Showing posts with label Initiation paper. Show all posts
Showing posts with label Initiation paper. Show all posts

Monday, July 26, 2021

वैज्ञानिक सोच

समस्या 

    नेपाली समाज संस्कारले आस्तिक र स्वभावले अझै पनि भाग्यवादी छ; तर अन्तर्राष्ट्रिय जगतको विज्ञान तथा प्रविधिको प्रभावतर्फ उन्मुख पनि छ । आस्तिक हुनु नीजि निर्णय हो । भाग्यवादी हुनु कमसल तर्क–क्षमताको लक्षण हो । भाग्यवादले अकर्मण्यतातर्फ धकेल्छ किनभने भावीले निधारमा लेखेको कुरा स्वीकार्नु आफ्नो ईच्छाशक्ति उकासेर लक्ष्य हासिल गर्ने प्रयासमा जुट्नुभन्दा सजिलो छ । अनि, यो जन्मिदै लिएर आएको अघिल्लो जन्मको फल उपरको विश्वास धार्मिक आस्थासँग पनि गाँसिन गएको हुँदा भाग्यवादको आलोचना धर्मकै आलोचना जस्तो सुनिन जानु अनौठो कुरा हैन । तर सबैको धार्मिक स्वतन्त्रताको कदर गर्दागर्दै पनि भाग्यवाद जस्ता गलत विश्वासका विरुद्ध र निर्बल तर्कका आधारमा बन्ने अनेकौं यस्तै गलत विश्वासका विरुद्ध वैज्ञानिक सोचको आवश्यकता औल्याउनै पर्छ । 

    हुन त नेपालमा करीव एक्काइसौं विक्रम शताव्दीको सुरुदेखि नै केही राजनीतिक तथा सामाजिक रूपान्तरणको प्रक्रिया सुरु भइसकेको थियो । तर उचित शिक्षाद्वारा प्रश्न गर्ने आदत र त्यसको प्रोत्साहन नमिलेको हुँदा आजसम्म पनि हामी भाग्यवादको सोचबाट राम्ररी टाढिन सकेका छैनौ । मानिसहरूसँग कुरा गर्दा वा साहित्य पढ्दा हामीलाई निम्न प्रकारको अभिव्यक्ति ठीक र सहज लाग्छ भने हाम्रो सोचमा परिवर्तन ल्याउन आवश्यक छ भन्ने मेरो आग्रह छ । विहीबार १७ असार २०७८ का दिन “छन्द चौतारी” मा प्रकाशित कवि रोहिणि रसिकको निम्न चार हरफ पढौं ।

कर्म गर्दा सधैं राम्रो पाइने कर्मको रस 

सुख शान्ति सधैं बड्छ कान्ति प्रज्ञा तथा यश

आयु आरोग्य ऐश्वर्य आफैले हो बढाउने

आफ्नो जीवनको नौका उतार्ने या डुबाउने ।

यो कविता सकारात्मक भावको र उपदेशात्मक अभिप्रायको उद्गार हो । केवल यसको प्रथम हरफले बोलेको कुराउपर ध्यान दिने हो भने सर्सती हेर्दा राम्रो काम गर्दा राम्रो नतिजा आउँछ भन्न खोजिएको कुरा एकातिर सबैलाई ठीक लाग्छ, तर अर्कोतिर राम्रा कर्मका नराम्रा नतिजा र नराम्रा कर्मका राम्रा नतिजाका उदाहरण हामीले जीवनमा धेरै भोगिसक्यौं । यसैगरी एकातिर यो सोच सत्यमेव जयतेको आदर्शसँग पनि मेल खान्छ तर अर्कोतिर सत्यको विजय हाम्रो सपना हो, विपना हैन; आदर्श हो, यथार्थ होइन । आदर्शको मिठासले हाम्रो मन जित्छ । यथार्थमा भन्नु पर्दा हाम्रो जीवनकालको अनुभवमा शक्तिसमक्ष सत्यको हार बराबर भएकै छ, भइरहेकै छ । 

    अनि, हामी कतिको वैज्ञानिक निष्कर्ष उपरको अविश्वास धर्मसँग गाँसिएर आएको हाम्रो स्वभावको नतिजा पनि हो । जब विज्ञानले आविष्कार गर्छ वा कुनै तत्त्व बुझाउँछ, तब हाम्रा नसामै संस्कृत बगेको छ भन्ने संस्कृतविद र शास्त्रज्ञाताहरूले सो तथ्य हाम्रो वेदमा यसरी भनिसकेको थियो भन्ने कुरा गर्छन् । हो, हाम्रा शास्त्र नराम्रा छैनन् । जस्तो कि आयुर्वेदको राम्रो विकाश चरक र सुश्रुतले गरेकै थिए । तर आज आएर त्यस क्षेत्रमा अध्ययन र अनुसन्धानको समयोचित विकासको कमीले गर्दा यसउपर भरोसा गर्न कठीन भएको छ । हाम्रो वैज्ञानिक सोच र चिन्तनको अभावले गर्दा पुर्खेली ज्ञानमा हामीले यथेष्ठ विकास गर्न नसकेको तथ्य सर्वविदित छ । यस परिस्थितिमा के गर्न उचित होला ? साथै यो हाम्रो मात्र कमजोरी नभई अन्य मुलूकमै पनि हामीले देख्दै आएका विज्ञानउपरको अविश्वासलाई लिएर के निष्कर्ष निकाल्ने होला ? उदाहरणका लागि वातावरण परिवर्तित हुँदै गएको तथ्यउपर अविश्वास गर्ने धेरै छन् जसमध्ये संभवत ४५ प्रतिशत वैज्ञानिकहरू नै होलान् । यसैगरी कोरोनाका रोकथामका उपायलाई लिएर सबैभन्दा टड्कारो उदाहरण दिनुपर्दा डोनल्ड ट्रम्पले यस विश्वव्यापी संक्रमणको राजनीतिकरण गर्दै चीनलाई दोष लगाउनु, आफ्ना भाषणमा हाइड्रक्सिक्लोरोक्वीन जस्तो हानिकारक विषालु रासायनिक वस्तुले कोरोना ठीक हुने दावी गर्नु र सोही मुलूकका कैयौं मानिसले संक्रमनको गांभिर्यलाई नकार्दै मास्क नलगाउनु र भ्याक्सिन लिन नमान्नु जस्ता कुरा छन् । यस्तै नेपालमा तत्कालीन प्रधानमन्त्री के.पि. शर्मा ओलिले बेसार पानीको चर्चा गर्नु, नेपालीहरूले पनि कोरोनाको खतराउपर विश्वास नगर्नु र गुर्जो सेवनमा अटल विश्वास राख्नु उल्लेखनिय कुरा छन् । यी वैज्ञानिक सोचको कमीका उदाहरण हुन् । तर हामीलाई यस कारणले मात्र नभई विश्व बुझ्नका लागि पनि वैज्ञानिकले जस्तो विचार गर्न सिक्नु आवश्यक छँदैछ । 

वैज्ञानिक सोचके हो ?

    वैज्ञानिक सोचको आफ्नै यौटा प्रक्रिया हुन्छ । वैज्ञानिकले आफ्ना ईन्द्रियहरूको बाटो हुँदै प्राप्त सूचना उपर अविश्वास गर्छ, तर विश्व बुझ्ने अन्य माध्यमको अभावमा सर्बप्रथम यिनै सूचनालाई तहलगाउन बर्गीकरण र विश्लेषण गर्दै र समानता वा भिन्नताका अध्ययन गर्दै तर्कको प्रयोग गर्छ । यो कार्य विवेचनात्मक सोचको यौटा अंश पनि हो । कुनै पनि कुरा बुझ्नका लागि विज्ञानले के, किन, कस्तो, कसरी, आदि प्रश्न उठाउँछ । अनि यिनै प्रश्नका आधारमा कुनै प्राक्कल्पना तयार पार्छ । यसरी जन्मिएको कुनै यौटा विश्वसनिय निष्कर्ष उसले विश्वलाई बताउँछ तब कि कुनै पनि ठाऊँको कसैले पनि त्यसउपर अध्ययन तथा अनुसन्धान गरेर त्यसलाई ठीक वा गलत सावित गर्न सकोस् । गलत सावित गर्न नसकिने अवधारणा वैज्ञानिक हुन सक्दैन । तब त धेरैले प्रश्न उठाएपछि प्रतिक्षित जवाफ पुन: परीक्षित हुन्छन् र कुनै वैज्ञानिक नियम जन्मिन्छ । प्रतिक्षा र नतिजाको बीचमा बसेर वैज्ञानिकको (र हाम्रै पनि) सिक्ने क्रम जारी रहन्छ ।

    तर दैनिक जीवनमा हामी यसरी सोच्दैनौं । हाम्रा सोच केवल विवेचनात्मक मात्र हुनसके पनि हुन्थ्यो, तर हामीलाई सही र गलत तर्कका बारेमा शैक्षिक संस्थाहरूले जानकारी त्यति दिए जस्तो लाग्दैन । त्यसैले हामी आवेगमा आएर वा त्यसै पनि अनेकौं कुरा भन्छौ जसका प्रमाण प्रष्ट छैनन् । यो हाम्रो अनुत्तरदायी स्वभावको लक्षण हो । हामीमध्ये कतिले सुनिरहेकै वाक्य हो – “यी सबै नेता भ्रष्ट छन् ।” विवेचनात्मक सोचले भन्छ, “सबै, सारा, संपूर्ण, सँधै, कहिल्यै पनि” जस्ता शब्दको प्रयोग गर्न डराऊ †” कुनै पनि ठुलो समूहको बारे गरिएको प्रस्ताव झुठो हुनसक्ने संभावना ठुलो हुन्छ । अपवाद र विकल्प बिर्सिएर निष्कर्षमा पुग्दा गलत हुने सम्भावना ठुलो छ ।

    अब केही प्रश्न राखौँ । मानिलिऊँ कि कसैले तपाईंलाई भन्यो – “गुर्जो कोरोनाको अचुक औषधि हो ।” के तपाईं यस भनाईलाई विनाप्रश्न स्वीकार्नु हुन्छ ? शायद उसले तपाईंलाई दुईचार जनाले यसको सेवन गरेर कोरोनामुक्त भएको उदाहरण पनि दियो भने तपाईंको विश्वास जागीहाल्छ कि ? के उपलब्ध औषधीहरूमध्ये सबैभन्दा राम्रो यही हो त ? के यसले प्लासेबो अर्थात् फोस्रा औषधीको काम मात्र गरेको त होइन ? जब तपाईं सो व्यक्तिको प्रस्तावउपर प्रश्न उठाउन थाल्नुहुन्छ तब तपाईंको वैज्ञानिक सोच सुरु भयो भन्ने सम्झिनुहोस् । 

    हाम्रो दैनिक जीवनमा यस्ता धेरै दावी सुन्दै आएका छौ । दावी जति बलियो भयो, त्यसको उति नै बलियो प्रमाणको आवश्यकता पर्छ । हाम्रा आमाहरूले हामीलाई “दूध खाएर बलियो हुन्छ” भन्दै दूध खुवाएको सम्झना होला । अथवा हाम्रा बाउबाजेले मोटोघाटो भएको राम्रो भन्ने कुरा गरेका सुनेर हामीलाई त्यो कुरा स्रोतको आधारमा ठीक लागेको थियो होला । के हामीले यसको प्रमाण कहिल्यै खौज्यौं ? विना प्रमाण आफ्ना सन्तानलाई सोही दावी दोहोराएर बस्नु हाम्रो आमाप्रतिको अथवा पुर्खाप्रतिको अटल विश्वासको नतिजा होला, तर वैज्ञानिक सोच भने पक्कै हैन । अग्रजले बताएका सबै कुरा अकाट्य हुने भए शिक्षाको के काम ?

    कर्म र त्यसको फलको कुरा हेरौँ । अगिल्लो जन्मको कर्मको फल यस जन्ममा भोग्ने जस्ता कुराउपर हामीले जति प्रश्न उठाए पनि हामी न अगिल्लो जन्म प्रमाणित गर्न सक्छौं, न भावीको ललाटलेखन वा अगिल्लो जन्मको कर्म । म यहाँ भवितव्यको कुरा गरिरहेको छैन । अगिल्लो जन्मको वा कर्मकै अवधारणा पनि गलत सावित गर्न सकिँदैन भने यी अवधारणा वैज्ञानिक हुन सक्दैनन् । हामी यस्ता कतिपय कुराप्रति सचेत बन्दै जान आवश्यक छ । हामीलाई घर, स्कूल र कलेजमा न खासै तर्क गर्न सिकाइयो न प्रश्न गर्न प्रोत्साहन दिइयो नै । वेदवाक्यलाई अन्तिम प्रमाण मानिसकेपछि जुन तर्क त्यसको विपरित छ सो गलत हुन्छ भन्ने सोचबाट हामी ग्रस्त छौं । यसले वैदिक सत्यको संरक्षण त गर्‍यो, तर के बौद्धिक विकासलाई प्रोत्साहन गर्‍यो त ? सत्यहरू धेरै भएको यथार्थ नस्वीकार्नु वा स्वीकार्न नसक्नु पनि यौटा कमजोरी हो । यसैगरी हामीलाई दैनिक जीवनमा कारण र अन्तरसम्बन्ध अलग वस्तु हुन सक्ने तथ्यको ख्याल कत्तिको छ ? जस्तो कि, म घरबाट बाहिर जाँदा छाता बोकेको दिनमा पानी पर्‍यो तर नबोकेको दिनमा पानी परेन भने मैले छाता बोकिन भने पानी पर्छ भन्ने सोच बनाएको खण्डमा मेरो वैज्ञानिक सोचको कमजोरी प्रष्ट हुन्छ । अन्धविश्वासहरू यस्तै गलत तर्कका आधारमा जन्मिन्छन् । के हामी साँच्चिकै अन्धविश्वासका विरोधि हौँ वा हुन सक्छौँ ?

    यी भए वैज्ञानिक सोच बारे केही संकेतहरू । शायद हामीले वैज्ञानिक सोच बनाउनकालागि सर्वप्रथम आफ्ना पूर्वाग्रह बुझे पुग्दछ । पूर्वाग्रहरहित कोही छैन । वैज्ञानिक सोचको एउटा मुख्य काम आ–आफ्नो पूर्वाग्रह बुझेर त्यसलाई संतुलनमा राख्नु हो । 

विज्ञानलाई नकार्दा हुने खतरा

    हामी सामाजिक प्राणी भएवापत हाम्रा वरपरका साथीसंगतिको प्रभाव हामीउपर परिरहेकै हुन्छ जसले गर्दा उनिहरूसँग नटाढिनकालागि पनि हामी सजिलैसँग उनिहरूको विश्वास र धारणासँग सहमत भइदिने गर्दछौं । यौटाले भ्याक्सिन कोरोना भाइरसभन्दा खतराको वस्तु छ है भन्यो भने अरू पनि यस आग्रहको पछि दौडिहाल्छन् । बेलायत र अमेरिकाकै कतिपय प्रान्तमा यस्तो घटनाको चर्चा यही श्रावणको सुरुदेखि नै समाचारमा आएकै छ । यसैगरी भीडको प्रस्तावको पछि लाग्न सजिलो छ किनभने त्यसो गर्न बौद्धिक प्रयत्न आवश्यक पर्दैन । यो छोटो र सजिलो बाटो भएको हुँदा धैरैलाई यो मनपर्छ पनि । तर वैज्ञानिक सोच बनाउने हो भने अध्ययन गर्न पर्‍यो, तर्क गर्न पर्‍यो, जुन कुरा गार्‍हो छ । अध्ययनपछि वैज्ञानिक सोच बदलिन सक्छन् । कोभिडकै बारेमा अध्ययन हुँदै जाँदा कतिपय सूचना र अवधारणाहरू बदलिएका छन् । विज्ञान कहिले पनि आफ्ना निष्कर्षउपर शंका नराखी बस्न सक्दैन, प्रश्न नउठाई रहन सक्दैन । संभावनाहरू उपर खेलिरहनु यसको विशेषता हो भने आस्थाले प्रश्न गर्न जानेको छैन । यस अवस्थामा हामीले वैज्ञानिक प्रवृत्ती अपनाउनु सत्यका संभावनाहरू खोज्नु हो । नयाँ र थप प्रमाणको खोजमा दिमाग लगाउनु मानवविकासका लागि आवश्यक छ । ज्ञानको आधिकारीकताको निम्ति एक जना मात्र विशेषज्ञको वा एउटा मात्र स्रोतको भर पर्नु पनि उचित हुन सक्दैन । अनि, हामी सबैमा अचेत पूर्वाग्रह हुन्छ । आफ्नो मूल झुकाव जतातिर छ त्यसकै आधारमा हामी सबै कुरा बुझ्ने र बुझाउने प्रयास गर्छौं । यो मनासिव हो । यहाँसम्म कि तथ्याङ्क विश्लेषण गर्ने कुरामा समेत हाम्रो अचेत पूर्वाग्रहको प्रभाव परिरहेको हुन्छ । अनि, हाम्रा भावना र प्रवृत्तीले हाम्रा बुझाईमा यसैगरी प्रभाव पारिरहेका हुन्छन् । 

    तर हाम्रो आजको समाजमा नेतादेखि जनतासम्म सबैले बोलिरहेका भाषा र प्रयोग गरिरहेका आक्षेपका असुन्दर भावनाजडित भाषाका झर्नामा न वैज्ञानिक सोच न विवेचना न नम्रता न शरम न ठीक र बेठीकको ख्याल न यी सबको वास्ता देखेर दुखी हुनु सिवाय केही पनि बाँकी नरहेको अवस्थामा विभिन्न अनलाइन स्रोतका आधारमा यो छोटो आलेख तयार पारेको हूँ । 

    अस्तु ।

(शास्त्रीमार्ग टोल उपभोक्ता समितिको असार १६ गते २०७८ साल को तेस्रो शनिबारको मासिक कार्यक्रमका लागि तयार गरिएको आलेख ।)