Sunday, February 10, 2013

म, पाठक



पद्म देवकोटा

                यस लेखको उद्देश्य लेखनाथ पौड्यालको वंशीधरको दिव्य वंशीर म पाठकबीचको अन्तरसम्बन्ध केलाउनु रहेको छ । अन्ठाउन्न वर्षको पाको उमेरमा लेखनाथले शारदा ८.८मा प्रकाशन गर्नु भएको यो कविता र मेरो आजको आवश्यकता वा रूचीकै बीच पनि के सम्बन्ध हुनसक्छ भन्ने प्रश्न उठाउन गइरहेको छु । पाठकको अभावमा कुनै पनि साहित्यिक कृति मृतप्राय: हुने भएकाले कृतिमा प्राण पाठकले भर्छ या लेखकले भर्छ भन्ने प्रश्नको जवाफ जटिल छ । कृतिको आधिकारिक जन्मदाताको मृत्युको घोषणापश्चात् जन्मिएको पाठकले पितृवधको आवश्यकता स्वीकारीसकेपछि भस्मबाट पुर्खा व्युँताउने आर्को आवश्यकता बोध समेत गरिसकेको अवस्थामा पाठ र पाठकको अन्तरसम्बन्ध विश्लेषण योग्य ठान्दै एउटा पाठसँगको मेरो जम्काभेटको अनुभव बताउन गइरहेको छु ।
                यस कविता र मेरो जम्काभेट वासुदेव त्रिपाठीले सम्पादन गर्नुभएको लेखनाथका प्रमुख कवितामा हुनगयो । यस प्रथम जम्काभेटमा मलाई कविताको अनुहार मन परेन । अनुहारभनेर मैले त्यसको शीर्षकलाई जनाइरहेको छु । ममा आजसम्म पनि पूर्वेली अर्थमा धर्मसँग निकट सम्बन्ध राख्ने आध्यात्मवादको सम्मोहन नभएकाले र कविताको अनुहारमा कृष्णको लीलाप्रति भक्तिभाव छचल्किएको जस्तो लागकोले पनि कविताले अपेक्षा गरेको पाठक म होइन भन्ने कुरामा विश्वस्त भएँ । यो पाठले त्यस प्रकारको पाठक खोजेको छ जसले पाठमा रहेको आध्यात्मिक उत्सर्ग सजिलै र निर्विरोध ग्रहण गरोस् । मानौ कि पाठमा यौटा पाठक अन्तर्लिखित छ जो म हैन । अनि, पहिलो पटक सरर्र पढ्दा कविताको त्यति अर्थ पनि खुलेन । तरै पनि जम्काभेट त भइहाल्यो र मलाई पाठको कुनै कुराले आकर्षण नगरेको भए म यो लेख लेख्न बस्ने थिइन । सतहमा दुईवटा कारणले म यस पाठप्रति आकर्षित भएको हूँ पहिलो, यो लेखनाथ पौड्यालको कविता हो र उहाँप्रति मेरो गहिरो श्रद्धा छ; दोस्रो, यो कविता आठ हरफको मात्र छ जसले गर्दा यसलाई पढ्न धेरै समय खर्चिनु पर्दैन ।
                अब, सबै पठन रूपान्तरणकारीनै हुन्छन् किनभने पत्येक पढाईमा पाठको नयाँ अर्थ लाग्छ भन्ने डेरिडाको भनाईलाई स्वीकादै प्रत्येक पढाईले ममा पनि नयाँ प्रभाव पारिरहेको हुन्छ भन्ने विश्वास लिएर प्रश्न उठाउँछु पुनर्पठनपश्चात् यस कविताले ममा के परिवर्तन ल्यायो र मैले यसमा के पाएँ जो प्रथम जम्काभेटमा पाएको थिइन ? हाम्रो जम्काभेट हुनु अगाडिनै लेखनाथका कालमहिमापिंजराको सुगाजस्ता कृतिसँग म परिचित भइसकेको हुँदा तिनीहरूको उँचाईसम्म यो कविता पुग्न सक्ने कुराप्रति मेरो पाठकीय क्षमता पूर्वाग्रहीत भइदिएको हुनसक्छ । छ्या ! यसका दिदीवहिनीहरू जस्ती यो त राम्री रहिनछ !” भन्ने भावना लिएर यस पाठसँग संपर्कमा आएको म पाठकले सुरूमै केही गुमाइसकेको अवस्था हुन्छ । त्यो गुमेको वस्तु हो निष्पक्ष निक्र्यौल ।
                यसै गरेर म पाठकका अन्य कमजोरी छन् । म नेपाली साहित्यको इतिहास र परंपरा राम्ररी नबुझेको पाठक भएकोले नेपाली कविता पढेर बुझ्न त्यति शिपालु छैन । शायद कविता जस्तो भाषाको उत्कृष्ठ प्रयोग हुने विधाको सफल पठनकालागि मेरो भाषिक क्षमता पनि कमै होला । तर यसो भन्दैमा मेरो र यस कविताको जम्काभेट हुनु गल्ति हो भनेको हैन । यसको अतिरिक्त मेरो संस्कृत भाषाको अध्ययन शून्य भएवापत मेरो पाठकीय क्षमता अझ कमजोर भएको अनुभव गरिरहेको छु । मेरानिम्ति भौतिकवृन्दरूप,” “विस्तीर्ण,” “परा,” “व्यामोहवर्षा,” धीवृत्तिजस्ता अनेपाली शव्दका आवरणले लक्षित अर्थको समस्या ठडाएकोभन्दा कवि स्वयंले मजस्ता पाठकका लागि लक्षित नगरेको पाठले मेरो सामुन्ने गलत अवतरण गरेको अनुभव हुन्छ । यो कविता आध्यात्मिक संस्कृतविद्को निम्ति रचिएको हो भन्ने भावनाले म निराश हुन्छु । प्रश्न उठ्छ, “समस्या म पाठकको हो कि कविताको हो ?”
                तर साहित्य र खासगरी कविताप्रतिको अनुरागले म पाठकलाई यो कविता पढ्न प्रेरित पार्छ । शव्दकोषले कविता नबुझाए तापनि शव्दार्थसम्म दिएकै हुन्छ । शाव्दिक अर्थको ज्ञानपछि विलियम वर्डस्वर्थको The Lost Love को विम्ब आँखा अगाडि आउँछ
A violet by a mossy stone
                Half hidden from the eye
अर्थात्, काई परेको पत्थरपछाडि आधि छिपेकी फूलको सौन्दर्य संपूर्ण प्रकाशित नहुँदैमा नघटेझैं (र वास्तवमा बढे झैं) जटिल शव्दका काईले छिपाएको रहस्य मेरा निम्ति अझ आकर्षक बन्न पुग्छ । अनि कविताको रहस्योद्घाटन गर्ने आह्वान पाठक र पाठको अन्तर्सम्बन्धको रूपमा फेरी उठ्छ । यसरी मेरो साहित्यपठनको पूर्व अनुभवले नयाँ काव्य पठनकालागि सहायता गरिरहेको हुन्छ ।
                त्यसैले म कविता बुझ्ने चेष्टा यसरी गर्दछु । सिङ्गो कविताको भाव यौटै वाक्यमा उतार्नु परे यस्तो सुनिन्थ्यो होला जडमा जीवन भर्दै बाँसुरी घन्काएर, गोपिनीलाई जगाएर, आफू लुकेर हाँसीहाँसी रमाउने हे वंशीधर, तिमी विश्वमोहन छौ । यो कविता दुई श्लोकको भए तापनि यसलाई वाक्य संरचना र ती मार्फत् भनिएका कुरा तथा भावका आधारमा तीनवटा भागमा विभाजन गर्न सकिन्छ । प्रथम श्लोकको फुक्छौक्रियामा आधारित वाक्यको सरलीकृत भाव हो — “हे वंशीधर ! तिमी बाँसुरी फुक्छौ ।यसरी चारहरफको यौटै वाक्यमा धेरै शव्दमा थोरै कुरा बताइएको छ । वर्णन र विश्मयको प्राचूर्यले भाषा केही खुकुलो भएको अनुभव दिन्छ ।
                अनि दोस्रो र तेस्रो भाग दोस्रो श्लोकका प्रथम र अन्तिम दुईदुई हरफमा अटाएका छन् । दोस्रो भागमा केही शव्दमा केही कुरा व्यक्त भएका दुई हरफको वाक्य छन्क्रियामा बनेको छ । यसको भाव हो — “त्यो ... सुरबाट जागृत बनी ... धीवृत्ति छन् गोपिनी ।यसैगरी तेस्रो भागको भाव संक्षिप्तमा दिन मुश्किल पर्दछ किनभने दोस्रो श्लोकका अन्तिम दुई हरफमा थोरै शव्दमा धेरै कुरा धेरै छोटाछोटा वाक्यमा बताइएको छ १) साथै छौ,” २) लुक्नमा चतुर छौ,” ३) हाँसी रहन्छौ,” र ४) तिम्रो रसरङ्गमा ... यो सृष्टिको चक्चकीछ । यसरी भाषा र भाव कविताका तीन भागमा क्रमश बढी खँदिला बन्दै जान्छन् र सुरुको लामो, खुकुलो वाक्य अन्त्यमा कस्सिएको र छोटाछोटा वाक्यहरूको यौटै जडानमा आधार लिएर सशक्त बन्छ । यो शक्ति त्यो चर्को सुरको प्रतीक बनेर दिव्य वंशी (कविता) अझ चर्किंदै गएको भाव दिलाउँछ । अनि दिव्य वंशीले गोपिनीलाई झैं कविताले पाठकलाई जागृतबनाउन थाल्दछ ।
                यसैगरी कविताको संरचना हेर्दा पहिलो र तेस्रो भागमा वंशीधर कर्ता भएर उभिएका छन् भने बीचको भागमा गोपिनीहरू कर्ता भएका छन् । उनिहरू वंशीधरलाई खोज्छन्, “रासविलासकोरहर गर्छन्, “धीवृत्तिछन् जसरी कि म पाठक यस कवितामा आफूले चिनेको कवि खोज्दै पिंजराको सुगाकालमहिमाको रसास्वादनको रहर लिएर धीवृत्तिछु । उनिहरू जागृत हुने क्षणको अगाडि पनि र जागृत भइसकेपछि पनि वंशीधर अदृश्य र अप्राप्त छ । गोपिनीहरू फेरि निदाउनेअवस्था (प्रलय)को भने यहाँ चर्चा छैन । यो मौनताको अर्थ म पाठक आफ्नो संस्कृतिको ओत लागेर हेर्दा महत्त्वपूर्णको छ किनभने लय, स्थिति र प्रलयको चक्र घुमाउने उही वंशीधर प्रथम स्रष्टा पनि हो । अनि यो पनि बिर्सिनु हुन्न कि वंशीको धून लयक्रिडा हो । यसैले त गोपिनी अर्थात् जीवात्माहरू वंशीको सम्मोहनले सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावनजसले जीवात्माको भौतिक आधारको भूमिका खेलिरहेको छ तिनको स्थिति अवस्था र निरन्तरताको आवश्यकता बुझ्ने वंशीधर लुकेर हाँसीरहेको भावमा म (काव्यीक पनि) स्नेह र श्रृङ्गार भरिएको पाउँछु । सुरुको व्यमोहवर्षासृष्टि र नवजागृत चेतनाको टक्करावटबाट पैदा भएको छ । यो चेतनको सृष्टिप्रतिको प्रेमपूर्ण प्रतिक्रिया हो, स्थितिको आरम्भ हो किनभने निरन्तरताको रहर यसमा अझै अव्यक्त छ तर अन्तर्निहित छ । वंशीको धून बासी नभएको वा हुन नसकेको अवस्था पनि यसमा प्रष्ट छ किनभने नयाँ नयाँ सुरयसरी लहराइरहेछन् कि यी सुर बन्द हुनु प्रलय हुनु हो, प्राण जडतातर्फ र जड आदिगर्तको अस्तव्यस्ततातर्फ अभिमुख हुनु हो । अनि यी सुर लहराइरहँदा व्यामोहगोपिनीले झैं म पाठकले पनि यस कवितासँगको प्रथम जम्काभेटमा गरेको अनुभव बन्नपुग्छ ।
     तर लय र स्थितिका कुराका सिलसिलामा प्रलयका कुरा नउठ्नु वा नउठाइनु लेखनाथिय मानव संवेदनशीलता हो जुन कुरा तर्क गरी बस्दा निराकारमा पाउन सकिँदैन । पाउने भए त्यो निराकार हुने पनि थिएन ! हो, म संस्कृतिभन्दा अलि पर गएर बोलिरहेको छु । तर गाई, गोरू, कुक्कुर र मानिस समान देख्ने वा देख भन्ने पूर्वेली आध्यात्मिक ज्ञानले मानव गौरवको लांछना गरेको अनुभव मेरो पनि छ किनभने यहाँ समान दृष्टिकोभन्दा करूणाको आवश्यकता ठूलो छ । विविधतामा समानता देख्नु साधुत्व प्राप्त गर्नु हो जुन कुरा न यस कविताका रचनाकारले, न पाठकले प्राप्त गरेको छ । कविले अतीतमुखि भएर सनातन आदर्श स्वीकारेकासम्म बुझिन्छ, तर यसो भन्नु कविको जीवनमा त्यस आदर्श रूपान्तरीत भएको थियो भन्नु होइन । यति राम्रो कलाकारीताले भरेको कविता प्रलयको वर्णन वा भावमा अन्त्य भइदिएको भए अथवा मानिस, कुक्कुर, श्याल र गिद्धसँगसँगै लोप हुनेछन् भन्ने तर्क आइदिएको भए यो काव्यदोष ठहर्ने थियो । कविशीरोमणि लेखनाथ पौड्याल नभएर यसका रचयिता कुनै ब्रह्मज्ञानी साधु, सन्त वा महर्षी हुने थिए । तर लेखनाथ साधु हैन, कवि हो । यस कवितामा मानव अनुभवको (गोपिनीको) यौटा मिठो चर्को क्षणको वर्णन मात्र गरिएको छ जसले गर्दा कविताले दुखाउँदैन, आनन्द दिन्छ । यो त कुनै पनि नास्तिक वा माक्र्सिष्ट पाठकले पनि स्वीकारेर रसास्वादन गर्न सक्ने कविता हो यदि उसले शीर्षककै आधारमा यसलाई नपढ्ने अठोट लिदैन भने ।
                कविता भनेको आस्तिकको वा नास्तिकको लागि मात्र भनेर लेखिदैन । कुनै पनि साहित्य एउटा सर्जकको अनुभव हो; त्यसबाट कसले के लिन्छ भन्ने कुरा आर्कै छ । लेखनाथ जस्था आस्थावान् कविले वंशीधरको प्रशंसा गाउनु सहज थियो; बालकृष्ण सम जस्ता नास्तिक प्रवृत्तिका व्यक्तिकालागि यही कुरा सहज नहुनु पर्ने हो, तर उनले पनि वंशीधरको प्रशंसा अंग्रेजीमा ूत्जभ ागितष्कतुक क्यलनू शीर्षकमा गाएका छन् । उक्त कविताको चर्चा मैले ब् एयलम या क्धबलक बलम इतजभच भ्ककबथक मा गरेको छु । तसर्थ यौटै कविताको आधारमा कुनै पनि कविलाई लेबल लगाउनु अनुचित नै ठहर्छ ।
                यहाँसम्म आइपुग्दा यो कुरा सिद्ध भएको जस्तो लाग्छ कि एकातिर पाठले लक्षित पाठक शिक्षित वर्ग हो भने पाठमै अन्तर्लिखित पाठक कुनै आध्यात्मिक चिन्तनमा सक्षम वा अग्रसर संस्कृतविद् पनि हो । लक्षित पाठकको रूपमा म आदर्श पाठक नभए पनि यौटा हदसम्म सुसूचित पाठकसम्म भएको हुनाले सक्षम पाठक पनि हूँ भन्ने कुरा स्वीकार्न मन लाग्छ ।
                यस अवस्थामा मैले पाठको गहिराईलाई नकार्दै सतहमा मात्र तैरिने अभियान चलाउन कविताको दोस्रो भागलाई यसरी प्रस्तुत गर्न चाहान्छु
त्यो चर्को सुरबाट जागृत बनी तिम्रो गरी खोजनी
घुम्ने रासविलासको रहरमा धीवृत्ति छन् गोपिनी ।
रासलीलाको कथाको निम्ति भावानुकुल शार्दुलविक्रिडितको उचित प्रयोग हुँदाहुँदै पनि यस छन्दले जनजिब्रोको मिठास तप्काउन सकेको छैन । अनि धीवृत्ति छन् गोपिनीभन्दा के बुझिन्छ कुन्नि ? “धीका विभिन्न अर्थमध्ये बुद्धि, मन, विचार, धारणा र कल्पना पनि हुन् । यस कविताका पुनर्जीवन पाएका रचनाकारले कतै यो कविता फलानाका निम्ति लेखेको हूँ नभने तापनि पाठभित्रका संकेतका आधारमा लक्षित पाठक अथवा पाठमै लिखित पाठक जसका स्वभावगत केही गुण पाठमा पाइन्छन् उसले काव्यको शिक्षाप्रद स्वभावलाई स्वीकार्दै धीको अर्थ ज्ञान वा बुद्धि भन्ने बुझेको हुनुपर्छ । त्यसैले लिखित पाठकले यी दुई हरफका अर्थ लगाउँदा आफ्ना नवजागृत ज्ञानले गोपिनीहरूको वृत्ति श्रीकृष्णको खोजमा एकाग्र छ भन्ने अर्थ लाग्न जाने सम्भावना ठूलो छ ।
                तर म अव्दैत वेदान्तबाहिर ज्ञानको अर्थ अनेकौं फेला पारिरहेको हुन्छु र मलाई शव्दकोषले ठडाएको होसियारीको औंलाले अन्य संभावनाहरूतर्फ सचेत गराउँछ । शायद लक्षित अर्थ गोपिनीहरूको मनको प्रवाह प्रेमको धारमा कृष्ण(भक्ति)तिर थियो । शायद उनिहरूको विचारमा यति चर्को सुरघन्काउन सक्ने व्यक्ति प्रेमयोग्य थिए । शायद उनिहरूको कल्पनाले मनकामनापूर्ती गर्ने सन्दर्भमा रासविलासको रहरजगाइदिएको थियो । संभावना अनेकौं छन् । यिनै संभावनामा उनिहरू (म, पाठक झैं) भौंतारिएका अवस्था छ । तर चर्कोविशेषणले कतै सुरको मिठास घटाएको पनि त छैन ? चर्को संगीतले आनन्द भन्दा असंतोष र छटपट पैदा गर्छ र सुषुप्त वा लोलाएको अवस्थाबाट जागृतगराउन सक्छ जसरी कि मन्द धूनले मिठो निन्द्रा र आराम ल्याउन सक्छ । शायद अलि कम चर्को सुर भएको भए रासविलास अझै मिठो हुने त थिएन ?
                शायद म यहाँ फेरि त्यो लक्षित पाठक बन्नबाट पाठमा लिखित पाठकले नगर्ने तर्क गरेर टाडिएँ । तर के यस तर्कमा दम छैन र ? लेखक वा रचनाकार मरेका छैनन् भने लक्षित अर्थ र पाठमा लिखित पाठकको आधारमा मेरो तर्क गलत होला; नत्र यदि लेखक मेरकै हो र म, पाठक, मात्र आजको सन्दर्भमा पाठसँगको अन्तक्र्रियामा उत्रिएको छु भने अर्थको एकलौटी शासनको जमाना समाप्त भइसकेको परिप्रेक्ष्यमा पाठका विविध व्याख्या संभव छन् । सगरमाथा उँचाईको एक्लो अधिनायक बन्न वामन चुचुराहरूले निषेध गरेका छन् ! ऊ अग्ला मध्येका एक बन्ने अधिकार मात्र पाएर संतुष्ट हुनु पर्ने आवश्यकता उत्तराधुनिकताले ल्याएको छ ।
                त्यसैले यो पनि भन्न आँट आउँछ कि आत्मारूपी प्रतीकका रूपमा बाहेक गोपिनीहरूको रासविलासको रहरमाचित्तको कूलो स्त्रीको पुरुषप्रतिको शारिरीक आकर्षर्णदेखि अध्यात्मिक योगसम्मको अर्थको सम्भावनामा लुकेको छ । ग्रामीण समाजमा वनमा हुने प्रेमपूर्वक नाचगान (लीला) आजको शहरीकरण भएपछिको डान्सबारमा हुनु स्वाभाविक हो । दुवैमा आनन्द प्रेरकतत्त्व छ । फरक यत्ति छ म मिथकबाट वा धार्मिक आस्थाबाट फुत्किन नसकुञ्जेलसम्म मेरा र म जस्ताकालागि यस अर्थ गलत ठहर्ने हुँदा विनिर्माणका अभियान पनि गलतनै ठहरिन जानेछन् किनभने म यस संभावनालाई नकारिरहेको हुन्छु । यसैले म पाठकले बुझ्न धेरै बाँकी छ, बौद्धिक क्षमताको विकाश गर्न बाँकी छ ।
                कविताको तेस्रो भागले भने सरल नेपालीमा राम्ररी अवतरण गरेको छ । यसैले यो सुबोध छ । रसरङ्गशव्दले जीवनको उत्सवमुखी प्रवृत्तिलाई स्रष्टाकै स्वभावसँग गाँसेको छ भने सृष्टिको चक्चकीअर्थात् फुर्तीफार्ती वा चमकले स्रष्टाकै स्वभावमा अडेको रहस्य व्यक्त गरेको छ । यसैगरी कविताको चमक पनि कविको व्यक्तित्वमा आश्रित हुन्छ ।
                कविताको यति चर्चा गरिसकेपछि म पाठकले उठाएका केही प्रश्नका प्रष्ट जवाफ दिनु आवश्यक देख्छु । त्यसैले पहिलो प्रश्न फेरि दोहोराउँछु यो कविता र मेरो आजको आवश्यकता वा रूचिकै बीच पनि के सम्बन्ध होला ? ह्दय र मस्तिष्कको दोहोरो यथार्थमा संपूर्ण दर्शनशास्त्र अटाएको छ । कहिले ह्दय माथि पर्छ त कहिले मस्तिष्क । भौतिकवाद र अध्यात्मवादको खेल पनि यही हो । कुनै पनि मानिसभित्र यि दुईका खिंचातानीबाट उत्पन्न तनाव कहिले ह्दयको र कहिले मस्तिष्कको पक्षमा विजयी हुन्छ । कुनै पनि विचारधाराले ह्दय वा आस्थालाई प्रतिगामी र मस्तिष्क वा तर्कलाई अग्रगामी बनाउने प्रयास गर्दैमा यही प्रस्तावनै सत्य ठहरिंदैन । दुईटामा कुनै यौटालाई संपूर्ण नकार्नु वा राजनैतिक लेबल लगाउनु गलत हुनजाने भएकाले नश्वर देह र अमर आत्माको (द्वन्द्वात्मक भौतिकवादकै शव्दावलीमा समेत) संश्लेषणमा मानवजीवन उभिएको तथ्य सर्वधर्ममान्य छ । युगको पनि परिवर्तन हुन्छ कहिले भौतिक र कहिले अध्यात्मिक बन्छ । त्यसैले म पाठकले आफ्ना नास्तिक प्रवृत्तिलाई बढी जोड दिए मात्र यो कवितासँग नाता टुट्ने छ, नत्र मेरो परिवेशबाट नटाढिएको पाठ शायद मेरो आध्यात्मिक आवश्यकताको रूपमा मैले प्रथम पठनमा स्वीकार्न नसकेको मात्र हुनसक्छ । कविताका काव्यीक गुणका आधारमा म पाठकको साहित्यिक अभिरूचिसँग पाठको सम्बन्ध मैत्रिय छ ।
       दोस्रो प्रश्न थियो कृतिमा प्राण भर्ने काम लेखकले गर्छ वा पाठकले ? यस कविताको सन्दर्भमा म पाठकमाभन्दा कविमा बढी आस्था र आध्यात्मिक परिपक्वता पाइएको छ । पाठको प्राण त्यसको अलंकारमार्फत ह्दयस्पर्शीतामा र बौद्धिक आग्रहमा पनि रहेको हुन्छ । अलंकार रचनाकारले कवितालाई लगाइदिने वस्तु हो जसरी कि प्रेम र चिन्तन पनि कवि स्वयंले कवितामा भर्ने तत्त्व हुन्; पाठको बौद्धिक आग्रह पाठकको बुझ्ने प्रयास र उसको बौद्धिक क्षमताद्वारा खुल्दै आउने कुरा हो । कुनै कविता बुद्धि नभएकी सुन्दरी जस्ता हुन्छन्, कुनै बुद्धि भएका जस्ता । बुद्धि र सौन्दर्य दुवै नभएकी नारीको चर्चा आवश्यक छैन । तर सौन्दर्यले आकर्षण गरेपछि मात्र धेरैले बुद्धि पनि छ कि छैन भनेर जाँच्छन् । बुद्धि भएका तर आकर्षण नभएका भाले रूपमा उदाउन खोजेका कतिपय आधुनिक कवितामा लेखनाथिय लालित्य पाइँदैन । त्यसैले कविताको पाठमा प्राण भर्ने काम लेखक र पाठकको संयुक्त अभियान हो ।
                तेस्रो प्रश्न थियो पुनर्पठनका रूपान्तरित पाठ के हुन् र यी पाठले म पाठकमा के परिवर्तन ल्याए ? प्रथम जम्काभेटमा यौटा मिथकमा आधारित संस्कृत परंपराको अध्यात्मवादी र आधुनिकताभन्दा धेरै अगाडिको शायद भक्तिमार्गी अभिव्यक्ति र त्यो पनि नेपाली जनजिब्रोमा सहजता पाउन नसकेर संस्कृतमय जटिलतामा रूमल्लिएको पाठ भनेर झण्डैले पन्छाइसकेको कविताको पुनर्पठनपश्चात् यसमा भौतिकवाद र अध्यात्मवादको दीर्घकालीन द्वन्द्वबाट आफ्नो परिपक्व विश्वासका आधारमा आध्यात्मिकताका पक्षधर स्रष्टाले साग्रह सचेत कलाकारीतासहित मानव यथार्थको रूपकको रूपमा व्यामोहित गोपिनीको दशा वर्णन गर्दै सो दशाको कारण अर्थात् स्रष्टा (कलाकार, कवि) स्वयंको आनन्दको वर्णन गरेको सफल कविताको पहिचान गरिएको छ । साथै शव्द र तीनका संभव अर्थका आधारमा आधिकारिक अर्थ नकार्दै प्रत्येक पाठमा नवीन रहस्य खुल्ने संभावना स्वीकारेको छ । यसो गर्दा पाठले मेरो आफ्नै आध्यात्मिक विश्वासउपर सन्देह घटाएर सो विश्वासलाई र मानव संवेदनशीलतालाई तिखार्ने काम समेत गरेको छ ।
                र अन्तिम प्रश्न थियो कुनै पाठ प्रथम जम्काभेटमा आकर्षक लागेन भने समस्या पाठको हो कि पाठकको हो ? दुवैको हुनसक्छ । तर यस कवितामा भने मूल समस्या म पाठककै भएको ठहराएको छु किनभने धार्मिक अभ्याससँग गाँसिएको अध्यात्मवाद मेरो जीवनको खुराक हैन । यसो भन्दैमा अरूको पनि हुनुहुदैन भन्न गएँ भने म एउटा अगाध अन्धविश्वासको खाडलमा पर्ने छु । साथै, पाठको जटिलता समेत आफूलाई सुसूचित पाठक ठहराउने मेरै समस्या हो । पाठ समस्याजनक त्यस बेला बन्छ जब त्यो क्लीष्टताको चरमसीमामा पुग्छ अथवा क्लीष्टता सहज पारिसकेपछि लागेको अर्थ यति सामान्य हुन्छ कि त्यसले फलको मिठास दिन सक्दैन अथवा भाषा र अलंकारको चहकको अभावमा काव्यकारीतानै हराएको हुन्छ । यस अर्थमा वंशीधरको दिव्य वंशीधेरै समस्याजनक कविता नभएता पनि लेखनाथका उत्कृष्ठ कवितामध्येको एउटा यसकारणले होइन कि कवि शिरोमणिले यस कवितामा आधुनिकतातर्फभन्दा संस्कृत वाङ्मयको परंपरातर्फनै आफ्नो काव्यभार बिसाएको अनुभव पाठकलाई हुन्छ ।