Wednesday, January 13, 2021

मैले हाइकु भनेर जे बुझेको छु

 पद्म देवकोटा


    नेपालीले लेखेका धेरै हाइकु फेसबुकमा पढ्ने अवशर पाएपछि मेरो आफ्नो बुझाई र यस नेपाली व्याप्त  प्रयोगबीचको अन्तर केलाउने इच्छा जाग्नु स्वाभाविक हो । धेरै जसो हाइकु जेसुकै विषयमा पनि ५–७–५ अक्षर गनेको भरमा लेखिएको देखेपछि मेरो पहिलो प्रतिक्रिया यस्तो थियो :– 

        अक्षर गने

            हाइकु हुँदो रैछ –

                जेसुकै भनू

अर्थात् विषयवस्तुभन्दा संरचना र अझ अक्षरगिन्तिनै बढि महत्त्वपूर्ण भएको देख्दा मलाई चित्त बुझेको थिएन । मैले बेलाबेलामा कुनै लहडमा केही हाइकु लेख्ने जमर्को नगरेको होइन । यसपाली बढी अर्थपूर्ण तवरले केही हाइकु लेख्ने प्रयास गर्न मन लागेको थियो, तर जे लेखें तिनमा कतै केही अपूर्णताको आभास रहिइनै रह्यो । जस्तो कि,

            पहाड सोध्छन्

                खै ती हरिया फाँट –

                    शहर हाँस्छ

यस “हाइकु”को विषय वस्तु हेर्दा अतीतको विश्व गुमेको पीडा प्रष्ट भए तापनि वर्तमानमा बदलिएको विश्व प्रफुल्ल छ । विरहभावलाई हर्षले जितेको छ जसले गर्दा गाँठी हाइकुको लक्षबाट यो उछिट्टिएको छ भने संरचनागत हिसावले पनि दुईवटा विम्ब र एउटा उक्तिको आवश्यकता यसले पूरा पार्न सकेको छैन । 

    यसो भन्दा म परंपरागत जापानी हाइकु सम्झिरहेको छु जसमा विचारभन्दा विम्बको ठूलो भूमिका छ । पहिलो र दोस्रो हरफमा दुईवटा यस्ता विम्ब आवश्यक छन् जो व्यापक र साधारण, प्राकृतिक र मानविय, अथवा सोचेकोभन्दा फरक किसिमले समान देखिने र एक आपसमा मिलेका विम्ब जसउपर तेस्रो हरफमा आएर कविको उक्ति थपेपछि त्यसले पूर्णता पाउँछ । यसरी हेर्दा हाइकुका दुई भाग हुन्छन् – विम्ब र उक्ति । पहिलो विम्बपछि कुनै चिन्ह (जस्तो कि –) राखिन्छ जसले पाठकलाई यहाँ एकैछिन विश्राम गरेर सो विम्बमाथि ध्यान गर्न समय दिन्छ र त्यस पछि दोस्रो विम्बको औचित्य बुझ्न सहायता गर्छ । यसरी हाइकुमा भनिएको कुराभन्दा नभनिएको कुरा थप महत्त्वपूर्ण हुन्छ । अनि सो नभनिएको कुरा प्राय: वाबि–साबि अथवा त्यस्तै कुनै महत्त्वपूर्ण दर्शन अनुसार मनन गरिएको भावसँग मिल्नुपर्छ । वाबि–साबि जापानी बुद्धमार्गसँग मिल्दो यस्तो सोच हो जस अनुसार साधारण र करीव प्राकृतिक जीवनसँग संतुष्टि लिने स्वभाव र सबै वस्तुको अनित्यता नभुल्ने चेतनासँग गाँसिएको हुन्छ । साथै यसको सौन्दर्यानुभूति अपूर्णतासँग गाँसिएर मात्र आउनसक्छ । महलमा महफिल जमाउनेले हाइकु लेख्दैन; प्रकृतिमा विहार गरेर सामान्य जीवन जिउनेले लेख्छ । त्यसैले हाइकुमा प्रकृति हुन्छ, सेनर्‍युमा समाज ।

    यसरी जगत र जीवनको अनित्यतासँग गाँसिएको भाव व्यक्त गर्न शब्द र स्वरमा पनि सोहि अनुसारको ध्यानशील वैराग देखिनु आवश्यक छ । यसैलाई संभव पार्न उपमा र रूपकको प्रयोगभन्दा विम्बको प्रयोगलाई महत्त्व दिइन्छ । यसरी तयार गरिएको हाइकुमा सक्दो छोटो अभिव्यक्तिमा खाँदिएको भावबाट पाठकको ध्यान अन्त नजाओस् भन्नकालागि अन्त्यानुप्रासको प्रयोग गरिदैन भने अनेकौं विरामचिन्हका प्रयोगसमेत गरिदैन । केवल दुईवटा विम्बका बीचमा पाठकलाई विम्ब मनन गर्न समय दिन कुनै एउटा विरामचिन्हसम्म राखिन्छ । 

    यस प्रकारको करीव भिक्षु–जीवनका नियम जस्तै कडा नियम पालना गर्ने परंपरागत जापानी हाइकु लेख्न जो कोहीले सक्दैन । एकातिर वाबि–साबिको दर्शन र अर्कोतिर हाइकुको संक्षिप्तमा गहन भाव व्यक्त गर्नसक्ने क्षमतासँग प्रभावित विश्वले यस काव्यिक परंपराको अनुसरण गर्ने प्रयास गर्नु कुनै नौलो कुरा भएन भने सो अनुसरण गर्ने प्रयासमा कमीकमजोरी आउनु पनि शायद स्वाभाविक नै थियो । त्यसैले अन्तर्राष्ट्रिय जगतमा हाइकु लेख्ने क्रममा विम्बलाई कायम गरेर संरचनामा आफ्नो मातृभाषाको स्वभाव अनुसार हेरफेर गरेर संक्षिप्ततालाई महत्त्व दिनु कुनै नौलो कुरा थिएन । नेपालमा भने हामीले अक्षर गन्ने कामलाई मात्र धेरै महत्त्व दिएर कतै हाइकुको सार गुमाउन जाँदैछौं कि भन्ने मेरो मनको त्रासले गर्दा मैले हाइकु लेख्न नसकेको होला । मेरो पहिलो प्रतिक्रिया त्यसकै नतिजा होला । अनि मैले हाइकुका नियम पालना गर्ने प्रयास गर्दा निस्किन्छ यस्तो वस्तु जसलाई म आफैले सन्देहका नजरले हेर्छु ।

            बादल छानो –

                तप्किन्छ चीसो घाम

                    पुषको जाडो 

हो, यसमा पहिलो र दोस्रो हरफमा गरी दुईवटा विम्ब छन् र तेस्रो हरफमा आफ्नो भनाई पनि राखेको छु । ऋतुसंकेतात्मक शब्द “पुष” महिनाको पनि नाम हो । महिनाको नाम भन्दा “वरफ” जस्तो शब्द राख्नसके बढी उचित हुने थियो होला ।

    यिनै कारणले पनि मैले आफ्ना फेसबुकमा यसभन्दा अगाडि पोष्ट गरेका तीन हरफे कविता हाइकु हैनन् भन्दै आएको हूँ । कसैलाई काव्य लेख्नु छ भने “हाइकु”कै फेसनमा किन देखा पर्नुपर्‍यो र ? यो त छन्दको फेसन जस्तै भयो । छन्दमा कविता लेख्न नजान्ने जति कवि हैनन् र ? छन्द त शिल्प हो, काव्य हैन । यसरी नै हाइकुको संरचना शिल्प हो । काव्य भावमा छ, शिल्पमा हैन । तर पात्र अनुसार काव्यले पनि आफ्नो रूप बदल्छ । त्यसले कवि यस अर्थमा राम्रो शिल्पकार पनि बन्न सक्नुपर्छ । यसको यौटै उपाय हो सचेत अभ्यास । नयाँ कुरा सिक्न कुनै पनि उमेरको मानिसलाई गार्‍हो हुन्छ । यस्तो अभ्यास गर्ने दु:ख नगर्ने सोच भए छोटाछोटा गद्य कवितामै आफूलाई व्यक्त गरे भइहाल्छ । 

    यस अनित्य जगतमा काव्य सिर्जना नगरी कुनै व्यक्ति गएछ भने पनि के भो र †

            बेनामी फूल !

            न सुवास, न सुरङ,

            एक्लै हावामा झुलिरहन्थ्यौ,

            एक्लै दङ्ग !


मैतिदेवी

पुस ३०, २०७७