Friday, July 1, 2011

महाकवि : दम्भ र दायित्व

पद्म देवकोटा

    २०६६ साल कात्र्तिको मधुपर्क (महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्क) मा छापिएको कृष्ण अविरलको “महाकवि : उपेक्षा, असहयोग र लेखकस्व विवाद” शीर्षकको लेखमा मलाई लिएर केही आरोपहरू परेका रहेछन् भन्ने कुरा हालसालै मात्र मेरो जानकारीमा आयो । कृष्ण अविरलको रक्तकुन्डमा देखिएको सन्सनी फैलाउने प्रवृत्तीबाट मुक्ति नपाएको यस लेखमा व्यक्तिव्यक्तिलाई एक आर्कासँग जुधाएर “फलानाले–भने–अनुसार” भन्ने शैलिमा आरोप लगाउनेहरूको परिचय लुकाउँदै मउपर भने निकै खनिएको उदाहरण पाएँ । तर मैले के बुझ्न सकेको छैन भने मेरा विरूद्ध यस प्रकारका दुर्भावनापूर्ण लेखहरू बराबर किन आइरहेका हुन्छन् ? मानौं कसैको उद्देश्य मेरा बारेमा असत्य धेरै पटक दोहोराएर त्यसलाई सत्य सावित गर्नु छ भने जस्तो ! यसरी लेकखको नियत उसको शैलीले प्रष्टसँग बोलेको हुँदाहुँदै पनि यस लेखले मधुपर्क जस्तो प्रतिष्ठित साहित्यिक पत्रिकामा र अझ महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्कमा स्थान पाउनु सम्पादकीय अनुत्तरदायीत्वको नतिजा हो भन्ने निष्कर्शमा म पुगेको छु । यसैले मउपर लागेका आरोपविरूद्ध मौन वेवास्ता अनुचित ठहर्दाठहर्दै पनि आफूलाई चोखो देखाउनभन्दा यस लेखले उल्लेख नगरेका केही तथ्यका साथै आफ्ना धारणा तल सार्वजनिक गर्न गइरहेको छु ।

अनुवाद
    मेरा पिता महाकवि लक्ष्मीप्रसाद देवकोटा यस राष्ट्रका विभूतिसमेत हुनुभएकाले उहाँको नाममा मैले केही गरिहाल्छु कि भनेर प्रतिक्षारत नेपाली जनताले मबाट अपेक्षा गरेका काम नभएको देखेर मप्रति असंतोष प्रकट गर्नु स्वाभाविक हो । आजसम्म यस जनसमूहले मबाट अपेक्षा गरेको मूल कुरा आफ्ना पिताका कृतिहरू अंग्रेजीमा उल्था गरिदियोस् भन्ने बुझेको छु । मैले नेपाली साहित्यका धेरै कविहरूको अंग्रेजीमा र अंग्रेजी तथा फ्रेन्च साहित्यकै पनि नेपालीमा अनुवाद गरेको छु भने ती मध्ये महाकवि देवकोटाका पनि केही फुटकर कविताहरू अनुवाद गरेको छु, जुन अनुवादहरू देवकोटा केन्द्रको वेबसाइट dsrc.org.np मा पढ्न सक्नुहुनेछ । म जो सक्छु अनुवाद गर्ने आनन्द लिएर आफ्नो फुर्सदमा गर्छु; तर मैले कसैको आदेश, धम्की वा आर्थिक प्रलोभनको कारणले अनुवाद गर्ने गरेको छैन । यसो हुँदाहुँदै पनि “भुक्तभोगी” पदवीपछाडि लुकेर “हामीले सम्पूर्ण काम सित्तैमा गर्यौँ डा. पद्मप्रसादलाई चाहिँ पैसा चाहिने रे” भनेर झुठ कुराको प्रचार किन गरिन्छ ? यो आच्छेप सरासर झुठ हो । नेपाली समाजमा चरित्रहत्यारा र उनिहरूकालागि पौष्टिक वातावरण सिर्जने रमिते चेतनाहरूको भीड रहेको तथ्य मैले बताइरहनु पर्दैन । तर दु:खको कुरा यो छ कि यहाँ मधुपर्कका सम्पादकसमेत आफ्नो दायीत्वबाट चुकेको प्रमाण प्रष्ट छ । सम्पादकले भन्लान्, “चित्त नबुझेको कुरा कारणसहित लेखे हामी छापिहाल्छौं नि !” तर यस भनाईमा चरित्रहत्या छाप्नु ठीक हो भन्ने दावी गौण रूपमा बोल्ने भएकोले यस भनाईको आधारभूत तर्क नै गलत छ । यसरी र्हस्व र दीर्घ मात्र हेरेर चरित्रहत्या जस्ता आपराधिक कुरालाई लेखबाट हटाउन नसकेको देख्दा कतै यस्ता लेखमा सम्पादक स्वयंकोसमेत संलग्नता त छैन भन्ने प्रश्न मनमा उठ्छ भने अनेकौं आर्थिक भ्रष्टाचार र गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरू विनासजाय पाँचतारे होटेलमा मांस र मदिरामा झुमिरहेको बेलामा कसैको केही हानी नोक्सानी नगरिकन घरमा बसिरहन खोज्ने व्यक्तिले “म तिमीहरूले भनेको जस्तो फटाहा यस कारणले होइन है” भन्दै दुनियाँलाई स्पष्टिकरण दिंदै हिंड्नु पर्ने स्थिति कसले उब्जायो ? किन उब्जियो ?

नेपाल सांस्कृतिक संघ
    नेपाल सांस्कृतिक संघले महाकवि देवकोटाको निम्ति केही गरूँ भन्ने उद्देश्यले सुरूदेखिनै राम्रा कामहरू गर्दै आएको छ । महाकवि देवकोटाका समकालीनहरू र खासगरी बालकृष्ण समजीको सहयोग लिएर महाकवि देवकोटाको अर्धकदको सालीक आफ्नो मूल चोकमा राखेको छ । आजसम्म मैले देखेका महाकवि देवकोटाका सालिकहरू मध्ये उहाँको चेहरा सबभन्दा राम्ररी उत्रिएको सालिक पनि यही हो । यसको अलावा प्रत्येक वर्ष यस संघले महाकवि देवकोटाको जन्मजयन्ति मनाइरहेको छ । कवि–कुञ्जबाट महाकविका पाण्डुलिपिहरू बुझिलिएको भर्पाईसमेत गर्दै लगेर वा श्यामदाश वैष्णवबाट महाकविका पाण्डुलिपि प्रकाशनार्थ प्राप्त गरे बापत उहाँलाई पैसा दिएर वा अन्य व्यक्तिबाट पाण्डुलिपि लिएर होस् पुस्तक छापेको पनि छ । यस संस्थाले छापेका कृतिमध्ये महाराण प्रताप, म्याकवेथ, मनोरञ्जन, कृषिवाला, Shakuntala EpicThe Ballad of Luny छन् । साथै, मेरी माता मनदेवी देवकोटालाई संस्थाले रायल्टी पनि दिएको कुरा मलाई थाहा छ ।
    अब, यसरी काम गरिरहेको संस्थाविरूद्ध मैले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा किन उजुरी हालें हूँला ? यो सर्वसाधारणको लागि खुलदुलीको विषय बन्न सक्ने हुनाले यस विषयलाई लिएर केही कुरा बताउन चाहान्छु । तर यो पनि सबैलाई स्मरण गराउन चाहान्छु कि हामी त्यो मुलूकमा बाँचेका छौं जहाँ ट्याक्सिको मिटर बिगारेर प्यासेन्जरलाई ठग्न खोज्दा प्रहरीले हस्तक्षेप गर्यो भनेर ट्याक्सि ड्राइभरहरू घण्टौंसम्म सडक अवरूद्ध गरेर दिनदाहाडै विरोधमा उत्रिन्छन् । यहाँ शिष्ठता, नैतिकता, सभ्यता र तर्क खोज्न दिउँसै लालटिन बालेर हिंड्नुपर्ने भइसकेको छ । यदी यी कुरा खोज्नु गल्ती हो भने मैले यही गल्ती गरेको छु ।
    नेपाल सांस्कृतिक संघले कुनै गल्ति नगरेको भए मैले त्यस संस्थाको विरूद्ध उजुरी हाल्नुपर्ने कारण थिएन । सर्वप्रथम त्यस संस्थाबाट The Ballad of Luny बढो अनुत्तरदायी पाराले छापियो । महाकवि देवकोटाको यस मुद्रित कृतिमा यति धेरै प्रुफका गल्ति भेटिए कि संस्थाले आफै लाज मानेर यो पुस्तक बजारमा नल्याईकन भण्डारमै थुपार्यो । मैले यस विषयमा केही बोलिन किनभने गल्ति सबैको हुनसक्छ । आर्थिक नोक्सानीसमेत व्यहोरेर बसेको संस्थालाई अन्य कुरामा सहायता गर्दै कुनै दिन यस कृतिलाई सच्चाएर छाप्ने छु भन्ने विचार गरेर मौन रहेँ ।
अनि अंग्रेजी शकुन्तला महाकाव्यको प्रसङ्ग उठ्यो । डिल्लीराज उप्रेती र श्यामदाश वैष्णवले नेपाल सांस्कृतिक संघ सो अंग्रेजी महाकाव्य छाप्न चाहान्छ, प्राध्यापक श्रीधरप्रसाद लोहनी र मैले मिलेर कृतिको सम्पादन गरिदिनु पर्यो भनेर प्रस्ताव राख्न आउनुभयो । हामीले सो राम्रो काम गर्ने सुअवशर स्वीकार्दै नेपाल सांस्कृतिक संघबाट त्यसको टाइप भएको प्रति मैले नै बोकेर घर ल्याएँ । त्यसको दुइदिनपछि प्राध्यापक श्रीधर लोहनीजीकहाँ सो कृति लिएर बस्यौं । मैले धेरै अगाडि महाकवि देवकोटाका अंग्रेजी कृतिहरू (महाकाव्य, फुटकर कविता र निबन्धहरू) टाइप गराएर राखेको थिएँ र आफूसँग भएको महाकाव्यको टाइप भएको कृति पनि एक प्रति लिएर गएको थिएँ । पहिलो बसाई मै हामीलाई प्रष्ट भयो कि मसँग भएको र नेपाल सांस्कृतिक संघबाट प्राप्त गरिएको शकुन्तला महाकाव्य यौटै होइन रहेछ । यसको कारण श्यामदाश वैष्णवले नेपालीमा लेखेको र मैले अंग्रेजीमा उल्था गरिदिएको सो महाकाव्यको “Preface” मा यसरी बताइएको छ, “We must not forget Mr. Lyndon Clough of the British Council who took the pains to polish the English language of the epic.” अर्थात् कुनै अंग्रेजले महाकवि देवकोटाको अंग्रेजी चलाइसकेको रहेछ ।
    कसरी चलाएको रहेछ भन्ने यौटा सानो उदाहरण हेरौं । महाकविको मौलिक कृतिको प्रथम क्यान्टो यसरी सुरु हुन्छ :–
        Of ancient Bharat, where the first day dawned
        Resplendent on the snow peaks, myriad throats
        Warbling sweet music to the scent of dew,
        Auroral waves of early colours spilt
        Upon her firmament, the first fane reared
        To the Almighty’s image ringing clear,
        The first-bloomed flower with its sacred flame
        Teaching the prompted sage to build and light
        The early altar, while with folded eyes
        He heard a voice and felt the strong constraint, (श्लोक छुट्टाएको छैन)
        Sing, goddess of the sacred book and lyre,
        Saraswati, upon thy snow-white swan,
        In robes of lily decked, a virgin pure,    
        Divinely featured, calm like prayer, thou!
अनि लिन्डन क्लफले भाषा चलाएपछि सोही कविताले निम्न रूप लिन्छ :–
        In ancient Bharat, where the first day dawned
        Resplendent on the snow peaks, myriad throats
        Warbled sweet music to the scent of dew.
        Auroral waves of early colours spilt
        Upon her firmament. The first fane reared
        To the Almighty’s image ringing clear.
        The first flower bloomed; and with its sacred flame
        Teaching the prompted sage to build and light
        The early altar, while with folded eyes
        He heard a voice and felt the strong constraint.

        Sing, goddess of the sacred book and lyre,
        Saraswati, upon thy snow-white swan,
        In robes of lily decked, a virgin pure,
        Divinely featured, calm like prayer, thou!
माथिका दुइवटा उदाहरणमा महाकवि देवकोटको अंग्रेजीभन्दा लिन्डन क्लफले सम्पादन गरेपछिको अंग्रेजी पक्कै पनि आधुनिक छ । तर के जन मिल्टनका प्याराडाइज लस्टलाई पनि आजको आधुनिक अंग्रेजीमा सम्पादन गर्यो भने त्यो कृति अझ राम्रो बन्ला त ? महाकवि देवकोटाको लामो वाक्यलाई छोटाछोटा वाक्यमा परिणत गर्दै उहाँले प्रयोग गर्नुभएको -ing जति -ed मा परिणत गर्दै केही शब्द चलाउँदा भाषिक स्पष्टता आयो होला, तर यहाँ महाकविको शैली त पक्कै हेरफेर भयो ! उहाँको वाक्य संरचनाका कारणले Of बाट सुरू भएको पंक्ति क्लफको सम्पादन पछि In बाट सुरू गरिएको छ र लेखकले एउटा श्लोकमा बताएका कुरा सम्पादकले दुइवटा श्लोकमा ढालिदिएका छन् । यही श्लोकको अन्त्यतिर महाकवि देवकोटाको Lost souls, gone blind, strayed from the path of truth लाई Lost souls, gone blind, errants from the path of Truth र Doubting ourselves, our gods, our noble faith लाई We doubt ourselves, our gods, our noble faith मा परिवर्तन गरिएको छ । यसरी कुनै पनि कविको शैली परिवर्तन गर्ने अधिकार सम्पादकमा छ भन्ने श्यामदाश वैष्णवहरूको तर्कसँग म सहमत हुन सकिन । व्याकरणका त्रुटीहरू मात्र चलाएको भए पनि चुप लाग्ने ठाउँ थियो होला; तर साधारणतय साहित्यिक कृतिहरूको सम्पादन कार्यमा हिज्जे र विरामचिन्ह मिलाउनु यौटा कुरा हो भने शब्द र शैलीनै परिवर्तन गरिदिनु उचित होइन भन्ने मेरो ठहर छ ।
    अब, यति मात्र भएको भए चुप लागिन्थ्यो होला; तर आर्को एउटा उदाहरण पनि हेरौं । महाकवि देवकोटा लेख्नुहुन्छ,
        O, the grand pageant of the glorious past
        Once redisplay in soul-elating light
        That we may find our soul and rise and rule!

        Then, sing, O Indian Pallas Athene...
लिन्डन क्लफले चलाएको र नेपाल सांस्कृतिक संघबाट प्रथमबार छापिएको पुस्तकबाट तिनै हरफका उद्दरण निम्न प्रकारको छ,
        Resplendent pageant of the glorious past
        Now re-display in soul-elating light
        That we may find our faith and rise and rule!

        Then sing, O Indian goddess wise...
यसरी सम्स्या चर्किएको छ । सम्पादनको क्रममा हिन्दूको आत्मा (soul) क्रिश्चियनको विश्वास (faith) बन्न पुगेको छ र देवकोटाका अन्य कृतिमासमेत देखिएको ग्रिसेली र हिन्दू देवदेवीहरूको समानान्तर रेखाद्वारा दुइवटा संस्कृति गाँस्ने चेष्टा भत्काइएको छ । “O Indian Pallas Athene” लाई “O Indian goddess wise” गरेर बदलिदिएको छ । अर्थात् लिन्डन क्लफले यस्ता धेरै परिवर्तन गरेका छन् भन्ने कुरा आज थाहा छ । तर त्यसबेलामा अरू यस्ता के के परिवर्तन गरिएका थिए भनेर सबै अध्ययन नगरिसकेको अवस्था भए तापनि मैले यति उदाहरणकै आधारमा Epic Shakuntala तुरुन्तै नछापिहाल्न र छापिहाल्ने भए महाकविको मौलीक अंग्रेजी कृति छाप्न भनेर श्यामदाश वैष्णव र नेपाल सांस्कृतिक संघका पदाधिकारीसँग अनुरोध गरें, तर उहाँहरूले मान्नुभएन किनभने लिन्डन क्लफले महाकविको कृति चलाउन नमान्दा नमान्दै पनि उसलाई नेपाल सांस्कृतिक संघले जिद्दी गरेर पारिश्रमिक स्वरूप पाँच सय रुपैयाँ दिएर सम्पादन कार्य सुम्पिएको थियो । नेपाल सांस्कृतिक संघलाई क्लफ जस्तो (अंग्रेजी साहित्यको होइन कि ग्रिक साहित्यको) विशेषज्ञले हेरेपछि देवकोटाको कृति अझ राम्रो हुन्छ भन्ने विश्वास थियो । त्यसैले मैले नेपाल सांस्कृतिक संघका पदाधिकारीलाई आफ्नै देशका महाकविको भाषिक क्षमताउपर अविश्वास गर्ने र सेतो छालामा सबै ज्ञान र कर्मको शुद्धता पाउने यस प्रवृत्ती गलत भएको बताउनु पर्यो । तर महाकाव्य छापियो र गिरिजाप्रसाद कोइरालाले त्यसको विमोचनमा “यो नेपाली शाकुन्तलको असाद्धै राम्रो अनुवाद भएको रहेछ !” भनेर बोलिसकेपछि नेपालका विद्वानहरूलाई के चाहियो र ? ठूलाले जे सत्य भनेर बाँढ्छन् दुनियाँले विनाप्रश्न सोही कुरा ग्रहण गर्छ र दोहोर्याइदिन्छ । यसपछि सबैले यस कृतिलाई अनुवादकै रूपमा देख्न थाले र यो कृति अनुवाद होइन भनेर मैले धेरैलाई बुझाउँदै हिंड्नु पर्यो ।
    यस्तै घटनाहरूबाट विरक्तिएर नेपाल सांस्कृतिक संघसँग मैले महाकविका पाण्डुलिपिहरू फिर्ता मागिरहेकै थिएँ । त्यहाँका एकजना पदाधिकारीले अंग्रेजी शकुन्तलाको पाण्डुलिपि नेपाल सांस्कृतिक संघमा नभएको कुरा बताउनु भयो । “कहाँ गयो त ?” भनेर सोध्दा तैपनि खोजिदिने कुरा गर्नुभयो । पटकपटक गएर पाण्डुलिपि मागेपछि एक दिन अफिसको काठको दराजबाट एउटा Capital मार्काको कापि निकाल्नुभयो जसमा आठौंदेखि दशौं क्यान्टोसम्म लेखिएको थियो । अंग्रेजी शकुन्तला महाकाव्यको यो कापि बाहेक अरू कापिहरू नेपाल सांस्कृतिक संघबाट मैले फिर्ता पाएको छैन, सबै हराएका छन् ।
    अनि, यसरी पाण्डुलिपिहरू हराएको राम्रो भएन भनेर नेपाल सांस्कृतिक संघका महासचिवसँग महाकविका पाण्डुलिपिहरू सबै फिर्ता पाऊँ भन्न जाँदा उहाँले मलाई, “हामीसँग पाण्डुलिपिहरू छन् र ? हामीले बुझिलिएका भपाई केही छ भने ल्याउनुहोस्, अनि हेरौंला” भन्नुभयो । विश्वासकै आधारमा पनि विद्वानहरूसँग काम हुनुपर्ने सभ्यताकाको अभावमा वर्षौंपछि आएर भर्पाइ खोज्नु कारीन्दाको कार्यकुशलता थियो भने यो कत्रो विडम्बना पनि थियो ! तरै पनि जीर्ण अवस्थामा रहेका छसात टुक्रा भर्पाइहरू फोटोकपिसमेत मसँग भएकाले मैले ती भर्पाइहरू नेपाल सांस्कृतिक संघका महासचिवलाई लगेर देखाएँ । ती भपाईमध्ये एउटाको उदाहरण तल दिएको छु :–
लिखितम् काठमाडौं डिल्लीबजार बस्ने नेपाल सांस्कृतिक संघका कोष् (“कोषाध्यध्य” शब्द काटिएको छ) शैलेन्द्रनाथ रिमाल आगे तपाईं स्व. महाकवि श्री लक्ष्मीप्रसाद देवको (अन्तिम अक्षरहरू “टाकी” बुझिए तापनि छैनन्) श्रीमती मनदेवी देवकोटासँग, निज लेखकका अप्रकाशित काव्य र अरू कृतिहरू प्रकाशित गर्ने श्री ५ को सरकार मार्फत यस संघलाई प्राप्त हुने भएको रु २५०००। बाट शर्त बमोजिम प्रकाशित गर्ने उद्देश्यले तपसिलका पुस्तक, अप्रकाशित पाण्डुलिपिहरू मैले लगेको हुँदा यो कागज गरि (अस्पष्ट छ)
१. मैकवेथ (नेपाली अनुवाद)
२. महाराणा प्रताप (नेपालीमा महाकाव्य)
३. मोथ (खण्डकाव्य अंग्रेजीमा र कविताहरू)
४. शकुन्तला (अंग्रेजीमा महाकाव्य)
इति सम्बत् २०२२ साल माघ २७ गते रोज ४ शुभम्
यस्तै अरू भर्पाइहरू पनि छन् जसबाट मनोरञ्जन, कृषि–बाला र कविता संग्रह आदिका पाण्डुलिपि नेपाल सांस्कृतिक संघले लगेको बुझिएको छ । तर लगे जति पाण्डुलिपि नेपाल सांस्कृतिक संघले फिर्ता भने दिन नसकेको कुरा बिर्सिनु हुन्न ।
    यसबाट नेपाल सांस्कृतिक संघले महाकवि देवकोटाको अंग्रेजी शकुन्तलाको पाण्डुलिपि (मैले फिर्ता पाएको कापि बाहेक) हराएको कुरा प्रष्ट हुन गएको छ । यिनै भर्पाइहरू नेपाल सांस्कृतिक संघका तत्कालीन महासचिवलाई देखाएपछि उहाँले सो महाकाव्यको लिन्डन क्लफले सच्चाएको टाइप कपि र अरू दुइवटा रजपूत रमणीका पाण्डुलिपि फिर्ता गर्नुभयो र नेपाल सांस्कृतिक संघमा रहेका महाकवि देवकोटाका सबै कृति फिर्ता भयो भनेर मैले दिएका भर्पाइमा उल्लिखित बार्हवटा पाण्डुलिपि फिर्ता गरेको भनिएको कागजमा मलाई सहीछाप गर्न भन्नुभयो । उहाँको तर्क थियो – संस्थाले यी पाण्डुलिपि अगाडिनै फिर्ता गरिसकेको छ, फेरि बीचबीचमा किच्किच् नआओस् । यो थियो २०५२ सालको कुरा । वास्तवमा कतिपय पाण्डुलिपि त्यहाँबाट फिर्ता नआएको देखिए तापनि मैले मुद्दा हालेरै पनि ती उपलब्ध नहुने देखेर कागजमा सही गरिदिएँ । साथै नेपाल सांस्कृतिक संघले हालसम्म छापेका कृतिहरू छाप्ने अधिकार पनि फिर्ता लिएँ । मैले नेपाल सांस्कृतिक संघलाई गरेको एउटा असहयोग यो हो ।
अनि मैले टाईप गराएर राखेको अंग्रेजी शाकुन्तलको कपिको आधारमा एकता बुक्स पब्लिकेशन्स्बाट देवकोटाको मौलिक अंग्रेजी शाकुन्तल महाकाव्य निकाल्नका निम्ति भनेर धेरै परिश्रम र समय खर्च गरेर शुद्धाशुद्धि मिलाइयो, तर एकताले कम्प्युटर टाइप भइसकेको कृति हराइदिएपछि यो कृति निकाल्न सकिएन । यस तथ्यलाई माथि दिएको महाकवि देवकोटा बारेको वेबसाइटमा मैले उल्लेख गरेको छु । भाग्यवस दुइतीन महिना अगाडि मेरा कागजका थुप्राहरूमा प्रुफ हेरेको एकप्रति टाइपस्क्रिप्ट फेला पारेको छु जसको फोटोकपि गर्न र त्यसपछि त्यसलाई पुन: टाइप गराउन बाँकी छ ।
    अब आयो वृत्तचित्रको कुरा । वृत्तचित्र बन्न धेरै वर्ष लाग्यो र बीचबीचमा किन काम नसकिएको होला भनेर नेपाल सांस्कृतिक संघका पदाधिकारीहरूसँग सोध्दा एकजनाले भन्नु भयो, “पैसा पुगेन रे ! डाइरेक्टर साहेबलाई यस संस्थाका अध्यक्ष नरसिंह बहादूर श्रेष्ठ करोडपति हुनुहुन्छ भन्ने थाहा छ । अलिकति दुहुन खोजे जस्तो देखिन्छ ।” त्यसबेलामा मैले यस्तो दिमाग प्रदुषित गर्ने कुराको वास्ता गरिन; तर आज आएर के ठीक हो भन्न सकिरहेको छैन । तर यो कुरा भने पक्कासँग भन्न सक्छु कि नरसिंह बहादूर श्रेष्ठजीको घरमा एक पटक र नेपाल सांस्कृतिक संघमा अनेकौं पटक म बैठकमा उपस्थित भएको छु । यस्तो उपस्थिति हाजिरकापिले नै बताउँछ भने यस वृत्तचित्रमा संलग्न विद्वानहरूले मैले असहयोग गर्नको निम्ति भनेर कहिल्यै पनि बैठकमा हाजिर नभएको भन्ने कुरा कृष्ण अविरललाई कसरी बताउन पुगे ? बताएका होइनन् भने कृष्ण अविरलको नियत हामीले कसरी बुझ्ने ? कलम घुमाउने क्षमता चलाकी होला, नैतिकता पक्कै होइन ।
    वृत्तचित्र बनाउने क्रममा यादव खरेलले फोटोहरू खोज्नु भएको हुँदा मेरो आल्बममा भएजति फोटोहरू कमलमणि दीक्षितजीको हात मेरो घरैबाट नेपाल सांस्कृतिक संघलाई वृत्तचित्र बनाउने प्रयोजनकालागि भनेर दिई पठाएको हूँ । यसको केही समयपछि एकदिन राती यादव खरेलजीको फोन आयो र उहाँले “देवकोटा परिवारले सहयोग गरेन” भन्न थाल्नुभयो । कि फलानो थोक चाहियो भन्नु पर्यो कि आरोप लगाउनु भएन ! देवकोटाका संपूर्ण कृतिहरू मकहाँ भएनन् र ती कृतिका तस्वीर खिच्न उहाँले अन्त पनि पाउनु भएन भनेर मैले असहयोग गरेको भन्न मिल्दैन । नभएका कुरा जादु गरेर टोपिबाट खरायो झिकेझैं झिकेर दिन नसक्नु असहयोग हैन । मबाट प्राप्त वस्तुहरूको चित्र त वृत्तचित्रमै उतारिएका छन् । हो, कुनैकुनै बैठकमा मेरो कार्यव्यस्तताले गर्दा म जान सकिन हुँला, तर मेरो असहयोग गर्ने उद्धेश्य पक्कै थिएन । छायाङ्कनमा अनुपस्थित हुनु कसरी असहयोग ठहरिन्छ जब कि म डाइरेक्टर होइन ?
    अनि, अलिपछि एकदिन मकहाँ “पागल” कविताको छायाङ्कन बारे छलफल गर्न आउनुभएका यादव खरेलले नेपालीको संवाद अंग्रेजीमा उल्था गरिदिन मलाई भन्नुभएको हो, तर मैले म त्यसको अनुवाद गर्दिन भनेको भने होइन । संवाद ल्याएर मलाई दिएको भए अनुवाद गर्न कति समय लाग्थ्यो भन्न सक्दिन, तर फुर्सदमा उल्था गरिदिन्थें । तर यसपछि कसैले पनि फेरि मलाई अनुवाद गरिदिन भनेर भनेको सम्झना छैन ।
    हो, वृत्तचित्र प्रथमबार नेपाल सांस्कृतिक संघको माथिल्लो तलामा हेर्दा म हरेस खाएँ । प्रा.डा. अभि सुवेदीले एकोहोरो कागजबाट केके पढिरहेका थिए र महाकवि देवकोटासँग सम्बन्धित केही चित्रहरू झल्याकझुलुक आउँथे । निर्देशक यादव खरेललाई यो वृत्तचित्र बन्नु अगाडि नै मैले “साहित्यकारको वृत्तचित्र यस्तो हुनुपर्छ, घर लगेर हेर्नुहोस्” भनेर वेलायती कवि स्टिभि स्मिथका बारेमा Not Waving But Drowning शीर्षकमा बनेको यौटा राम्रो अंग्रेजी वृत्तचित्र हेर्न दिएको पनि थिएँ जसमा सम्बाद बोल्नेको अनुहारलाई भन्दा कविलाई बढी हाइलाइट गरिएको थियो र संवाद बोल्नेको स्वर केवल पृष्ठभूमिमा सुनिन्थ्यो । त्यस दिन वृत्तचित्र हेर्न उपस्थित सबैको यौटै मान्यता थियो – प्रा.डा. अभि सुवेदीको अनुहार आवश्यकभन्दा धेरै बढी समयसम्म देखाइयो । यो महाकविको प्रचार हो कि प्रा.डा. अभि सुवेदीको प्रचार हो भन्ने कुरा अस्पष्ट थियो । यसलाई सम्पादन गर्न भनेर त्यस दिन यादव खरेललाई टोलीले निर्देशन दियो । सफल वृत्तचित्रको यौटा राम्रो उदाहरण हातमा हुँदाहुँदै पनि निर्देशक यादव खरेलले बनाउनु भएको महाकवि देवकोटाको वृत्तचित्र जनताले खोजीखोजी हेरेको अनुभव मैले गर्न पाएको छैन ।
त्यसपछि म बैठकमा जान छाडें किनभने मैले महाकवि देवकोटाको बारेमा बन्न लागेको वृत्तचित्र हेरेर पाउने आनन्द निर्देशकको जिद्दी र गलत टेक्निकले लुटिदियो । मेरो दोस्रो असहयोग यही थियो ।
    यसपछि वृत्तचित्रलाई लिएर महाकवि लक्ष्मीप्रसाद देवकोटा (Laxmi Prasad Devkota, the Great Poet) शीर्षकको नेपाल सांस्कृतिक संघसँग सर्वाधिकार रहेको यौटा किताब निस्कियो जसको लेखक मात्र नभएर डाइरेक्टरसमेत भनी आवरणमा यादव खरेलजीको नाम थियो । पुस्तकको डाइरेक्टर भनेको मैले कहिल्यै पनि सुनेको थिइन ! मैले नेपाल सांस्कृतिक संघलाई वृत्तचित्र निर्माणको प्रयोजनकालागि दिएका फोटोहरू सबै यसमा मेरो जानकारीविना छापिएका रहेछन् । यसरी यौटा प्रयोजनकालागि दिएका फोटोहरू आर्कै प्रयोजनकालागि प्रयोग भएको देखेर मलाई दु:ख लाग्यो । यी त आर्काइभमा रहने फोटोहरू थिए ! यादव खरेलजीले एक पटक मलाई यसो गर्दैछु है भनेर फोनबाटै भए पनि सूचित गर्नुभएको भए पुग्ने थियो । तर यहाँ आर्थिक अधिकारकोभन्दा यसरी फोटाहरू प्रयोग गर्ने व्यक्तिको नैतिकताको संकटको सवाल प्रष्ट थियो । अनि, नेपाल सांस्कृतिक संघले मलाई मौखिक स्पष्टिकरण मात्र दिएको भएपनि म चुप लाग्थें हुँला; तर संस्थाका अध्यक्षलाई यस्तो किन गरियो भनेर सोद्धा उहाँले “खै, यादव खरेलजीले के के गर्नु भयो, मलाई थाहा छैन” भन्नुभयो । मैले यस जवाफले चित्त बुझाउन सकिन । त्यसैले सो पुस्तकको सर्वाधिकार रहेको संस्थाका अध्यक्ष्यले यसको जवाफ दिनबाट पन्छिन नहुने बताएपछि उहाँले “म बुझेर भनौला” भन्नुभयो ।
    लामो अवधिसम्म उहाँबाट केही नसुनेपछि फेरि फोन गरेर सोधें । नेपाल सांस्कृतिक संघका अध्यक्षले “ए, म बुझौंला भनेको फुर्सद पाएको छैन” भन्नुभयो । यस कुरालाई उहाँले गम्भीरतापूर्वक लिनुभएको रहेनछ । फेरि केही समय कुरेँ र सोधेँ । “अँ, यौटा मिटिङ्ग बोलाउँछु र यसबारे त्यही मिटिङ्गमा कुरा गरौंला” भनेर पन्छाउने आर्को जवाफ आयो । फेरि केही समय कुरेँ । मिटिङ्गको नामनिशाना छैन । फेरि फोन गरेँ । “अँ, अब छिटै मिटिङ्ग बोलाउँछु” भन्ने जवाफ पाएँ । तर मिटिङ्ग लामो समयसम्म बोलाइएन । पहिलो पटक होइन, बराबर यस संस्थाले आफूलाई गम्भीरतापूर्वक नलिएको अनुभव थपिँदै गएपछि एकदिन प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा गएर यादव खरेलको विरूद्ध हैन कि नेपाल सांस्कृतिक संघको विरूद्ध उजुरी हालें – फोटोहरूको गलत प्रयोजन किन गरियो भनेर । त्यसै दिन बेलुकी मकहाँ भोलिपल्टको दिन साँझमा नेपाल सांस्कृतिक संघले मिटिङ्ग राखेको खबर आइपुग्यो । अनि त सो बैठकमा उजुरी हालेको पत्र लिएर गएँ । नेपाल सांस्कृतिक संघका पदाधिकारीहरू मसँग रिसाउनु स्वाभाविक थियो । तर कृष्ण अविरलको लेखमा भनेझैं सो उजुरीमा “बिक्रीवापतको रोयल्टी आफूले दावी गरिएको छ” भन्ने कुरा सरासर झुठ हो । मैले रजिष्ट्रारको कार्यालयमा पुष २, २०६४ मा हालेको उजुरी यस प्रकारको थियो :–
नेपाल सांस्कृतिक संघ, कालीकास्थान, ले निर्देशक श्री यादव खरेललाई अनुरोध गरेर बनाउन लगाएको मेरा पिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी तथा कृतिहरूमा आधारित वृत्तचित्रको प्रयोजनको लागि भनेर मैले सहायता गर्ने सिलसिलामा आफ्ना एलबमका फोटोहरू नेपाल सांस्कृतिक संघलाई उपलब्ध गराएको थिएँ  ती फोटोहरू २०६४ सालको लक्ष्मीपूजाको दिनमा नेपाल एभि न्यू टेलेभिजनबाट अप्रत्याशित रुपमा प्रसारण भएको देखेपछि तथ्य बुझ्दै जाँदा नेपाल सांस्कृतिक संघले मकहाँबाट वृत्तचित्रको प्रयोजनका लागि लगेका फोटोहरू श्री यादव खरेलले लेख्नु भएको पुस्तकमा समेत छापिइसकेको र वृत्तचित्रको साथै सो पुस्तक  समेतको विमोचनको तयारी गर्दैगरेको तथ्य खुल्न आएको हुँदा महाकविका फोटोहरू यसरी अनाधिकृत रूपमा प्रचार गर्ने र सोबाट लाभ उठाउने जस्ता कार्यबाट नेपाल सांस्कृतिक संघ, कालीकास्थान, लाई रोकिदिनु  हुन विनम्र अनुरोध गर्दछु ।
यसरी उत्तरदायी छौं भन्ने संस्थाका अनुत्तरदायी अध्यक्षको व्यबहारको कारणले सभ्यताको आधारभूत शिष्टता र नैतिकता गुमेको तीक्त अनुभव गर्दै मैले नेपाल सांस्कृतिक संघको विरूद्ध उजुरी हालेको हूँ । जहाँ संवेदनशीलताको उल्लङ्घन हुन्छ त्यहाँ सहयोगको अपेक्षा अव्याबहारिक हुन्छ ।

इगो
    यादव खरेलजीका अनन्य मित्र प्रा.डा. अभि सुवेदीसँगको मेरो “इगो”को टक्करले गर्दा महाकवि देवकोटाको वृत्तचित्र निर्माणमा असर परेको कुरालाई लिएर कृष्ण अविरलको लेखले मलाई आक्षेप लगाएको छ । मेरो “इगो”को कुरा जहाँसम्म छ, यो प्रा.डा. अभि सुवेदीकै प्रचारबाजीको खेल हो रहेछ भने पनि मलाई आश्चर्य लाग्नेछैन । उहाँले नचाहाँदा नचाहाँदै पनि अंग्रेजी विभागमा आगो लगाउने ब्याचका विद्यार्थीहरूकै मुखबाट हामीले सुनेको कुरा यो हो कि उनिहरूले विभागिय प्रमुख प्रा.डा. अभि सुवेदीकै कारणले विभागमा आगो लगाएका हुन् । विद्यार्थीहरू आफै भन्छन्, त्यस दिन प्रा.डा. अभि सुवेदी विभागमा उपस्थित हुनुहुँदो हो त आगो लाग्ने संभावना घट्ने थियो ।
अनि आगो त विदेशका अन्य विश्वविद्यालयमा पनि लाग्छन् । सन् २००४ सालमा जापानको युनिभर्सिटी अफ् टोकियोका इमामिचि टोमोनोबुले लेखेका र मेरी ई. फस्टरले अंग्रेजीमा उल्था गरेको पुस्तकको Fire in the Dean’s Office नामको चौऔन्नौं अध्यायमा यसरी कुनै विद्यार्थीलाई डीनको कार्यालयमा आगो लगाए वापत सजाय दिन नसके तापनि विश्वविद्यालयका प्रेजिडेन्ट मुकाइबो ताकासी र फ्याकल्टि डीन इमामिचि टोमोनोबुको क्रमश ३ महिना र ६ महिनाको तलब काटेर फ्याकल्टि अफ लेटर्सका डाइरेक्टर नामामुरा केनलाई शिक्षा मन्त्रालयले “कामबाट भागेको” आरोप लगाएर स्पष्टिकरण मागेको कुरा खुल्न आएको छ । तर नेपालमा भने विभागमा आगो लगाइएको बेलामा अनुपस्थित विभागिय प्रमुखसँग स्पष्टिकरण कसैले मागेन र विभागमा आगो लागे वापत कसैले पनि सजाय भोग्न परेन भने विभागाध्यक्ष प्रा.डा. अभि सुवेदीका अनन्य पत्रकार मित्रहरूले विभागको आन्तरिक यथार्थको वेवास्ता गर्दै पत्रपत्रिकामा उहाँलाई भिक्टिमको रूपमा प्रचार गर्न थालेपछि मैले पनि कान्तिपूर दैनिकमा विभागको भित्री र फरक दृष्टिकोण जनतालाई अवगत गराउन एउटा लेख लेखेपछि प्रा.डा. अभि सुवेदी र उहाँका अनुयायीहरूले मेरा बारेमा अनेकौं गलत कथा हाल्न थालेका हुन् । नपुंशकलाई ढाल बनाएर वाण हान्ने काम महाभारतमा मात्र भएको छैन । तर यस प्रकारको काम नरोकेको खण्डमा भविष्यमा अरू यथार्थको विवरण सार्वजनिक गर्न म बाध्य हुने देखेको छु । अरूलाई पनि थाहा भएका कुरा भए तापनि सभ्यताको कारणले हाललाई अन्य यथार्थका विवरण दिन नचाहेको हूँ ।
    मैले न ख्याति खोजेको छु, न ठूलो आयआर्जन, न त बाँच्नकालागि माफिया वा पार्टीको आधार ! विद्याको क्षेत्रमा सबैको आ–आफ्नै कमाई हो । मैले आफूलाई साहित्यकार वा कविको रूपमा स्थापित गर्न खोजेको भएपनि प्रतिश्पर्धा चल्यो भन्न मिल्थ्यो होला, तर म यस क्षेत्रमा संलग्न छैन । मैले प्रशासनिक पदसम्म पनि नचाहेको अवस्थामा साथीहरूको आग्रहमा विभागको आगो पछि केही समय प्रशासन सम्भालेको हूँ । जब प्रा.डा. अभि सुवेदीसँग मेरो कुनै लेनदेन छैन, त्यहाँ इगोको कुरा कहाँबाट आउँछ ? अनि अरू कसैसँग नभएर प्रा.डा. अभि सुवेदीसँग मात्र इगोको कुरा कसरी आयो होला ?
    अनि इगोको अर्थ के र यसले महाकवि देवकोटाको वृत्तचित्रमा कसरी असर पार्यो ? महाकविसँग वृत्तचित्रमा गाँसिन पाउँदा बरू प्रा.डा. अभि सुवेदीको इगो रम्रमायो होला ! उहाँ यस्ता क्षणका लोभि हुनुहुन्छ । अनि, उहाँ साहित्यकारको माझमा म प्राध्यापक हूँ भन्दै प्राध्यापकको माझमा म कवि हूँ भन्दै आफ्नो परिचय दिन खुसाउनु हुन्छ । विभागमा विद्यार्थीले आगो लगाएपछि विभागका सबै शिक्षकलाई त्रि.वि.को उप–कुलपतिसँ भेट गराउन विभागिय प्रमुखको हैसियतले समय लिइदेऊन भनेर सिनियर कलिगहरूले भन्दा उप–कुलपतिको फुर्सद छैन रे भन्दै उन्नाइस दिनसम्म मैले विभागका साथिहरूलाई अल्मलाएको छैन । यसै सन्दर्भमा कमसेकम आफ्नै विद्यार्थीहरूको मुखबाट उनिहरूले किन विभागमा आगो लगाएका हुन थाहा पाउन उनिहरूसँगै सोध्ने उद्देश्यले उनिहरूलाईसमेत सामेल गराएर बैठक बोलाइदेउन भन्दा साथिहरूलाई झुक्काएर मैले विद्यार्थी युनियनको प्रतिनिधिलाई मात्र बैठकमा बोलाएको छैन ।
    वास्तवमा इगो खोज्ने नै हो भने लेखकका रचनाहरूका मात्र अध्यन गरे पनि पुग्छ । बराबर कान्तिपूर दैनिक र काठमान्डु पोष्टमा आग्रादेखि रुमल्लिएर गाग्रासम्म पुगेका प्रा.डा. अभि सुवेदीका लेखहरू जाँच्ने क्षमता भएका पाठकले ती लेख पढ्दा के पाउँछन् ? “म ! म यहाँ गएँ ! मैले यसो गरेँ ! मैले उसो गरें !” इगो भनेको यो पो त हो ! बराबर अशुद्ध अंग्रेजीमा सिलसिला नमिलेका लेखमा पाश्चात्य साहित्य सिद्धान्तका नयाँ शब्दहरू प्रयोग गरेर साधारण पाठकउपर आफ्नो ज्ञानको प्रभाव पार्न चेष्टारत विद्वान प्रा.डा. अभि सुवेदी कलम्निष्ट भए वापत चिरपरिचित हुनुहुन्छ । गोविन्दराज जोशी र चिरञ्जीवी वाग्लेलाई टिभिमा देखिरहने कसले चिन्दैन र ? तर अमेरिका जान भिसा नपाएकोमा पत्रिकामा गुनासो गरेपछि अमेरिकी राजदूतले काठमान्डु पोष्टमा “अभि सुवेदी त हाम्रै सम्पर्कका मानिस हुनुहुन्छ, भिसा नदिने कुरै भएन” भनेर लेखेपछि कसैले उसलाई जवाफ लेख्न सक्यो ? मलाई पनि बराबर यस देशका सबैभन्दा ठूला विद्वान पत्रिकाका कलम्निष्ट नै हुन् कि भन्ने लाग्छ !
    अनि अंग्रेजी विभागमा पढाउन भनेर त्रि.वि. सेवाले जागीर दिएका शिक्षकले केही विद्यार्थीलाई मात्र अँगालो हालेर माया गरेपछि विभागमा आगो लाग्छ । तर विभागमा लागेको आगोको काण्डपछिको प्रथम कक्षामा गएर विभागाध्यक्ष प्रा.डा. अभि सुवेदीले उहाँ आफूहरू “विद्यार्थीलाई माया गर्ने” र विभागका अरू साथीहरू “विद्यार्थीलाई माया नगर्ने” हुन् भनेर क्लासमा पढ्न बसेका विद्यार्थीकै अगाडि भनेर विभागलाई दुइ फ्याक पार्नु भएको हो । एकातिर यस्ता उदाहरण अरू पनि छन् भने आर्कोतिर चुप लागेर आफ्नै अध्ययन र लेखनमा व्यस्त रहन चाहाने मलाई इगोको समेत आक्षेप लगाउने षडयन्त्रकारी को होला त ? यसको जवाफ कृष्ण अविरलहरूले दिन सक्लान् ?

लेखकस्व
    अनि त्रिभुवन विश्वविद्यालयका अर्का नेपालीका प्राध्यापकको चर्चा गरौं । भिक्टर प्रधानको असीम ज्ञान यसरी कृष्ण अविरलको लेखमा बोलेको छ, “हामीले छापेका कृति महाकवि ले नेपाली भाषा प्रकाशनी समितिको जागिरे भएवापत लेखेको कृतिहरू मात्र हुन् ।” यसैलाई कारण देखाएर उहाँ देवकोटा परिवारलाई लेखकस्व नदिए पनि हुन्छ भन्ने तर्क गर्नुहुन्छ । यसरी विश्वमा कहीँ नहुने कुरा नेपालमा भएको देखेर मलाई उदेक लागेको छ । यस देशमा कवि र सर्जकले आफ्नो सिर्जना बेच्न जागीर खाँदा रहेछन् ! यो ज्ञान मसँग थिएन ! मलाई त लाग्थ्यो कि मानिसले पैसा कमाउन जागीर खान्छ, आफ्नो सिर्जना बेच्न हैन । मलाई लाग्थ्यो, मानिसले जागीर खान्छ, कविले हैन । लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषा प्रकाशनी समितिमा महाकवि बन्न भनेर जागीर खाएको पक्कै होइन ! तर साझा प्रकाशनले महाकवि देवकोटाका कृतिउपर यत्रो लोभ किन देखाइरहेको छ ? कसैले मलाई यसको कारण बताइदिन सक्छ कि ?
    मैले महाकवि देवकोटाका पुस्तकहरूको रायल्टिबाट अनगिन्ति धन कमाएको छु भनेर हल्ला फिंजाउने व्यक्तिहरूको चित्त बुझउन साझा प्रकाशनबाट आर्थिक वर्ष ०५८/५९ देखि ०६६/६७ सम्ममा आफैले सही गरेर बुझिलिएको रायल्टि रकमको विवरण स्वेच्छाले तल सार्वजनिक गरेको छु । यस देशमा अनेकौ तहमा कत्रा कत्रा आर्थिक अनियमितता भइरहेको बेलामा दुनियाँ मैमाथि खनिनु पर्ने कारण के रहेछ ? आज कुनै कानुनी मान्यता उल्लङ्घन नगरिकन पैतृक सम्पति प्राप्त गर्दा सोको विवरण सार्वजनिक गर्नुपर्ने स्थितिमा मलाई यस समाजको संवेदनशीलता र सभ्यताले पुर्याएको छ । यस विषयमा भने दु:ख लाग्नु स्वाभाविक हो । मैले प्राप्त गरेको लेखकस्व विवरण निम्न प्रकारको छ :–
        क्रम संख्या आर्थिक वर्ष जम्मा रकम (रुपैयाँ)
        १। ०५८/०५९ २०,८१७।२०
        २। ०५९/०६० २१,०००।००
        ३। ०६०/०६१ १४,५००।००
        ४। ०६१/०६२ २०,०००।००
        ५। ०६२/०६३ १५,०००।००
        ६। ०६३/०६४ १०,०००।००
        ७। ०६४/०६५ ३०,०००।००
        ८। ०६५/०६६ ––– (लिएको छैन)
        ९। ०६६/०६७ ३२,०००।००
        जम्मा रकम = १,६३,३१७।२०
सर्वप्रथम, यसबाट मैले लेखकस्व स्वरूप प्रतिवर्ष रु १८,१४६।३६ पाएको देखिन्छ । अनि, मेरी माता मनदेवी २०५६ साल फागुणमा बित्नु भएपछि उहाँकै निम्ति पनि आर्थिक वर्ष ०५७/०५८को लेखकस्व खर्च भएको छ । यस राष्ट्रले कवि–कुञ्ज र महाकविको सम्पति मात्र देख्यो तर कवि–कुञ्जकी घरधनी अर्थात् महाकवि देवकोटाकी सुपुत्री मीरा देवकोटाको बेहाल देखेन । उहाँ अर्बुद रोगबाट यही २०६७ साल फागुन १९ गते परलोक हुनुभयो । कुनै नेताका संन्तान भइदिएको भए उहाँको पनि विदेशमा उपचार हुन्थ्यो होला । हामी सर्वसाधारण ! हामीलाई जसले जे भने पनि हुन्छ क्यार ? असंवेदनशीलताको सीमा छैन ।

अन्त्यमा
    नेताको सन्तान हुनु र महाकविको सन्तान हुनुमा ठूलो अन्तर रहेछ । महाकवि देवकोटा नेता भइदिएको भए उहाँको नाममा ट्रष्ट खुलिसक्थ्यो र राष्ट्रले सो ट्रष्टलाई सालैपिछे बजेटमा रकम छुट्टाइसक्थ्यो । उनका सन्तानले “तैंले यसो गरिनस् र उसो गरिनस्” भन्ने वचन सुन्नुपर्ने थिएन । सचेत र संवेदनशील समाजले यसरी साहित्यकारका सन्तानलाई गाली गर्दैन भने महाकविका अनेकौं साहित्यिक कृति अध्ययन नगरेका नेपाली समाजले महाकविकी श्रीमतिलाई समेत अनेकौं थरी आरोप लगाएर आफ्नो सभ्यताको पहिचान दिएको छ । सभ्य र संवेदनशील समाजले त उत्कृष्ट साहित्यको अध्ययन गर्छ । तर यस मुलूकमा भने महाकवि देवकोटा बुझेर पढ्ने त परै जाओस् पढ्ने मात्रकोभन्दा उहाँका बारेमा धेरै गफ हाँक्नेको, उहाँको निम्ति केही गर्नेकोभन्दा उहाँका निम्ति केही गरिएन भन्नेको र उहाँको प्रचार गर्नेकोभन्दा उहाँको नाममा आत्मप्रचार गर्नेको भीड लागेको मेरो अनुभव छ ।
    महाकवि देवकोटाको प्रचार गर्ने साझा दायीत्व सबैले स्वीकारेर एकले आर्कोलाई सहायता गर्नु वा आफूले सकेको ठाउँबाट सकेको काम गर्नु बुद्धिमानी हो । कसैलाई यस्ता अनेकौं गलत दोषारोपन गर्नुको साटो सम्बन्धित दुवै पक्षलाई न्याय हुने तवरले अनुसन्धान गरिएका सप्रमाण तथ्यहरू मात्र प्रस्तुत गर्नु सही पत्रकारीता हो भन्ने याद दिलाउँदै उत्तरदायी सम्पादकहरूलाई कुभावपूर्ण र सन्सनी फैलाउने खालका लेखहरू आफ्ना पत्रिकामा छाप्न अस्वीकार गर्ने नैतिक आँट देखाउन यही लेखद्वारा आव्हान गर्दछु । “मैले त फलानालाई क्या दनक दिएँ !” भन्ने मानसिकताले राष्ट्रलाई कुनै सभ्यताको शिखरमा नपुर्याउने तथ्य प्रष्ट छ भने चिन्तनको तहमा उक्लिएर लेख्न नसके वापत व्यक्तिगत आच्छेपमा रमाउने साहित्यकार र लेखकहरू जतिले सुङ्गुर पालनको व्यबसाय अपनाउनु राष्ट्रको निम्ति बढी उपयोगी हुने देख्दछु ।

(कात्र्तिक २०६६ सालको मधुपर्क (महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्क) मा छापिएको कृष्ण अविरलको “महाकवि : उपेक्षा, असहयोग र लेखकस्व विवाद” शीर्षकको लेखमा मलाई लिएर केही चरित्रहत्या गर्ने खालका आरोप र मानहानीहरू परेका रहेछन् भन्ने कुरा २०६७ सालको चैत्रको आधाआधीपछि मात्र थाहा पाएँ र त्यसको लगत्तै यो लेख लेखेको हूँ । यस लेखलाई वैशाख ९, २०६८ सालमा मधुपर्कमा छाप्न भनेर पठाएको थिएँ, तर वैशाख २३, २०६८ का दिन मधुपर्कका सम्पादकले “हामीले सल्लाहा गर्यौं र तपाईंको लेख मधुपर्कमा नछाप्ने भयौं,” भन्नु भएपछि अन्त छाप्न परेको हो । – लेखक)

1 comment:

  1. पदम सर नमस्कार
    तपाईंको ब्लगमा लेखिएका कुरा मननीय छन् । हो, नेपाली समाजमा यस्ता व्यक्ति र सञ्चारमाध्यम छन्, जसले तार्किक र यथार्थ विषय वस्तु प्रस्तुत गर्नुभन्दा मनगढन्ते एवं अतिरञ्जित विषय पस्कन्छन् । सम्बन्धित व्यक्ति र संस्थाले त्यसले समाज र व्यक्तिको प्रतिष्ठामा आघात पार्ने कुरा सोच्ने क्षमता राख्दैनन् ।
    कलाकार अम्बर गुरुङको भनाइलाई बंग्याएर कुनै दैनिकले छापिदिएको हुनाले उहाँ अनुसन्धानकै लागि पनि अन्तर्वार्ता दिन गाह्रो मान्नु हुन्छ ।
    हो, मन आमा हुँदासम्म म कैयौंपटक मैतीदैवी मन्दिरको विपरीत दिशामा रहेको निवासमा कैयौंपटक पुगेको थिएँ । मीरा दिदी (मीरा देवकोटा)को स्वास्थ्य अवस्थाबारे कसैले पनि प्रकाशमा ल्याएनन् ।
    बरु नरेन्द्रराज प्रसाईं जस्ता व्यक्तिले महाकवि देवकोटा र उहाँकी पत्नी मनदेवीका बारेमा अतिरञ्जना गरेर लेख पनि छपाए ।
    ढिलै भए पनि मैले यो ब्लग पढ्न पाएँ । सरबाट अनुमति मिल्छ भने यसलाई मैले स्रोत खुलाएर उल्लेख गर्न चाहन्छु ।
    acdila@gmail.com

    ReplyDelete