Thursday, November 17, 2011

लक्ष्मीप्रसाद देवकोटाको चीनको डायरी

पद्म देवकोटा

महाकवि लक्ष्मीप्रसाद देवकोटका जीवनीकार नित्यराज पाण्डेले २०१० साल श्रावण १४ गते नेपाली बुद्धिजीवीको प्रतिनिधि मण्डल वुखारेष्टमा हुन लागेको चौथो विश्व युवक महोत्सवमा भाग लिन स्विजल्र्याण्ड र हङ्गेरी हुँदै श्रावण १८ गते त्यहाँ पुग्दा सो महोत्सव सुरु भइसकेको कुरा बताउनु भएको छ । यो प्रतिनिधि मण्डल त्यहाँ करीव २० दिन बसेर “भाद्रको ८ गते ताका” रूस तर्फ प्रस्थान गरेको, मास्कोमा दुइ दिन बिताएर पूर्वी रूस हुँदै असोज १५ मा चिनिया राष्ट्रिय दिवसमा भाग लिन पेकिङ पुगेको र १९ गतेदेखि चीनका विभिन्न हङकङ, उहान, नान्किन जस्ता प्रान्तहरू घुम्दै र कलकत्ता हुँदै कात्र्तिकको दोस्रो हप्तातिर काठमाण्डु फर्किएपछि तीनधारा पाकशालामा आयोजना गरिएको आमसभामा देवकोटाले दुई घण्टा लामो यात्रावर्णन गर्नु भएको कुरा पाण्डेले बताउनु भएको छ (३६) । चूडामणि बन्धुले यसैलाई आधार बनाएर यिनै मिति देवकोटामा दोहोर्यालउनु भएको छ (३५२–३५३) । यस यात्रा बारे थप आधिकारिक चर्चा नेपाली बुद्धिजीवी प्रतिनिधि मण्डलका नेता पूर्णबहादुर एम.ए.ले २०२५ सालमा “देवकोटाज्यूको अभाव” शीर्षकको संस्मरणमा यसरी गर्नु भएको छ –
१९५३ मा रूमानियाँमा हुने चौथो अन्तर्राष्ट्रिय युवक महोत्सवमा भाग लिन युवक सङ्गठनका तर्फबाट मलाई निम्ता आएको थियो । तत्कालीन प्र.म. मातृकाप्रसाद कोइरालासँग त्यस विषयमा अपर्झट कुरा हुँदा “तपाईं नै जानु हुन्छ भने, हुन्छ, नत्र अरूलाई पठाउन गार्होय पर्ला” भन्ने कुरा उहाँले गर्नु भयो । त्यस बेला आफ्ना युवक र विद्यार्थीहरूसँग कुरा हुँदा उनीहरू यस्तो सुनौला मौका किन छाड्थे । मैले देवकोटाज्यूको नाउँ पनि समावेश गरी त्यस बेलाका मन्त्री र मेरा अनन्य साथी श्री त्रिपुरवरज्यूलाई देखाउँदा अघिको जनाउ विपरीत नै उहाँले १० जनाको शिष्टमण्डलका लागि स्वीकृति दिनुभयो । (४२८)
यो टोली कलकत्ता भएर यात्रा थालेको छ र कलकत्तामा देवकोटाले होल्ड अल किनेको विवरण पनि पूर्णबहादूरले गर्नु भएको छ ।
तर आज हामीलाई उहाँको जीवनीकारले भन्दा देवकोटा स्वयंले यस करीव तीन महिना लामो यात्राको बारे आफ्नो २०१० साल असोज ६ देखि कात्र्तिक १ सम्म चीनमा लेख्नु भएको डायरीमा धेरै कुरा बताउनु भएको छ । रातो गाता पल्टाउनासाथैको पृष्टमा जवान माओ चेतुङ्को फोटो रहेको यस ३३२ पृष्टको चिनिया डायरीमा देवकोटाले ३१२ पृष्टमा आफ्ना भ्रमण विवरण लेख्न भ्याउनु भएको छ । यसको प्रथम १२ पृष्टमा मास्कोको सम्झना उतारिएको छ भने त्यसपछि बाँकी संपूर्ण चीनको भ्रमणको वयान रहेको छ । असोज ६ गते नेपालीमा लेख्न सुरु गरेको डायरीमा संभवत विषयवस्तुको कारणले अंग्रेजी शब्दहरू पर्दै गएका छन् र दोस्रो पृष्टदेखि नै बाँकी सिङ्गो डायरी अंग्रेजीमा लेखिएको छ । यस डायरीमा बराबर अंग्रेजी शब्दको संक्षेप्तिकरण गरिएको छ र यसरी संक्षिप्तमा लेखिएका अंग्रेजी शब्दहरूका पूर्ण रूप के होला भन्ने अड्कल काट्न कहिलेकाहीँ कठिन पनि हुन गएको छ । यस डायरी सुरु भएको प्रथम प्रवृष्टि हेरौँ –
22nd Sept. 1953
मास्कोलाई ६ सि. रवाना . ११ वजे वेलुका . नेदेल्कुलाई भेटिएन . भोलीपल्ट अपरान्हमा रूमानियाको सीमाना स्टेशन पुगेर गाडी फेरि, ९ ता.मा मास्को पुगियो . साँझतिर नेपाली साथीहरू भेटिएनन् . राती बोल्सोइ थिएटरमा भि. वोसले ३ जना नेपाली त्यसै रात रवाना भएको खबर दिए . मास्कोमा जम्मा ९, १०, ११, १२ ता.सम्म वसेँ . (पाण्डुलिपि १)
यसरी नेपाली धर्के पूर्णविरामको सट्टा थोप्ले पूर्णविरामको प्रयोग गर्दै नेपालीमा लेख्न सुरु गरिएको डायरी अंग्रेजीमा लेखिन पुगेको छ । तर त्यसभन्दा महत्त्वपूर्ण कुरा के छ भने सर्वप्रथम नित्यराज पाण्डेले दिनु भएका केही मिति र तथ्याङ्क यस डायरीका आधारमा सच्चाउनु पर्ने देखिन गएको छ । यसको चर्चा विस्तार गर्ने छु ।
नेपाली बुद्धिजीवीको प्रतिनिधि मण्डलको तीन महिने युरोपेली तथा एसियाली भ्रभणलाई तीन चरणमा विभाजन गरेर हेर्ने हो भने प्रथम चरणले २०१० साल श्रावण १४ गते यस टोलीले नेपाल छोडेर युरोपको भ्रमण गर्दै रूमानियाको राजधानी बुखारेष्ट पुगेको र रूमानियामा ३७ दिन बसेको समयावधिलाई बताउँछ । दोस्रो चरणले चेकोस्लोभाकिया हुँदै रूस प्रवेश, मास्कोको बसाई र पूर्व रूसको लामो रेल यात्रा गरेको समयावधिलाई बताउँछ । अनि, तेस्रो चरणमा गएर चीन प्रवेश र त्यहाँ भित्रका अनेकौं प्रान्तका भ्रमण बताउँछ । देवकोटाले चीन प्रवेश गरिसके पछि मात्र यो डायरी लेख्न सुरु गर्नु भएको हो र यस डायरीमा चौथो विश्व युवक महोत्सवको महत्त्वपूर्ण उल्लेख २०१० असोज १४ को प्रवृष्टिको एक ठाउँमा मात्र गरिएको छ ।
यहाँनिर दुईवटा कुरा उठाउन चाहान्छु । एक, देवकोटाले अकस्मात २०१० असोज ६ गते (तद्नुसार सेप्टेम्बर २२, १९५३) का दिनमा मात्र डायरी लेख्न सुरु गर्नु भएको प्रमाण साथमा हुँदहुँदै यसभन्दा अगाडिका नेपाल छोडेको मितिदेखि गन्दा पचपन्न दिनसम्म उहाँले के लेख्नु भयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यस प्रश्नको जवाफ चूडामणी बन्धुले दिनुभएको छ – “देवकोटाले आफ्ना गीतहरू लेखेको एउटा हरियो कागतको कापीमा त्यस भ्रमणका अपूर्ण दैनन्दिन टिपोटहरू छन् । ... त्यसमा परेको ... गीतहरू भ्रमणकै अवसरमा रुमानियाँ, रुस वा चीनमा लेखिएका हुन सक्छन्” (३५३) । २६ दिनमा ३१२ पृष्टको डायरी लेख्ने देवकोटाले यही गतिमा अरू दुइवटा यात्राको डायरी लेख्न भ्याउनु पर्ने हो जस्तो लाग्छ । तर बीचका पचपन्न दिनका बन्धुले उल्लेख गरेको “हरियो कागतको कापी” बाहेक अन्य लेख वा डायरी के छन् भन्ने कुरा हामीलाई थाहा छैन । पाण्डेको अनुसार देवकोटाको अंग्रेजीमा लेखिएको यौटा कविता “महोत्सवको पत्रिकामा पनि निस्केको थियो” (३६) र यही कुरा पूर्णबहादूरले पनि बताउनु भएको छ (४२९) । त्यसैले उहाँले यी पचपन्न दिनमा लेख्नुभएका अन्य सामग्री पनि थिए भने ती के थिए भन्ने कुरा यौटा खोजको विषय बन्न सक्छ । अनि, दुई, “भि. वोसले ३ जना नेपाली त्यसै रात रवाना भएको खबर” दिएको तथ्य केही हदसम्म अनौठो लाग्न सक्छ । यसको निराकरण पूर्णबहादूरको लेखबाट हुनु पर्ने हो । उहाँ लेख्नुहुन्छ, “महोत्सवमा हामीहरूमध्ये ५ जनालाई चीनको प्रतिनिधि मण्डलले चीन यात्रा गर्ने निम्ता दिएको थियो र त्यसमा श्री देवकोटाज्यूको नाउँ पनि समावेश थियो” (४२९) । तर ५ जना चीन जाने भएको खण्डमा अरू ५ जना सँगै हिंड्नु पर्नेमा किन तीन जना मात्र एक समूहमा हिंडे होलान् भन्ने प्रश्न उठ्छ । के यस नेपाली बुद्धिजीवी प्रतिनिधि मण्डलका सदस्यहरू वुखारेष्टको महोत्सव सकिएपछि आ–आफ्नै स–साना समूहमा बेग्लाबेग्लै यात्रा गर्न थालेका त होइनन् ?
x x x
असोज ६ गतेकै प्रवृष्टिले देवकोटाले मास्कोमा थ्रि–डाइमेन्शनल् सिनेमा हेरेको तथ्य यसरी बताउँछ –
मास्को सिनेमा विचित्र नवीनता देखाँउथ्यो । पहिले अलि आँखा खाएर धमीला टाटा नाचे जस्तो भयो । यो ३ dimension को थियो । गहीरो टाढासम्म र लम्बाई चौढाई यो सब देखिने तर सानो पर्दा जस्तो । यो डिजाइनको आविष्कारक Ivanov थिए । स्तालिन पारितोषिक पाए । पहिलो १९४१ मा देखाइयो । उत्ति असल थिएन । १९४७ मा उन्नत रूपको बनाए । पर्दा ऐना थियो । अरव देशमा यस्तो सिनेमा विशेष चश्माद्वारा मात्र हेर्न सकिन्छ । यस वर्ष अरू यस्ता २ सिनेमा रहने छन् । पछि अरू ६ पनि कल्पित छन् । फिल्म सर्वरँगा । दृश्य प्राकृतिक अतिसुन्दर । दुइ फोटो खिचिन्छ रे । १ दायाँ १ वायाँ आँखाको निमित्त । यी दुइ एकसाथ प्रोजेक्ट गरिन्छन् । पर्दा तल अरू पदार्थ र बाहिर ऐना छ । २ ह १८ cm । फिल्म एकै दुइ तर्फवाट दिइन्छ । यसको विकाश तथा उन्नतिको निमिक्त विशेष संस्था बनाएर अध्ययन र खोज गरिँदैछ । अपरेटरको technical skill बढाउनु पर्दछ । Louis Lumier नामका पुरूषले तीन डी चित्र कल्पना गरेथे रे । हामीले “May Night” नामक वदच्चलच्चित्र हेर्यौँ । (पाण्डुलिपि १–२)
यो संभवत् लेनिन सिनेमा हलमा हेर्नु भएको थियो । माथिको विवरणले देवकोटाले सिनेमाबाट मनोरञ्जन मात्र नलिएर यस बारे बौद्धिक जिज्ञासासमेत राख्नु भएको कुरा प्रष्ट पारेको छ । थ्रि–डी सिनेमा प्रथमबार कल्पिने व्यक्ति, रूसमा त्यसको डिजायन आविष्कारक, सिनेमा बनाउने तरीका, हेर्ने सामग्री र दर्शकको अनुभवसमेत संगेटेर एकसाथ यौटा प्रवाहमा बगेको वर्णनले देवकोटाको बौद्धिक जिज्ञासाको आर्को उदाहरण दिएको छ ।
शुक्रबार भदौ २६ गतेका दिन मास्कोको लेनिन म्युजियमको पलिटेक्निक, कम्युनिकेशन्स्, टेले–मेशिन्स्, आदि खण्डहरू हेरेर तीनका बारेमा देवकोटाले विस्तृत जानकारी बटुल्नु भएको छ । यसपछि नेपाली टोली पर्यटक बसमा मास्को शहर घुम्न गएको वयान छ । र यही सन्दर्भमा शहरका संस्थापक मानिने युरीको उल्लेख बाहेक त्यस शहरको इतिहास र त्यसका हेर्न लायकका स्थान, क्षेत्रफल, जनसंख्या आदिको सूचनाले डायरीका पाना भरिएका छन् । अनि पूर्वी रूसभित्र दक्षिण साइबेरियाको बाइकाल ताल, जुन विश्वको सबैभन्दा ठूलो र गहिरो पनि हो, त्यसको किनारै किनारबाट प्रतिघण्टा ४५ देखि ५० किलोमिटरको गतिमा कुदेको रेलले सो ताल पार गर्न लगभग ८ घण्टा लगाएको कुरा देवकोटाले बताउनु भएको छ ।
x x x
अब चीनको खण्डतिर लागौँ । २०१० साल भदौ २७ गते शनिबारका दिन बेलुकी ५ बजे मास्कोबाट चीनतर्फ यात्रा सुरु गरेको प्रवृष्टि पनि असोज ६ गते नै लेख्न बस्नुभएको छ । आठ दिन लामो रेल यात्रा गरेर आइतबार असोज ४ गते राती साढे दश बजे चीनको सीमान्त स्टेशन मन्चुलीमा पुगी त्यहीँ एक रात बिताउनु भयो । चीन पुग्दाको नौलो अनुभव उहाँले यसरी बताउनु भएको छ –
चीनमा पस्दा हामी यौटा निकै भिन्न विश्वमा पस्यौं, आजसम्म कल्पना नगरिएको । प्रशस्त हार्दिक तथा लोकप्रसिद्ध आतिथ्य र आराम र सरसफाई र व्यवस्था, तर स्टेशनका घर र भवनहरू निकै साना थिए, चर्को मितव्ययिता यौट विचित्रको उदारतासँग मिसिएको । वातावरण परिवर्तित भयो । मुस्काएका चिनिया चेहराहरू, खुसी तुल्याउन तयार, नेपालका गोर्खालीहरूको जस्तै विशेषता । (पाण्डुलिपि १३)
सोमबार ८ गते दिउँसो ३ बजे नेपाली टोली रेल चढेर पेकिङतर्फ जाँदा देवकोटाले सो रेलको बयानसमेत गर्न भ्याउनु भएको छ । रूसी रेलका डिब्बा आरामदायी देखिन्थे, तर चिनिया रेलका डिब्बामा उहाँले आराम अनुभव गर्नु भएको बताउनु हुन्छ । उत्तर–पूर्व चीनको सबैभन्दा ठूलो मध्येको हार्बिन नाम गरेको औद्योगिक शहरमा बगेको नदीलाई लिएर आफूले देखेका नदीहरूमध्ये सबैभन्दा फराकिलो र सुन्दर भनेर बयान गर्नुहुन्छ । यसरी यात्रा गर्दै जाँदा हार्बिनमा जस्तै चाङ्ग चुङ्गमा पनि दिउँसो साढे एक बजे नेपाली टोलीलाई युवा समूहले स्वागत गरेको छ । र टियनसिनमा फूलका गुच्छा दिंदै र गीतहरू गाएर नेपाली टोलीलाई चिनिया युवावर्गले स्वागत गरेको छ । यस प्रकारले ठाऊँठाऊँमा स्वागत पाउँदै मुक्डेनमा साढे छ बजे र करीव साढे आठ बजेतिर पेकिङमा नेपाली टोली पुगेको छ ।
यस विवरणबाट के प्रष्ट हुन्छ भने देवकोटाको चीनको डायरीको आधारमा नित्यराज पाण्डेले बताउनु भएका केही मिति र तथ्याङ्क संशोधन गरिनु पर्ने आवश्यकता पैदा भएको छ । सर्वप्रथम, वुखारेष्टमा नेपाली बुद्धिजीवी प्रतिनिधि मण्डल २० दिन नभएर ३६ दिन बसेर राती ११ बजे वुखारेष्टबाट मास्को तर्फ प्रस्थान गरेको थियो । ३७ सौं दिनको अपरान्हमा सीमाना स्टेशन पुगेर गाडी फेरेको हो । मास्को जान चेकोस्लोभाकिया हुँदै गएको कुरा पनि पूर्णबहादूरको लेखमा उल्लेख गरिएको छ (४२९) । दोस्रो कुरा, सो टोली मास्कोतर्फ प्रस्थान गरेको मिति पाण्डेले बताए अनुसार भाद्र ८ (सेम्टेम्बर २४, १९५३) नभएर डायरी अनुसार भाद्र २१ गते (सेप्टेम्बर ६ तरीख) थियो । तेस्रो कुरा, मास्कोमा देवकोटा २ दिन हैन कि भदौको २४–२७ सम्म गरी जम्मा चार दिन बस्नु भएको छ । र, अन्त्यमा, पाण्डेले असोज १५ गतेको चिनियाँ राष्ट्रिय दिवसमा भाग लिन प्रतिनिधि मण्डल पेकिङमा पुगेको कुरा बताउनु भएको छ, तर १५ गतेकै दिन त्याहाँ पुगेको हो भनिएको छैन । डायरीको आधारमा पनि पेकिङ पुगेको मिति असोज ६ गते –तदनुसार सेप्टेम्बर २२, १९५३) हुनुपर्छ किन भने सोही दिनको प्रवृष्टिमा “At Peking” (पाण्डुलिपि १५) भन्ने शीर्षकमा छोटो टिपोट पनि परेको छ ।
यहाँ पूर्णबहादुर एम.ए.को चीनको संस्मरण रोचक र सान्दर्भिक छ, तर छोटो छ –
त्यसपछि चेकोस्लोभाकिया रूस आदि हुँदै मस्कोबाट ट्रान्स साइबेरियन रेल चढेर सेप्टेम्वरको पहिलो सातामा हामीहरू पेकिङ पुग्यौं । देवकोटाज्यूको मनस्थिति र मिजास यत्तिका बीचमै धेरैनै राम्रो हुँदै आएको थियो । हामीहरू चीनमा झण्डै दुई महिना बस्यौं र अक्टोबर महोत्सवमा सामेल हुनाका साथै रमाइला २ ठाउँहरू, गाउँ शहर, कृषि उद्योग आदि हेर्यौंह र अध्यक्ष माओ–त्सेतुङसित भेटने अवसर पनि पायौं । शांघाइमा वहाँले रेडियोबाट चीन भ्रमणका विषयमा आफ्नो विचार प्रकट गर्नु भएको थियो, जसबाट के थाहा हुन्छ भने वहाँमा त्यस भ्रमणको निकै गहिरो प्रभाव परेको थियो । हामीहरूसित कुरा हुँदा अध्यक्ष माओप्रति चिनियाँ जनताले देखाएका श्रद्धा उल्लास देखेर वाहाँ भन्नु हुन्थ्यो – याहाँ माओ–त्सेतुङलाई हामीले पशुपतिनाथलाई मानेको भन्दा पनि बढी मान्दा रहेछन् । (४२९)
देवकोटाको डायरीमा लेखिए अनुसार भदौ २७ गते अर्थात् सेप्टेम्बर १२ मा मास्को छोडेर असोज ४ गते अर्थात् सेप्टेम्बर १३ तारीखका दिन मन्चुली पुगेको उल्लेख ठीक हो भने पूर्णबहादूरले भने झैं सेप्टेम्बरको पहिलो साता उहाँहरू पेकिङ पुगेको हुन सक्दैन ।
देवकोटाले भने आफ्ना डायरीका पन्नामा लामालामा विवरण लेख्न पनि भ्याउनु भएको छ । पेकिङ पुगेपछि देवकोटा लेख्नुहुन्छ –
पेकिङमा
आश्चर्यलाग्दा साना घरहरू र पुराकालको पर्यावरणसाथै अनौठो आधुनिकता । चिनिया चिनिया नै हुन् । ती कहिल्यै पनि अरू केही होइनन् । अनन्य संस्कृति । पेकिङका अग्ला भित्री र बाहिरी पर्खाल देख्यौं ।
पेकिङमा ... नाम गरेको चिनिया रेष्टुरेन्टमा राखियौं – चारपाटे चोक भएको नेपाली विहार जस्तो देखिने – भुईंतलामा कोठाहरू तर मास्कोमाभन्दा राम्रोसँग सजाइएको – चप्पल, मञ्जन र बुरुस, विभिन्न रुमालहरू, ओछ्यान र सबै कुरा भएको । (पाण्डुलिपि १५)
यहाँ चाइनामा देवकोटा प्रवेश गर्दा जुन उहाँले देखेका चिनियाहरू गोर्खाली जस्ता लागेका थिए ती अब केही बढी दिन चाइनाभित्र रेल यात्रा गर्दै र चिनियाहरूको सांस्कृतिक भिन्नताको अध्ययन गर्दै पेकिङ आइपुग्दा देवकोटालाई अब चिनिया गोर्खाली जस्ता नभएर चिनिया जस्तै देखिन गएका छन् । तर चारपाटे चोक भएको चिनिया रेष्टुरेन्टले उहाँलाई नेपाली विहार सम्झाउन छोडेको छैन । यसरी देवकोटाको विश्वमानववादको उँचाइबाट खोजेको वा पाएको नेपाली र चिनियाका मानवीय समानताहरू निकट र सूक्ष्म दृष्टिबाट पुन:हेर्दा जैवीक–भौगोलिक अन्तरका प्रष्ट रेखा तथा लक्षण लिएर उत्रिएका हुन्छन् । यसैले होला जैवीक–भौगोलीक भिन्नताको विरूद्ध निर्जीव भवन निर्माणमा नै किन नहोस् देवकोटाले चिनसँग एकता खोज्नु हुन्छ वा सहजै पाउनु हुन्छ ।
यसपछिको आर्को प्रवृष्टि विहिबार असोज ८ गतेको छ । असोज ८ देखि १३ सम्म पेकिङका विभिन्न स्थान घुम्ने र चिनिया जीवन अध्ययन गर्ने जस्ता काम भएका छन् । असोज ८ गते ऊनको फ्याक्ट्री, ९ गते तेन्सीङको टेक्स्टाइल फ्याक्ट्री घुमेर तिनका विस्तृत जानकारी डायरीमा टिप्नु भएको छ । सोमबार असोज १२ गते राष्ट्रिय अल्पसंख्यक प्रतिष्ठान (Institute for National Minorities) को भ्रमण तथा अध्ययन पछि असोज १३ गते प्रथम बार नेपाली टोलीले चिनिया लेखकहरूसँग भेटघाट र कुराकानी गर्ने अवशर पाएको छ । यस भेटघाटमा चिनको साहित्य बारेमा लामो छलफल भएको बुझिन्छ भने देवकोटाका चिनिया लेखकहरूसँगका केही प्रश्न निम्नानुसार थिए –
१. चीनको काव्य उत्पादन क्षेत्रमा सबैभन्दा नयाँ प्रवृत्ती के हो ?
२. के चीनका कविहरूले पुराना धेरै दोहोरिएका विम्बहरू र कृत्रिम शब्दाडम्बर उन्मूलन गरेर कविताको शुद्धिकरण गरेका छन् ?
३. के हामीलाई तपाईंहरूको आजको सर्वश्रेष्ठ कविको सर्वोत्कृष्ट कविताको नमूना उपलब्ध गराउन सक्नुहुन्छ ?
४. के महाकाव्यले आजको आधुनिक चीनमा अझै स्थान पाएको छ ? (पाण्डुलिपि ५४)
यी बाहेक देवकोटाले चिनमा सरकारले साहित्यकारलाई कसरी मद्दत गर्ने गरेको छ भन्ने प्रश्न पनि राख्नु भएको छ । नेपालमा सरकारले साहित्यकारको मद्दद गर्न नपुगेको उहाँको गुनासो थियो नै र यस भ्रमणपछिको तासकेन्दको सम्मेलनमा गएको ताका उहाँले “सामाजिक–राजनीतिक दर्शन र तीनबाट पैदा भएका पद्धतिहरूले लेखकका भाग्य निर्धारण गर्छ” भन्ने तर्क राख्दै रूसका र नेपालका लेखकहरूको यसरी निर्धारित भाग्यको चर्चा “The Necessicity of a Strongly Organised Writers’ Union for Nepal” शीर्षकको निबन्धमा गर्नु भएको छ ।
२०१० साल असोज १३ गते मङ्गलबारका दिन नेपाली टोली दिउँसो सिङ्ह्वा विश्वविद्यालय ९क्ष्लनधजब ग्लष्खभचकष्तथ० को अध्ययन गर्न गएको छ । त्यहाँका “प्रिन्सिपल” सिआन हान् सान्को नाम उल्लिखित छ । यो विश्वविद्यालय अमेरीकनहरूले बनाइदिएकाले गर्दा यसमा सबै कुरा अमेरीकी शैलीको भएको र यहाँ अंग्रेजी बोल्नु पर्ने बाध्यता पनि रहेछ । यस विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अमेरीकामा पढ्न तयार पार्ने लक्ष रहेछ । यो यति ठूलो थियो कि सबै ठाऊँ हेर्न टोलीले भ्याएन ।
बुधबार असोज १४ गते नेपाली टोली पेकिङको गाऊँ घुम्न गयो र त्यहाँका मानिसहरूसँग भेट्दै स्कूलको पनि अध्ययन गर्योी । अनि कुनै यौटा जमिन्दारको घर हेर्न गयो । गाऊँको सामूहिक पसल (Village Cooperative Shop) हेर्योु । यस भ्रमणमा देवकोटाले त्यहाँका किसानहरूको निकै अध्ययन गर्नुभयो । अनि, भोलिपल्ट चीनको राष्ट्रय दीवस भएकाले, सोही दिन वेलुकादेखी देवकोटाको डायरी रात्रीभोज र भोलिपल्टका जुलुस आदिका विवरणले यसरी अझ रोचक बन्न गएको छ –
राष्ट्रिय महोत्सव दीवसको अघिल्लो साँझमा अर्थात् सेप्टम्बर ३० को बेलुकीपख हामी प्रधानमन्त्री चाऊ एन लाइद्वारा आमन्त्रित थियौँ । उनीसँग मैले हात मिलाएँ र कमरेड चीन टु वेइले नेपालको प्रसिद्ध कवि भनेर परिचय गराइदिएपछि उनले टाउको हल्लाए र मसगँ अझ आत्मियताकासाथ फेरि हात मिलाए । फेरि दुई पटक महाशय लाइ हाम्रो कोठामा आए, जहाँ हामी भोज खाइरहेका थियौं । टेबुलको मूलस्थानमा श्रीमति लुसिङ थिइन् । उनी चिनका ती महान आदरणीय कविकी विधुवा थिइन् जसले कम्युनिष्ट साहित्य र समाजवादी सिर्जनाहरू चीनमा प्रथमबार भित्र्याएका थिए र माक्र्सवादी सिद्धान्तलाई प्रथमबार प्रयोग गर्दै चिनिया साहित्यमा नविन र प्रगाढ प्रभाव जमाएका थिए । श्रीमति लुसिङले हामी नजिकका छिमेकी हौं भन्दै दुई वा तीन पटक नेपालका युवकहरूलाई टोस्ट गरिन् । चिनिया परिकार यति धेरै थरी थिए कि गन्ने प्रयास गर्दगर्दै पनि मैले तिनको संख्या बिर्सें र मैले नचाखी छाड्नु परेका खानेकुरा धेरै थिए । कमरेड लाइ फेरि गिँलासमा मदीरा लिएर आए र त्यहाँ केही व्यक्तिले उनीसँग हात मिलाउँदै र उनको हात हल्लाउँदै गरेकाले, मैले पनि त्यसै गरेँ । कमरेड लाइले अन्त्यमा आफ्नो गिँलास रित्याए र मित्रताको ईशारा गर्दै त्यसलाई घोप्टाएर हामीलाई देखाए । उनी गोरा र बाठा अनुहारका थिए, निकै फरासिला, त्यति सार्हैए नाटकीय हैन, तर उनका श्रोताको मूडले त्यस्तो देखिन गएका थिए । भेला भएका पाहुनाहरू रमाइलो हल्ला र प्रदर्शन गर्दै थिए । हाम्रो निम्ति यो सबैभन्दा रमाइलो साँझ थियो र हाम्रा कमरेडहरू दङ्ग परेर नाच्न र उफ्रिन थाले । हामी त्यसपछि सिनेमा हलमा गयौं र वुखारेष्ट महोत्सवको चलचित्र हेर्यौं , जसमा अपशोचका साथ हामीले आफ्ना नेपाली सदस्यहरू फेला पारेनौ । मैले भनिदिएँ कि कुनै पोशाकको अनौठौ वैचित्र्य, दार्हीे, पगरी, अथवा विकराल चेहरा वा असाधारणता वा निकै प्रदर्शनकारी प्रवृत्तीले सबैभन्दा बढी ध्यानाकर्षण गर्ने भएकाले चलचित्रमा पर्न गयो । भोलिपल्ट बिहान १० बजे हामी कमरेड माओ त्से तुङको मुन्तिर सेलिस्टियल गेट अफ पिसको मोर्चामा उभियौं, अक्टोवर १ को महोत्सव हेर्न ... जब जब माओले हात उठाए, भीडले एक स्वरमा हात हल्लाउँदै जवाफ दियो । हामीले हामी माथि माओलाई देख्यौं, चौथो रेड ग्लोबमुन्तिर, र महोत्सव अन्त्यतिर पुग्दानपुग्दा हामीले उसले दुवै छेऊतिर हिंड्दै र हामीमाथिको बाल्कोनिको छेऊबाट आफ्नो टोपी हातमा हल्लाउँदै अन्तिम बिदाई लिइरहेको देख्यौं । जुलुस अनन्त जस्तो लाग्थ्यो र घण्टौसम्म चल्यो (बिहान १० देखि दिउँसो २ सम्म) । पहिला प्रधान सेनापति चु से आए, भीडको स्वागत स्वीकार्दै र हात हल्लाउँदै । अनि सेना, नौसैनिक, फौंजी प्रतिष्ठान, आदि – उनिहरूका युवायुवती, विभिन्न रङ्गका फूलहरू लिएर र रङ्गिन पोशाकमा, र नर्तकी र हर प्रकारका प्रदर्शनकारीहरूको जुलुस थियो हामी अगाडिको सडकमा । बन्दुकका पड्काईले व्योम गुञ्जायमान थियो । विभिन्न संस्था, उद्योग, अल्पांश स्कूल, विश्वविद्यालय, मजदूर संघ, आदिका प्रतिनिधित्व थियो । महान् राष्ट्रिय नायक तथा स्वीकारिएका अन्तर्राष्ट्रिय नायकहरूको पनि स्थान थियो । भवन निर्माताहरूले आफ्ना नमूना भवन, औद्योगिक श्रमिकले तिनका नमूना यन्त्रहरू, आदि काँधमा बोकेका थिए । झण्डाहरूले काठमाडौंलाई एक वर्षका निम्ति पहिरन पुग्ने थियो । साँझमा हामीले आतसबाजी हेर्यौंा, जो धेरै माथि पुग्थे, राता र पहेँला तारा र रङ्गीचङ्गी ज्योतिको कम्पित प्रपातमा झर्थे र तलबाट बहुरङ्गी विस्फोटनका वर्षा थपिन्थे । उल्का र पुच्छ्रेतारा पनि थिए । बिहानको शोभायात्रामा ठूलो संख्यामा परेवाहरू उडेका थिए, केही टुक्रा बादल मात्र भएको अक्टोवरको आकासमा तारा जस्ता देखिने, पालै पालो घाम झुल्काउँदै र लुकाउँदै गरेका । भीडको साधारण नारा थियो – “माओ त्से तुङ वान्से †” यस साँझमा पनि हामीलाई अखील चीन युवक संघले प्रीतिभोज दियो, अनन्त सयलका साथै । (पाण्डुलिपि १०३–१०८)
यसरी देवकोटाको लेखाईमै पनि चिनिया राष्ट्रिय दीवसको महोत्सवको उल्लासले प्रभाव पारेको छ । यो यौटै अनुच्छेदमा लेखिएको विवरणका रोचक बुँदाहरू दुई दिनभित्र चाऊ एन लाइसँगको भेट, श्रीमति लुसिङसँगको रात्रीभोज, चिनिया परिकार, वुखारेष्टको चलचित्रमा नेपाली नदेखिनु, माओ त्से तुङलाई नजिकबाट देख्नु, राष्ट्रिय दीवसको जुलुस र आतसबाजी हेर्नु र फेरि चीन युवक संघको प्रीतिभोजमा सामेल हुनु रहेका छन् । असोज १६ गते शुक्रबारका दिनको प्रवृष्टिमा यी भोजभतियारको नतिजा स्वरूप १५ गते रातीदेखि देवकोटाको पेट बिग्रिएको छ । उहाँले पेकिङ डक (पेकिङको हाँसको परिकार) धेरै खाएर पचाउन नसक्दा यस्तो भएको हो । यसै दिनको डायरीबाट थाहा हुन्छ कि उहाँले चाइनिज लिट्रेचर नाम गरेको पत्रिका, चु उआनका कविता र कुओ मोजोले लेखेका प्ले अन चु उआन नाम गरेको पुस्तक कोशेली स्वरूप पाउनु भएको छ । चिनिया कवि कुओ टुङ्ग रिआङ्गसँगको सम्पर्कको बयान पनि छ । सोहि दिन मध्याराततिर उहाँ लेख्नुहुन्छ –
मलाई पेकिङका बारेमा धेरै कविताहरू लेख्न मन लागेको थियो, तर मैले समय निकाल्न सकिन । मैले आफैसँग यौटा नयाँ सिर्जनाको समयावधि नयाँ धारमा र नयाँ सिद्धान्तका आधारमा सुरु गर्छु भनेर प्रतिज्ञा गरेको छु । मैले नेपालमा सांगितिक र काव्यात्मक सिर्जनाका कमी र साहित्यिक र घरकै पनि समूहहरूमा अपेरा र लोक गीत तथा नृत्यहरूको अभाव पाएको छु । (पाण्डुलिपि ११३)
यसरी चीनको भ्रमणबाट पलाएको यस नयाँ साहित्यिक चेष्टाको संकल्प देवकोटाका कृतिमा कहाँ र कसरी प्रकट भएको छ भन्ने आर्को रोचक अनुसन्धानको विषय बन्न गएको छ ।
अनि यसको लगत्तै डायरीका पृष्ट ११६ देखि १२१ सम्मका पानाहरू कविताले भरिन्छन् । “Oct I Celebrations in Peking” (२ बजे बिहान), “Sons of China!” (२:१५ बजे बिहान), “Sonnet. To Mao Tse Tung” अनि “Sonnet to Chou En Lai” (२:३० बजे बिहान) गरी करीव आधा घण्टामा चारवटा राम्रा कविता जन्मिएका छन् । ती मध्ये “Sons of China”को सर्सती अनुवाद गर्ने मेरो प्रयास निम्न प्रकारको छ –

चीनका हे सपुत ! रगत बगायौ
र गुलाफ फुले ।
पूर्व लाल छ, रात मरिसक्यो,
जागृत ह्दय चम्के ।

दूरदर्शीता तिम्रो उत्तम देन,
गौरव तिम्रो कर्म ।
विश्व उचाल्न बाँकी छ, मर्म
इतिहासको निर्माण गर्न ।

चुचुराहरूले कतै तर्साए के ?
हे रातका आरोहीहरू हो !
विजयी छौ ! अब व्यङ्ग्य गर
मूर्खताको शीखरवासी उपर ।

छ हज्जार वर्षको प्रयास रे !
ज्योतिका हे सपुत !
र तिम्रो शीखर विजय
धपाउँछ विश्वबाट रात !

हामी बाँढ्न आएका छौं तिम्रो तप,
तिम्रो दर्शन, आरोहण ।
तिम्रो श्पर्सले विजय बोल्छ
हाम्रा अन्धा गृहशत्रु उपर ।

२०१० साल असोज १८ गते आइतबारका दिन क्वेन्टिन दहको रेजभ्र्वार हेर्न गएर सोही दिन मध्यान्नमा देवकोटा आफ्नो डायरीमा टिप्नुहुन्छ – “आज हामी अब ग्रेट वाल हेर्न हाम्रो स्पेशल ट्रेनमा जाँदैछौं । हामीलाई उकालो कतैकतै ज्यादै ठाडो र खतराको छ भनेर बताएको छ । मेरो खुट्टाले चढ्न दिंदैन कि भन्ने डर लागेको छ” (१५५) । अनि त्यसको लगत्तै तल, र फर्किएर आइसकेपछि हुनुपर्छ, उहाँ फेरि लेख्नुहुन्छ – “तर मैले टुप्पोसम्मै चढेँ (१५५) । यसपछि सो पर्खाल बारे जानकारी र त्यसको इतिहास बारे अनेकौं कुरा टिप्नु भएको छ ।
यसरी विभिन्न स्थानहरू अवलोकन गर्दै हिंडेको नेपाली टोली आर्को ३० घण्टा लामो रेलको यात्रा र याङ्त्से किआङ्ग नदी पारी १७ मिनेटको जहाजी यात्रा गर्दै नान्किनमा असोज २१ गते बुधबारका दिन आइपुग्छ । यहाँ सन यात सेनको चिहानमा श्रद्धाञ्जली अर्पण गर्छ । देवकोटाले यस थलोको सौन्दर्यको वयान गर्नु भएको छ । यो मिलाएर छाँटिएका साइप्रसका रुखहरू लगाइएको सानो थुम्को पहाडमा भएको बुझिन्छ । त्यसपछि खुला म्युजिक थिएटर घुम्दै ७ बजे वेलुका नान्किन युवा संघको भवनमा आयोजित जमघटमा देवकोटाले ३ पटक चिनिया केटीहरूसँग नाचेको बताउनु हुन्छ । भेटघाट, भोज र रमाइला नाचगान पछि ११ बजे राती आफ्नो कोठामा बसेर उहाँ लेख्नु हुन्छ –
अहिले म सन यात सेनको चिहान रहेको सुन्दर थलो फेरि सम्झिरहेको छु । यस स्थानले मलाई यसरी छोयो कि म यसबारे आज बेलुकी नै यौटा कविता वा गीत लेख्न चाहान्छु, अरू कविता वा गीत चिनिया वा नेपाली युवावर्गको संघर्ष बारे, वा शान्तिका लागि संघर्ष बारे ।
x x x
आज राती असोज २१ गते २०१० सालमा मैले पहिलो पटक नान्किनका केटीहरूसँग मेरो निश्चयनै पहिलो नाच नाचेँ ।
x x x
नेपाल फर्किएपछि त्यहाँ नृत्य र संगीतलाई सक्रियताका साथ विकाश गर्नु पर्छ भन्ने मलाई लागेको छ । (१९९)
नान्किनले ४४ वर्षिय देवकोटालाई प्रथम बार नचाउनुको साथै यसरी नृत्य र संगीतको क्षेत्रमा बढी रूचि जगाइदिने काम गरेको छ । यसैको प्रभावले गर्दा हुनुपर्छ चीनबाट फर्किएको करीव दुई महिना पछि उहाँले शंकर लामिछानेलाई वनारस पठाउन भनेर पाँचवटा कथाहरू लेखाउँदा ती मध्ये यौटा “चिनियाँ प्रेमी” शीर्षकको कथा पनि परेको थियो (बन्धु ३०४) । वास्तवमा उहाँ चिनियाहरूबाट निकै प्रभावित भएर फर्किनु भएको थियो । यस नेपाल–चीन सांस्कृतिक आदान–प्रदानले मात्र हैन कि सन यात सेनको चिहान भएको थलो वरपरको भौगोलिक सौन्दर्यबाट समेत प्रभावित देवकोटाले कविता लेख्ने प्रेरणासमेत पाए पनि “On Dr. Sun Yat Sens’s Tomb in Nankin” शीर्षकको कविता भने उहाँले असोज २६ गते सोमबार शाङ्घाईमा मात्र लेख्ने फुर्सद पाउनु भयो ।
शाङ्घाईमा उहाँहरू नान्किनबाट ७ घण्टा लामो रेलयात्रा गरेर शुक्रबार असोज २३, २०१० सालमा पुग्नु भयो । साँझमा स्वागत सम्मान कार्यक्रम चल्यो र भोलिपल्ट २४ गते शनिबारका दिनमा शहर परिक्रमा गर्नु भयो । नेपाली टोली होटेल चीङ्ग छाङ्गमा बसेका बुझिन्छ । अनि २६ गते सोमबारको प्रवृष्टिमा पनि देवकोटाले नाचगानप्रति चासो लिएको मात्र नभएर प्रतिक्षा नै पनि गर्नु भएको जस्तो भाव यस वाक्यबाट बुझिन्छ – “आज वेलुकी हामी शाङ्घाईका युवायुवतीहरूसँगको एक प्रकारको जमघटमा जानेवाला छौं र त्यहाँ नाच र गान हुने छ” (२४४) । अनि त्यसपछिको प्रवृष्टिमा लेखिएको छ, “जवान मानिसहरू हाम्रा साथमा नाचे र यस अवशरमा प्रशस्त लामा र चर्का थपडि बजे” (२४४) । यसको भोलिपल्ट असोज २७ गते नेपाली टोली शाङ्घाई मेडिकल कलेज र अस्पताल हेर्न गयो ।
असोज २८ गते बुधबारका दिन बिहानको खाजा खाएपछि देवकोटाले “चीनमा भूमिसुधारका समस्याहरू” विषयको गोष्ठीमा भाग लिई त्यसपछि शाङ्घाईकै लेखक ऊ छिआङ्गसँग अन्तर्वार्ता लिनु भएको छ । यस अन्तर्वार्ता लिँदा द्वैभाषेको काम येन चिङ्ग हुङ्गले गरेका थिए । सोही दिन बेलुकी ७ बजे नेपाली टोली त्यहाँबाट हान्चाउ तर्फ लाग्यो । ४ घण्टाको रेलयात्रा पछि हान्चाउका युवावर्गले स्टेशनमा उहाँहरूको स्वागत गर्योा । यसरी नेपाली टोलीले विहिबार २९ गते बिहान बसमा शहर घुमेर त्यसपछि म्युजियम हेर्न गयो । साँझमा होटेलमै सिनेमा हेर्योल । शुक्रबार ३० गते हान्चाउको जुट मिल्स हेर्न गयो । प्रत्येक मिल्स, उद्योग, संस्था आदि हेर्न जाँदा देवकोटाले आफ्नो डायरीमा त्यसबारे प्रशस्त जानकारी टिप्नु भएको पाइन्छ । यस किसिमले उहाँले चीनको आधुनिकता बारे धेरै ज्ञान हासिल गर्नु भएको थियो ।
अनि २०१० साल कात्र्तिक १ गते शनिबारका दिन डायरीको अन्तिम प्रवृष्टि लेखिन्छ । यस दिन बिहान नेपाली टोली हान्चाउको बुद्धको स्तुप हेर्न गएको छ । यस स्थल कुनै बेला जापानी सिपाहीहरूको ब्यारेक बन्न गएको थियो र हाल अधिकांश मात्रामा जीर्णोद्धार हुन पर्ने अवस्थामा रहेको थियो । यस ठाऊँको मूल भवनमा एक ठाऊँमा देवनागरिक जस्तो देखिने तिब्वती लिपिमा “ॐ मणी पद्मे ॐ” लेखिएको कुरा डायरीमा उल्लिखित छ ।
निष्कर्शमा भन्नु पर्दा देवकोटाको यस डायरीबाट उहाँलाई चीनले ठूलो प्रभाव पारेको बुझिन्छ । त्यहाँका राजनेता, साधारण जनता, गाउँले, व्यापारी, औद्योगिक व्यवस्थापक, प्राचार्य र प्राध्यापक, लेखक र साहित्यकार, युवा र युवती आदिसँगको भेटघाट र कुराकानी तथा चीनभित्रका प्रान्तहरूको भ्रमणले देवकोटालाई चीनको आधुनिकता बुझ्न सजिलो पारेको छ । पूर्णबहादुरले “अध्यक्ष माओ–त्सेतुङसित भेटने अवसर” पाएको र देवकोटाले साङ्घाइमा रेडियोबाट चीन भ्रमणका विषयमा बोल्नु भएको कुरा (४२९) बताउनु भएको भए तापनि यी कुरा बारे देवकोटाले आफैले भने उल्लेख नगर्नु भएको देखिएको छ । चिनियाहरूसँग झैँ उहाँ चीनका केही प्राकृतिक स्थलहरूसँग निकै प्रभावित हुनु भएको पाइन्छ । माओप्रति उहाँको आदर ठूलो छ र यस नेतालाई लिएर लेखिएको कवितामा उसको मानव गौरवबाट आफू निकै प्रभावित भएको कुरा बताउँदै उसलाई पूर्वकै विशाल निर्माताको रूपमा वर्णन गर्नुभएको पनि छ ।


प्रयुक्त संन्दर्भ सूची

एम.ए., पूर्णबहादुर । “देवकोटाज्यूको अभाव ।” भानु : देवकोटा विशेषाङ्क ५.१२ (फागुन २०२५) : ४२६–४३० ।
देवकोटा, लक्ष्मीप्रसाद । अंग्रेजीमा लेखिएका निबन्धहरूका पाण्डुलिपि ।
––– । चीनको डायरी । पाण्डुलिपि । २०१० ।
पाण्डे, नित्यराज । महाकवि देवकोटा । ललितपुर : मदन पुरष्कार गुठी, २०१६ ।
बन्धु, चूडामणि । देवकोटा । (प्रथम सं.) । काठमाडौं : साझा प्रकाशन, २०३६ ।

N.B. : The footnotes of the original article are missing in this blog-version. --Padma Devkota

No comments:

Post a Comment