउपर प्रथम विजय त्यस दिन पायो जुन दिन रोमका प्रमुख पुरोहित र बेलायतका राजा दुइवटा अलग अलग र स्वायत्त शक्तिका रूपमा स्थापित भए । व्यापकताको हिसावले अतुलनीय हुँदाहुँदै पनि नेपालमा झण्डैले यस खाले घटना धर्म निरपेक्षता घोषणा भएको दिनमा यस अर्थमा घटेको हो कि यहाँ पनि धर्म र राज्यशक्ति फाटेर दुइ अलग अस्तित्वमा परिणत भएका हुन् । अब सनातन धर्म हिन्दु राज्यको स्वायत्त शक्तिको एकलौटी आधारविना अडिरहन सक्छ भन्ने देखाउन निरपेक्ष लोकतान्त्रीक राष्ट्रले यसलाई सहायता गर्न अत्यन्त आवश्यक भएको छ ।
                अबको नेपालमा हिन्दुको सबैभन्दा बलियो प्रतिद्वन्दी क्रिश्चियन हुने स्थिति पैदा भएको छ । उन्नाइसौं शताद्वीको अन्त्यतिर देखि नै वेलायती साम्राज्यले सनातन जस्ता पूर्वेली धर्मले क्रिश्चियन धर्मको प्रचारमा कडा रोक लगाउन सक्ने कुरा बुझिसकेको थियो । त्यस ताका वास्तवमा नै साम्राज्यविरुद्ध हिन्दु सभ्यता बलियो भएको हुनाले मात्र आफ्नो धर्म संरक्षण गर्न सफल भएको थियो । तर अहिले पुन: फर्किएको आर्को छाल अझ निस्फिक्री अगाडि बढ्दै छ । यौटा मात्र ईश्वर भएको सत्यलाई अघि सार्दै हिन्दुका देवीदेवताहरूको गति ग्रीस र रोमका देवीदेवताका समान हुने कुराको संकेत दिंदै, अशिक्षित र गरीव जनतालाई क्रिश्चियन मार्काका शिक्षा दिंदै र पैसा बाँढ्दै हिंडेपछि भोलिको नेपालमा क्रिश्चियनको बाहुल्य हुनु स्वाभाविक हुने छ । हिन्दुहरूको जन्म, मृत्यु, बिवाह र व्रतबन्ध जस्ता आवश्यक कर्महरू साधारण व्यक्तिको आयले धान्न मुश्किल पर्ने भइसकेको हुँदा र धर्म परिवर्तन गर्दा केटाकेटीको थोरै भए पनि शिक्षासमेत सुनिश्चित हुने हुँदा धेरै गरीव नेपालीहरू क्रिश्चियन बनेका छन् । तर धर्म निरपेक्ष राष्ट्रमा धर्म नत्यागी विश्वास परिवर्तन गरेछन् भने पनि के भयो त ? आजका नेपाली बुद्धिजीवी कहलिएकाहरूले पनि त विश्वास बेचेर ज्यान पालेकै छन् † सबैले आ–आफूले देखेको र भोगेको सत्य सबैभन्दा राम्रो हो भनेर त्यसको प्रचार गर्ने अधिकार पाउनै पर्छ । सनातन धर्म अल्प संख्यकको भएछ भने पनि के भयो त ? जन्मले जात पाउन हामी जस्तै अरू पनि बाध्य हुने नै छन् † स्वेच्छा र विवेकले आस्था अपनाउनु के गल्ति हुन्छ र ? लाखौं नेपालीले धर्म परिवर्तन गर्न थालिसके । उनिहरूको शिक्षाले कहिल्यै पनि उनिहरूलाई हिन्दु बन्नुको महत्त्व बुझाएन । जुन जुन बेला कुनै नवजवानले आँट गरेर धर्मउपर कुनै प्रश्न गरे तिनलाई चित्त बुझ्दो जवाफ दिने शायद कोही भएनन् । धर्मग्रन्थमा यही भानिएको छ अथवा पुरेतले यसै गर्नु पर्छ भनेका छन्, त्यसैले भनेको मान्नु पर्छ र गर्नु पर्छ भन्ने खालका बुढाहरूका हास्यास्पद जवाफ बाहेक सही छलफलको अवशर कमैले पाए होलान् । सबैले परंपरावादी बन्न अझै पनि  घर र समाजबाट प्रोत्साहन पाइरहेका छन् । विश्व अगाडि बढ्न चाहान्छ, धर्म जम्न चाहान्छ ।
                अनि त मानिस नास्तिक र अविश्वसी भएर जान्छ । यस्तै मानिसहरूको समूह प्रगतिको र अग्रगामी विचारको नाममा भौतिकवादी, माक्र्सवादी, माओवादी, इत्यादी बनेका छन् । अनि अल्प शिक्षित पुरोहितले झैं उनिहरूले पनि आफ्नै हठमा डुबेर विवेकसमेत गुमाउने संभावना बलियो देखिन्छ पनि । गरीवप्रतिको कर्तव्यको नाममा भ्रष्टाचारीहरूका नेताहरूका सामन्ती अनुहार देख्दादेख्दै पनि निरपेक्ष लोकतन्त्र र वैज्ञानिक चेतना फर्फराउने प्रयासमा आफूहरू नवसामन्तीवर्गमा परिणत भएको पत्तो पाउँदैनन् वा पाएर पनि चुप लाग्छन् । उनिहरू एकातिर कुनै यौटा धर्मको पहिचानमा राज्य संचालन हुनु प्रगतिशील दर्शनका लागि वैज्ञानिक कुरा हुन सक्दैन भन्छन् भने आर्कोतिर जात र जातिय पहिचानका आधारमा सहअस्तीत्वमा विश्वास नभएझैं गरी नेपालीपना टुक्राउनुलाई विवेकपूर्ण कदम देख्छन् । शान्तिको साँचो सहअस्तित्व हो । धर्म जस्तै जात र जातिय परिचय पनि समाजका विभिन्न सांस्कृतिक रूप मध्येकै अनेक वास्तविकता हुन् र सबैलाई यस धर्तीमा बाँच्ने अधिकार छ । तर आजको नेपालमा प्रगति बहिरो छ, अन्धो छ – धर्म जस्तै । प्रगति आँखा चिम्लिएर दिशाहीन कुदिरहेछ, हान्निइरहेछ विनाशको अन्धकारमा केवल नाराकै भरमा, यौटा घन्किएको मन्त्र–नारा जुन चारैतिर व्याप्त छ – “निर्माणका लागि विनाश †” कति राम्रो नारा छ यो यदि पत्यारिलो भइदिएको भए † यदि कानूनसम्मत भइदिएको भए † प्रत्येक ह्दयका लागि फौंजी रेखीय गतिभन्दा नदीको जस्तो लहडी गति प्यारो लाग्छ । समाजलाई रेखीय गतिमा लैजान खोज्ने प्रत्येक शासकले कतै गएर व्यक्तिको ह्दय कुल्चिएकै हुन्छ । तर ह्दयमा बाँच्नेले दु:ख र पीडा पनि स्वीकार्न र सहन सिक्नु पर्छ । यो सामाजिक जीवनको बाध्यता हो ।
                धर्म पनि आँखा चिम्लिएरै बसिरहन चाहेको देखिन्छ । यसले आत्मआलोचना नगरेको खण्डमा चारैतिरबाट परित्यक्त हुने अवस्था एकातिर आएको छ भने आजका अल्प शिक्षित पुरोहितका वचनमा हजारौं वर्ष अगाडिका ज्ञान अडाएर तिनै ज्ञानका आधारमा बनेका नियम आजको समाजमा लागू गरिरहन खोज्नु अब्यावहारिकताको उत्कृष्ट उदाहरण हो । निराकार बाहेक सबै परिवर्तनशील छन् भन्ने बुझेको धर्मले आफ्ना नियमहरू समाज र समय सापेक्षित पार्दै नलैजानु आफ्नै अन्त्य निम्त्याउनु हो । धर्म निरपेक्षता कानूनको आँखामा सबै धर्मको सहअस्तित्व हो भने सबै धर्मको कानूनी राज्यमा अस्तित्व पनि हो । जबसम्म कुनै पनि धर्मले जनताले बुझ्ने भाषामा बोल्दैन, जनताले त्यो धर्म बुझ्दैन र मान्दैन । रुढि र रीतिका भरमा एक्काइसौं शताद्वीको समाज चल्न चाहाँदैन र सक्दैन पनि । यसको लागि स्कूलदेखि नै सरल भाषामा धार्मिक साहित्यको महत्त्व नबताउने हो भने आजको अन्तर्राष्ट्रिय भाषामा सजिलो अंग्रेजीमा लेखिएको बाइबल धेरैका लागि सुपाच्य हुने प्रष्ट छ । यसका नेपाली उल्थाहरू पनि आउन थालिसकेका छन् । धेरै धर्महरूमध्येको यौटा सनातन धर्मले आफ्नो प्रभाव कायम राख्न अब आत्मआलोचना गर्दै समय सुहाउँदो रूपमा समाजमा उपस्थित हुनु अत्यावश्यक भइसकेको छ । अब हिन्दुको रगतमा संस्कृत र संस्कार बगेको धाक लगाएर संस्कृतिको संरक्षण गर्न नसकिने कुरा पनि प्रष्ट छ । यस यथार्थलाई नकार्नु सनातन धर्मीहरूका लागि हानिकारक छ । अब आस्था जोगाएर धर्म परिवर्तनशील बन्नु नितान्त आवश्यक छ । साथै धार्मिक आस्था राखेर आ–आफ्ना पेशा र क्षेत्रमा ठुलो योगदान दिने मानिसहरू पनि छन् जसले आफूलाई प्रगतिवादी वा प्रगतिशील नभनिकन राष्ट्र र समाजको सेवामा जुटेका छन् । यस्ता मानिसका आस्था कुल्चिनु नास्तिकहरूका लागि पनि हानिकारक छ । कट्टरता पाप हो – चाहे त्यो धार्मिक होस् वा प्रगतिशील होस् ।
                माथि भने झैं धर्म निरपेक्ष मुलूकमा सबैले आ–आफ्नो विश्वास अँगाल्ने अधिकार छँदै छ । त्यसैले संख्यात्मक ब्राह्मणत्वमा र्‍हास आए पनि गुणात्मक ब्राह्मणत्वको विकाश होस् । यसमा सबै नेपालीले गौरव गर्ने नै छन् । यस्तै  राष्ट्रको प्रगति र सामाजिक गतिशीलता पनि आवश्यक कुरा हुन् । धर्म निरपेक्ष समाजमा व्यक्तिको भौतिक सुख र शान्तिको एकलौटी जिम्मा राष्ट्रको हुन्छ । तर जसरी कुनै बेलामा धर्म सबैको साथी थियो यसलाई पन्छाएपछि राष्ट्रले हामीलाई साथ दिन नसके वापत हामी अझै मुन्टो फर्काएर त्यही विगतलाई हेर्दै छौं जहाँ कमसेकम दिलको दर्द मानिसहरूले आफ्नो आस्थाको ईश्वरसँग पोख्न पाएका थिए ।

साउन ३, २०६९


“सुकुलमाथि” : प्राकृतिक र अप्राकृतिकको सवाल

पद्म देवकोटा

                कला कला जस्तो नदेखाई प्रयोग गर्न जान्नु नै सच्चा कला हो । श्रृङ्गारभन्दा सरल सहजता ह्दयस्पर्शी हुन्छ । लक्ष्मी–निबन्ध संग्रहको लेखनशैलीको यौटा विशेषता यही हो । उदाहरणको लागि “सुकुलमाथि” पढ्दा सुरुमा लेखकको लहडले टिपेको विषयमा यौटा रसिलो गफ सुनेको जस्तो मात्र लाग्छ । तर यस निबन्धको लेखनशैली र विषयवस्तु दुवै सतही छैनन् । केवल भाषा बोलिचालिको सरलता टिपेर मानव समाज र त्यसका आचरणका प्राकृतिक र अप्राकृतिक पक्षलाई निबन्धकारको दृष्टिकोण मार्फत् छर्लङ्ग्याउँदै यसरी बहन्छ कि त्यसको प्रवाहका साथै बग्ने पाठकले धेरै मिहिन कुराहरू छुटाएरै पनि संतुष्ट भइदिने खतरा छ । तसर्थ “सुकुलमाथि”को विषयवस्तुका केही पत्र पल्टाएर हेर्ने अभिप्राय यस आलेखले राखेको छ ।
                कुनै पनि साहित्यिक अभिव्यक्ति स्वरका न्यूनतम तीन तहमा केलाउन सकिन्छ । पहिलो तह हो लेखकको स्वर अर्थात् लेखक स्वयंले प्राप्त गरेको अभिव्यक्ति जसमा उसका विश्वास र प्रवृत्तीसमेत झल्किएका हुन्छन् । उसले केही भन्न चाहेको हुन्छ, तर उसले त्यो कुरा भन्ने क्रममा कति स्पष्टसँग, कति मिठोसँग, कति विश्वसनियताका साथ सो कुरा भन्न सकेको छ भन्ने कुरा अध्ययनको यौटा तह हो । दोस्रो तह हो युगको स्वर अर्थात् लेखकमार्फत् निस्किएको युगको आवाज । लेखक व्यक्तिको रूपमा समाज र शक्ति केन्द्रहरूसँगको सम्पर्कमा रहे वापत यिनका उसमाथि परेका प्रभाव तथा उसका व्यक्तिगत प्रतिक्रियाहरू उसका अभिव्यक्तिमा झल्किनु स्वाभाविक हो । जहाँ शक्ति छ, त्यहाँ द्वन्द्व छ । यी द्वन्द्वहरू लेखमा कसरी उत्रिएका छन् भन्ने कुराको अध्ययन आवश्यक र सार्थक छ । अनि तेस्रो तह हो भाषाको स्वर अर्थात् भाषाको आफ्नै आन्तरिक झन्कार । तीर हानेपछि धनुषको टङ्कार गुञ्जिएझैं लेखकले भन्ने कुरा भनेपछि भाषिक माध्यम लेखकले दिएको अर्थमा हैन कि आफ्नै सम्भावनाका अर्थहरूमा झन्किन्छ । भाषाको स्वभावैले गर्दा लेखकले यौटा अर्थमा बोले पनि लेखमा धेरै अर्थ र धेरै स्वर निस्किन सक्ने भएकाले तीनको लेखउपर रहेको प्रभावको अध्ययन गर्न सकिन्छ । यसो गर्दा ख्याल राख्नु पर्ने कुरा यो छ कि लेखकले भन्न चाहेको कुरा यही हो भनेर ठम्याउन धेरै कठिन छ; लेखले बोलेको कुरा सप्रमाण प्रस्तुत गर्न सकिन्छ । यसैले लेखकलाई भन्दा लेखलाई विश्वास गर्नु उचित र उपयोगी समालोचकीय अभ्यास हो जसका लगि पाठ–केन्द्रित अध्ययन आवश्यक पर्छ । यस स्वर सैद्धान्तिक आग्रहलाई ध्यानमा राखेर “सुकुलमाथि” निबन्धको चर्चा गरौँ ।
                छोटकरीमा भन्नु पर्दा पठनको पहिलो तहमा यस निबन्धमा प्राकृतिक जीवनको प्रतीक (सुकुल) र अप्राकृतिक जीवनको प्रतीक (टेबुल र मेच) को ध्रुवत्वमा अप्राकृतिक तथा आधुनिक सभ्यताको परिवेश (कोठभित्रको टेबुल र मेच) र प्राकृतिक तथा प्राचीन परिवेश (बँगैचामा ओछ्याएको सुकुल) को आपसी बेमेलबाट उठेका अन्य मानवीय आचरण र व्यवहारका द्वन्द्वलाई समेत समेटेर प्राचीन महर्षीका स्थिर पद्मासनमा एकाग्र चित्त र मूलग्राही चेतनाले समेटेका सार्थक चिन्तन तथा सच्चा बोधका विरुद्ध मेचका माष्टरहरूका चंचलता र उनिहरूको पल्लवग्राही चेतनाबाट पलाएका “नक्कल, उल्था, उतार र आधुनिक अज्ञान (२५)” यस निबन्धले लेखकको भावनाको तराजुमा जोखेर पाठकलाई पस्किएको छ । पठनको दोस्रो तहमा गएर महर्षी र माष्टरमा राणाकालिन राजधानीको परंपरागत संस्कृत शिक्षा र आधुनिक अंग्रेजी शिक्षाको भेद बोलेको छ भने यसको साथसाथै वेद र “आधुनिक अज्ञान”को भेद पनि संकेत गरेको छ । यस अर्थमा टेबुल र मेच पनि अंग्रेजी भाषा जस्तै नेपालमा भित्र्याइएको त्यो शीप र संस्कृति हो जुन थोरै सचेत भनाउँदा व्यक्तिले बाहेक स्वदेशमै सुकुल बुनेर त्यसको प्रयोग गर्ने जनसाधारणको आदति चेतनाले सहज स्वीकार्न सकिरहेको थिएन । यहाँ मैले भौतिक सुविधाको रूपमा नेपालीले टेबुल र मेच रूचाएनन् भन्न खोजेको हैन; टेबुल र मेचले औँलाएको म्लेच्छको भाषा र संस्कृति नेपालभित्रका सबै समूहले न पाउने थिए, न रूचाएका थिए । म्लेच्छ कहलिएको भाषा र संस्कृति त्यस समाजका लागि प्राय: अस्वीकार्य नै थियो । यस अवस्थामा लेखक स्वयं प्राचीन र संभवत त्यसैले प्राकृतिक सभ्यताको परिष्कृत निरन्तरताको पक्षमा र केही हदसम्म “म्लेच्छ” शब्दमा अन्तर्निहित भाव नस्वीकारीकनै पनि साधारण सामाजिक मान्यताको पक्षमा आयातित पश्चिमी सभ्यता उपर शङ्का उठाउँदै उभिएका देखिन्छन् । सामान्य बुद्धि सँधै विद्रोही हुनु पर्ने आवश्यकता छैन । स्वास्थ्यकै हिसावले पनि मेरूदण्ड सीधा राख्ने अभ्यास टाउको घोप्टाएर छातिको भरमा लेखपढ गर्ने बानी (जसले गर्दा गर्धनका हाड खिइन सक्छन्) भन्दा स्वास्थ्यकर भएको स्वीकार्दै यसकै आधारमा मानव प्रगतिको कृत्रिम पक्षउपर यस निबन्धले प्रश्न उठाएको पाइन्छ । अनि पठनको तेस्रो तहमा गएर निबन्ध केलाउन बस्दा प्राकृतिक र अप्राकृतिकका भेदउपर निबन्धको भाषा यसरी झन्किएको छ कि हामीले लेखकलाई “तपाईंले यसै भन्नु भएको हो त ?” भनेर प्रश्न गर्न आवश्यक पर्न जान्छ । यसरी तीन सय आठ शब्दमा देवकोटाले प्राचीन संसारको, वेदको, ऋषिमुनिको, एकाग्र चिन्तनको, प्राकृतिक जीवनको र उद्देश्यपूर्ण सोचको पृष्ठभूमिमा आयातित संस्कृति विरुद्ध सच्चा नेपालीपनाको चित्रण गर्दै आर्य संस्कारमा उभिएको परंपरा र नेपालीको आफ्नोपनाको कदर गर्न सिकाएका छन् ।
                लेखकले पछि २००२ सालमा प्राकृतिक र प्राचीन सभ्यताको महिमा नेपाली शाकुन्तलमा पनि “मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको /हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको” (१.३) भनेर गाएका छन् । आज ती नै हरफको याद गर्दै “सुकुलमाथि”मा भेटिएका आयातित आधुनिकताको विपक्षी देवकोटालाई भारतवर्षकै सोचका आधारमा केलाउन मन लागेको छ । एकातिर हामी उनीलाई रोमान्टिक भन्न रुचाउँछौ, मानौं कि त्यस शब्दले ईश्वी अठ्ठारौं शताव्दी बुझाउँछ । आर्कोतिर रोमान्टिक धारा नेपाली साहित्यको इतिहासको निम्ति आधुनिक नै हो । वेलायती साहित्यको सन्दर्भमा पनि रोमान्टिक धाराको आरम्भसाथै साहित्यको आधुनिक युगारम्भ भएको मानिन्छ । यस अर्थमा देवकोटा आधुनिक बाहेक केही हुन सक्दैनन् । त्यसैले देवकोटालाई प्राचीन भारतवर्षीय संसार रूचाउने आधुनिक रोमान्टिक कवि मानिदिंदा आपत्ती छैन । वेलायती रोमान्टिक कविहरू पनि त प्राचीन ग्रीसमुखी थिए । उनिहरूले त्यसवेला विदेशी सभ्यताको गाथा गाइरहेका थिए भने देवकोटाले हाम्रै भारतवर्षको गाथा गाएका छन् । रोमान्टिकहरूको प्रकृतिप्रेम यस निबन्धमा पनि बोलेको छ । जँ जाक रुसोको “प्रकृतितर्फ फर्क” अभियानसँग वेलायती रोमान्टिक कविहरू धेरै प्रभावित थिए भने “सुकुलमाथी” पनि सोही भावको आर्को अभिव्यक्ति हो । त्यसो त यो निबन्ध अमेरिकी ट्रान्सेन्डेन्टल धारका हेन्रि डेभिड थोरो मार्काको प्रकृतितर्फ फर्किने अभियानसँग नजिकिन खोजेको हो कि जस्तो पनि लाग्नसक्छ । देवकोटाले यस अघि “मलाई” शीर्षकको कवितामा केही हदसम्म प्रकृतितर्फको अलि अपरिपक्व जवान–प्रेम देखाइसकेका छन् –
अलग यौटा झोपडी, गिरि र जंगल मर्मर
मिर्ग डुल्ने, पंछी झुल्ने, घाँसको हाँसो निर । (११)
यस्तो “सभ्यताको कैद खाना बाहिर” (१२) एक सुन्दरीसँग प्रेम र सौन्दर्यको जगत्मा समय बिताउने आकांक्षा युवक देवकोटाले व्यक्त गरेका छन् । प्रकृतितर्फ फर्किने अभियानमा थोरोले भने १८५४ मा प्रकाशित वाल्डेनमा आफ्ना दुई वर्ष दुई महिना दुई दिनका वाल्डेन पोखरीको छेऊमा आत्मनिर्भर भएर एकान्तमा प्रकृतिको परिपक्व अध्ययनमा बिताएको समयावधिको कथा हालेका छन् । यो उनको वाल्डेन पोखरीको प्रयोगशालामा प्राकृतिक जीवनको अभ्यास थियो । त्यहाँ रहँदा उनीले आफ्नो झोपडि र त्यसभित्रका टेबुल र मेच आफैले बनाएका हुन् ।
                “सुकुलमाथि”मा सभ्यताको कैदखानाको धारणा नेपाली भाषानुवाद परिषद्को कार्यालय कक्षभित्रको काम गर्ने वातावरणको सन्दर्भमा आउँछ । नेपाली भाषानुवाद परिषद्मा लेखकहरू भर्ना गरिन्थे र देवकोटाले पनि त्यहीँ २००० सालमा जागीर खाएका हुन् । यसका लेखक–जागीरेहरूका लागि लेख्ने र चिन्तन गर्ने वातावरण परिषद्ले दिन सक्नु पर्ने थियो, तर दिन सकेको जस्तो यस निबन्धले देखाउँदैन । यसै त स्वतन्त्र भएर लहडिन चाहाने कवि देवकोटालाई जागीरको दशपाँचको समयावधि कैदखाना जस्तो लाग्थ्यो होला । त्यसैले त “सुकुलमाथि” यौटा उकुसमुकुसबाट सुरु हुन्छ, त्यसको प्रथम वाक्यको “चिच्याट” (२४) अलि तल टेबुलमेचको “आतंक” (२४) मा परिणत हुन्छ, र परिषदभित्र बस्दा गंभीर चिन्तलाई मुक्तिको मार्ग बनाउँन चाहाने लेखक–जागीरे त्यहीँभित्र उत्पन्न बाधाहरू उपर व्यङ्ग्य प्रहारको मार्ग अपनाउन बाध्य बन्छ । यौटा ठुलो संभावना यो छ कि देवकोटा यही भाषानुवाद परिषदमा ध्यान मग्न भएर सोचिरहेको बेलामा पल्लो टेबुल मेचमा बसेका व्यक्तिले भुईंमा मेचका खुट्टा घिसार्दै वा मेचलाई दुई खुट्टामा चुईँकाउँदै हल्ला गरेर उनको एकाग्रता धेरै पटक भङ्ग गरिदिएका थिए । यो केवल अनुमानको कुरा हो भने यस प्रकारको असभ्य आचरणले आजसम्म पनि हामीमध्ये कति ग्रसित छँदै छौं । देवकोटा स्वयं मानिसलाई चित्त दुख्ने कुरा नगर्ने स्वभावका भएकाले यस प्रकारका असंवेदनशील आचरण सच्चाउनाका लागि लेख्नुको विकल्प उनीसँग थिएन । त्यसैले यो निबन्ध लहड मात्र नभएर यौटा आवश्यक शिक्षादायी प्रहारको रूपमा जन्मिएको हुन सक्छ । निबन्धको पहिलो वाक्यको दिक्दारीको स्रोत भाषानुवाद परिषद्भित्रको सोच्ने र लेख्ने वातावरणको कमी हुन सक्ने सम्भावना बलियो छ । जानेर होस् वा नजानेर होस्, टेबुल र मेचको बीचमा “अभागी आधुनिकताको कैदीलाई कहिले यता हिल्न मन लाग्छ कहिले उता फर्कंदा पनि खर्‍याकखुरुक आवाज नगरी फर्कन सक्दैन र यसको मुख्य अवगुण त्यस वेला थाहा हुन्छ, जब भाषा परिषद्मा मग्न भएर मिहीन विचारहरू उब्जाइरहेको लेखनदासका मगजका गिर्खा खर्खराउँछन्” (२४–२५) ।
                त्यसो त चित्त नियन्त्रणको प्रयास ध्वनिले मात्र हैन, गतिले पनि भङ्ग पार्छ । भाषा परिषदको कोठामा “मेच–विराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन् कि पीङ खेल्छन् (२४) ।” यति मात्र हैन कि उनिहरूका “अङ्गहरू ठिङ्गुरामा हाले जस्ता हुन्छन्” (२४) र सजिलो खोज्दै कहिले यता कहिले उता फर्किन्छन् । यसरी ऋषिमुनिको झैं स्थिर आसनसम्म जमाउन नसक्ने “टेबिल मेचको भक्त” (२५) ले उच्च आसनबाट उच्च विचार जन्मिने हास्यास्पद तर्क गर्छ भन्दै देवकोटा मेचमा बसेका माष्टर र भलादमी उपर आर्को व्यङग्य प्रहार गर्छन् ।  यो व्यङ्ग्य तेस्रो अनुच्छेदमै सुरु भइसकेको छ जहाँ प्राय: रुखका हाँगाबाट “प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुण्डाएर बनकर जस्तो गरी” (२४) बस्थ्यो भन्दै उच्च आसन र मानिसको अविकशित अवस्थालाई एकै ठाउँमा लेखकले गाँसिदिएका छन् । विकशित मानिस (ऋषिमुनि) “समाहित पद्मासनमा” (२४) स्थिर भएर ध्यानमग्न हुन्थ्यो भन्ने प्रष्ट छ । बनकरको अविकशित चेतना त्यो गधाको जस्तो छ जसलाई ओखल बाँधिदिए पनि घाँस खान सजिलै लाग्छ (२५) । यो गधा  “मेच–विराजमान भलादमी” (२५) जस्तो छ जसका “अङ्गहरू ठिङ्गुरामा हाले जस्ता हुन्छन्” (२५) र पनि ऊ उच्च आसनको “भक्त” (२५) छ । स्वतन्त्रताको अभाव नखट्किने चेतना भएको मानिसको आकार बनकर (पशु) हो भन्ने यहाँसम्म सर्व स्वीकार्य मान्यता प्रष्ट छ । यसरी पाठकको विश्वास जित्दै निबन्ध त्यस अन्तिम अनुच्छेदको सशक्त निष्कर्षतर्फ बढ्छ जसले माष्टर र भलादमीभन्दा स्थानको हैन कि सोचाईको उच्चतामा पुगेका ऋषिमुनिहरूको पलेंटी र पद्मासनको अनुमोदन गर्छ ।
                यो थियो ती प्रगतीमुखी माष्टर र भलादमीउपरको व्यङ्ग्य जो आफू अप्राकृतिक आचरणका भएर पनि आफूलाई प्राकृतिक ठान्छन्, “संस्कृतभन्दा नाक चेप्राउँछन्, श्री कृष्णलाई कथाका गुण्डा राजा भन्दछन्, र प्राचीन आर्य सभ्यतामा नफरत देखाउँछन्; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन् ... (२५) ।” यस प्रकारको द्वैध चरित्र अप्राकृतिक हो – सत्य सोझो हुन्छ, सरल हुन्छ । नेपालको यस कालखण्डमा प्रगतिको नाममा प्रजातन्त्रको मागसाथै वेलायती उपनिवेशबाट अनुकरण र उल्था सिक्दै गएको नेपाल र नेपालीको सानो समूह विरुद्ध नेपालभित्रकै त्यो संस्कृत शिक्षा वनारसमै किन नहोस् प्राप्त गरेको आर्को ठुलै नेपाली जनसमूह थियो जसले “काँग्रेसी” विकारको विरुद्ध च:च: गर्दै नकारात्म शीर हल्लाउँदै थियो । एक सानो हदसम्म “सुकुलमाथि”मा देवकोटा यिनीहरूसँग सहमत भएर सोचिरहेका छन् जस्तो बुझिन्छ । यस प्रसङ्गमा हृषीकेश उपाध्यायले पनि २००२ तिर नै देवकोटाले “अङ्ग्रेजी शिक्षा र त्यसप्रति बढ्दै गएको आकर्षणले नेपाली राष्ट्रिय भावनालाई कति संरक्षण र प्रोत्साहन मिल्न सक्छ” (१७) भन्ने बारे आशङ्का जनाएका छन् भन्दै निम्न आग्रह प्रस्तुत गरेका छन् –
देवकोटाको चिन्तनमा पश्चिम भनेको अर्कै जगत् हो र यसबाट लिइने ज्ञान, दर्शन र
विचारले नेपाल संसारको सहजै हित हुन्छ भन्ने छैन । पश्चिमेली प्रभाव ज्यादाजसो बाहिरी आवरण, पोसाक–पहिरन र सतही अनुकरण र देखावटी स्वरूपको हुन धेरै सम्भव छ । आर्य सभ्यता र आर्य संस्कारको उज्यालोबाट नेपाल राष्ट्रलाई अघि बढाउनु हाम्रो उद्देश्य हुनुपर्छ ... । (१८)
यसरी देवकोटाको प्रतिभाले ठीक र वेठीक आचरण र आधुनिकता विवेकशील भएर छुट्याइरहेको पाइन्छ । एकाग्र चिन्तन वा लेखनमा लागेकालाई खल्बल्याइदिनु असंवेदनशीलता हो, तर अंग्रेजी पढेर उच्च आसनमा बस्दैमा मानिस सभ्य वा संवेदनशील बन्छ भन्ने छैन, न त उच्च आसनमा विराज हुँदैमा संस्कृत परंपराको उच्च चिन्तन बुझ्छ नै । जे होस्, परिषद्मा यस्ता भलादमी र माष्टरहरू भएकैले यो निबन्ध जन्मिएको हुनुपर्छ ।
                यति सजिलो र सरल नेपालीमा लेखिएको पाठमा अर्थका ध्वनिहरू कसरी झन्किएका छन् भन्नेतर्फ पनि अब अलिकति ध्यान पुर्‍याउँ । “सुकुलमाथि यसरी सुरु हुन्छ – “मलाई एक दिन टेबिल र मेचको चिच्याटले बँगैचामा गएर सुकुल ओछयाएर बस्न मन लाग्यो (२४) ।” मैले माथि चर्चा गरेझैं एकातिर टेबुल र मेच अप्राकृतिकको र आर्कोतिर सुकुल प्राकृतिकको एक आपसमा विरोधी प्रतीकहरू हुन् र लेखकले पनि यही अर्थमा प्रयोग गरेका छन् भन्ने बुझिन्छ । अब “अप्राकृतिक” शब्द परिभाषित गर्नु पर्दा हामीले यसरी बुझ्दै आएको छौं कि जुन वस्तु मानवनिर्मित छ त्यो अप्राकृतिक छ । रुख प्राकृतिक छ, टेबुल अप्राकृतिक छ । तर यस अर्थमा सुकुल पनि अप्राकृतिक छ किनभने यो मानिसले बनाएको वस्तु हो । अनि परालभन्दा रुख कम प्राकृतिक हो भन्न पनि मिल्दैन; तर हामीलाई यसको प्रमाण नभए तापनि टेबुल र मेचभन्दा सुकुल बढी प्राचीन होला जस्तो लाग्छ । के त बढी प्राचीन लाग्ने वस्तु बढी प्राकृतिक हुन्छ भन्न खोजेका हुन् त देवकोटाले ? मेरो विचारमा देवकोटाले प्राचीन उत्पादनको सरलता विरुद्ध आधुनिक उत्पादनको बौद्धिक जटिलतालाई समेत ख्याल गरेर यी प्रतीकहरूको प्रयोग गरेका हुन् । आर्को एउटा थप उदाहरण लिऔं – बँगैचा पनि प्राकृतिक होइन किनभने यो पनि मानिसको सचेत कार्यले मिलाएको, श्रृङ्गारेको, बनाएको वस्तु हो । यो जङ्गल त होइन । देवकोटाले यहाँ बँगैचाको सट्टा जङ्गल शब्द प्रयोग गरेका भए टेबुल र जङ्गलको भेद कृत्रिम र प्राकृतिकको अर्थमा अझ प्रष्ट हुन्थ्यो । तर देवकोटाको जङ्गल पस्ने उद्देश्य यस निबन्धमा पक्कै देखिंदैन । यसैले पनि लगत्तैको वाक्यमा भाषाप्रति सचेत निबन्धकारले यसरी थप व्याख्या गरेका छन् – “कोठामा भन्दा बगैंचामा मनुष्य प्रकृतिको नजीक भए जस्तो हुन्छ (२४) ।” “भए जस्तो” भनेको हो नै भनेको हैन । बगैंचा र प्रकृतिमा केही समानता छन् भनेको मात्र हो ।
                अनि यस पछिको बनकरको उपमा अझ क्लिष्ट छ –“पहिलेको प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुण्डाएर बनकर जस्तो गरी बस्तो रहेछ (२४) ।” यहाँ साधारण अर्थमा बनकर पनि प्राकृतिक हो जसरी कि टेबुलमेचमा बस्ने भलादमी पनि प्राकृतिक हो भन्ने प्रष्ट छ । एक अर्थमा दुवै फरक खालका प्राकृतिक जनावर हुन् भने आर्को अर्थमा भलादमीको आचरण अनुकरणात्मक हुन गएको हुँदा ऊ अप्राकृतिक पनि लाग्न जान्छ । यसरी भलादमी द्वैध चरित्रको सावित भएको छ – एकातिर सामान्य अर्थमा बनकरको झैं खुट्टा झुन्डाइमा उसको प्राकृतिकपना र आर्कोतिर व्यङ्ग्यवश टेबुल मेचमा विराजमान भएर वेलायतको उपनिवेशको नक्कल, उल्था र उतार गराइमा उसको अप्राकृतिकपना देखिन जान्छ । यही अर्थ भिन्नताको माध्यमबाट भलादमी उपर निबन्धकारले व्यङ्ग्य गरेका छन् । यसरी बगैँचा र सुकुल प्रतीकात्मक अर्थमा प्राकृतिक हुनु र बनकर साधारण अर्थमा प्राकृतिक हुनुमा ठुलो अन्तर छ । प्रकृतिको दुवै अर्थले स्वभावको सहजता र सरलता स्वीकारेको छ भने बगैँचा र सुकुलको प्रतीकात्मक अर्थमा प्राकृतिक त्यो हो जो गतिशील भइकन पनि स्वीकार्य छ र बनकरको अर्थमा प्राकृतिक त्यो हो जो गति लिन नसकेवापत मानव परिष्कारको कोटीका लागि अस्वीकार्य छ । तर अन्त्यमा गएर स्पष्ट पार्नु पर्दा आफू आफू जस्तै हुनु वा आफ्नोपना कायम राख्नु प्राकृतिक हो भने आफ्नोपना गुमाएर अरू जस्तो बन्नुलाई देवकोटाले अप्राकृतिक मानेका छन् । यसैले परिषदका मिमिक मेन अर्थात् वेलायती साम्राज्यवादका अनुकरण र उल्थामा आफ्नोपना गुमाउँदै टेबुल र मेचमा चंचंल आसन जमाएर बसेकाहरू सुकुलमाथि ध्यानमग्न स्थिर आसन जमाउन नसकेकैले पनि अप्राकृतिक छन् भन्ने उनको भनाई छ । यस अर्थमा यी भलादमी र माष्टरभन्दा बनकर बढी प्राकृतिक छ, बढी आफ्नोपना कायम राख्न सफल छ ।
                यस प्रकारको चिन्तन भारतवर्षकै चिन्तनको निष्कर्षसँग मिलिरहेको छ । पाश्चात्य चिन्तनले आत्मपरकता र वस्तुपरकताको द्वैतवादमा मानवकेन्द्रीत विश्वमा ईश्वरनिर्मितको विरूद्ध मानवनिर्मितलाई ठडाउँदै आएर पहिलोलाई प्राकृतिक र दोस्रोलाई अप्राकृतिक वर्गमा राख्दै आएको हो । ईश्वी एक्काइसौं शताब्दीको आसपासमा आएर मात्र मानव केन्द्रीत दार्शनिक विचारले पर्यावरणीय केन्द्रमा मानिसलाई समेत राखेर त्यो “नयाँ” सोचतर्फ लम्किरहेछ जुन सोचलाई भारतवर्षको अद्वैत वेदान्तले यौटा शीखरमा पुर्‍याइसकेको थियो । अर्थात्, अद्वैतले मानव र प्राकृतिकको द्वैत अस्तित्व स्वीकार्न सक्दैन किनभने मानिस पनि लीलाको प्रकृतिरूपी चमत्कार हो जो अप्राकृतिक हुन सक्दैन । ऊ त्यहि ब्रह्म हो जुन दुईवटा छैन, जसको भित्र र बाहिर छैन किनभने उ एउटै मात्र छ । ऊ आफै ब्रह्म हो र उसको सृष्टि (प्रकृति) गतिशील छ, तटस्थ छ, अदुराग्रही छ । यस अर्थमा मेच, टेबुल, भलादमी, माष्टर, बनकर, लेखक, सबै प्राकृतिक छन्, एउटै छन् ।
                अब यस अर्थमा पनि निबन्धकार देवकोटाको भनाईमा गड्बडी छैन । अद्वैत वेदान्तको दार्शनिक सन्दर्भमा “सुकुलमाथि” निबन्धमा गतिशील प्रकृतिको महत्त्व के हो भने आजको “नयाँ” उत्पादन हिजोको “पुरानो” उत्पादनभन्दा कम प्राकृतिक हुन सक्दैन किन भने दुवै प्राकृतिक वस्तु हुन् । यस अर्थमा सुकुल मेचभन्दा बढी प्राकृतिक हुन सक्दैन । बगैँचा कोठाभन्दा प्राकृतिक हुन सक्दैन । तर जब हामी इन्द्रियहरूको तहमा रहेर हेर्छौं, बगैँचाको हरियाली कोठामा नपाएरै त्यसलाई बढी प्राकृतिक ठान्छौं – “हरियो रङ्गको समीपमा” (२४) उठ्ने भ्रम (माया) लाई सोही वाक्यको “झैं” ले निबन्धकारले व्यक्त गरेका छन् । यसो गरे तापनि निबन्धकार दार्शनिक बन्ने चेष्टा गरिरहेका छैनन्, उनी कवि रहेरै इन्द्रियहरूको तहमा रमाएका छन् । अद्वैत वेदान्तले देवकोटालाई प्रभाव पारेको तथ्य मैले दोहोराउन आवश्यक छैन । यस अर्थमा पाश्चात्य पर्यावरणीय दर्शनले पर्यावरणमा मानिसलाई पनि राखेर मात्र नपुग्ने देखिन्छ किनभने चेतनशीलले ऋषिमुनिले झैं आफूभित्र ब्रह्माण्डको केन्द्र पाउन बगैँचाको एकान्तमा सुकुलमाथि पद्मासन कस्नै पर्छ ।
                तर यसले आर्को प्रश्न उठाउँछ – के अद्वैत वेदान्तको सोचभित्र रहेर साहित्यलेखन सम्भव वा अर्थपूर्ण छ त ? अवश्य छ जस्तो लाग्छ । विवेकानन्दले पनि कविता रचेका थिए; तर यस्ता कविताले दैनिक जीवनका सबै पक्षसँग खेल्न सक्दैनन् । यसरी नै कुनै पनि विचारधाराको साहित्यले जति आफ्नो पूर्णताको धाकधक्कु लगाए पनि त्यसले मानव जीवन र जगत बारे स्पष्टाएकाभन्दा नस्पष्टाएका पाटा धेरै हुन सक्छन् । चौबिसै घन्टा कसैलाई पनि समाधि लाग्दैन । परिषद्मा जागीरे भएर कर्ममा लाग्नु पर्ने बाध्यता देवकोटालाई छँदै थियो । मुना–मदनमा “कर्ममै पुज ईश्वर †” (हरफ १०७३) भन्ने देवकोटाले आफ्नो कर्म साहित्यलेखन मात्र बनाएनन्, सामाज सेवा पनि गरे । समालोचकीय दृष्टिकोणबाट हामी यतिसम्म तर्क गर्न सक्छौं कि सभ्यताको आधार सबै आख्यानउपर गरिएको यौटा प्रमुख आख्यान  (माष्टर वा मेटान्यारेटिभ) ले बोलेका मूल सिद्धान्तहरूमा निहित हुन्छ जसको धरातलमा रहेर त्यस सभ्यताभित्रका मानिसले आफ्ना व्यक्तिगत मूल्य, मान्यता, विश्वास र सोही अनुरूपको आचरण सिर्जंदै जान्छन्, र अन्य स–साना सामुहिक वा व्यक्तिगत घटना र आख्यान (माइक्रो न्यारेटिभ अथवा सूक्ष्माख्यान) रच्दै जान्छन् । यहाँ म यो आग्रह राख्न गइरहेको छु कि यो निबन्ध रचिएको समयको नेपाली समाज धार्मिक विकृतिको जुन हदमा पुगेको भए तापनि हिन्दू राष्ट्रको त्यस वेद र उपनिषदका दर्शन र सिद्धान्तमा आधारित समाज थियो जसले मानवताको अन्तिम लक्षनै विद्यामार्फत् मोक्ष हो भन्ने कुरा बताउँदै आएको थियो । यस प्रस्तावमा स्थापित ग्य्रान्ड अथवा माष्टर न्यारेटिभको पहुँचभित्र रहेर नेपाली भाषानुवाद परिषदको जागीरे–लेखकको भूमिका निभाउनु पर्ने अवस्थाको याद गर्दै रचिएको यस निबन्ध साहित्य (जुन भाषाको यौटा उन्मुक्त खेलको रूपमा यहाँ प्रस्तुत छ) यौटा सानो नीजि आख्यान पनि हो जसले गंभीर चिन्तनका लागि भाषानुवाद परिषदको कार्यकक्षबाट मोक्ष वा मुक्ति पाउने आकांक्षा राखेको छ । यसले आफूलाई त्यो प्रमुख आख्यानबाट संपूर्ण रूपमा मुक्त गर्न सकेको वा चाहेको छैन, जुन कुरा आफैंमा कुनै खराबी होइन । यी अद्वैत वेदान्त जस्ता मेटान्यारेटिभ कि विवेकानन्द कि उनका पनि गुरु रामकृष्णले झैं बाँच्नु पर्‍यो, नत्र देवकोटा जस्ता कवि तथा निबन्धकारले आफ्ना भाषाका खेलहरूमा उनीहरूकै नीजित्व प्रदर्शन गरिरहेका हुन्छन् भनेर स्वीकार्न हामीलाई सजिलो पर्न जान्छ । अनि दार्शनिक जति अद्वैत वेदान्ततिर उक्लिन खोजे पनि कविले आफ्ना ईन्द्रियहरूको प्रयोग गर्न रूचाउने भएकैले पनि, माया सही, उसले ईन्द्रियगोचर प्राकृतिक हरियालीको मिठासमा सौन्दर्यबोध गर्नु उसको आफ्नो धर्म मान्नु हो, कवि कवि रहनु हो । कवि र ऋषिको एउटा अन्तर पनि यही हो । आफ्नो कार्यक्षेत्रको सीमाभित्र रहेर समाजलाई अडाइहने व्यापक सिद्धान्तलाई केही हदसम्म पन्छाउँदै वैकल्पिक भाषाका खेल मार्फत् नयाँ नयाँ सत्यलाई आधिकारिकता दिनु सच्चा कवि तथा लेखकहरूको प्रकृति हो । शायद विज्ञानदेखि वेदसम्म समान दृष्टिले हेरेर दुवैको आंशिक सत्य स्वीकार्दै लहडिनु सत्यको आर्को अन्वेषणविधि हो जुन आफैमा सुन्दर छ । यस अर्थमा पनि “सुकुलमाथी” निबन्धकारको आर्को यौटा मिठो गफ हो जसले भाषामार्फत जे झन्कारे पनि युगबोध दिलाउँदै लेखक स्वयंको रसिलो, सरल र सहज (प्राकृतिक) स्वभाव उजागर गरेको छ ।
                ऋषिमुनिको उच्च ज्ञान (वेद) समक्ष पुड्को, आयातित, पाश्चात्य, आङ्ग्ल र आधुनिक ज्ञानको धाकधक्कु उपर यसरी “सुकुलमाथी” ले व्यङ्ग्य गरेको पाइन्छ ।



सन्दर्भ सूचि

उपाध्याय, हृषीकेश । “देवकोटा र राष्ट्र चिन्तन ।” देवकोटा अध्ययन १३ (कात्र्तिक २०६९) : १४–१९ ।
देवकोटा, लक्ष्मीप्रसाद । “गर्दभरवकी हँस्सी ।” पाण्डुलिपि ।
––– । नेपाली शाकुन्तल । (दोस्रो संस्करण) । काठमाडौं : नेपाली भाषाप्रकाशिनी समिति, २०१९ ।
––– । “मलाई ।” जन्मोत्सव मुटुको थोपा । (दोस्रो संस्करण) । काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेशन्स, २०५५ ।
––– । “मुना–मदन ।” महाकवि लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यहरू । काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र, २०६६ ।
––– । “सुकुलमाथि ।” लक्ष्मी–निबन्ध संग्रह । (तेस्रो संस्करण) । नेपाल : नेपाली भाषाप्रकाशिनी समिति, २०२० ।

मैतीदेवी, काठमाडौं

मंसिर २६, २०६९

Wednesday, May 8, 2013

एकै ऐक्य

पद्म देवकोटा

आज मलाई आफूले प्रष्टसँग नबुझेका कुराहरूको चर्चा गर्न मन लागेको छ । स्कूलमा बाहेक भौतिकशास्त्र नपढेको मानिसले क्वान्टम मेकानिक्स बुझे जस्तो गर्नु पाखण्डीपना हो । मलाई क्वान्टम मेकानिक्सको क पनि आउँदैन । मलाई संस्कृत पनि आउँदैन । अन्य भाषामा अनुदित नै सही मैले वेदको अध्ययन गरेको छैन । अनि मैले बुद्धका बारेमा थोरै कुरा मात्र पढेको छु र अनेकौं कुरा सुनेको छु । सुनेका आधारमा केही बुझे जस्तो पनि लाग्छ । यथार्थमा मलाई बोधिसत्व के हो भन्ने प्रष्ट छैन । त्यसैले मैले बुद्धत्वका बारेमा जे भन्छु ती सबै क्वान्टम मेकानिक्स र वेदान्तका बारेमा जस्तैं कमसल ज्ञान, श्रुती र कल्पनाका लेप मात्र हुन् भन्ने मान्नु पर्छ । यी तीनवटै क्षेत्रमा म यौटा यस्तो नाबालक छुँ जसले आफ्ना आश्चर्यका आँखा ठूला पारेर हेरिरहेको छ र एक निमेषकै निम्ति किन नहोस् समस्त विश्व बिर्सिएर उसको मन, भावना र चेतना आफ्ना लागि अस्पष्ट र अनौठा विषयमा केन्द्रीत रहन गएका छन् । हामी सबैका निम्ति नबुझेका कुरा जति जादू र रहस्यका मिठासमा घोलिएका हुन्छन् । एकातिर यस्तै आकर्षणको बलले मलाई आज आफूले नबुझेका कुराहरूको चर्चा गर्न आँट दिलाएको छ भने अर्कोतिर साधारण मानिसको प्रवृत्ती स्वभावैले आध्यात्मिकता र भौतिकता बीचको लङ्गुर हो जसले स्रष्टाको खाँचो र भौतिक नियतत्त्ववादको सम्भवत एक्लो यथार्थ बीच धर्मराउँदै उसको व्यक्तित्त्व निर्माण गर्दै लान्छ, चेतनालाई अझ व्यापक पार्ने प्रयास गर्दै जान्छ । त्यसैले म पनि आज आफैबाट कुरा सुरु गर्न चाहान्छु ।
मेरो मनमा के चाहीँ आउँछ भने विभिन्न विचार र भावना, विचारमा तर्क र थोरै प्रष्टता, भावनामा प्रेम र त्रास, प्रष्टतामा संशय र त्रासमा आफ्नो सुरक्षाको आवश्यकताको बोध । म छु को अर्थ मेरो इच्छाशक्ति छ जसको प्रयोगद्वारा म अन्य वस्तु र व्यक्तिउपर नियन्त्रण जमाएको अनुभव पनि गर्न सक्छु र यसो गर्न सके वापत मलाई आनन्द पनि आउँछ । नियन्त्रण गर्न चाहेर पनि नसकेको खण्डमा म दुखी भइदिन सक्छु । त्यसैले मेरा मानसिक दु:ख मेरा पूरा हुन नसकेका चाहानाबाट उत्पन्न हुन्छन् जुन चाहानाहरू त्याग्न सके म दुखी हुने छैन । म आफ्नो मुटुको ढुक्ढुकी सचेत नियन्त्रणमा लिन चाहान्न, त्यसैले मुटुको गति मेरो नियन्त्रणमा नभए पनि म दुखी छ्रैन । श्वास प्रश्वास, पाचन प्रक्रिया, आदि पनि मेरा नियन्त्रणमा छैनन् । तर म दुखी छैन किनभने मेरो जैविक ऐक्य ऐच्छिक र अनैच्छिक क्रियाका आपसी संपोषणमा निर्भर छ । पश्चिममा देकार्टले भौतिक जगत्का नियम लागू नहुने मन र लागू हुने शरीर र संसारको द्वैतवादी अवस्था बताए पछि आत्मा र भौतिक पदार्थको आपसी विरोधलाई लिएर अनेकौं तर्क वितर्क चले । यता मलाई पनि सानै उमेरदेखि धार्मिक वेदान्ती परम्पराका सोचाईमा रहेर मेरो जीवात्मा अलग अविनाशी वस्तु हो भनेर सिकाइयो; मैले पछि गएर बुझें कि म शरीर पनि त्यति नै हूँ जति कि आत्मा पनि हूँ । म आकारलाई नकारेर निराकारलाई मात्र स्वीकार्न नसक्ने नै थिएँ । मलाई सिकाउनेहरूले आत्मालाई बढी महत्त्व दिए; मैले दुवैको समान महत्त्व स्वीकारे वापत म नास्तिक देखिएँ । तर मेरो शरीर पनि पदार्थ भएकै कारणले अविनाशी छ भन्ने कुरा विज्ञान नपढेका अध्यात्मवादीहरूले नमान्नु स्वाभाविक लाग्थ्यो । जे अविनाशी छ त्यही नै आत्मा हो भन्न म पनि सक्दिन थिएँ । अध्यात्मवादीहरूको चेतना यही भौतिक पदार्थमा आश्रित छ भन्ने मेरो सोचाई बन्दै गएको थियो र चैतन्यले लिने अनुभूति ज्ञानको मात्र नभएर दु:खको पनि श्रोत हो भन्ने कुरामा अझै पनि विश्वास गर्छु । बुद्धले पनि अरू धेरैले झैं दु:ख निवारणकै उपाय खोजेथे र निर्वाण प्राप्त गरेथे, त्यो निर्वाण अथवा सारा तृष्णाहरू निस्क्रिय भएको अवस्था जहाँ मनको चांचल्य स्थिरतामा परिणत भएर शान्त शरोवर झैं विश्व नियन्त्रण गर्ने चाहानाविना नै विश्वलाई छातिभरी खेलाइरहेको हुन्छ । दु:ख निवारणको परम् मार्ग हाम्रा छवटा इन्द्रीयका पोषणमा चम्किएको तृष्णाको ज्वाला निभाउने क्रिया हो भनेर बुद्धले विश्वलाई सिकाए । यस बोधको विशेषता के हो भने चाहेर होस् वा नचाहेर होस् शान्त सरोवरमा विश्वको प्रतिविम्ब झल्किरहेझैं महाप्रस्थानको घडीसम्म पनि बोधिसत्वको छातिभरी यो संसार प्रतिविम्बित भइनै रहेको हुन्छ र त्यहाँ यस दुखी मानव संसारप्रति करुणा छचल्किइरहेको हुन्छ ।
मृत्युपश्चात् के छ भन्ने कुराले बुद्धलाई त्यति आकर्षण गरेन जति कि मानव जीवनको वास्तविक अवस्थाले गर्योक । बुद्धले पहाड उचालेनन्, समुद्र सुकाएनन्, पानीमाथि हिंड्दै कोरीको रोग निको पारेनन् । उनीले कारण र कार्यको अनवरत् गतिमा बहेको चेतनालाई सो प्रवाहबाट उम्किने बाटो देखाए । त्यो देख्नेलाई सजिलो थियो । सत्य बुझ्न भ्रम र यथार्थ छुट्याउने विवेकको आवश्यकता मात्र थियो, दृष्टिकोणमा सानो परिवर्तन ल्याउनु मात्र थियो । आफ्नो आफ्नो घैंटोको चेतनाले कि बुझ्यो, कि बुझेन । हामीलाई सरल यथार्थवादले दिलाएको अनुभव सत्य लाग्छ । ढुङ्गामा ठेस लाग्दा न ढुङ्गा नकार्न सक्छौं, न दर्द । अनुभव गर्ने चैतन्य र अनुभव दिलाउने ढुङ्गाको सरल ऐन्द्रिय यथार्थमा द्वैतवाद फष्टाउँछ । तर बुद्धले यस प्रकारको द्वैतवादलाई यसरी नकारे कि उनको निम्ति यस्तो संभ्रम अहंको चर्काईले टुक्राएको विश्वबोध थियो । यो चर्किएको चेतना थियो । बुद्धका निम्ति यथार्थ क्षणीक र अनित्य हुन सक्दैनथ्यो, त्यसैले अनित्य र क्षणीक संसार र पदार्थलाई नै उनले संभ्रमात्मक ठहराए । जुन वैदीक परंपरमा बुद्ध जन्मिएका थिए, त्यसले पनि बताएकै थियो कि जहाँ विश्व दुई वा बढी टुक्रामा विभाजित भई अलग अलग अस्तित्वमा प्रस्तुत भएको तथ्यलाई यथार्थ मानिन्छ त्यहाँ अविद्याले काम गरेको हुन्छ । सबै अलग देखिएका टुक्राका सम्बन्ध देख्ने वा देखाउने काम विद्या अर्थात् उच्चतम् चेतनाले गर्छ । अलग देखिने वस्तुका सारगत समानता दृष्टिकोण मात्र होइन, नित्यज्ञानको निम्ति यथार्थ हो । यस यथार्थबोधले अहंंको भ्यागुतो फुलाईमा लगाम लगाउँछ । व्यक्तिको एक्लोपनालाई ध्यानकेन्द्रित एकान्तमा अन्तर्मुखी हुन आव्हान गर्छ । यसरी मानव अवस्थाको यथार्थ दु:ख हो भनेर देख्ने बुद्धले अहं निभाउन अहिंसा अपनाउनु पर्ने कुरा समेत बताएका छन् । बुद्धलाई न वैदीक परम्पराको टुप्पो न भौतिक दर्शनका छेऊले आकर्षण गरे । उनी यस अर्थमा मध्यममार्गी थिए ।
एकातिर बुद्धको खोज मानव दु:ख निवारणको खोज थियो भने ब्रह्ज्ञानीहरू परमार्थको खोजमा समर्पित थिए । उनिहरूले पनि शायद यही तथ्य बुझेर चर्मचक्षुको भर नपर्न आग्रह गरेथे किनभने इन्द्रियहरूले कुन बेला छकाइरहेका हुन्छन् भन्ने कुरा भन्न गार्होर छ । मायाको नृत्यमा तिर्मिराएका इन्द्रियहरूले त्यसपारीको तथ्यबोध लिन भ्रम र यथार्थ फेरी पनि छुट्याउन आवश्यक थियो । आफ्नै इन्द्रिय र त्यसबाट पैदा हुने अनुभव उपर शंका उठाउन व्यक्तिलाई कठीन हुन्छ किन भने “म” सबैभन्दा बढी प्रयोग हुने त्यो भाषिक आधार हो जसको प्राचुर्य र प्रबलतामा नीजि अनुभव मानव ज्ञानमा परिणत हुन्छ । यसैले विज्ञानले समेत “म”को प्रभुत्वमा पलाएको ज्ञान नकार्दै निजात्मकतालाई भन्दा वास्तविकतालाई अँगाल्दै आएको हो । एकातिर हाँस र बँदेलका विपरित दिशाका यात्रामा झैं निर्धक्क जुटेका बाह्य संसारको गहिराईमा परमाणुको अध्ययन र बोधले पाएको परिष्कार विरूद्ध अन्तज्र्ञानको रहस्यात्मक झल्याकझुलुकमा प्राप्त ज्ञानको परिष्कार हाम्रो शिथिल मथिङ्गलमा प्रभुत्वका लागि लडिरहेका छन् जस्तो देखिन्छ । तर वास्तवमा यो ज्ञान र विज्ञानको युद्ध होइन; युद्ध तर्क र अन्तज्र्ञानको हो । त्यसैले हामीले यस युद्धको वयान भाषामा गर्ने चेष्टा गर्दा सँधै फसिरहेका हुन्छौं किन भने तर्क र गणीत दुवै भाषाभन्दा परका अनुभव हुन् जसरी कि अन्तज्र्ञान पनि । अमूर्त अवधारणा र मिलिक्क दर्शन भाषामा अटाउँदैनन् । गणीत भाषा होइन – अङ्क र अक्षर यौटै हुन सक्दैन । तर्कले अवधारणालाई सांकेतिक भाषाका आधारविना व्यक्त गर्न सक्दैन । अन्तज्र्ञान क्षणीक, मिठो, छोटो, उज्यालो विजुली चम्काई हो जसलाई भाषाले समात्नु अगाडिनै ऊ लोप भइसक्छ, तर आफ्नो अमिट छाप छोडेर मात्र – बबल चेम्बरमा वर्षिएका कणका डोबहरू जस्तै । यस्तै अन्तज्र्ञानको प्रकाशमा मात्र बोधिसत्व जन्मिन्छ र छिपेरै मुस्काइरहन्छ किन कि आत्मप्रदर्शन यसको उद्देश्य हुन सक्दैन । यसैले कुनै बुद्धमार्गी गुरुले भनेका थिए – जान्न चाहाने मान्छे बड्दै जान्छ, बुद्धमार्गमा चल्ने मान्छे घट्दै जान्छ ।
ब्रह्मज्ञान स्रष्टा, सृष्टि, आत्मा र परमात्माका अवधारणा खेलाउँदै मायाबाट उत्पन्न संभ्रम अविच्छिन्न चेतना अथवा विद्याले हटाउन सके मात्र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास अगि सार्छ । जहाँसम्म भ्रम र यथार्थको द्वैत अवस्थाको सवाल छ, त्यहाँसम्म हामीलाई अद्वैत वेदान्त सुपाच्य छ । हामी यतिसम्म स्वीकार्न सक्छौं कि ब्रह्मलीला छ पनि र छैन पनि – यसलाई जीवात्माको चेतनाले टिपेको क्षणमा यो छ, लीला भ्रमको जाली भएकोले भ्रमकै रूपमा भए पनि लीला छ, तर त्यसमा जे छ त्यो छैन पनि किन भने त्यो यथार्थ हैन । हुनु र नहुनु बीचको अवस्था मायाको खेल हो, यही नै सृष्टी हो । सपनाको पात्रले झैं जीवात्माले आफ्नो अस्तित्व बोध गरे तापनि अन्तिम यथार्थ मात्र एक्लो शास्वत ऐक्य हो जसको सपना/लीलाले समेत (वैज्ञानिकको परोक्ष कणलेझैं) हुनुको मात अनुभव गर्न पाएको छ । तर जब परमार्थ बोध भाषामा उत्रिन्छ, त्यसको साथै अनेकौं शंका पनि उत्रिन्छन् किनभने भाषाको स्वभाव नै अस्पष्टता हो । “तत् त्वं असी” भन्ने गुरूको जिब्रो लर्बराएको हो कि भन्ने ठान्ने विद्यार्थीले एक दिन नदी किनारमा स्नान र जप पश्चात् “अहं ब्रह्मास्मी †” भनेर मनमनै अकस्मात् उच्चारण गर्दा के उसको अन्तज्र्ञान खुल्यो भन्न मिल्ला ? गौण रहस्यको विजुली यहाँ कसरी झिल्कियो ? अनि त्यसको प्रकाश चेतनामा पर्योर वा मनमा पर्यो भन्ने कुराले मात्र उसको मोक्ष निर्धारण गर्छ । गुरूले घोकाएको वाक्य अकस्मात् आर्कै भावमा सम्झिनु विद्या होइन, स्मृति हो । “ओहो † मैले जसरी सोच्छु मेरो विश्व त्यस्तै बन्छ । यस विश्वको सृष्टिको क्रममा मेरो पनि चेतनाको केही देन रहेछ । म पनि स्रष्टा रहेछु । अझ, म त्यही स्रष्टा हूँ जसको ह्दयको ध्वनि साकार भएर आयो – ‘एकोहं, बहु स्याम †’” यति सोच्ने व्यक्तिले ज्ञानको आर्को सिंढी चढिसक्यो । परमार्थसँगको सम्बन्ध साक्षात्कार गर्न यसरी अलग व्यक्तिगत अस्तित्वको खण्डनविना सम्भव छैन । जहाँ अलग अस्तित्व नकार्न सुरु गरिन्छ त्यहाँ विश्व चराचरको एकै ऐक्यको अनुभूति प्रेमभावमा गरिन्छ ।
सृष्टि क्रिडामा सम्पन्न भइरहेछ । दीव्यक्रिडा त्यो लिला हो जसको विशेषता हाम्रो क्षणीक नीजित्व चम्काउनुमा रहेको छ । नतिजा स्वरूप हामी त्यस परमार्थप्रति अन्धो भएर आफ्नै दृष्टिकोणलाई यथार्थ देख्न थाल्छौं । हामीलाई यही मात्र संपूर्ण सत्य लाग्न थाल्छ । यस अलमलको नाम माया हो । र यसबाट क्रिडाले लिएको गतिशीलता हाम्रो कर्म हो जसको बन्धनबाट मुक्ति पाउनु मोक्ष प्राप्त गर्नु हो । तर आजका धेरै मानिसलाई यस प्रकारको मोक्ष चाहिएको छैन किनभने वैज्ञानिक अनुसन्धानले ल्याएका सुविधासम्पन्न जीवनबाट वञ्चित नहुनु नै उनिहरूको जीवनको सबैभन्दा ठुलो लक्ष बन्न पुगेको छ । विज्ञानप्रतिको आस्था र आकर्षण झन्झन् प्रबल बन्दै गएको सन्दर्भमा वेदान्ती वक्वास् कसलाई मन पर्ला र ? तर विज्ञानले वक्वास् गर्न थालेको दिन मानिसको सहारा के होला ? यसैले उत्तरदायी विज्ञानले वक्वास् गर्दैन । यसले ईश्वरको अस्तित्वको प्रमाण खोज्छ जहाँ कि तपाईं हामीलाई विश्वास मात्र भए यथेष्ठ छ । विज्ञान र खास गरी भौतिकशास्त्रले पनि जीवन के हो, कहाँबाट आयो, विश्वको सुरुआत के हो, समयको आरम्भ छ कि छैन, पदार्थ के हो र यसको नाश हुन्छ कि हुँदैन जस्ता अनेकौं प्रश्नका जवाफ यथार्थ बुझ्ने सन्दर्भमा खोज्दै आएको छ । यही सिलसिलामा क्वान्टम फिजिक्सले न्युटनको यान्त्रिक विश्वलाई पछिल्तिर धकेल्दै अझ ताजा रहस्योद्घाटन गर्दै विश्वलाई चकित तुल्यायो मात्र होइन कि आफै पनि ठुलो विश्मयमा परेर उप–परमाणविक कणहरूको उर्जा–नृत्यमा रमाइरहेको छ । यसको सगर्व रहस्योद्घाटन गर्न प्रयासरत छ ।
क्वान्टम फिजिक्सले सर्वप्रथम उर्जाका छाल मात्रा मात्रामा प्रसारित हुँदा रहेछन् भन्ने बुझ्यो । यिनै उर्जाका मात्रालाई क्वान्टम भनियो । न्युटनको विश्वले बुझे झैं पदार्थको सबैभन्दा सानो अंश अणु होइन रहेछ भन्ने कुरा क्वान्टम फिजिक्सले बुझ्यो; त्यो त कण रहेछ । अनि बुझ्यो कि कण तरङ्ग पनि र तरङ्ग कण पनि रहेछ । संपूर्ण पदार्थ एकै पटकमा कण पनि तरङ्ग पनि रहेछन् । व्यक्तिले त्यसलाई निरीक्षण गर्ने क्षणमा तरङ्ग कणको रूपमा प्रस्तुत हुँदा रहेछन्, मानौं चेतनाकै प्रभावले गर्दा कणरूपी पदार्थ तरङ्गबाट पैदा भइरहेछन् । यसले गर्दा निरीक्षण गर्ने क्षणमा कणको स्थान र त्यसको वेग एकैताल निर्धारण गर्न असंभव रहेछ । साथै कुनै पनि कण निश्चित् समयमा कुन ठाउँमा हुन्छ भनेर बताउन असंभव रहेछ । यी तरङ्ग–कणहरू कुनै एक स्थानमा नभएर एकै समयमा विभिन्न स्थानमा (करीव सर्वव्यापी झैं) भएर रहँदा रहेछन् । कहाँ छन् भन्ने ज्ञानभन्दा कहाँ हुन सक्छन् भन्ने संभावना मात्र हामी बुझ्न सक्दा रहेछौं । यस्ता पजिटिभ र निगेटिभ कणका जोडीमध्ये यौटामा कुनै परिवर्तन आएमा आर्को त्यस पहिलो कणबाट जति टाढा रहे तापनि त्यसमा पनि तुरुन्तै त्यही परिवर्तन आउँदो रहेछ, मानौं कि यस्ता कणमा पनि चेतना छ र एकले आर्कोको अवस्था बारे बोध लिइरहेको छ । कणको अस्तित्व व्यक्तिले निरीक्षण गर्ने समयमा मात्र रहेकोले यस्तो तरङ्ग–कणले “हुने” प्रवृत्ती मात्र देखाउँदो रहेछ र यसलाई निरीक्षकको चेतनाले असर पार्दोरहेछ । अनि यस्ता कणहरूका अलग अलग अस्तित्व बेमतलवको कुरा रहेछ किनभने आपसी सम्बन्धबाट मात्रै अरू कणका नाश र निर्माणको क्रिडा अविरल चलिरहँदो रहेछ । यि कणहरू एक आपसमा ठोकिएर अन्य परोक्ष कण पैदा हुँदा रहेछन् जसको शिथिल वा प्रबल सम्बन्धका आधारमा अन्य विभिन्न कण जन्मिदा रहेछन् । यसरी तरङ्ग–कणहरूको तन्नामा हाँडीबाट मकै उफ्रिएर बसेझैं करीव निर्मित हुनासाथै नाश हुने स्वभावका सूक्ष्म परोक्ष कणहरूलाई वैज्ञानिकहरूले घटनाको रूपमा स्वीकारेका रहेछन् र सूक्ष्म कणको जन्म र मृत्युका अनन्त घटनाक्रमलाई उप–परमाणविक विश्वको गतिशील नृत्यको रूपमा हेर्दारहेछन् । यस्ता आपसी सम्बन्धहरू फोर्स नभएर अब फोर्स फील्डका रूपमा बुझिन थालेका रहेछन् । शिथिल, प्रवल, गरूत्वाकर्षक र विद्युतिय–चुम्बकीय फोर्स फील्ड समेत गरेर जम्मा चार प्रकारका अन्र्तकणीय सम्बन्धले मान्यता पाएका रहेछन् । किन र कसरी भन्ने जवाफ दिन म सक्दिन, तर क्वान्टम फिजिक्सले आइन्स्टाइनको सापेक्षताको सिद्धान्तको समेत आड लिएर आज हामीलाई बताइरहेछ कि हामीले सत्य वा यथार्थ भनेर बुझेको जगत् (वेदान्तले भने झैं) वास्तवमा यथार्थ हैन रहेछ, संभ्रमात्मक रहेछ; पदार्थको सूक्ष्म यथार्थ ठोस जगत्भन्दा परको कुरा रहेछ किनभने कुनै पनि वस्तुको अकाट्य, सूक्ष्मतम् रूप रहेनछ । वैज्ञानिकहरूले ठोकेरै भनिसके, “पदार्थको अस्तित्व छैन, यो सब भ्रम हो ।” अणु नै पनि इलेक्ट्रन, प्रोटोन, न्यूट्रन, आदिले बनेका तथ्य प्रमाणित भइसकेकोले प्रोटोन वा न्यूट्रन पनि अझै साना क्वार्कहरूले बनेको हुनसक्ने सैद्धान्तिक सम्भावना उनिहरूले स्वीकारे तापनि क्वार्क अझतक प्रयोगशालामा फेला नपरेको वस्तु रहेछ । साथै कुनै पनि दुइवटा कणका बीचको दुरी ती कणका परिमाणका आधारमा धेरै व्यापक रहेछन् । अनि पुरानो भौतिकशास्त्रका नियमहरू यस उप–परमाणविक कणहरूको विश्वमा लागू हुँदा रहेनछन् । त्यहाँ त सृष्टिको नियम आर्कै रहेछ । अनि यस विचित्रको विश्वमा शून्यता व्यापक रहेछ । फोर्स फील्डहरूको अन्तक्र्रियाबाट सिर्जना भएका परोक्ष कणहरू वस्तु रहेछन् जसको पुरानो भौतिकशास्त्रको पदार्थ अविनाशी छ भन्ने निष्कर्श विपरित आदि पनि अन्त्य पनि अवश्य रहेछ । यस तरङ्ग–कणको फैलावट बुद्धको शून्य जस्तो पनि हो जो वेदको पूर्ण जस्तो पनि हो जसबाट जति झिके पनि पूर्ण रहन्छ । कारण, जसले झिकें भन्छ ऊ पनि त्यही पूर्णताको अंश हो र यसैले पनि उसले झिकेको हुँदैन, झिक्न सक्दैन । उर्जा कण बन्छ, कण उर्जा बन्छ । त्यसको कूल परिमाणमा परिवर्तन आउँदैन ।
यसरी विज्ञानले आज इन्द्रियगोचरलाई मात्र यथार्थ भनेर बुझ्नेहरूलाई भनिरहेछ – “इन्द्रियगोचर विश्व अन्तिम यथार्थ होइन, संपूर्ण यथार्थ पक्कै होइन । हामीले देख्ने रङ्गहरूभन्दा थप रङ्गहरू छन्, हामीले देख्ने प्रकाश र ध्वनिभन्दा परका संभावना विज्ञानले प्रमाणीत गरिसक्यो । एक्स रे नदेख्दैमा छैन भन्न मिल्छ र ? त्यसैले अन्धो–दृष्टिबाट उम्किन र माथि उठ्न प्रकृतिले कल्पना दिएकी छन् । यसको प्रयोगबाट थप रहस्योद्घाटन हुने पक्का छ । कल्पनाको प्रयोग गर †” तव त ध्यान र एकाग्र चिन्तनबाट उद्घाटन गरिएको ज्ञान र प्रयोगशालामा प्रमाणीत ज्ञानले करीव यौटै तथ्य बताइरहेका छन् । केवल मानव चेतना वा त्यसको मात्राले थप वा कम रहस्य सिर्जिएको छ । सानो र सीमित चेतनाले सिर्जिएको इन्द्रियगोचर संसार व्यापक चेतनाले अँगालेको बहुलोकको सम्भावना र यथार्थसम्म पुग्न सक्दैन । त्यसैले पनि हिन्दुको तीव्र कल्पनाले देखेको चौध भुवन क्वान्टम फिजिक्स र सापेक्षितताको सिद्धान्तको आधारमा संभावनाको रूपमा देखेको समानान्तर विश्व र बहुलोक अर्थात् मल्टिभर्सको अवधारणासम्म पुग्न खोजेको जस्तो देखिन्छ । यस चमत्कार मानव चेतनाकै उपज हो ।
चेतना आफैंमा यौटा विचित्रको कुरा छ । यसको शून्यस्थिति निर्जीव पदार्थ हो भने यसको पूर्णस्थिथि सच्चिदानन्द स्वरूप ब्रह्म हो । ब्रह्माको सृष्टिकार्यमा नित्यज्ञान वाधक तत्त्व बन्न पुगकैले अविद्या आवश्यक पर्न गएको हो भन्ने लिङ्ग पुराणको कथ्य छ । अज्ञान, अनैश्वर्य, अवैराग्य र अधर्मका पर्दा लागे पछि मात्र सृष्टि संभव भएको बुझिन्छ । मायाको सुरुआत यही हो । सामान्य भाषामा यी छेकबारहरू हुन्, सीमानाहरू हुन् – आजको वैज्ञानिकको भाषामा यी यस्ता फरक फरक आयामहरू हुन् जसले गर्दा बढी आयामको विश्व बुझ्न कम आयामको चेतना सँधै असमर्थ छ । त्यसैले कम आयामको चेतनाले हेतु वा चिन्हका आधारमा गौणको संकेत स्थुलबाट पाएर सत्यको ज्ञान प्राप्त गर्छ । यस प्रकारको सीमाना मायाले लगाउने भएकोले गर्दा ब्रह्मको सत्ता संशयको नास्तिमा परिणत हुँदै जीवात्माको अनुभवभित्रको यथार्थ र परमार्थमा विभाजित हुन्छ; उसको चेतना विद्या र अविद्यामा; उसको आनन्द दु:ख र सुखमा । यस ध्रुवत्वमा पदार्थ र प्रतिपदार्थ (आन्टिम्याटर) अथवा पजिटिभ र निगेटिभ चार्ज भएका कणहरूका आपसी सम्बन्धको खेल कताकता प्रतिविम्बित भएको पाइन्छ । अविद्या विद्यामा परिणत हुने कामको उप–परमाणविक विश्वमा तुलनिय कार्य के छ ? मलाई थाहा छैन । तर कताकता दु:खमा सुखको सम्भावना रहेझैं अविद्यामा विद्याको सम्भावना रहेकै कारणले पनि चेतना भौतिकशास्त्रभन्दा परको वस्तु हो कि जस्तो लाग्छ – त्यो वस्तु जसलाई न उप–परमाणविक अन्वेषणले ठम्याओस् न आधारभूत क्वार्कहरूको संयोजनले रचोस् । तर यही चेतनाको प्रभावले तरङ्ग कण बन्छ, कणको सृष्टि हुन्छ र त्यसको विनाश पनि स्वत हुन्छ । चेतनाको प्रभावमा जन्म लिने कणलाई म कसरी निर्जीव भनू ? मलाई त सिङ्गो सृष्टि सजीव छ भन्ने लाग्न थालेको छ । सिङ्गो सृष्टि ढुक्ढुकाइरहेको छ जस्तो लाग्न थालेको छ । र नाश र निर्माणको क्रमभन्दा पर र उपर रहने सिर्जनशील पूर्ण उर्जाको नाम ईश्वर हो भन्न मन लाग्न थालेको छ । यो उर्जा, यो शक्ति अनन्त चेतना हो, अनन्त सत्ता हो, अनन्त आनन्द हो । यहाँनिर मैले आफ्नो अज्ञान छिपाउँदै सजिलोसँग विश्वास बोलिरहेको छु । वेदान्तले त मभन्दा उत्तरदायी बन्दै हो पनि भन्दैन, होइन पनि भन्दैन । मिथकीय सृष्टिकर्ता भएको कुरा एकातिर पन्छाउँदै ब्रह्मन् वा परमार्थ आध्यात्मिक पनि हुन सक्छ भौतिक पनि हुन सक्छ भन्ने भाव व्यक्त गर्छ । मैले सुरुमै भनेझैं यस विषयमा मेरो ज्ञान कमसल छ । तरै पनि म दोहोराउन चाहान्छु – नाश र निर्माणको क्रमभन्दा पर र उपर रहने सिर्जनशील पूर्ण उर्जा अदृश्य तरङ्ग र चेतनाको निम्ति.सदृश बन्न सक्ने कणको रूपमा यो क्वान्टम फिजिक्समा व्यक्त छ ।
यसरी उप–परमाणविक भौतिकशास्त्रले इन्द्रियहरूलाई अन्तिम यथार्थउपर लागेको पर्दाको रूपमा देख्दा देख्दै यही इन्द्रियगोचर जगत्को सापेक्षित सत्यलाई कसैले जीवन र मृत्युको बाजी राखेर शाश्वत सत्य मान्छ भने त्यसको उपचार छैन । विज्ञानउपर ठुलो आस्था राख्नेले बुझ्नु पर्ने आर्को कुरा के पनि छ भने बुद्धले मानेका कारण र कार्यको जञ्जीरसमेत उप–परमाणविक विज्ञानले पूर्ण रूपमा नकारी सक्यो । विश्वको गहिराईमा लहड छ, क्रिडा छ, उत्तेजना र उल्लास छ । एकातिर बुद्धको मानविय करुणा बढी व्याबहारिक देखिन्छ, तर बुद्धमार्गमा उत्तेजना र उल्लासको दमन छ । आर्कोतिर चेतनाको प्रभावमा उर्जाको तरङ्ग साकार भएर कण र पदार्थ बनेर आएको वैज्ञानिक प्रमाण छ । एक अनन्त तरङ्गको तन्ना विछाएर चेतना लयवद्ध नृत्यमा आल्हादित छ – मानौं यो प्रकृतिको स्वमग्न चंचल बेहोसी नृत्य र पुरुषको त्यसउपरको सचेत, बौद्धिक र उत्सुक सृष्टिकारक स्पर्शको योग हो । विज्ञानले यसका कति थप प्रमाण निकट भविष्यमा दिंदै जान्छ भन्ने कुरा हेर्न बाँकी छ । तर जुन बाटोबाट उक्लिए पनि पुग्ने त टुप्पोमै हो । परमार्थबोधको शिखरत्वतर्फ यात्रा गर्न विश्वको ऐक्य बोधविना सम्भव छैन । शायद बोधिसत्वको पहिलो खुडकिला यही हो । यहाँसम्म पुगेपछि अहंभाव रहने सम्भावना पनि त हराइसक्ने छ । यतिसम्म त हामी तर्क गर्न सक्छौं । परमार्थसँगको ऐक्यभाव प्राप्त गरिसके पछि, पानीको थोपा सागरमा विलाइसके पछि, “अहं ब्रह्मास्मी” भन्न जानिसके पछि यहाँ बोधिसत्वको अर्थ के बाँकी रहला त ? बुद्ध, वैज्ञानिक र वेदान्तीमा के अन्तर बाँकी रहला त ? केही अन्तर बाँकी रहेको रहेछ भने त्यो त यस पहिलो खुड्किला उक्लिन नसकेकाका निम्ति मात्र बाँकी रहने छ ।
मैतीदेवी
३० असोज २०६९