Showing posts with label Recollections of the past. Show all posts
Showing posts with label Recollections of the past. Show all posts

Monday, September 27, 2021

अमेरिकाको गाउँमा फेला परेको टेप

“इतिहासकार खनालले अमेरिकाको निर्जन गाउँमा भेटे नेपाली साहित्यको दुर्लभ सामग्री” शीर्षकमा सुदीप श्रेष्ठको “सेतोपाटी”मा प्रकाशित लेख पढ्न पाउँदा मलाई विगतको त्यस दिनको याद आयो जुन दिन म र मेरा कान्छा फुपाज्यू अनङ्गनाथ पौडेलका कान्छा छोरा रविदाज्यू उहाँकै आग्रहमा उहाँका मित्र मोहनप्रसाद खनालको बानेश्वरस्थित घरमा गफ गर्दै हिंडेर पुगेको थियौं । हाम्रो लक्ष थियो उहाँले अमेरिकामा संगोगवश पाउनुभएको महाकवि देवकोटाले बोलेको टेप संभव भए प्राप्त गर्ने, नत्र त्यसको बारे केही जानकारी लिएर केही अंश सुन्ने । मोहनप्रसाद खनालसँग मेरो यस अघि भेट भएको थिएन, तर उहाँ पनि त्रिभुवन विश्वविद्यालयमै पढाउने मानिस हुनु भएकोले मलाई उहाँसँग कुरा गर्न सजिलो लागेको थियो ।

हामी दाज्यूभाई उहाँको घरमा पुग्यौं र उहाँले पनि हामीलाई एक तलामाथिको वैठकमा स्वागत गर्नुभयो । साधारण कुराकानी पश्चात् उक्त टेपको कुरा उठ्यो । उहाँले सो टेप कसरी उहाँको हातलाग्यो भन्ने कथा सुनाउनु भयो । मैले त्यस दिन माथिको लेखमा मोहलप्रसाद खनालले हालेको कथा सुन्ने अवशर पाएको थिएँ । अन्य साहित्यकारसमेतका पाण्डुलिपिका कथा भने उहाँले बताउनु भएको थिएन जस्तो लाग्छ किनभने मेरो संपूर्ण ध्यान उक्त टेपमै थियो । कथा पनि टेपमै सिमित भयो । मैले सो टेप पाए आफूले त्यसलाई सुरक्षित राख्ने र त्यसको कुरा उतार्ने प्रस्तावसमेत राखेँ । उहाँले टेप मलाई दिन चाहानुभएन । भन्नुभयो, यो कुनै राम्रो संस्थालाई सुम्पिनु पर्ला जसले त्यसको सम्भार गर्न सकोस् । कुरा ठीक थियो । त्यसपछि मैले सो टेपको केही अंश सुन्ने ईच्छा व्यक्त गरेँ । उहाँले सो टेप सार्‍है कमजोर स्थितिमा रहेको र त्यसका केही भाग एकअर्कामा टाँस्सिएका पनि हुँदा त्यसलाई सिसाकलमले नचुँढिने गरी बिस्तारै घुमाएर चल्ने स्थितिमा ल्याउनु पर्ने कुरा बताउनुभयो । केही अंश त चल्थ्यो पनि क्यार, तर भन्नुभयो, “म पहिले श्रीधर लोहनी जस्ता अंग्रेजी बुझ्ने मानिसलाई सुनाउन चाहान्छु ।” श्रीधर लोहनी मेरा आदरणीय गुरु हुनुहुन्छ । तर अंग्रेजी त म पनि बुझ्थें जस्तो लागेको थियो । 

अन्त्यमा हामी दाज्यूभाई कथा मात्र सुनेर फर्कियौं । बाटोमा दाज्यूले भन्नुभयो, “उसले दिंदैन । तिमीलाई देला जस्तो लाग्यो ? अलिकति प्रचार खोजेको जस्तो छ ।” म चुप लागें ।

सो सामग्री आजसम्म सुरक्षित राखिदिनुभएकोमा प्राध्यापक मोहनप्रसाद खनाललाई मुरीमुरी धन्यवाद छ !