Showing posts with label Comment. Show all posts
Showing posts with label Comment. Show all posts

Friday, August 6, 2021

जगमान गुरुङलाई फेसबुकमा जवाफ

 २०७८ श्रावण २२ शुक्रबारको “नयाँ पत्रिका”मा “नयाँ पुस्ताले देख्न पाउने छैनन् महाकवि देवकोटाको घर” शीर्षकको लेखमा फेरि पनि महाकविका छोराछोरीलाई दोषी देख्ने प्रवृत्ती छर्लङ्गिएको छ । अरू सामान्य मानिसले बोलेको भए म यो जवाफ लेख्ने थिइन, तर नेपाल प्रज्ञा–प्रतिष्ठानका उप–कूलपति जगमान गुरुङले “पद्म देवकोटाले म जन्मिएको घर भत्काउँदा दु:ख लागेको बताउँदै आउनुभएको रहेछ । सरकारबाट पैसा लिएपछि यसो भन्नु राम्रो होइन, कि त पैसा नलिएको भए हुन्थ्यो” भनिसकेपछि म चुप लाग्न सकिन । मैले आफूले अनुभव गरेको दु:ख मेरो आफ्नै फेसबुकमा व्यक्त गर्नु गल्तिभयो भन्ने हैसियत के उहाँ उप–कूलपति भएवापत आएको हो ? अनि के देवकोटा परिवारले चाहिँ सो घरजग्गा सित्तैमा सरकारलाई दिनुपथ्र्यो भन्ने उहाँको भनाई हो ? उहाँलाई यति पनि थाहा रहेनछ कि सो घरजग्गा “तीन करोडभन्दा बढी मूल्यमा”मा हैन कि दुई करोड पचास लाखमा बेचेको हो । अनि सो रकम पद्म देवकोटाले मात्र बैंकमा लुकाएको छैन । 

साथै, जगमान गुरुङले बताउनु भएको रहेछ, “छोराछोरीले घर संरक्षण गरेको भए प्रतिष्ठानले उक्त घर भत्काएर नयाँ घर बनाउन हातै नहाल्ने” थियो । यस्ता कुरा बताउनु हुने जगमान गुरुङलाई मेरो एक प्रश्न छ – २०४८ सालमा घरको छानो चुहिएर घरै भत्किने स्थिति आउँदा कस्ले छानो फेर्‍यो होला ? 

क) नेपाल सरकारले

ख) नेपाल प्रज्ञा–प्रतिष्ठानले

ग) जगमान गुरुङले 

घ) महाकविका छोराछोरीले ? 

साउन २२, २०७८