Monday, May 14, 2012

चिन्तकको साम्राज्य


पद्म देवकोटा


                डब्ल्यु.बि. येट्सले बाइजन्टियमलाई आफ्ना कवितामा कलाको राजधानीको रूपमा प्रस्तुत गर्दै त्यसको बादशाहको बैठक सजाउन राखिएको सुन र चाँदीले बनेको रूखको हाँगामा अनन्त मिठो गीत गाउने सुनको चराको रूपमा आफूलाई प्रस्तुत गरेका छन् । यस कहिल्यै नखिइने, नउग्लिने, ननाशिने धातुमा अमरत्वको प्रतीक पाएका कविले प्रकृतिउपर कलाको विजयलाई मानवजातकै श्रेष्ठ उपलब्धी ठहराएका छन् । अमरत्व जीवनको आदर्श हो । मृत्यु र नाशवान प्राकृतिक वस्तुहरूको यथार्थउपर स्थायित्व र अमरत्वको प्रलोभनले डोर्‍याएका मानव कर्महरूका ताँती असंख्य छन् । हामी जीवनको मात्र होइन, सुख, शान्ति, आरोग्य, श्रीसम्पति, शक्ति र प्रभाव, धाक र इज्जत, सबैको स्थायित्व चाहान्छौं । तर ह्दयको अन्तरमा हामीले ढाकेर राखेको यौटै अकाट्य सत्यको प्रकाशले हामीलाई सम्झाउन छोड्दैन, “म महाकाल हूँ ! म तिमीलाई कुनै पनि बेला बोलाउन सक्छु । अनि तिमी तिमी रहँदैनौ !”
                निश्चित मृत्युको सामुन्ने सबै मानव कर्मको व्यर्थता पाउने नास्तिक अस्तित्ववादले मृत्युपछिको घोर अन्धकारमा ज्योतिको झिल्को नभेटेकैलै माटोको डल्लो र मानिसको डल्लोमा फरक देखेन । देख्यो त विषादमय अस्तित्वमा कर्मको आवश्यकता मात्र । उसका लागि जीवनको अर्थ नै दु:ख बन्यो । जीवन त पत्थरकै पनि छ ! पृथ्वीकै पनि छ ! मानिसको र माटोको जीवनको अन्तर पारिभाषिक मात्र हो । जीवन हुनु र नहुनुभन्दा जीवितको संभावना प्रयोग हुनु र नहुनु महत्त्वपूर्ण कुरा हो । यस अर्थमा माटोको बाँझोपन र मानिसको बाँझोपन यौटै हो । हामीलाई उर्वरता सुन्दर लाग्छ, सृष्टिझैं सिर्जना सुन्दर लाग्छ । हाम्रो ह्दयदेखिनै आफूले सोचेको वा अनुभव गरेको तर सुन्दर अभिव्यक्ति दिन नसकेको कुरा आर्कोद्वारा अभिव्यक्त भएको पाउँदा उसप्रति यौटा यस्तो श्रद्धाभावको फोहोरा छुट्छ जसको पोषणमा स्रष्टाहरू अझ फस्टाउँछन् । सिर्जनात्मक अभिव्यक्तिहरू यसैले पनि निश्चित मृत्युउपरका ससाना विजय जस्ता लाग्छन् ।
                यसरी आफूले नसोचेको वा सोच्न नसकेको कुरा सोचेर बस्ने आर्को बेग्लै समूह छ जसले चीसो माटोको डल्लो र ह्दयको अन्तरमा छिपेको ज्योतिको सम्बन्ध बारे धेरै सोच र तर्कमा एक्लो घोत्ल्याईंका प्रशस्त क्षण बिताएको छ । यस समूहले आफू र विश्व बुझ्ने प्रयासमा त्यो छत्यो छैनको विवादमा युगौं युग बिताएको छ, तर्क दोहोराएको  छ, विश्वास कसेको छ अथवा मानव अवस्था, सामाजिक आवश्यकता र सांस्कृतिक सौन्दर्यलाई लिएर शब्दको प्युरी प्रशस्त कातेको छ । आफ्नो दृष्टिकोण स्थापना गर्न बौद्धिक उर्जा खर्च गर्दै केवल चिन्तन सपार्न जीवन अर्पण गरेको छ । ज्यानको बाजी नलगाईकन सिकन्दर बादशाह भएका छैनन् । सामुद्रिक आँधि र छाल नखेपिकन बेलायतले विश्वविजेता बन्ने कल्पना गर्नु दिवशस्वप्ना हुने थियो । ज्यानको बलिदानले मात्र साम्राज्यको संभावना खोलेको छ । चिन्तनको उँचाईमा जीवन अर्पिने नेपालीको टडकारो अभाव आजसम्म पनि हामीलाई नमिठो लाग्छ । तर विश्वमा चिन्तकको कमी छैन । उनिहरूको अस्तित्व बोध गर्ने तरीकाले चिन्तकको साम्राज्यको चंचल सिमाना कोर्छ । अनि यी चिन्तकहरूको उँचाइमा पुग्न नसकेवापत सँधै आफ्नो रूमल्लिएको दिमाग तल्लो श्रेणीको रहेको तीक्त अनुभवमा छट्पटाउने एकथरी मानिस छन् जसलाई न प्रकृतिले आशीर्वाद दियो न मिहेनतले गन्तव्यसम्म पुर्‍यायो । अनि जति पढे पनि उनिहरू शायद चिन्तनको उपनिवेशमा आफ्नो स्वावलम्बन निस्सासिएको अनुभव गर्दाहुन् ।
                वस् ! यही निस्सासिएको क्षणको अनुभव गर्दै एक दिन एक जना बुद्धिमान र पढ्न रूचाउने व्यक्तिले मसँग प्रश्न गर्नुभयो, “के यी चिन्तकहरूले हामीलाई दाश बनाएका हैनन् ? ... एक प्रकारले ? आखिरमा दृष्टिकोण र परिभाषा बाहेक केही पनि छैन ! हजारौँ अपठितले सरल पाराले बताएकै कुरा कुनै ख्यातिप्राप्त चिन्तकको मुख वा कलमबाट जटिल भएर निस्कियो भने हामी त्यसलाई सुनको अक्षरमा कुँदेर राख्छौं । कसले भन्यो भन्ने कुराले शक्तिको खेलमा ठूलो महत्त्व पाएको जस्तो मात्र लाग्छ । अन्त्यमा मृत्यु (वा प्रकृतिको चक्र) मात्र सत्य हो । यस सन्दर्भमा हामी सबै समान छौं ।यस्तो अभिव्यक्ति मानिसले पढेर मात्र के हुन्छ भन्ने छलफलको सिलसिलामा निस्किएको थियो । जति ज्ञान हासिल गरेको भए तापनि सभ्यताको विकाशशब्दजालमै अड्किएको साझा अनुभव बाँढ्दै अन्त्यमा मानव जैविक गुणहरूको यथार्थ विरूद्ध बौद्धिकताका भाषिक निर्माणहरू सार्‍है कमसल भएको तथ्य हामी दुवैले स्वीकारेका थियौं । तर उहाँको यस तर्कले मेरो मनमा आर्को प्रश्न उठायो, “दाश बनाइन्छ कि बनिन्छ ?”
                जो नाइजेरियाको शिशुवालीमा उत्पादित नवजात दाश होइन, त्यसको आत्मालाई कसैले पनि उसको इच्छाविरूद्ध दाशत्व स्वीकार्न लगाउन सक्दैन । दाशत्व स्वीकार्न बाँच्ने बाध्यताले आत्मसम्मान मेटेको अवस्था आवश्यक पर्छ । दैनिक जीवन धान्न धेरै शिक्षण संस्थामा एकै पटक कुदिरहेका वा कुद्न बाध्य भएका पेशेवर अध्यापकहरू चिन्तकका साम्राज्यका एक थरी दाश हुन् किनभने उनिहरूले ती चिन्तकका प्रचार गर्ने र उनिहरूले भनेका कुरा दोहोराउने जागीर पाएका छन् । सालैपछि आर्कोको विचार (त्यो पनि बराबर अस्पष्ट र गलत पाराले) दोहोराएर एक प्रकारको आत्मसन्तुष्टि लिनुलाई कुन विषेशण प्रयोग गर्दा ठीक होला ? चिन्तनको प्रतिध्वनीमा सक्कली स्वरको सुरीलोपन र स्पष्टता रहँदैन । कोहीकोही त कुनैकुनै चिन्तकका अनुयायी पनि बन्लान्, तर नव प्रयोगका शब्दबाढीमा तरङ्गिन शिपालु कैयन छद्मविद्वानका नियमित अस्पष्ट अभिव्यक्तिमा पाश्चात्य चिन्तनका कुइरोलाई आफ्नोपन दिने प्रयाससम्म पनि छैन भने यिनीहरू ती चिन्तकका साम्राज्यले प्रयोग गरेका व्यक्ति हुन् जसको न आफ्नो स्वतन्त्र विश्व छ, न आफ्नो स्वत्व ! यी सब चिन्तकको साम्राज्यका दाश हुन् किनभने यिनीहरूले चिन्तकलाई मालिक वा कप्तान देखेका छन् जसका आदेश पालना गर्नुमा उनिहरूको परिचय स्थापित रहेको, जसका तर्क दोहोर्‍याउनुमा उनिहरूको बौद्धिकता झल्किएको र जसका नाम उच्चारण गर्नुमै पनि उनिहरूको मार्यादावृद्धि भएको उनिहरूलाई नै अनुभव हुन्छ । त्यसैले यस वर्गमा त्यो सामाजिक नेतृत्व दिन्छु भन्ने समूह पनि थप्न सकिन्छ जसले आयातीत चिन्तन लागू गरेर राष्ट्र बनाउन अगिसर्छ । बेलायत आयातीत चिन्तनले साम्राज्य बनेको होइन । हजारौँ शताद्वीको चिन्तन र अनुभवले भित्रैबाट पुष्ठ र खँदिलो बन्दै आएको सभ्यताको नमुना हो । नेपालमा भने हरेक आवश्यक वस्तुझैं राष्ट्रनिर्माणका लागि दर्शनसमेत महँगो भाँढा तिरेर भित्र्याउनु परेको छ किन भने यहाँ चिन्तनको अभाव र पेट्रोलियम पदार्थको अभाव यौटै छ । बाँच्नु पर्ने बाध्यताले जसरी नेपाल आर्थिक उपनिवेश बनेको छ, चिन्तनको अभावले साँस्कृतिक उपनिवेश बनेको छ । यसको श्रेय छद्मविद्वताका प्रमाणपत्र किनबेच गरेर बस्ने आजको सिङ्गो जमातलाई जान्छ ।
                दाशत्व स्वीकार्नु भनेको आत्मा बेच्नु हो, आफैंलाई धोका दिनु हो, अवशरका नाचमा लुगाफेरे झैं मूल्य र मान्यता बदल्दै हिंड्नु हो । चलन चल्तीको सामान्य आचरणभन्दा माथि उठेर आफ्नो ह्दयको निणर्य अनुशार आफैंले रोजेका मूल्यहरूको समर्थनमा स्वार्थ, आर्थिक प्रलोभन र पदलोलुपता त्यागेर आफ्नो सिद्धान्तमा अडिग हुनु चरित्रनिर्माण गर्नु हो । मलाई कुनै पनि अवशरवादीभन्दा इमान्दार चोर चरित्रवान् लाग्छ । ईमान गुमाएका नेता, करोडपति, डाक्टर, प्राध्यापक वा कोही पनि किन नहुन, यी सारा दाश हुन्  किनभने उनिहरू आफ्नै चरित्रका मालिक कहिल्यै हुन सकेनन् । शिक्षाद्वारा समाजलाई मार्गनिर्देशन गर्नु पर्ने वर्गले त इमान गुमाएको छ भने नेपालको चिन्तक र आइसलण्डको सर्पमा के फरक ? अरूलाई र परिस्थितिलाई जति दोष लगाए पनि आत्मा स्वेच्छाले बेचिन्छ बाँचिरहने इच्छाले, आर्थिक वृद्धिको लोभले, ख्यातिको प्रलोभनले । स्वार्थत्याग गर्न सक्नेले आत्मा बेच्ने बाध्यताको अनुभवसमक्ष घुँडा टेक्दैन । सिसिफसको इच्छाशक्तिले निरर्थक कार्यको बाध्यता जस्तो सजायलाई स्वेच्छिक कर्ममा परिवर्तन गर्न सके वापत उसलाई मुक्तिको अनुभव मिलेथ्यो । ऊ सच्चा सम्राट हो । सम्राटले आफूलाई बुझेको हुन्छ । उसका इच्छा र आवश्यकता आफ्नै अधिनमा हुन्छन् र यिनका सीमारेखा प्रष्टसँग कोरिएका हुन्छन् । यस्तो व्यक्तिले मात्र आफ्नो घाम छेक्ने सिकन्दरलाई हट्ने आदेश दिन सक्छ । भौगोलिक क्षेत्र उपरको विजय हासिल गर्ने सेनाबलका सम्राटभन्दा ऊ अझ टिकाउको बादशाहा छ । ऊ न अरूलाई बेच्छ, न आफू बेचिन्छ । ऊ बाँच्नुको बाध्यतामा कसैको दाशत्व स्वीकार्दैन ।
                परिस्थितिलाई जति दोष लगाए पनि आत्मा स्वेच्छाले बेचिन्छ, बाँचिरहने इच्छाले बेचिन्छ । आफू र जगत् बुझ्ने प्रयासमा दशकौंको त्याग र तपस्याले खारेको साधारण दिमागले अझै पनि त्यो अद्भूत बोधिसत्वमा पुर्‍याउँदैन जहाँ नयाँ रहस्य खुल्दाको मादले रुमाल बेरिएर राजाको बैठकमा फेला पारें ! फेला पारें !” को गीत गाउँदै विद्वता उपस्थित हुन्छ । यसको निम्ति प्रतिभै चाहिन्छ । तर यसरी उपस्थित भइसकेको विद्वताले त्यस राजाउपर तुरुन्तै विना बन्दुक, विना तरवार, विना सेना विजय प्राप्त गरिसक्यो जसको कारणले ऊ सम्राट बन्न पुग्दछ । स्नानघरबाटै विश्व जित्नु चमत्कार हो, मानव जादूको अनुपम उदाहरण हो । यसैले यो श्रद्धेय छ, पूजनिय छ । आस्थावानले साकार प्रभुको दाश बन्न पाउनु गौरवको कुरा ठानेझैं हामीलाई यस प्रकारका जीवित मानवजादूका दाशत्वदाशत्व नलाग्न सक्छ । सच्चा श्रद्धाप्रेरीत आत्मसमर्पणलाई दाशत्व भन्न नमिल्ला !
                तर अमूर्त ईश्वरको पूजासेवा र जीवीत व्यक्तिको पूजा यौटै हुन सक्दैन । एकातिर मानववादका ती क्षण थिए जहाँ गुरु देवो भव:को आदर्शले शिष्य अनुशासित थिए । अनि चसरलाई बेलायतका होमर भन्न पाएर अङ्ग्रेजहरू दङ्ग थिए । माओ चेतुङ्गको चिहान अघिल्तिर उभिएर भगवान भेटेको अनुभव गर्ने मानिस जीवित छन् ! आर्कोतिर प्रतिभापूजनको नेपालमा फस्टाएको संस्कार विश्वका कतिपय मुलुकमा प्रतिभाकदर मात्र रहेको छ । व्यक्तिपूजाको अन्त्यमा आधुनिकताले प्रतिमानववादको पुष्टी गरेको छ भने प्रतिमानववादभित्र मानववादका जरा यसरी झ्याङ्गिएका छन् कि मानववादको गौरव केहीले पनि घटाउन सक्दैन । तर आजको चिन्तनले व्यक्तिपूजा नकारिसकेको अवस्थामा चिन्तक यस अर्थमा मात्र सम्राट छ कि ऊ अरूले पुजा गरेर होइन कि आफ्नै चिन्तनको आश्रयमा जीवित छ, उच्च छ, श्रद्धेय छ । श्रद्धेय यसकारणले छ कि ऊ कहिल्यै पनि तिमी सुन ! म भन्छु !” भनेर बस्दैन । त्यसैले प्रत्येक ह्दयले उसका चिन्तन श्रद्धाको सुनले लिपिवद्ध गरिदिन्छ । ऊ आफ्ना विचार अरूउपर लादेर म ठीक छु ! मैले भने अनुशार विश्व चल्नु पर्छ !” भन्दैन । ऊ आदेश दिंदैन, इसारा गर्छ । ऊ आफ्ना चिन्तनका शीखर भाषामा मानवताका लागि उतारेर अन्य चिन्तनका शीखरहरूको खोजमा लाग्छ । उसका विचार र अभिव्यक्तिले टेकेका ठाउँहरू उसको साम्राज्य हो । उसको साम्राज्य देश र कालमा यसरी फैलिएको छ कि त्यसको विरोधमा आएको चिन्तनले यसकै बलबाट अस्तित्व पाउँछ । रावण बलियो शत्रु नभएको भए रामको गाथा लेखिने थिएन । तर रामको विजयले रावण माटोमा मिलेको छैन ।
                तर मसँग प्रश्न गर्ने विद्वानको आशय यति मात्र थिएन । सक्रेटिसदेखि रिचर्ड रोर्टीसम्म दर्शन र विज्ञानका खोज समाप्त नभएको सन्दर्भमा मानव सभ्यताका रूपान्तरणहरू जति अध्ययन गरे पनि लोभ, काम, मोह, ईष्र्या, आदिका जैविक यथार्थ सही शिक्षामार्फत अनुशासनमा राख्ने मानव प्रयास निरन्तर विफल भएको सन्दर्भमा चिन्तनको अर्थ र उद्धेश्य कसरी बुझ्नु पर्ला ? कुनै पनि चिन्तनको दैनिक जीवनसँग सम्बन्धविच्छेद गरिदिने हो भने त्यसको अर्थ लाग्न छाड्छ । त्यसैले हाम्रा पुस्तकालयले ती चिन्तन र सिर्जनाको संकलन राख्छन् जसको मानव समाजसँग कुनै नकुनै रूपमा सान्दर्भिकता बाँकी छ । यही सान्दर्भिकता बाँकी भएकोले यसका पाठक छन् । तर पढेर मात्र के हुन्छ र ? हजारौँ वर्ष अगाडीका वा आजकै चिन्तन पनि पढेर, बुझेर मात्र पुग्दो रहेनछ । हाम्रो परिचय, हाम्रो अस्तित्व, हाम्रो महत्त्व वा सामाजिक उपयोगिता ती चिन्तनका पक्ष वा विपक्षमा उभिएर मात्र होइन कि थप चिन्तन गरेर र आफ्नै अनुभवका आधारमा थप निष्कर्शमा पुगरे अर्थात् मानव ज्ञानको वृद्धि गरेर मात्र प्रष्टिंदो रहेछ । त्यसैले मैले ती विद्वानलाई आफूले गर्न नसकेको कुरा जवाफको रूपमा बताएँ, “चिन्तकको साम्राज्यमा उपयोगी वासीन्दा ती हुन् जसले आफ्ना अनुभवका आधारमा आफ्ना् सोचलाई यी सम्राटका कसीमा तीखार्दै लैजान्छन् । यहाँ दाशत्व हैन, आत्मअभिव्यक्ति महत्त्वपूर्ण कुरा हुन जान्छ । यौटा किताब पढेर यौटा लेख नजन्माउने व्यक्तिले जीवनको संभावना खेर हालेको हुन्छ ।
                यस विश्वमा यति धेरै पुस्तकहरू छन् कि ती सबै पढेर साध्य पनि छैन । त्यसैले फ्रान्सिस बेकनले भनेझैं कुनै पुस्तक चपाउनु पर्छ, कुनै निल्नु पर्छ, कुनै पचाउनु पर्छ । बेकन बेलायतको त्यो मानववादको मध्ययुगमा लेखिरहेका थिए जसले मानिसलाई भाषागत् दृष्टिकोणबाट हेरेर ऊ बोल्ने प्राणी भएकोले राम्ररी बोल्न सक्नुमा मानिसको क्षमता देख्थ्यो । राम्ररी तर्क प्रसारण गर्न सक्नु वक्ताको मानवीय क्षमता भएको हुँदा यस क्षमताको सबैभन्दा राम्रो विकाश पढेर हुन्छ भन्ने निष्कर्शमा पुगेको त्यस युगले किन पढ्ने ?” भन्ने प्रश्नको यौटा सही उत्तर दिन सकेको थियो । यस अर्थमा पढाईले दाश बनाउने भन्दा स्वतन्त्रता दिलाउने उद्देश्य राखेको हुन्छ । उच्च चिन्तनका हजारौं राजमार्ग मध्ये कुन चाहीँमा चल्ने हो भन्ने निर्णय लिने मानिस दाश हुन सक्दैन । कुनैमा पनि नहिंडेर आफ्नै बाटो बनाउनेहरू भने दुर्लभ छन् ।
                यसैगरी बीसौं शताद्वीले ज्ञान बराबर शक्तिको गणितीय निक्र्यौल प्रस्तुत गर्दै पढ्नुको आर्को उद्देश्य बतायो । सूचना, जानकारी, घटनाबोध आफैंमा केही नहोलान्, तर व्यक्तिउपरको यिनका प्रभावले समाज र संस्कृति बदल्दै जाने भएकाले यी सूचना, जानकारी, घटनाबोध उपरका चिन्तन बारे पढ्नु आवश्यक भइदिन्छ । अन्त्यमा हाम्रो भाषा हाम्रो स्वभाव हो; हाम्रो स्वभाव हाम्रा विश्वास, प्रवृत्ती, धारणा, घृणा र प्रेमका समष्टिगत स्वरूप हो । सिंहको छाला ओडेर मुख नखोल्ने गधाले विश्वलाई झुक्याइरहला, तर जो मानिस आँगर्छ, उसले आफूलाई नचिनाउन असमर्थ छ ।
                तव त चिनिनु नै छ यस चिन्तकको साम्राज्यमा भने किन यही साम्राज्यकै शिक्षित वासीन्दाको रूपमा नचिनिनू, आफूलाई अभिव्यक्त गर्नु नै छ भने चिन्तनको तहमा नउक्लिएर मझौलो र कुरौटे बन्दै टेबुल गफ र हिस्सिट्युलीका जुठा शब्दका छिटा किन छर्नु ? किन चरित्रहत्याको मार्ग अपनाउनु ? किन देखासिकीमा ओर्लिनु ? क्षमता भएका मानिसले ती वाणी बोलुन् जसले चिन्तकको साम्राज्यमा यी पनि वासीन्दा हुन् भन्ने बताउन् । नत्र मृत्युको एक्लो सत्य विरूद्ध लाखौं झुठले विजय पाउने आसा इत्ती पनि छैन ।

आषाढ २०, २०६८

Wednesday, April 11, 2012

उपचर्चामा महाकवि देवकोटा

पद्म देवकोटा

    एक दिनको कुरा हो, नगेन्द्रराज शर्माजीको फोन आयो । उहाँको मसँगको प्रश्न करिब यस्तो थियो, “सबैजना महाकवि देवकोटालाई गरिब भन्छन् । मैले देखेबुझेको महाकवि देवकोटा गरिब थिएनन् । तपाईंलाई के लाग्छ ?” मैले जवाफ दिएँ, “तपाईंसँग म सहमत छु । मैले भन्दै आएको कुरा पनि यही हो । उहाँलाई बारम्बार आर्थिक सङ्कट पर्नु यौटा कुरा हो; तर जीवनमा आर्थिक सङ्कट पर्दैमा मान्छे गरिब हुँदैन । महाकवि देवकोटा गरिब होइन ।”
२०६७ साल माघको पहिलो हप्तामा अभिव्यक्ति पूर्णाङ्क १५० को सम्पादकीय पढ्ने अवसर पाएँ । त्यसमा नगेन्द्रराज शर्माजीले महाकवि देवकोटा गरिब थिएनन् भन्ने कुरा प्रमाणित गर्न जीवनीबाट केही उदाहरणसमेत प्रस्तुत गरेर लेख्नुभएको रहेछ । पढ्दै गएँ; उदाहरणहरू सबै ठीक थिए । पटना र कलकत्तामा पढ्न गएको कुरा भने शायद छात्रवृत्ति पाएरै हो जस्तो लाग्छ, तर त्यो गरिब वा गरिबको छोरोले छात्रवृत्ति पाउने जमाना थिएन । अनि, “जब म बि.ए. भएँ; तब दिनको तेर्ह् घण्टा ट्यूसन गर्न लागें । ‘कमाउनु पर्छ, अंग्रेजीमा पढाउनु पर्छ, मास्टर बन्नुपर्छ’को मधुरो गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो” (“हाइ हाइ अंग्रेजी” ६३) भन्ने स्वीकारोक्ती पढिसकेपछि उहाँको यस मिहेनत र गरिबि एक साथमा देख्न गार्हो पर्छ । नगेन्द्रराज शर्माजीले दिनुभएका उदाहरणमा अरू कुरा थप्न सकिन्छ – महाकवि देवकोटा क्याप्स्टेन चुरोट मात्र होइन, मगमग वास चल्ने तमाखु खानुहुन्थ्यो । उहाँको पाइपमा यस्तै वासदार टोब्याको भरिन्थ्यो । उहाँले लगाएर हिंड्ने गरेको अँध्यारोमा झल्किने रोलेक्स घडी मसँग अझै छ । हातमा झुण्डाएर हिंड्ने छालाको व्याग छ । कुनै बेला घरमा रसियन दमदिने ग्रामाफोन र क्यामरा थिए । फिलिप्स रेडियोमा समाचार सुन्नुहुन्थ्यो । जर्सीगाईहरू गोठमा पालिन्थे । दुइचारवटा आँप रुमालमा पोकोपारेर मात्र होइन कि सिङ्गो डोकोभरिको आँप डोकोसमेत आँप बेच्न बसेकै मानिसलाई बोकाएर घर ल्याउने चलन पनि थियो । खर्पनभरि काउली किनेर गाईलाई खुवाउन पैसा पुगेकै थियो ।
तर हामीले यस्ता सम्पन्नताका उदाहरण कति छन् भन्ने होइन कि उहाँलाई आर्थिक सङ्कट कहिले र किन पर्यो भनेर बुझिदिनु बढी आवश्यक छ । मेरो विचारमा महाकवि देवकोटालाई आर्थिक सङ्कट पर्नुका केही कारण यस प्रकारका छन् । एक, उहाँको उदारता जसले गर्दा पैसा मात्र होइन कि समय, बुद्धि, सम्पति, माया वा आफूले दिन सक्ने जे जति कुरा छन् ती सबै जसलाई पनि सहज रूपले बाँडिदिइरहने स्वभाव । दुई, उहाँको यस उदार चरित्रको फायदा उठाएर हिंड्ने आसेपासेको भीड जसले आर्काको परिश्रमको कदर गर्न नजानेर विभिन्न रूपमा उहाँको शोषण गरिराख्यो । तीन, ती व्यक्ति जसले नेपाल भाषा प्रकाशिनी समितिबाट जागिर खोसेर होस् वा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट पाउनुपर्ने तलव रोकेर होस् उहाँलाई दु:ख दिने षडयन्त्र गरे । चार, ती राजनेताहरू जसले उहाँको परिवारलाईसमेत आर्थिक सुरक्षा दिने फोस्रो सपना उहाँलाई देखाएर आफ्नो मुखपत्र सम्पादन गराउन वनारस पुर्यातए तर न वरत्र न परत्र पारेर छाडे । आफ्ना कार्यकर्ताहरूबाटझैं उहाँबाट सलाम नपाउने देखेपछि दुर्गाघाटमा मलेरियाले सिकिस्त महाकवि देवकोटालाई फर्किएर हेर्नसमेत गएनन् । र पाँच, अन्य भैपरी आएका परिस्थितिहरू तथा विवशता जुन हामी सबैलाई पर्नसक्दछ । उदाहरणार्थ काँग्रेसको मुखपत्र सम्पादन गरेर बसेका देवकोटा राणा सरकारकै स्वीकृति लिएर काठमान्डु फर्किएपछिको बेहाल महाकवि देवकोटाकै शब्दमा तल प्रस्तुत गर्दछु :–
I feel personally proud of my intuitive discovery in a moment of blessed poetic inspiration. How the magic formula came into my mind has an interesting history behind it. It was during the regime of Mr. Mohan Shum Shere J.B.R., the then Prime Minister of Nepal, and the last of Rana Prime Ministers, when, after playing my revolutionary mischiefs at Benares through the Yug-Bani organ (The Voice of the Age), I was brought perforce into my Kathmandu home by my anxious wife to save me from imminent death from malaria combined with starvation at Benares. The then foreign secretary, Mr. Nad, my Principal in my student days, issued a strangely worded permit, with abundant verbal jugglery, subtly insinuating that the applicant, having symptoms parallel to those of insanity, and being very seriously ill, would be permitted to enter his native valley on condition that he no longer continued the public expression of his political vagaries and mutterings. That was how he intended to save his delicate skin. And I came into Kathmandu, a spectre and a skeleton, scarcely recognised by my children after a three year’s absence. I stayed with my brothers for a month to recoup my health and vigour and mutton served everyday gave the final blow to the lingering germs. I came into my Maiti Devi home after that and found that there was a thoroughly torn, tattered, battered kind of a borrowed mat that made the room blush for its large mouse holes and dislocations. No cooking utensils graced the kitchen. My Nepali suit, the coat, the toga and the trousers were my brother’s gifts and fitted me tightly enough to carry myself on, in a sort of strait-waist-coated cotton covered dignity on the public road. And money was a thing like a dream. And we sighed and slept starved, while the children were given either something at home or sent to their maternal uncle. And it so happened that after three days of starvation, someone felt kind enough on a cold morning to present me a woollen blanket as he found me rather chattering during conversation for a quarter of an hour. And I conceived the brilliant idea on the fourth day of selling it for Rs. 18 so that I came home, like an adventurer of Elizabethan days, with silver in my hands. And my children beamed up at the sight of the brilliant silver coins. And my wife’s wan lips smiled and she applied herself briskly to the task of preparing Dal, Bhat, Dukoo (Pulses, Rice and Mustard Stems) in the best of spirits. The dishes that day were more delicious than a special dinner provided at the Nawab’s table. There is a proverb in Nepali to the effect that it is not the food but the degree of your appetite that is the more delicious. And the mustard stems that winter were richer than in other years and the rice more sweetly flavoured and the pulses softer and tastier that day. Poetry was born of the eating, and, such were the fine emotions of pleasure generated, that my mind, in their operation, intuited the grand formula that quickly caught the beating pulse of Nepalese everyday life. I came down from the kitchen inspired to compose one of the most taking lyrics in Nepali literature. (MSS)
यसरी “दाल, भात, डुकू” रचियो; यसरी "Pulses, Rice and Mustard Stems" जन्मियो । महाकवि देवकोटालाई सबैभन्दा ठूलो आर्थिक सङ्कट परेको वनारसमा र त्यहाँबाट नेपाल फर्किए लगत्तैका दिनहरूमा हो भन्ने मेरो बुझाई छ । यिनै वा यस्तै अवस्थामा उहाँको दु:ख देख्नेले उहाँलाई गरिबको टिको टाँसिदिएका होलान् भन्ने यौटा अनुमान गर्न सकिन्छ ।
गरिबि यौटा मिथक थियो भने महाकवि देवकोटा बारे अन्य मिथक बन्न भने छाडेका छैनन् । कतिपय मिथकहरू मिठा कथा पनि हुने भएकाले यि कुरा सत्य होइनन् है भनिदिँदा दुनियाँको दिल दुख्नसक्छ; तर यथार्थ नबताउँदा वास्तविक देवकोटा कुनै “विशालकाय दैत्य” (“आफ्नै चर्चा” ७९) बन्ने सम्भावना अझ ठूलो रहिरहन्छ । त्यसैले पनि यसरी महाकवि देवकोटासँग परिचित व्यक्तिले विश्वसनीय यथार्थ बताउने इमान्दार हिक्मत गरेको देख्दा खुसी लाग्नु स्वाभाविक हो । परिवारको सदस्यको हैसियतले मैले विभिन्न कार्यक्रममा र विभिन्न व्यक्तिसँगको कुराकानीमा देवकोटा गरिब होइनन् भन्ने कुरा भन्दै आएको थिएँ । यस कुरालाई पूर्ण रूपमा स्वीकार्ने व्यक्तिहरूमध्ये मेरो जानकारीमा सर्वप्रथम कृष्णचन्द्रसिंह प्रधान हुनुहुन्थ्यो । यसैगरी महाकवि देवकोटाको शतवार्षिकीको अवशरमा पाल्पाको तानसेनमा आयोजित यौटा कार्यक्रममा मेरा गुरु तथा महाकवि देवकोटाका आत्मिय मित्र फणिन्द्रप्रसाद लोहनीका सुपुत्र प्राध्यापक श्रीधर लोहनीले त्यस सभालाई सम्बोधन गर्दै महाकवि देवकोटा कुनै खानै नपाउने गरिब होइनन्, लहडी र बादशाही ठाँटका कवि हुन् भन्दै उहाँ र उहाँकी श्रीमति बीच असाध्यै राम्रो सम्बन्ध र समन्वय रहेको सत्यसमेत आफ्नो अनुभवको आधारमा प्रभावशाली ढङ्गले बताउनु भएको थियो । यसरी यिनै सत्य प्रकाशित हुँदै जाने क्रममा नगेन्द्र शर्माजीको सम्पादकीयले अर्को राम्रो भूमिका खेलेको छ ।
देवकोटालाई किन गरिब भनियो भन्ने प्रश्नको जवाफ आफूलाई प्रष्ट नहुँदानहुँदै पनि शर्माजीले प्रश्न गर्नुहुन्छ, “यो षडयन्त्रकारीहरूले बुनेको सुनियोजित षडयन्त्रको तानाबाना हो अथवा अज्ञानतावश लहै लहैमा लागेर नजानेरै भनिएको कुरा हो – मैले बुझ्न सकेको छैन” (१११) । यदि षडयन्त्र जिवित व्यक्ति उपर मात्र गरिन्छ भने, यो षडयन्त्र महाकवि देवकोटाको जीवनकालमा नै र उहाँकै समकालीनहरूबाट सुरु भएको हुनुपर्छ । आजका कतिपय उहाँलाई नदेखेका मानिसहरूको “अज्ञानता” यौटा कारण हुन सक्छ, तर “लहै लहै” चेतनाको त्यो स्तर हो जसमा बहुसंख्यक सर्वसाधारण पर्दछन् । यौटा छनौटप्रक्रियाविहिन कानबाट आर्को छनौटप्रक्रिविहिन कान हुँदै रमिते चेतनाको मैदानमा पुगेपछि प्रत्येक कपोलकल्पित भ्रमात्मक अभिव्यक्ति “सत्य”मा परिणत हुनु स्वाभाविक लाग्दछ । यस्तै “सत्य”मा आधारित विश्वास शिक्षा र शिक्षकको समेत लौरो नबनोस् भन्ने हेतुले शोधार्थि र अनुसन्धानकर्ता शतर्क रहनु पर्ने हो । तर हल्लालाई केलाउन असक्षम पाठ्यपुस्तक लेखकहरूले सोही भ्रमात्मक कुरालाई स्कूलका पाठ्यपुस्तकमा समेत राखेर कलिला विद्यार्थीलाई साँहिला बाजेका गरिबिका बारेमा शिक्षित तुल्याइदिइसकेपछि महाकवि देवकोटा गरिब “बन्नु” बाहेक अरू उपाय रहेन । यस्ता पाठ्यपुस्तकका लेखकहरूले लक्ष्मी निबन्ध संग्रह किन नपढेका होलान् भन्ने कुरा मेरो मनमा बराबर उब्जिन्थ्यो । “पहाडी जीवन”मा गरिबीको चित्रणसाथै आफ्नो सम्पन्नताको पनि वर्णन् महाकवि देवकोटाले यसरी गर्नुभएको छ :–
मैला चिथराहरूले विजोग देखाइरहेछन् र तिनमा सांग्राको लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु को नीलो कश्मीराको कोट थियो, ती आँगहरू झ्याँगप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको टोपी लगाउँथें, तर ती खप्परहरू टुप्पी देखाउने चिथरे घेरालाई शिरपोश मनाउँथे । (१०)
यिनै तीनवटा वाक्यमा देवकोटाको गरिबिको मिथ्या फार्ने प्रकाश छ । तर ती पाठ्यपुस्तक लेखकहरूले देवकोटाको कृति पढेनन्; रमिते चेतनाको मैदानमा घन्किएका हल्लाको आधारमा राष्ट्रिय शिक्षाको चमत्कारीलो फड्को मारे । नतिजा – महाकवि देवकोटा गरिब कहलिए ।
यसरी मिथकहरू बन्ने क्रममा विद्वान अनुसन्धानकर्ताहरूसमेत यस रमिते मैदानमा झुक्किएरै भए पनि हराएको प्रमाण पाइन्छ । महाकवि देवकोटाका बारेमा धेरै लामो समयदेखि अध्ययन र अनुसन्धानमा लागिपर्दै उहाँको जीवनी र कृतित्व उपर पुस्तकसमेत तयार पारिसक्नुभएका ख्यातिप्राप्त समालोचक तथा लक्ष्मी कविता संग्रहका संकलनकर्ता तथा सम्पादकले आफ्नो यस पुस्तकको भूमिकामा लेख्नु भएको वाक्य यस प्रकारको छ, “लक्ष्मीपूजाको दिन जन्मेका देवकोटालाई महालक्ष्मीको श्राप थियो” (ख) । जसका बाबुआमाले नवजातलाई लक्ष्मीको प्रसाद भनी ग्रहण गरेर नाम “लक्ष्मीप्रसाद” राखियो, सो नवजात शिशुलाई महालक्ष्मी आएर शरापिन् होलिन् त ? शराप्नु पर्ने कारण के थियो रे ? तर विद्वानको कलमबाट यही “सत्य” बनेर आएको छ भने जनसाधारण र विद्यार्थीले अरू के बुझुन् ? यो वाक्य र यसको वैचारिक जरासमेत लक्ष्मी कविता संग्रहका नयाँ संस्करणहरूबाट किन उन्मूलन गरिँदैन ? गर्नुपर्ने कुरा त यही थियो ।
अंग्रेजीबाट नेपालीमा अनुदित “आफ्नै चर्चा आफैले सुन्दा” शीर्षकको निबन्धमा महाकवि देवकोटा “मलाई लिएर गढिएका कथाहरू” (७९) उपर आफ्नो मर्का पोख्दै ती चर्चा उपचर्चालाई यसरी केलाउनु हुन्छ, “मानौं मानिसहरू केही कालदेखि मलाई एक विशालकाय दैत्यको रूपमा पो श्रद्धा गर्न प्ररम्भ गरेको रहेछ, र त्यस श्रद्धामा आवश्यक गुणका रूपमा वर्वर एवं विचित्र सँग सम्बधित सबै अत्युक्तिहरू समावेश छन्” (७९) । अत्युक्ति जहिले पनि असत्य हुन्छ किनभने यसले सत्य हुनुको आवश्यकतालाई आलङ्कारिकताको आवरणभित्र छिपाएको हुन्छ । अनि यहाँ “वर्वर” र “विचित्र” एक आपसमा विरोधि तत्त्व नभई “एवं”को संयोजनमा पूरक बल लिएर असाधारण गुणहरूका रूपमा उपस्थित छन् । यस्ता गुणयुक्त श्रद्धाले श्रद्धेयलाई साधारण देख्नु असम्भव छ । त्यसैले श्रद्धेय “विशालकाय दैत्य” बन्छ; मानौं श्रद्धालुको क्षमता वा त्यसको अभावको कारणले गणेशको मूर्ति बाँदरको बन्नपुगे झैं † यो यौटा अचूक व्यङ्गय हो ती रमिते मैदानका चेतनाहरू उपर जसले महाकवि देवकोटाका कृतिभित्रका स्वीकारोक्ती नबुझेर महालक्ष्मीले शरापेकै देख्छन् र उहाँको कठोर दैनिक परिश्रमउपर फिल्मी यथार्थको विश्वसनियता पोत्दै सरस्वतीले आएर “तथास्तु” भन्दै वरदान दिएको चित्र सत्य हो भन्ने दावी गर्छन् । यसैले त महाकवि देवकोटा स्वयं यसरी विरोधमा उत्रिनु आवश्यक भएको छ, “मानौं पचास वर्ष सम्मन मैले जिउँदो रगतको प्रत्येक तन्तु निचोर्दै निचोरिनँ, मानो साहित्यको गोरेटोमा म घिस्रिदै घिस्रिनँ” (७९) ।
हुन त महाकवि देवकोटाले माथिको निबन्धमा आफूलाई “आशुकवि” (७९), “विद्युत कवि” (८०), “संस्कृत एवं अंग्रेजीमा मैले पाण्डित्य हासिल गरेको” (८०) र “रोमाण्टिक अंग्रेजी काव्यबाट उत्प्रेरित” (८१) भन्दै चर्चा गरिएका कुरालाई लिएर आफ्नो स्पष्टिकरण दिनुभएको हो । उहाँले आफ्नो गरिबि र आफ्नी श्रीमतिसँगको सम्बन्धबारेको चर्चा पनि सुन्नुभएको भए नेपाली साहित्यले अन्य कति व्यङ्गयात्मक कृति पाउने थियो म भन्न सक्दिन । यो नेपाली साहित्यको दुर्भाग्य हो कि उहाँले यि थप उपचर्चा आफ्नो जीवनकालमा सुन्न पाउनु भएन †
तर महाकवि देवकोटा बारे मिथक जन्मिन छाड्ला जस्तो छैन । कतै त मिथक बनाइदिँदा आफ्नो कुनै उद्देश्य पुरा पनि हुने भएकाले गर्दा र देवकोटालाई जीवनकालमै चिनेबुझेका मानिसहरूको संख्या घट्दै गएकोले अज्ञानतावस् नै भए पनि षडयन्त्रकारी मिथकहरू थपिँदै गएका छन् । महाकवि देवकोटाले राणा शासकहरूको चाकरी गरेर तराईमा २०० विगा जमिन पाउनु भएको थियो भन्ने रमिते चेतनाले प्रोत्साहन गरेको आर्को मिथक छ जसको पछाडि राजनीतिक स्वार्थसमेत लुकेको छ भन्ने तर्क मैले “मोदनाथ, माक्र्स र देवकोटा”मा प्रस्तुत गरेको छु । अरू मिथकहरू पनि जन्मिएका छन्, जन्मिदै गर्लान् । हाम्रो कर्तव्य आफूले बुझेको र भोगेको कुरा मिथकीय इतिहासको विरूद्ध कुनै व्यक्तिलाई आक्षेप नगरिकन प्रस्तुत गर्ने हो । यो काम सबैतिरबाट गरियोस् भन्ने मेरो चाहाना छ ।


सन्दर्भ सूचि

बन्धु, चूढामणि (संकलनकर्ता तथा सम्पादक) । लक्ष्मीप्रसाद देवकोटा । लक्ष्मी कविता संग्रह । (तेस्रो संस्करण) । काठमाडौं : साझा प्रकाशन, २०४७ ।
देवकोटा, पद्म । “मोदनाथ, माक्र्स र देवकोटा ।” देवकोटा अध्ययन ९ (कात्र्तिक २०६७) : ३–२० ।
देवकोटा, लक्ष्मीप्रसाद । “आफ्नै चर्चा आफैले सुन्दा ।” (अनु.) श.ला. । भानु (महाकवि देवकोटा विशेषाङ्क) ५.१२ (फागुन २०२५) : ७९–८१ ।
शर्मा, नगेन्द्रराज । “सम्पादकीय ।” अभिव्यक्ति पूर्णाङ्क १५० (कार्तिक/मङ्सिर २०६७) : ११०–११२ ।
Devkota, Laxmi Prasad. “Pulses, Rice and Mustard Stem.” MSS.


अभिव्यक्तिमा प्रकाशित

Sunday, April 8, 2012

ज्ञान र विश्वास

पद्म देवकोटा

विश्वासको निम्ति म ज्यानको बाजी लगाउन सक्छु, ज्ञानको निम्ति त्यसो गर्नुपर्ने आवश्यकता मलाई कहिल्यै लाग्दैन । विश्वास मेरो हो, मेरो निष्कर्शको परिणाम हो; ज्ञान मानवजातको साझा सम्पति हो जो कालान्तरमा बढ्दै र खारिँदै जान्छ । विश्वास अन्तत्त्वगत्त्वा म हूँ – मेरा इन्द्रियद्वारा प्राप्त बाह्य संसारको अनुभव जसका आधारमा मेरा सरल यथार्थवादी धारणा उभिएका छन्, मेरा झुकाव लच्किएका छन्, मेरा मूल्य र प्राथमिकताले स्थान पाएका छन् र मेरो परिचय बुनिएको छ । मेरो व्यक्तित्वको ठूलो अंश मेरो विश्वासले रङ्गिएको छ । ज्ञानले मेरो व्यक्तित्व बिगार्ने काम पनि गरेको हुनसक्छ किनभने यसले अहंलाई पाखण्डीपनको शिखरत्वतिर उकासेको हुनसक्छ । ज्ञान मलाई घरपरिवारले, समाजले, शिक्षाले र अनुभवले पनि दिएको हुन्छ । विश्वास मेरो ह्दयको बोलि हो । ठीक होस् वा बेठीक, विश्वास मेरो निजस्व हो; ज्ञान सामाजिकताको प्राप्ति । म अरू जस्तो होइन कि आफू आफै जस्तो रहन चाहाने हुनाले मलाई ज्ञानभन्दा विश्वास ठूलो लाग्छ ।
म ज्ञानलाई सोर्हैा आना नकार्न पनि चाहाँदिन किनभने यसकै निर्माणमा मेरा कतिपय विश्वास आश्रित छन् । धारणाका शीखामा चढेका प्रत्यक्ष बोधका प्रज्ज्वलनशील खुराकको ज्वालाले प्रकाशित ह्दयका विश्वास मेरा निम्ति स्तुत्य छन् । यस ज्योतिले बराबर अन्तज्र्ञानको चमक लिएर रहस्योद्घाटन गरेको अनुभव केही विशिष्ट मानिसहरूले पाएका पनि छन् र तीनबाट मार्गप्रदर्शित हुनेले जीवन सार्थक भएको अनुभव पनि गरेका छन् । भौतिकता नकार्नु आफ्नो देह नकार्नु हो । म त्यसो गर्न सकिरहेको छैन किन कि देहको अभावमा म को हूँ भन्ने कुरा कहिले पनि प्रष्टसँग बुझ्ने छु जस्तो मलाई लाग्दैन । म यही ज्ञानको अस्पष्टतामा भावना र विश्वासका मिथकीय निर्माण खोज्दै अन्तरीक्षको कालो दुलोमा विराट स्वरूपको मुख देख्छु जसले एकातिरबाट निल्दै आर्कोतिरबाट वकल्दै छ । हिन्दूहरूको मिथकीय कल्पनाको म प्रशंसक हूँ । मलाई यशोधाले कृष्णको मुखभित्र चिहाउँदा पाएको ब्रह्माण्डको दर्शन कालो दुलोपारिको संसारको दर्शन जस्तो लाग्छ । कालो दुलो पारिपटी आर्को ब्रह्माण्डीय विस्फोटनको यथार्थ वैज्ञानिक तथ्य प्रमाणित नभइसकेको अवस्थामा पनि यो ह्दयले स्वाद लिन सक्ने यस्तो विश्वास हो जसलाई मानव ज्ञानका थप निर्माणले गलत सावित नगरूञ्जेलसम्मका लागि सत्य मानिदिंदा बिग्रिने केही छैन । समाधिस्थ साधुको अन्तरीक्ष उडान वैज्ञानिक महात्माको अन्तरीक्ष यात्रासँग प्रतिस्पर्धा नगर्ला, तर विज्ञान त्यस प्रकारको ज्ञान हो जसलाई हाम्रा विश्वासले संपूर्णतामा नभए तापनि सगौरव अँगालेकै छ ।
म केवल अन्धविश्वाससँग डराउँछु । यसका आधार ज्ञान नभएर ढिप्पी, घमण्ड, पूर्वाग्रह र अज्ञान छन् । अन्धविश्वासले तर्क गर्दैन । भूतप्रेत देख्नेले परलौकीक चमत्कारको असीम संभावनालाई अगाडि सार्दै राखेका ‘तर्क’ मेरा निम्ति सुपाच्य छैनन् । भौतिक आँखाका लागि विद्युतीय–चुम्बकीय संवेदना यथार्थ हुन् भने अभौतिक भूतको दृश्य आँखाका नभएर मनका कथा हुनुपर्छ भन्ने तर्क नमान्ने ढिप्पीसमक्ष म अवाक् छु । भावनाका यात्रामा भने फेरी मलाई विश्वास राख्न मन लाग्छ । एकातिर मेरा निम्ति पितृश्राद्ध कार्य सामाजिक सम्झौता मात्र हो भने श्राद्धको क्रममा उठेर दुइ पाइला दक्षिणतर्फ चाल्दा गया पुगेको ठान्नु श्रद्धाको कार्यमा सुविधा प्रदान गरेको उदाहरण पक्कै हो । गयाको वालुवामा विष्णुपादीका थमाउँदा तीर्थश्राद्ध हुन्छ भन्ने “ब्राह्मणम् वचनं परिपूर्णमस्तु” छँदैछ । कुनै लाभ नगर्ने वा सुविधा नबढाउने सम्झौता आत्मपराजय हो । ब्राह्मणको वचन त्यस बेलासम्म परिपूर्ण हुन्छ जनु बेलासम्म यसले मेरो (र अरूको पनि) हित गर्छ । सुविधाको अभावमा मात्र हाम्रा अधिकारका प्रश्न उठ्छन् । तर एक पटक गयामै गएर श्राद्ध गर्नुपर्छ भन्ने कृत्रिम बाध्यताको म घोर विरोधी यस कारणले छु कि मलाई आफ्नो संस्कार र संस्कृति जोगाउन विदेसिनु पर्ने बाध्यता त्यस सांस्कृतिक उपनिवेशवादी तर्कको उपज हो जस्तो लाग्छ जसले गर्दा भारतले नेपालउपर धेरै खेल्ने ठाऊँहरू पाएको छ । त्यसैले गया जानै पर्ने बाध्यता तोड्नै पर्ने अन्धविश्वासको कोटीमा राखेको छु ।
जीवनमा ज्ञान, विश्वास र अन्धविश्वासको प्रभाव विभिन्न रूपमा परिरहेको हुन्छ । हाम्रो चेष्टा अन्धविश्वास फारेर ज्ञानमार्फत् विश्वास दरीलो पार्दै लैजाने हो भने ज्ञानको प्रकृति र यसको विश्वाससँगको आपसी सम्बन्ध बुझ्नु पनि आवश्यक छ । बुद्धि, अनुभव र अन्तज्र्ञानका तीनवटा बाटाबाट ज्ञान प्राप्त हुने कुरा दार्शनिकहरूले बताए तापनि म आफूले पालेको कुक्कुलाई हेरेर चकित पर्छु । हामी अनुभव गरेपछि ज्ञान प्राप्त हुन्छ भन्छौ – अगुल्टोले हानेको कुक्कुर विजुली देखी डराउँछ रे ! तर मेरो कुक्कुर पार्खाल लगाएको कम्पाउण्डमा दुगुर्दै खेलेको हेर्दा त्यो गएर पर्खालमा कहिले पनि ठोक्किएको देखेको छैन । पर्खालतिर हानिएको कुक्कुरले त्यसमा ठोकिन्छ भन्ने अनुभवविना ज्ञान कसरी पायो ? त्यसको बुद्धि छ भनु भने त्यो प्रमाणित गर्ने मेरो क्षमता छैन । मानिसको ज्ञान भाषामा हुन्छ भन्ने आजको तर्कको वैज्ञानिक प्रयोग कुक्कुरमा लागू गर्न समेत सकिँदैन । जुन नियम लागू गर्न सकिँदैन त्यो नियम निरर्थक छ । कुक्कुरलाई अन्तज्र्ञानी भन्नु हास्यास्पद कुरा हुन जान्छ । तर पर्खालतर्फ सोझै कुदेको कुदेको कुक्कुर विना अनुभव, विना तर्क, विना धारणा, विना अन्तज्र्ञान सो पर्खालसँग नठोक्किएर फर्किनुले त्यसको अन्तर्चेतन र विश्व दुवै यथार्थ हुन् भन्ने कुराको प्रत्यक्ष प्रमाण भएको कुरा सरल यथार्थवादकै आधारमा पनि नकार्न कठीन छ । सरल यथार्थवादभन्दा उपल्ला कुरामा दार्शनिक शब्दजाल बिछाएको बाहेक पाइन्न । तर पनि सरल यथार्थवाद सबै प्राणीको आधारभूत ज्ञान हो भने भाषायुक्त प्राणीको ज्ञान यही जटिल शब्दलाजमा समातिन्छ ।
अनि, यस प्रत्यक्ष प्रमाणमा विश्वास गर्नुको अर्थ आफ्नो अनुभवलाई आधार बनाएर यौटा दृष्टिकोण अँगाल्नु हो । दर्शकपिछेको दृष्टिकोण अलग हुने संसारमा अन्य आधारको अभावमा सबै दृष्टिकोण उत्तिकै सही/गलत हुने भएकाले ज्ञानले शक्तिको आश्रय लिन्छ । यसको अर्थ ज्ञान शक्ति हो भनेको हैन; शक्तिशालीले ज्ञान के हो भनेर बताउँछन् । प्राज्ञिक संस्था बलियो भए प्राज्ञले ज्ञानको परिभाषा गर्छ; राजनीति बलियो भए राजनीतिक संगठनले ज्ञानको परिभाषा गर्छ । परिभाषा जसबाट आए पनि ज्ञान भाषामा मात्र उपस्थित छ । अनुभवलाई भाषामा नढालेको खण्डमा त्यो ज्ञान बन्न सक्दैन । भाषा कुनै संस्कृति वा समाजको साझा सम्पति भएकै कारणले ज्ञान पनि समाजकै सम्पति हो । तर विश्वास नितान्त व्यक्तिगत आर्जन हो ।
अनि, शिक्षाको मूल उद्देश्यमध्ये यौटा यो पनि हो – चरित्र निर्माणको प्रक्रियामा ज्ञान खार्दै विश्वासलाई विश्वमा साकार पार्नु हो । धार्मिक विश्वास प्रवल भएको मुलुकमा मन्दीर धेरै हुन्छन् जसरी कि चार्वाक विश्वास प्रवल भएको मुलुकमा मोजमज्जाका स्थान र साधन प्रशस्त हुन्छन् । विश्वासले कोरेको भूगोलमा बाँच्नु मानिसको नियति हो । आफ्ना विश्वासले कोरेको भूगोलमा बाँच्न नपाउनु उसको दुर्भाग्य † लादिएका विचारधारा सामाजिक अस्वस्थताका लक्षण हुन् भने वैचारिक अभिव्यक्तिको स्वतन्त्रताको अभावमा सचेत व्यक्तिलाई दु:ख मात्र छ । दु:ख त कुनै पनि व्यक्तिलाई भौतिक अभावै अभावको अवस्थामा छँदैछ । तर फोस्रो राजनीतिक र दार्शनिक सिद्धान्तवादीताभन्दा ज्ञान र चेतनाको धेरै उपल्लो कोटीमा पुगेका मानिसहरूमा भौतिक अभावले त्यति छटपटी नल्याउला जति कि वाक् स्वतन्त्रताको हनन्ले ल्याउला । यस उच्च चेतनाको अवस्थामा आर्थिक गरिबी–रेखा दु:खभावको कृत्रिम चित्र बन्न जान्छ किनभने सुखको मापदण्ड अन्यत्र छिपेको हुन्छ । यसैले जीवनको स्वाद भौतिक सामग्री खरीद गर्ने क्षमतामा मात्र सिमित रहन सक्दैन । त्यसैले पनि बोल्न चाहेर पनि नपाएको गरिबको पीडा अझ ठूलो छ । तर पनि आवश्यक भौतिक सामग्री खरीद गर्न नसक्नुको ताडना असम्पन्न र अस्थिर मुलुकका जनताका दैनिक अनुभव हो । जुन मुलुकका प्रहरी सुडान काण्डले खोरमा जाकिएका छन्, जनसेना वर्षाैंसम्म क्याम्पमा थुनिएको छ, बाटोघाटो अस्तव्यस्थ छन्, आर्थिक संस्थाहरू अन्यौलमा छटपटाउँदै डुब्दैछन्, मन्त्रीमण्डल प्रत्येक ऋतुसाथै फेरिन्छन् र जनताले आसा र आश्वासनमा मात्र बाँच्न परिरहेछ, त्यस मुलुकमा न शिक्षा न स्वास्थ्य न सभ्यता बाँकी रहन्छ । आफ्ना पार्टीका मानिस मात्र देशका जनता हुन् भन्ने पूर्वाग्रही नेताहरूले डसेको नेपाली जनसागर त्यो गृहयुद्धपश्चात् भत्किएको राष्ट्रमा पिल्सिरहेको छ जसको बारंबार मर्मत, सम्भार वा पुन:संरचनाका दायित्व दातृ मुलुकले सगौरव लिँदै अझ धनी हँुदै गइरहेका छन् । यस विजोगमा, यस अन्धकारमा बाहिरबाट कसैले बत्ती बालिदेला भन्ने आसा राख्नु बेहोसीपना हो । आत्मविश्वास र ह्द्ध्वनिको भरमा कर्तव्यनिष्ठता र धैर्य देखाउनु सिवाय सडकमा नउत्रिने व्यक्तिहरूको विकल्प मार्ग न हिजो थियो न आज छ । आजका दिनमा पनि ज्ञान दु:खको श्रोत र विश्वास संतोषको बाटो रहेको छ । मलाई ज्ञानले पोल्छ; “सुनको दिन एक उदाउँछ रे” जस्तो विश्वासले मलम लागाईदिएर शीतल पार्छ । यस विश्वास विश्वमा साकार भएको दिन राष्ट्रले यौटा विजय हासिल गर्नेछ ।
तर विश्वास के को ? बजारमा किनेको दाल, चामल, फलफूल, सागसब्जीसमेत खाद्यपदार्थ हुन् कि विष हुन् भन्ने अस्पष्टतामा बाँच्नु परेको दुनियाँले केमा विश्वास गर्ने ? कसमा विश्वास गर्ने ? असफल राष्ट्रको यौटा आर्को लक्षण विश्वासघात हो । परिवार, समाज र राजनीति तीनवटै तहमा यो लक्षण एकैताल देखापर्छ । यसैले सुरक्षा कतै छैन । दण्डहीनताको पराकाष्ठामा शक्तिशालीको आँखाको इशारामा न्याय बाँढिन्छ । यस अवस्थामा मानिसले परलौकीक न्यायमूर्तीले जीवनमा पाएको दु:खको भर्ना स्वर्गमा सुखैसुख दिलाउँछ भन्ने बाहेक छैन । त्यसैले पिल्सिएको अशिक्षित जनता भाग्यवादी भए भनेर म तिनीहरूलाई दोष दिन्न । अलिकति शिक्षित र विवेकीको निम्ति अरू पनि निकाश छन् । ती मध्ये सर्वोत्तम निकाश अरू जस्तो नबनेर आफ्नो दर्द पिउँदै वरपरका मानिसको हितमा लाग्ने हो । आफूले अरू दुइजना व्यक्तिलाई सज्जन तुल्याउन सक्यो भने विश्व अझ सुन्दर बन्ने छ भन्ने विश्वासमा आफूलाई अर्पिने बाहेक विकल्प देख्दिन । ज्ञानले यो विश्वाससमेत निभाई दिन्छ कि जस्तो गर्छ ।
वास्तवमा मानिसले अन्त्यमा सुख हैन कि सुरक्षा मात्र खोजेको हो भने जस्तो पनि लाग्छ । मृत्युबाट अभय, जीवन नाशगर्ने तत्त्वहरूबाट अभय । खान नपाए मरिन्छ; त्यसैले खान पाउने अधिकार मूल्यवान छ । कुन खाद्यपदार्थले किन र कसरी जीवन लम्बाउँछ वा छोट्याउँछ भन्ने ज्ञान पनि त्यसै कारणले महत्त्वपूर्ण छ । अनि अहंमात्रवादीतामा पुग्नुअगाडि आफ्ना कर्मले अरूको आयु लम्बिन्छ अथवा मन प्रशन्न हुन्छ भन्ने विश्वासले अनेकौं वर्त र धार्मिक रीतिरीवाजका थालनी भएका छन् । ज्ञानको मापदण्डमा कतिपय विश्वास अन्धो र तर्कहीन देखिन्छ । तर तर्कले पनि सम्भावनासम्म देखाउने हो । निश्चित ज्ञान यौटै छ – जन्मिएको मानिस एकदिन मर्छ । आगमनात्मक तर्कका वैज्ञानिक अपेक्षा आदति अनुभवमा उम्रिएको छ । मानव ज्ञानको सुनिश्चितता उपर धेरै दार्शनिकले प्रश्न उठाइसकेको अवस्थामा कसैले तर्क वा विज्ञानका आधारमा विश्वासभन्दा ज्ञान ठुलो भन्छ भने उसको विश्वासको कदर गर्ने सिवाय मेरो विकल्प रहँदैन ।
दर्शनको अभिप्राय ज्ञानको निश्चितता प्रमाणित गर्ने नै हो भने यो व्यर्थको चक्कर मात्र हो । बोध र बुझाई अनन्त छन् । यिनै विविधतामा आनन्द छ । पट्यार लाग्दो एकनाशको भावबाट मानिसको चंचल मनले बच्न पाएको छ । निश्चित मृत्युको सामुन्ने आफ्नो अमरत्वमा विश्वास राख्नु अन्धविश्वास हो, तर यसमा अति ठुलो मिठास छ । अनि, गणितीय ज्ञान तथ्यको पुनरूक्ति र विज्ञान संभावनाका अभिव्यक्ति मात्र हुन भने के मैले आफ्नै ह्दयको ध्वनिलाई प्रथमिकता नदिऊँ ? “हिंसा पाप हो !” भनेर चिच्याउने आफ्नो ह्दयको ध्वनिलाई कुन जीवशास्त्रले मानिस बराबर बोका प्रमाणित गरेको छ र म त्यसलाई सहजै नकारूँ ? म आफू भएर बाँच्नका लागि मेरा मूल्य र मान्यता, मेरा धारणा र झुकाव, मेरा प्राथमिकताहरूमा टेकेर उभिन नसकेको दिन म त्यस साधारणताको गर्तमा पर्छू जसबाट आफ्नो स्वत्व लिएर उठ्न मलाई निकै कठीन हुने छ । मेरा आधारसहितका विश्वास नै मेरो संपूर्ण विश्व हो । यस विश्वमा बाँच्ने क्रममा आएका बाधाहरू ती ज्ञान हुन् जसका अभिप्राय मेरा विश्वास बदल्नु रहेको देखिन्छ ।

साउन २७, २०६८
मैतीदेवी, काठमाडौं

Thursday, March 15, 2012

केन्द्रीय अंग्रेजी विभागको आगो

पद्मप्रसाद देवकोटा

    बुधवार असार १९, २०५९ का दिन एम.ए. अंग्रेजी प्रथम वर्षको परीक्षाफलबाट असन्तुष्ट विद्यार्थी समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभाग, कीर्तीपूरमा तोडफोड गरी आगो समेत लगाए । त्यस पछि उनिहरुले त्रि.वि.वि.का हाकीमसमक्ष प्रकाशित नतिजामा पुनर्विचार गरिदिन आग्रह गर्दै अन्य कतिपय मध्ये पठनपाठन सुचारु हुनु पर्ने र विभागमा प्राध्यापकले विद्यार्थीको पढाइमा बाधा पुग्ने गरी बाहिर अध्यापन गर्न नपाउने मागहरु राखे (कान्तिपुर असार २१, २०५९) । यी बाहेक असार २० को विद्यार्थीको "अपिल" अनुशार "शिक्षक शिक्षीकाहरुले कक्षाकोठामा देखाउँदै आएको अहँ, तथा पूर्वाग्रही भनाईको वारेमा स्पष्टीकरण दिनुपर्ने" माग पनि छ । मलाई यस तेस्रो मागको अर्थ खुलेको छैन । त्यसैले म यसको बारेमा चर्चा गर्न असमर्थ छु । छोटकरीमा यिनै विद्यार्थीहरुको विज्ञप्तिको आधारमा उनिहरुको प्रमुख गुनासो थियो, केन्द्रीय अंग्रेजी विभागका शिक्षकहरुले आई.ए.सि.ई.आर.मा पैसा कमाउन गएर विभागका विद्यार्थीहरुलाई "सुनियोजीत षडयन्त्र" गर्दै फेल गराएर एम.फिल.मा भर्ना गराउने उद्देश राखेका हुन् ।
    जहाँसम्म प्राध्यापकहरुको कुरा आउँछ, विद्यार्थीले माग राख्ने क्रममा (मैले नबुझेको तेस्रो आरोप बाहेक) विभागलाई दुइवटा मुख्य आरोप लगाएका छन् । यी दुवै आरोपहरुका जवाफ कक्षामा पढ्न आइरहने विद्यार्थीहरुलाई नै थाहा छ । विभागको सुचारु पठन पाठनको पुष्टी गर्दै विभागिय प्रमुख स्वयंले असार २७, २०५९ को कान्तिपुरलाई "विभागका शिक्षक वर्गको उत्तरदायित्व र जिम्मेवारीमा एकरत्ती पनि आशंका गर्न नमिल्ने" बताउदै भन्नु भएको छ, "विद्यार्थीको पढाइमा बाधा गरेर एकजना शिक्षक पनि बाहिरी काममा लागेका छैनन् ।" त्रि.वि.वि.का उपकुलपतिले असार २६ गतेको बुधबारले "विश्वविद्यालयका प्राध्यापकहरुले बाहिर पढाउने गरेकोले परीक्षाफल विग्रेको विद्यार्थीको आरोप छ नि?" भनेर सोधेको प्रश्नको जवाफ यसरी दिनु भएको छ, "त्यो झुट्ठा कुरा हो । पढ्ने बेलामा नपढ्ने अनि अरुलाई आरोप लगाउने? यहाँको कुनै प्राध्यापकले पढाई बिगार्ने गरी बाहिर पढाउनु भएको छैन । यहाँ क्लास नभएको बेला बाहिर पढाउनु स्वाभाविक हो ।" यसको लगत्तै पछि अमरराज जोशी आइ.ए.सि.ई.आर.को प्रिन्सिपल भएर काम गरेको कुरा उठेको छ । तर जोशीले एक वर्षे वेतलवी विदा लिएर यस नीजि संस्थामा प्रिन्सिपल बन्नु भएको तथ्यप्रति भने आरोप लगाउनेहरु अनभिज्ञ रहेको कुरा स्वयंसिद्ध छ ।
    विभिन्न निकायहरुबाट केन्द्रीय अंग्रेजी विभागमा भएको तोडफोड र आगजनीको न्यायोचित निन्दा र भत्र्सनाहरु पत्रपत्रीकाहरुमा छापिदै पनि आएका छन् । २०५९ असार २१ गतेको कान्तिपुरले आफ्नो सम्पादकीयमा यस्तो व्यबहारको घोर निन्दा गर्‍यो । त्यस पछि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले तथा प्राध्यपक संघले पनि यस्तो क्रियाकलापको निन्दा र भत्र्सना गरे । असार २६ गते विभागले आफ्नो वक्तव्य मार्फत यस आपराधिक कार्यको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गर्‍यो । विभागमा आगो लगाउने काम अपराध हो भन्ने कुरामा कसैको दुइ मत भएन, तर अपराधिलाई सजाय दिने कुरा भने आजसम्म पनि विरालोको घॉटीमा घण्टी झुण्डाउने कथा भएको छ । यसको प्रमुख कारण यस देशको प्रदुषित राजनैतिक अवस्था हो जसले देशको न्यायपालिका असक्षम र दुर्बल तुल्याएको छ भन्ने कुरामा म विश्वस्त छु ।
    एकातिर यसरी सवैतिरबाट यस आपराधिक कार्यको घोर भत्र्सना भएको छ भने सम्बन्धित धेरैले केन्द्रीय अंग्रेजी विभागका शिक्षक तथा विद्यार्थी दुवैको शैक्षिक अनुष्ठानप्रति विवश भएर प्रश्न उठाउन बाध्य भएका छन् । एकातिर विद्यार्थीले शिक्षकलाई विभिन्न गलत आरोप समेत लगाएर वक्तव्यहरु प्रकाशमा ल्याएका छन् भने अर्कोतिर शिक्षकहरु पनि अगिल्लो दिनसम्म आफूले कक्षामा पढाइरहेका विद्यार्थीहरुबाट यस्तो फजुल र अप्रत्यासित घटना घटेकोमा दुखी र स्तब्ध छन् । भौतिक संरचना खाग भएकोले भन्दा विशेषज्ञ बन्ने तहका विद्यार्थीको अविवेकी आचरणले उनिहरुको मनमा अझ ठूलो चोट लगाएको छ । उनिहरु आफैंसँग प्रश्न गर्दैछन्, "यस्तो सुनियोजित तवरले विभागका केही शिक्षकहरुलाई मात्रै छानेर पीत पत्रकारीता मार्फत समेत किन चरीत्र हत्या गरिंदै छ ? यसरी यौटै विभागभित्र कोही देवता र देवी कहलिने र कोही व्यापारी प्राध्यापक भनी चिनिन जाने वातावरणको सिर्जना कहाँबाट भयो ?" यसको जवाफ अत्यन्तै आवस्यक छ ।
    यो प्रश्न यसै उठेको छैन । विद्यार्थीको प्रेस विज्ञप्तिको भाषा हेरौं, "हामीले भन्दै आएको एम.फिल. कलेज जहाँ जुन सुकै विषयमा स्नातक गरेको भए पनि अंग्रेजीमा एम.ए. गर्न पाउने व्यवस्था जुन यस त्रिभुवन विश्वविद्यालयका ऐनको खिलाफमाछ शिक्षकहरुको त्यस प्रतिको अत्याधिक लगावका कारण दूरावस्थामा पुगेको यस अंग्रेजी केन्द्रीय विभागको शैक्षिक स्थितिको विरोध गर्ने विभागिय प्रमुख एवं शिक्षाविद प्रा.डा. अभि सुवेदी स्वयं निरिह भई टुलुटुलु हेरेर बस्नु हामी सवैका लागि दुर्भाग्यपूर्ण कुरा हो ।"  कुनै पनि नयाँ प्राज्ञिक वा संरचनात्मक कार्यको शुरुमा विरोध आउनु स्वभाविक हो । केही वर्ष अगाडि केन्द्रीय अंग्रेजी विभागले एम.फिल. प्रोग्राम संचालन गर्न मानविकी डीन कार्यालयमा निवेदन हाल्दा यौटा मात्र विभागमा एम.फिल. खोल्न नदिने कुरा भएको थियो र आजसम्म अरु कुनै विभाग यस्तो प्रोग्राम खोल्न तयार छैनन् । त्रि.वि.वि.ले एम.फिल खोल्न मानेको भए आज आएर विभागीय प्रमुख निरीह भई टुलुटुलु हेर्न बाध्य हुने थिएनन् होला ।
    यसै गरी नेपाल अमेरीका इन्टरडिसिप्लिनरी स्टडिज खोल्ने सन्दर्भमा लामो मानसिक यातना पश्चात मैले मानविकीका डीन प्रा.डा. त्रिरत्न मानन्धरज्यूलाई यो प्रोग्राम खोल्न नपाए अन्यत्र लगेर खोलिने छ भनेर धम्काउन परेको थियो । यस्ता प्राज्ञिक क्षेत्रका मानसिक यातना हामीले अरु पनि भोगी आएका छौं । कसको निम्ति ? विद्यार्थीहरुले विभागले दिएको एम.ए.ले भन्दा बढी ज्ञान हासिल गर्ने अवशर पाउन भनेर । प्राज्ञिक क्रियाकलापको विरोध हामीलाई सँधै असह्यनै हुनेछ ।
परीक्षाफलबाट असंतुष्ट विद्यार्थीलाई धेरै कुरा बुझाउन पर्ने स्थितिमा विभागीय प्रमुख अभि सुवेदीजीले यौटा कुरा नभन्नु भएको भए राम्रो हुने थियो । उहाँले परीक्षा बल्खुले हेर्छ, विभागको यसमा कुनै हात हुँदैन भन्नु भएको कुरा अखबारमा पढदा सवैको जानकारीको निम्ति त्रि.वि.वि.को नियमको चर्चा गर्न मन लाग्यो । यस नियम अनुशार कुनकुन शिक्षकलाई प्रश्नपत्र बनाउन दिने, कसलाई प्रश्नपत्रको मोडरेशन बोर्डमा राख्ने, कसलाई कापि जाच्न दिने, कसलाई स्क्रूटिनी बोर्डमा राख्ने जस्ता कुरा विभागीय प्रमुखले बल्खुस्थित परीक्षा नियन्त्रकको कार्यालयलाई शिफारीस गर्ने हो । त्यस कार्यालयले विभागीय प्रमुखको शिफारीसमा शिक्षकहरुलाई परीक्षा सम्बन्धि विभिन्न काममा नियुक्ति दिन वा नदिन सक्छ । शिफरीसलाई नियुक्ति मान्न मिल्दैन । यसैले पनि विद्यार्थीको जाँचमा विभागको हातै हुँदैन भन्नु पनि सरासर गल्ती ठहर्छ । बरु उहाँले आफूले परीक्षाको काम विभागको तर्फबाट राम्ररी हेरेको र यहाँ ूसुनियोजित षडयन्त्रू को सम्भावना नरहेको बताउन सक्नु पर्दथ्यो ।
तर हामी विद्यार्थीले भन्दै हिंडेका कुराहरुमा विश्वास गरेर विभागीय प्रमुख अभि सुवेदीजीको प्राज्ञिक प्रतिभा, प्रशासनिक दक्षता र नैतिक गरिमा उपर तर्कशून्य नजर उठाउन पनि चाहादैनौ । विद्यार्थीहरु त भन्छन् नै, उहाँले उनीहरुलाई जाँचको नतीजा हुनु भन्दा अगाडिदेखिनै "यसपाली तिमीहरुको कापि गलत शिक्षकहरुकहाँ गएको छ," "यसपाली तिमीहरुलाई गिनी पिग बनाइएको छ, तिमीहरु धेरै फेल हुन्छौ," "यसपाली तिमीहरु धेरै फेल भएका छौ," र "मलाई साथीहरुले धोका दिए," इत्यादि । उहाँले विद्यार्थीहरुसँग यस्ता भ्रम उत्पन्न गराउने कुरा अवश्य गर्नु भएन भन्ने विश्वास गर्न चाहान्छौ । तर उहाँले विभागको सहकर्मी श्रीमति गीता खड्का जसले यस वर्षको कापि जाच्नु भएको थिएन उहाँलाई विद्यार्थीले नम्बर थोरै दिएर फेल गराएको आरोप लगाउँदा पनि "गीताले कापि जाचेको छैन" नभनिदिंदा कताकता आवश्यक र अनावश्यक शव्दहरुको भूमरीमा उहाँ हराउनु भएको त होइन भन्ने पनि लाग्दछ ।
    हो, गत सालदेखि विद्यार्थीको चापको कारणले केन्द्रीय अंग्ेरजी विभागले विभिन्न क्याम्पसमा अंग्रेजी एम.ए. तहमा पनि पढाउने शिक्षकहरुलाई कापि जाच्न तालिम दिएर उनीहरुलाई पनि एम.ए. को कापि परीक्षणमा संलग्न गराएको हो । नत्र त परीक्षकको खतरानक कमी भइसकेको थियो । यस पालिको विद्यार्थीको विज्ञप्तिमा विभागले आफूले लिन सक्ने भन्दा बढी भर्ना गरेको भनी आरोप लगाएको छ । हुन पनि २०५८ सालको प्रथम वर्षमा ४६७ विद्यार्थी र २०५९ को भर्नामा लगभग ६७० विद्यार्थी भर्ना लिइएको छ । यसको दुइवटा कारण छन् । पहिलो हो, ज्यान कि शिक्षा भन्ने विद्यार्थीलाई विभागीय प्रमुखले शिक्षा दिन चाहनु । दोस्रो कुरा हो, अगाडि पनि विभागले अनियन्त्रित संख्यामा विद्यार्थी भर्ना रोक्ने प्रयास गर्दा विद्यार्थी यूनियनले आपत्ति जनाएर पढ्न चाहाने जतिलाई पढाउन पर्छ भन्ने जिद्दी गर्नु जसको नतीजा स्वरुप विभागका सवै प्राध्यापकले राजीनामा दिएका थिए । यसपालि त हामीले उपकुलपतिज्यूसँग विद्यार्थी संख्याको कोटा निर्धारण होस् भनी माग पनि राखिसकेका छौं ।
    मेरो नीजि अनुभवमा केन्द्रीय अंग्रेजी विभागका संपूर्ण शिक्षक साथीहरु प्राज्ञिक उत्कर्षणको निम्ति दिलोज्यान कर्मठ र निष्ठावान हुनुहुन्छ । प्राज्ञिक कुशलता र प्रशासनिक शिल्प बराबर डाक्टर ज्याकल र मिष्टर हाइड जस्ता विभाजनमा पर्दछन् । सवै प्राज्ञिक व्यक्तित्वहरुको अभिव्यक्ति स्तरको यौटै उँचाई हुँदैन । प्राज्ञिक यात्रामा कोही अगाडि र कोही पछाडि भइहाल्दछन् । तर असफलताले जन्माएको आक्रोश सेलाए पछि विद्यार्थीहरुले पनि पक्कै बुझ्ने छन् कि गुरुहरुको उनीहरुप्रतिको भावना असंख्य सकारात्मक, न्यानो र मीठासपूर्ण थियो । आसा गरौं, असमझको बदली क्षण फारेर फेरी पनि घाम लाग्ने छ ।
    र अन्त्यमा साहित्यको विद्यार्थीको नाताले मैले नबुझेको यौटा प्रश्न राखिहालौं । के कुनै प्राध्यापक जो आजीवन धन र ख्यातिको वेवास्ता गर्दै विश्वविद्यालयको यौटा सानो विभागमा प्राज्ञिक उत्कर्षणको लागि दिलोज्यान प्रयत्नरत छ, जसको एक्लो प्रयासले विभागमा पुस्तकालय बन्यो, कम्प्यूटर, भिडियो, क्यामरा, टेलिभिजन, डेक, इन्टर्नेट र फोटोकपि मेशिनहरु आए, जसले विभाग भित्र मात्र नभएर देशभरीका क्याम्पसहरुमा तालीम दिन विशेषज्ञहरुको टोली लिएर हजारौं पटक ओहोर दोहोर गर्‍यो, जसले नेपाल भित्र अंग्रेजी शिक्षामा पढाई हुने संपूर्ण पाठ्क्रमलाई समकालीन, उपयोगी र अन्तर्राष्ट्रिय स्तरको बनायो, जसको सल्लाहा विभिन्न शिक्षण संस्थाहरुलाई निरन्तर आवश्यक भइरहेछ, जो आज पनि अमेरीका तथा एशियाका विभिन्न वरीष्ठ प्राध्यपकहरुसँग मिलेर विश्वमै प्रथम बार परिकल्पित पुस्तकको सम्पादन मण्डलमा नेपालको नेतृत्व गर्दै कार्यरत छ, जसको प्राज्ञिक क्षमताको कदर विश्वकै ख्यातिप्राप्त विव्दानहरुबाट भएको छ, त्यो व्यक्ति आज नेपालमै "व्यापारी प्राध्यापक"को सूचिमा गनिनु गन्धे मानसिक परंपरा चिरायु रहेको प्रमाण हो कि होइन ? यो हाम्रो दुर्भाग्य हो कि राम्रो काम गर्ने अनेकौंले झैं प्रा.डा. श्रीधर लोहनीज्यूले पनि बराबर यस्ता विवेकहीन "कदर" पाउनु भएको छ ।
    कहीले काहीँ ता मन उल्टो बहँदो रहेछ । विदेशमा बस्ने अवशर एक पटक मात्र आएन । पैसा कमाउने अवशरहरु अझै प्रशस्त छन् । पत्रकार किन्न सके, पुरष्कार किन्न सके, पद किन्न सके, हामीलाई नपुग्ने के छ र ? तर साहित्य पढेर संवेदना चर्कियो मात्र, मानिस हुन छाड्न सकिएन । नैतिक चेतनाले आदर्शप्रति उन्मुख राखिराख्यो । यसैले त युग सुहाँउदो बन्न सकिएन । हामी बिकेनौं किनभने आफूलाई बेच्न चाहेनौं । यसमै हाम्रो गौरव छ ।

कान्तिपुर दैनिक बुधबार साउन १५, २०५९ (जुलाई ३१, २००२) मा छापिएको ।

Monday, March 5, 2012

एक्लो चिन्तन

पद्म देवकोटा

भीडमा मिसिन नचाहानु कायरता होइन, प्रवृत्ती हो । भीडले व्यक्ति भन्दैन; व्यक्ति भीडमा सजिलै हराउँछ । भीडले समूहको बलमा मूल्य, मान्यता, विवेक, तर्क, लाज सबै हराउँछ किनभने भीडको अन्तस्करण हुँदैन । भीडले लिएको निर्णय जिम्माविहीन र तत्कालै कार्यान्वयन हुने खालको हुन्छ । यसलाई न कानुनको आवश्यकता छ, न त्रास । भीड सजिलै उत्तेजित भइदिन्छ, यसको प्रत्येक दावी समूहको दवाबले सत्य नै कहलिन्छ, यसको आचरण सभ्यता–निर्मित कानुनभन्दा सँधै माथि रहिदिन्छ । भीडको नेताले सेतोलाई कालो हो भनेर दावी गर्यो भने भीडले हो भनिदिन्छ – उसले मन्चमा उभिएर फलाकेका मूर्ख कुराहरू सुनेर यौटाले ताली पिटेपछि भीडको अनुकरणात्मक आदतले ताली पिट्छ – बुझेर होइन कि विनासोच मानव कार्यको सहज र प्राकृतिक अनुकरणमा आदति समर्थन स्वरूप । भीड संख्यामा मात्र छैन, त्यस संख्याको स्वभाव र प्रवृत्तीमा छ ।
भीडको नेतृत्वबाट मुक्ति पाएर अरूले गर्दै आएका कुरा नगर्न सार्है कठीन छ । घुस नखान र नखुवाउन, झुठ नबोल्न, आर्काको मालसामान नचलाउन र यस्तै गलत आचरणबाट अलग्ग रहन यस कारणले कठीन छ कि हामी भीडले गरेको कुरालाई नसोचिकनै समर्थन गरिरहेका हुन्छौं । भीडको समर्थन हाम्रो विचारशून्यताको सबैभन्दा प्रष्ट द्योतक हो । हामी भीडमा आफ्नो विवेक हराउँछौं, अन्तस्करण हराउँछौं, ह्दयनै पनि हराउँछौं । पानीमा घोलिएको चिनीको दाना जस्तो हामी भीडमा भीड बन्छौं । त्यसले जे सोच्छ, त्यही सोच्छौं; त्यसले जे गर्छ, त्यही गर्छौं ।
अनि एकान्तमा हामीले हाम्रो आचरण र सोचका बाह्य समर्थन नपाएपछि आफ्नै आत्मासँग कुराकानी गर्ने फुर्सद पाएर बस्दा हजारौँ प्रश्नका तीखा चुच्चाले बिझाएर जो छट्पटाउँछ त्यो जिउँदो मानिस हो । अरू त मरिसके किन कि भीडको आचरणमा भीरबाट सामूहिक आत्महत्यामा हाम्फाल्ने भेंडा जस्तै त्यो व्यक्ति अब व्यक्ति छैन जसको न विवेक छ, न अन्तस्करण, न ह्दय । भीडको आदेश पालना गरेर कुनै आर्को व्यक्तिलाई निर्घात कुट्ने हातले अब आफ्नो बच्चाको गाला कसरी मुसार्ला ? भीडले दिएको आदेश अनुशार आर्को व्यक्तिलाई सक्दो पीडा दिएर मार्ने ह्दयले अब आफ्नो परिवारलाई कसरी प्रेम गर्छु भन्न सक्ला ? भीडको आचरण अपनाइसकेको व्यक्तिले न आफूबाट न अरूबाट सभ्य र शिष्ठ आचरणको संभावना देख्छ । भीडमा विलाउनु मानवता गुमाउनु हो ।
समाज भीडभन्दा फरक कुरा हो । समाज सामूहिक नैतिक आचरण र सभ्यताको निम्ति सोचमा डुब्न सक्छ । संवेगभन्दा छलफल, तर्क, सोच र सतर्कताकासाथ समझदार निष्कर्शमा पुगेर सामूहिक हितको चिन्तन गर्छ । भीडमा व्यक्ति नाश हुन्छ भने समाजमा व्यक्ति खारिन्छ र उसको व्यक्तित्वको विकाश हुन्छ । समाजले व्यक्तिलाई पथनिर्देशन गरिरहेको हुन्छ जसरी कि व्यक्तिले समाजलाई सभ्यता जोगाउन आग्रह र सहायता गरिरहेको हुन्छ ।
तरै पनि व्यक्तिको पूर्णता चम्किन समाज मात्रले पुग्दैन, एकान्त पनि चाहिन्छ । समाज त्यो बाहिरी आधारमात्र हो जसको समर्थनले व्यक्तिको सोच र व्यबहारलाई कुनै दिशातर्फ प्रोत्साहन गर्छ । व्यक्ति छरिन चाहान्छ, समाजले उसलाई एकत्रित हुन सिकाउँछ । व्यक्ति पोखिएर वरीपरी बग्न चाहान्छ, समाजले उसलाई एकै ठाउँमा संकलित भएर गहिरिन सिकाउँछ । व्यक्ति उड्न चाहान्छ, समाजले उसलाई सामूहिक हितका लागि धर्तीमा नै उभिन सिकाउँछ । व्यक्ति अनन्त संभावनालाई केलाएर सबै प्रकारका अनुभव स्वीकार्न चाहान्छ । उसकालागि जीवन अनुभूतिको लहर हो, ताँती हो, जसको लामबद्धतामा विभिन्नता, फरक स्वाद, नयाँ मिठास, अनौठो र अप्रत्यासित रम्रम् जति प्रचुर छ जिउनुको अर्थ उति चर्किएको हुन्छ । व्यक्ति बाँच्न चाहान्छ र बाँच्नु भनेको नदीझैं बग्नु हो, बादलझैं बाक्लिनु र पातलिनु हो, हावाझैं तरङ्गिनु हो । व्यक्ति बाँधिन चाहाँदैन; उसको लागि बन्धन मृत्यु हो, स्वतन्त्रता जीवन हो । ऊ बोल्न चाहान्छ, हिड्न चाहान्छ, सुत्न चाहान्छ, नयाँ बिहानीमा लामो र मिठो स्वास फेर्दै आँखा खोल्न चाहान्छ, परिवारको प्रेममा रमाउन चाहान्छ, सुरक्षा चाहान्छ, अभय चाहान्छ, विश्व डुल्ने स्वतन्त्रता र अवसर, सुविधा र मिठास चाहान्छ । समाज उसलाई सँधै अरू अलिकति त्याग गर्न प्रोत्साहन गरिरहन्छ, उसको प्रवाहको दुइतिर किनारा बाँधेरै राख्न चाहान्छ । तर जब समाज उसको प्रवाहमा बाधा बन्न थाल्छ व्यक्तिले त्यस समाजलाई नै त्यागिदिन्छ र आर्कै विश्वमा छाँगा झरिदिन्छ किनभने उसको जिउने जन्मसिद्ध अधिकारको विरुद्ध ठडिएका सारा बाधक तत्त्वहरू नकार्नु वा भत्काएर अगाडि बढ्नु उसको नदी–स्वभाव हो । उसलाई डाँडा र मैदानका निर्जन र प्राकृत रफ्तार प्यारो लाग्छ ।
समाजको काम व्यक्तिको जीवनमा बाधा ठडाउनु होइन । लेनदेनको क्रममा समाजले व्यक्तिलाई स्वतन्त्रता र मानव अधिकार देओस्, व्यक्तिले समाजलाई आफ्ना भावनाका खुश्वु दिन्छ । समाजले व्यक्तिलाई अन्न, कपडा र वास देओस्, व्यक्तिले समाजलाई आफ्नो सच्चा परिश्रम दिन्छ । समाजले व्यक्तिलाई अवसार देओस्, व्यक्तिले समाजलाई आफ्नो क्षमता अनुसारको देन दिन्छ । तर जब लेनदेन एकतर्फी हुन खोज्छ, जब समाज र त्यसले सिर्जिएको राज्यव्यवस्थाले व्यक्तिको शोषण गर्दै उसलाई न हिंड्न सडक, न पढ्न विजुली, न पिउन पानी, न खान अन्न दिन्छ, तव व्यक्तिले पनि यस्तो समाजलाई त्यागेर विदेशिन्छ अथवा सशस्त्र अमानवताको मार्ग अपनाउँछ । जब राज्यको करले व्यक्तिको ढुकुटीमा छाम्छाम् छुम्छुम् गर्छ र त्यहाँबाट उठाएको सम्पतिले सुविधा दिन चाहाँदैन वा सक्दैन, त्यो दिउँसैको डँकैति हो । जब शिल्प, शिक्षा र चेतनाको अभावमा न्यायसमेत निदाउँछ, यस दुर्दशामा व्यक्तिले बाँच्नका निम्ति सोचेका उपायहरूउपर राज्यले बोल्ने अधिकार छैन किनभने राज्य आफैं चुकिसकेको छ ।
यसरी चुकेको राज्यको नागरीक आफ्नै मुलुकमा विरानो भएको अनुभव लिएर एक्लिएपछि ऊ एक्लो चिन्तनमा लाग्छ – त्यस्तो चिन्तन जुन भीडले गरेको भन्दा फरक भएकोले असामयिक छ । भीड दैनिक भौतिक खानपान, समाचार माध्यमको बुई, दौलतको प्रदर्शन, छद्म–विद्वताको धाक, शक्तिको प्रकाश र खोक्रो सफलताको रवाफमा प्रशन्न मुस्काइरहेको बेलामा व्यक्ति एक्लो चिन्तनमा तरङ्गिइरहेको हुन्छ – “यिनीहरूले भन्दैमा हुन्छ र ? सत्य आर्कै छ ! भौतिक सम्पन्नताभन्दा भावनाको श्रीसम्पतिमा मानिस हुनुको अर्थ अझ प्रगाढ छ । सच्चा शक्तिकेन्द्र व्यक्तिको ह्दय हो जसको पवित्रता र संवेदनशीलतामा मानव सभ्यता आश्रित छ । आफैंप्रतिको इमान्दारीता हराएको मानिसको भीड कहिल्यै पनि सभ्यताको त्यो स्वर्णयुगतर्फ फर्किन सक्ने छैन जहाँ उदार मानवतावादले प्राणी मात्रको जयलाई जिवनको लक्ष देख्न सकोस् । आजको यिनीहरूको विद्वता पाखण्डीको सपना हो; सद्भावको स्वर्णप्रभामा मानवताको सार छ ।”

जेठ ३०, २०६८

Sunday, February 26, 2012

मानव जगत्

पद्म देवकोटा

पृथ्वीमा मानिसको संयोगात्मक उपस्थितिले वातावरणीय चिन्ता मात्र ल्याएन, धर्म, नैतिकता, र अनेकौं सिद्धान्तप्रतिको वफादारीतासमेतका आधारमा सभ्यताको निर्माणकार्यले यसरी प्रोत्साहन पाउँदै गयो कि उसले आफ्नो जैवीक सारमाभन्दा निर्मित संस्कृतिमा गौरव गर्न थाल्यो, अर्थात् उसको बाह्य विश्वसँगको सामञ्जस्यता भन्दा मानसिक उर्जाका ज्ञान, आकांक्षा र भावनाले प्राथमिकता पाउँदै गए । अनि यिनै मानसिक उर्जाका आधारमा उसले कार्यद्वारा विश्वमा ल्याएको भौतिक परिवर्तन “विकास” कहलिन थाल्यो भने भाषामार्फत ल्याएका आचरणात्मक परिवर्तनसमेत संस्कृति कहलिन थाले । उसको अन्य प्राणीहरूबाटको भेद पनि यिनै निर्माणमा र यसरी भाषाका माध्यमबाट निर्माण गर्न सक्ने क्षमतामा अन्तर्निहित रह्यो । ऊ आफ्नै निर्माणको महत्त्वबोधले त्यस आत्ममहत्त्वमा झन्झन् भाषिंदै गयो जसबाट उद्दार सजिलो प्रक्रिया नभएकैले बुद्ध जन्मिए । तर बुद्धलाई भगवान बनाएर मानव महत्त्वाकांक्षाले आर्को एक खुड्किला चढ्यो मात्र; बुद्ध पाएको मानवजगत्ले बुद्धत्व पाएन । शायद चाहेन भन्नु गलत होइन किनभने आत्ममहत्त्वले इच्छा निभाउँदैन, झन् उकास्छ ।
मानिस स्वभावैले आदर्श सिर्जिन्छ, यथार्थ चाहान्छ । स्वर्गको कल्पना गर्छ, पृथ्वीमा अमरत्व खोज्छ । जीवनको कदर गर्छ, तर आफ्नो र आफन्तको मात्र । स्वभाव नत्याग्नु जीवको धर्म हो । यस अर्थमा मानिस अत्यन्तै धर्मात्मा प्राणी हो । तर ऊ चलाक पनि छ र त ऊ जटिल पनि छ । उसले सिर्जिएको धर्म र थामेको धर्मको व्यङ्ग्यात्मक दूरीमा दिमाग रन्थनाउने सभ्यताका भाषिक निर्माणहरू छन् जो अन्तत्वगत्वा शाब्दिक क्रिडाका अनुपम उदाहरण मात्र हुन् । ऊ त्यसै गरेर एक थोक बोल्छ, आर्को थोक भन्छ । सुख खोज्न हिंड्छ, सुविधा र सुरक्षा पाएर संतुष्ट बन्छ । सभ्यताको पारखी गर्छ, सभ्यताकै निर्माणका क्रममा आफैंले बनाएका नियम जति उल्लङ्घन गर्दै हिंड्छ । यही अन्तर्निहित विरोधाभाषमा उसको प्राकृतिक चरीत्र निर्मित छ र यही चरीत्रमा उसको विश्वदर्शन पलाएको छ ।
यही विश्वदर्शनले उसलाई कालो र सेतो विरोधी अवस्था देखाउँछ जहाँ कि यी दुइ अलग अवस्था मात्र हुन् । कालोले सेतोलाई वा सेतोले कालोलाई सँधैको निम्ति मेट्ने प्रयासमा सचेत कार्य जारी राखेको पक्कै छैन । यहाँ देखिन गएको विरोध मानिसको स्वभावमा अन्तर्निहित विरोधाभासबाट पलाएको दृष्टिकोणको निर्माण मात्र हो । अलग अवस्थामा विरोध देख्नु मानव धर्म हो । धर्मले जीवन र जगत्मा अर्थ प्रदान गर्छ । अन्य प्राणीको निम्ति विश्व निरर्थक पनि नहोला भन्ठान्छु किन भने भाषाको अभावमा अर्थको अर्थ छैन । वास्तवमा भाले र पोथीमै विरोधाभाष छैन । संवेदना र इन्द्रियबोध, संझना र उत्तेजनाले जीवनका आवश्यक कार्यलाई सहायता गरेका छन् । भौतिक निर्माण र विकाश योजना मानिसलाई मात्र चाहिएको छ । आधुनिकता र उत्तराधुनिकताका परिभाषा मानिसलाई मात्र चाहिएका छन् । शहरीकरणका दुर्दशाले निम्त्याएका अनगिन्ति समस्याका चिन्ताले फुलाएका केश कन्याउँदै ऊ आफ्नो झ्यालबाट मध्यरातको आकास हेर्छ र आफूभन्दा शक्तिशालीलाई गाली गर्छ, पुकार्छ वा नकार्छ । त्यसले न सुन्छ, न जवाफ दिन्छ । मानिसको वेदना मानिसकै स्वभावको उपज हो, तर आफैंलाई दोषी ठहराउनु उसको स्वभाव हैन । आत्मग्लानी मानव ह्दयको निम्ति नमिठो खुराक हो ।
आत्मविश्लेषण उसको सगुन हो; त्यसका नमिठा निष्कर्श गोप्य राख्नु उसको स्वभाव । आत्मविश्लेषणले उसको बल थप्छ । तर साधारणतय: मानिसमा आत्मविश्लेषणको क्षमता मात्र हुन्छ, त्यसको उसले उपयोग गरिरहेको हुँदैन । मानिसलाई जहाँ असल बन्नु भन्दा बाँच्नु अथवा आफ्ना इच्छा पूरा गर्नु बढी आवश्यक लाग्छ, उसलाई आत्मविश्लेषण व्यर्थको घोत्ल्याईं जस्तो लाग्नु स्वाभाविक हो । बाँच्नुपर्ने बाध्यतामा निर्मित संस्कृतिको मूल्य न्यूनतम छ । आफ्ना इच्छा पूरा पार्ने उद्देश्यले सामूहिक संस्कृतिको मूल्य बराबर नगन्य बनाउँछ । स्वार्थले जीवन धानेको अवस्थामा सभ्यता त्यो सोख हो जहाँ फुर्सद उच्चारित छ । फुर्सदकै क्षण बढ्दै गएको अवस्थामा सभ्यता र संस्कृतिका नवनिर्माण थपिँदै जान्छन् । बाँच्नका लागि संघर्ष गरिरहनु पर्दा सभ्यताको भन्दा आवश्यकताको आग्रह ह्दयमा बलियो हुन्छ ।
यसरी मानसिक उर्जाका आधारमा मानव जगत् बाह्य विश्वभन्दा अलग छ । तर मानसिक उर्जालाई महत्त्व प्रदान गर्ने क्रममा एक थरी मानिसले माटोभन्दा स्वर्ग र वैकुण्ठमा वास्तविक परम् यथार्थको आग्रह गर्न थाले – त्यो डोरीको सर्प जस्तो स्वर्ग जसको भ्रमले मानिसलाई आनन्द मात्र दिलाएन, नैतिक सभ्यताका बलिया बाँच्ने सुरक्षित आधारसमेत दिलायो । त्यसैले स्वर्ग नर्क जस्तै सामाजिक जीवनको आवश्यकता बन्यो । अनि आर्को थरी मानिसले यस्ता अयथार्थको निर्माणमा भन्दा इन्द्रियगोचर विश्वको यथार्थमा बढी सत्य पाएर ठोस र भौतिक जगत् आफूभन्दा परको यौटै वैकल्पिक अस्तित्वको रूपमा स्वीकार्दै सुविधा, सुरक्षा, सुस्वास्थ्य र सुखसम्मृद्धिका ठोस आधारमा परिवर्तन ल्याउनु नै विकास हो भन्ने तर्क प्रस्तुत गर्न थाले । मन र माटोको दोहोरो सत्यमा अल्झिएको मानव चेतनाले देह र आत्माको संगम थलोलाई जीवन भनी परिभाषित गर्न थाल्यो ।
तर त्यो चेतना कति सचेत छ भन्ने अनुत्तरित प्रश्न समक्ष मानव ज्ञानले निश्चितताको आधारमा ठाडो उभिन आजसम्म पाएको छैन । न आत्मज्ञान प्रष्ट छ, न विश्वज्ञान प्रष्ट छ । सरल यथार्थवादका आधारमा उभिएका विश्वासमा मानिसको बुद्धिले सबैभन्दा ठूलो साधारण सहमति पाउँछ । नत्र विश्व नै छ कि छैन भन्ने अस्पष्टतामा आफ्नै सोचाइका आधारमा आफ्नो अस्तित्व प्रमाणित गर्नु बाहेक मानिसको विकल्प छैन । ज्ञानको अनिश्चितता समक्ष विश्वासको ढिपी शक्तिशाली भएकोले तर्कभन्दा ह्दयको बोलि व्याबहारिक र संतोषदायी ठहर्छ । ह्दयले स्वीकारेको सत्यउपर प्रश्न गर्नु दु:ख निम्त्याउनु हो; नगर्नु अन्धविश्वास र अपरीक्षित विश्वासको अन्धकारमा फस्नु हो । जो मध्यममार्गी होइन ऊ कि फस्छ कि गिर्छ ।
उदाहरणको निम्ति “मानव जगत्” भन्ने यस लेखको शीर्षक लिऊँ । यहाँ संज्ञालाई विशेषणको रूमा प्रयोग गरेर जगत् कस्को हो भन्ने अनुच्चारित प्रश्नको जवाफ दिइएको छ र जुन जवाफ स्वत: बुझिन्छ त्यो पाश्चात्य धर्म र सभ्यताको निर्माण हो । पूर्वेली धारण र विश्वासका आधारमा जगत् मानिसको होइन र हुन पनि सक्दैन किन भने हामी यहाँ दुइ दिनका पाउना हौं । मानिस जगत्को हो जसरी कि अन्य पशुपक्षी र वनस्पती जगत्को हो । यसो हुँदाहुँदै पनि हामी जगत् हाम्रै हो भने जस्तो विश्वास राखेर भाषाको प्रयोग गरिरहेका छौं जुन कुरा अपरीक्षित भएकोले तर्क गर्न बाध्य पनि छौं । र तर्कको निष्कर्शले के बोल्छ भने आफू बाहेकको त्यो आर्को यथार्थ उपर आफ्ना भाषा, विचार र कर्मले परिवर्तन ल्याउन सक्छ भने यसरी ल्याएको परिवर्तन त्यो मानव जगत् हो जसको मानिस स्वयंले संरक्षण गर्न छोडेको दिन ऊभन्दा शक्तिशाली प्रकृतिले आफ्ना कर्मले आफ्नो बनाउँदै लैजान्छिन् । यो जगत् मानिसको हातमा भन्दा प्रकृतिको हातमा बढी सुरक्षित छ ।
तर पनि आफ्नो रचना आफैलाई प्यारो लाग्नु ठीक हो । अनकंटारलाई मनको मसिले रङ्गाएर सौन्दर्य–स्वाद नगुमाइकन सुविधा र सुरक्षा, फुर्सद र विलास, आवश्यकता र संभावनालाई मध्यनजर राखी रच्दै आएको मानव जगत्ले सारमा प्रकृति मेट्ने काम गरेको छ – यस धरतीको प्रकृति र मानिसको आफ्नै पनि प्रकृति । कमसेकम सचेत प्रयास यही नै हो । मानिस जगत्मा रहुञ्जेल यो प्रयास अटुट रहने छ । तर अन्त्यमा सत्य यो छ कि प्रकृति अमिट छ, अपराजित छ र शायद अनन्त पनि छ । यस सत्यको विरुद्ध हास्यास्पद मानव प्रयासले उसको अस्तित्व जति गिज्याइरहे तापनि उसका दुवै व्यक्तिगत र सामूहिक गौरव कर्ममा छन् – त्यो कर्म जसले विनाशको विगुल विरुद्ध नितान्त मानव जगत् निर्माणको कार्य थप्दै जान्छ । स्वत्वको प्रमाण कर्मद्वारा दिने प्रयास गर्नु मानव चेतनाको अन्तिम बल हो । निर्माणविना स्वत्व छैन, स्वत्वविना मानव जगत् छैन ।

भदौ १२, २०६८

अक्षय अक्षर २६ (कात्तिकपुस २०६८) : १३ ।

Tuesday, February 7, 2012

साहित्य : हिजो र आज

पद्म देवकोटा

सन् १९७०को दशकारम्भमा जुन दिन मैले विज्ञानको अध्ययन छाडेर बि.ए.मा साहित्य विषय लिएर पढ्ने निधो गरें, त्यस दिनदेखि मेरा हितैषीहरूले मेरो निर्णयविरुद्ध तर्क सुनाउन थाले — साहित्यले खान दिंदैन, यो फुर्सदको बेलाको मनोरञ्जन हो, अरू विषयभन्दा कम उपयोगी छ, आदि । वास्तवमा मेरा हितैषीहरू बेठीक थिएनन्, तर उनिहरूले साहित्य पढेका भने थिएनन् । उनिहरू साधारण जनताको त्यो समूह थिए जसले कवि तथा साहित्यकारको जीवन देखेसुनेको आधारमा आफ्ना निश्कर्षहरू निकालेका थिए । र वास्तवमै त्यस युगका नेपाली साहित्यकारहरूले आफ्ना कृति उत्पादनका आधारमा जीवन धान्न सम्भव पनि थिएन । यसले गर्दा कुनै पनि जवान मानिसको साहित्यप्रतिको मोहलाई परिवार र समाजले समर्थन गर्न कठीन थियो । बाबु–आमा चाहान्थे कि छोराछोरी आयआर्जनमूलक पेशामा लागुन्; डाक्टर, इन्जिनियर, लयर, व्याङ्कर बनुन्; र केही नलागे सेना वा सरकारको सेवामा जाउन् ।
अनि सन् १९९०को दशकारम्भमा जव मेरा विद्यार्थीहरूलाई मैले सल्लाहा दिनु पर्‍यो, म यसरी बोल्न थालें, “पैसा कमाउने भए अन्त जाऊ । साहित्य नै पढ्ने हो भने मनोरञ्जन मात्र नखोज किनभने मनोरञ्जन नदिने साहित्य पनि पढ्न बाध्य हुने छौ । अनि त्रिभुवन विश्वविद्यालयको मानविकी नामको “कमजोर दिमाग” कहलिएकालाई (किनभने “तेजिला दिमाग” हुनेले विज्ञान पढ्छ भन्ने अन्धविश्वास थियो) भेला गर्ने डिब्बाभित्रको अंग्रेजी साहित्य विभागमा छिरेर प्रतिष्ठा खोज्नु गल्ति हुनेछ है † आजको समाजमा प्रतिष्ठाको निम्ति राजनीति गर, पत्रकार रिजाऊ, चाकरी गर, आफ्नो माफिया तयार गर, तर साहित्यको सोझो विद्यार्थी नबन ।” यसरी मैले सल्लाहा पाएको समय र मैले सल्लाहा दिन थालेको समयको अन्तरालमा साहित्य मनोरञ्जनको विषय मात्रै रहेनछ भन्ने कुरा जनसाधारणले बुझिसकेको थियो । साहित्य रचेर त आजसम्म पनि धन कमाइदैन, तर अध्ययन तथा अध्यापन गरेर यसबाट धेरैले आफ्नो जिविका चलाइरहेका छन् । प्रतिष्ठा भने त्यस बेलादेखिकै प्रदुषित राजनीति र गुन्डागर्दीको वातावरणमा अध्ययन तथा अध्यापन पेशाबाट गुमिसकेको अनुभव थियो ।
आज त्यसको पनि अरू दुई दशक यता आएर हामीले स्वीकार्न बाध्य बनेको तथ्य यो छ कि कुनै पनि पूँजीपति व्यापारिलेभन्दा ह्यारि पटरकी लेखिकाले साहित्यकै सिर्जनाद्वारा उनिहरूले भन्दा बढी धन कमाउन सफल भएकी छन् । यस सफलताको पछाडि यौटा शिक्षित समाज पनि छ जसको पुस्तक पढ्ने संस्कृति दैनिक जीवनको यथार्थ भइसकेको छ । यो शिक्षित समाजले पढ्छ र पढेको कुरालाई लिएर प्रतिक्रिया जनाउँछ । सो गर्ने क्रममा चित्त नबुझेका धारणाउपर व्यक्तिगत आक्षेप नलगाईकन तार्कीक प्रतिवाद गर्छ । यस प्रवृत्तिले गर्दा पनि शिक्षित समाजमा कृतिको लोकप्रियता उत्कृष्ट साहित्यको एउटा उचित मापदण्ड बन्न सकेको हो, जुन लोकप्रियता कम शिक्षित समाजमा त्यत्तिकै उचित मापदण्ड नभईदिन सक्छ । बरु यस्ता कम शिक्षित समाजमा कृतिभन्दा लेखक अर्थात् विचारभन्दा व्यक्ति महान हुने अभियानमा सफल विज्ञापनले ठूला भूमिका खेलेका उदाहरण पाइन्छन् । बुझ्नेका लागि विज्ञापन केवल त्यो झुठ हो जसले आर्थिक जगत्मा सफलतालाई नाराका खुट्टमा उभ्याउन निरन्तर अभियान चलाइरहन्छ ।
शिक्षित र कम शिक्षित अवस्थाका भेद विभिन्न छन् । रोमान्टिक युगमा शिक्षित समाजको प्रतिनिधित्व गर्दै पत्रिका र विज्ञापनको तत्कालीन आधुनिकता तथा औद्योगिकरणका विरोधमा “रस्टिक” अर्थात् गाऊँ र काँठमा छरिएका मानिसहरूको पक्षधारी बन्दै जनताको बारे जनताकै भाषामा साहित्य लेख्न कर्मनिष्ठ वर्डस्र्वथले रुसोको सत्यदर्शनबाट प्रभावित भएर “अन्तर्दृष्टि” वा ह्दयमा प्रकृतिको सत् र सौन्दर्य फेला पारेका थिए — ती रुसो जसले भनेथे कि धेरै पढ्नाले आडम्बरी अज्ञानीहरूको समाजमा संख्या बढ्छ किन भने ज्ञान पुस्तकमा भन्दा वाह्य संसारमा छ । तर आजको संसार र आजको यथार्थ हिजोकोभन्दा फरक निश्चयनै छ । रोमान्टिक (र प्रत्यक्ष) यथार्थको विपरित आज यौटा यस्तो अतियथार्थ खडा भइसकेको छ जसलाई हामी पर्दाको विश्वमा प्रतीयमान यथार्थ पनि भन्ने गर्छौं । यस यथार्थमा आजका टिभि, मोबाइल, कम्प्युटर, भिडियो र डिजिटल क्यामरा चलाउन जान्ने सबै जना मुग्ध छौं । यस्तो आभासी यथार्थले हाम्रो स्वीकृति पाएर वा नपाएर हाम्रो ईन्द्रियगोचर विश्वकै ज्ञान सम्पादन गरिरहेको छ । अनि हामी यस्तै सम्पादित विश्वलाई यथार्थ मानेर खास यथार्थबाट टाढिंदै छौं । यस विन्दुमा आएर हामीले रुसोको तजभ mष्कगकभ या दययपक ष्क तजभ मभबतज या कयगलम भिबचलष्लन अर्थात् पुस्तकको दुरुपयोग सही शिक्षाको निधन हो भन्ने उक्तिलाई पुनर्मूल्याङ्कन गर्दै पर्दाको यथार्थ एक प्रकारको ज्ञान र अनुभव दुवैको महत्वपूर्ण स्रोत हो भनेर स्वीकार्नु पर्ने हुन गइसकेको छ । अर्थात् ज्ञानको स्रोत विश्वको वास्तविक यथार्थ मात्र नभई पर्दाविश्वको प्रतीयमान यथार्थ समेत हुन गएको अवस्थामा शिक्षा प्रकृतितर्फ वा वाह्य जगत्तर्फ फर्किनु पर्ला कि मुद्रित पुस्तकपछि देखापरेको पर्दाको प्रतीयमान यथार्थद्वारा पनि खारिनु पर्ला भन्ने प्रश्न गंभीर छ । वास्तविक यथार्थ र प्रतीयमान यथार्थको बीचमा रुमल्लिएको मानव चेतनालाई विवेकको निर्देशन आवश्यक छ । एक्काइसौं शताद्वीका धेरै बालबालिका प्रतीयमान यथार्थमै प्लेटोको गुफामा झैं रमाउन थालिसकेका छन् ।
उहिले एस.एल.सी.को पाठ्यक्रममा “लुसी ग्रे”मा कविले सरल र खुला ह्दयमा प्रकृतिले सहजै ज्ञान भर्छिन् भन्ने शिक्षा दिएका छन् भनेर परीक्षा उतीर्ण भएका साहित्यका विद्यार्थीलाई आजको समाज र सन्दर्भले नयाँ चुनौती दिंदै विवेकको सफल प्रयोग शिक्षाको एउटा लक्ष भएको सत्य स्थापित गरेको छ । विवेकको कार्य प्रत्यक्ष र आभासी यथार्थ दूध र पानी छुट्टाएझैं छुट्टाउनु हो । झुठ र सत्य छुट्टाउनु हो । अनि विवेकको कार्य भाषाबाट उत्पन्न भ्रमात्मक र वास्तविक सत्यको स्पष्ट निक्र्यौल गर्नु पनि हो । “मैले काग उडेको देखें” र “मैले भैंसी उडेको देखें” जस्ता आफूलाई बोलिबचनमा, छापामा, पर्दाको विश्वमा र जताततै घेरेर बसेका दैनिक भाषागत चमत्कारलाई अविवेकी पठन वा श्रवणले सत्यस्वरूप ग्रहण गरिरहेको हुन्छ भने विवेकले यौटामा मात्र सत्यको वा विश्वसनियताको संभावना देख्छ । तर विवेकको अभावमा कम शिक्षित जमातले “म नेपाललाई दुई वर्षमा स्वीजरल्याण्ड बनाइदिन्छु” भन्ने जादूगर राजनीतिज्ञको अविवेकी अनूयायी बन्न मात्र जानेको हुन्छ । अथावा, स्वार्थको निम्ति विवेक त्यागेको हुन्छ ।
यी सब कुराले साहित्यसँग कस्तो सम्बन्ध राख्छन् त ? साधारणतय चेतनाको बाह्य जगत्सँगको टक्करारबाट उठेका र लिखित भाषाको माध्यमबाट व्यक्त गरिएका नीजि प्रतिक्रिया साहित्य मान्न सकिन्छ । कुनै पनि रचनामा अभिव्यक्त प्रतिक्रिया स्थान र समय सापेक्षित छँदैछ । यसले गर्दा आजको दु:खदायी अशन्तोषजनक यथार्थ हिजोको आदर्श संसार र भोलिको अपेक्षित आदर्श संसारको बीचमा रहेर मानव जीवनको यथार्थलाई रामराज्यको सम्झनादेखि रामराज्यको सपनासम्म तन्काइदिएको छ । मानव अवस्था यही हो जहाँबाट घामछायाको अनुभवलाई गाउने प्रयासमात्र नगरेर मानिसले आस्थादेखि अनास्थासम्म हल्लिंदै आफ्नो चेतनाको ठोस विश्वसँगको टक्करावटलाई गंभीर अभिव्यक्ति दिने प्रयास गरिरहेको छ । निश्चित मृत्युको समक्ष आस्था मलम हो भने अनास्थाले मानव गौरव र इच्छा–शक्तिको गाथा गाउन छोडेको दिन आत्महत्या स्वीकार्नु बाहेक अस्तित्ववादी विकल्प रहँदैन ।
त्यसैले साहित्य मनोरञ्जनभन्दा बढी हाम्रो आफू र आफ्नो जीवनजगत्, आफ्नो परिवेश, समाज, सभ्यता, संस्कार, इतिहास, र संस्कृति बुझ्ने चेष्टाको अतिरिक्त यी सबलाई अर्थपूर्ण बनाउने प्रयास समेत हो । संस्कृति र इतिहास छैन भने समाजमा कुनै मूल्य र मान्यता नै बाँकी हुँदैन । यस्ता मूल्य र मान्यतालाई ह्दयको संवेदनशीलतामा अटाएर जोगाइरहने अमूल्य माध्यम साहित्य हो ।
अनि आजको साहित्यले परंपरगत शास्त्रीय सीमाना उल्लङ्घन गरिसकेको यथार्थ पनि बिर्सिनु हुँदैन । कुनै पनि ज्ञानलेझैं यसले पनि शक्तिको कुरुक्षेत्रमा परिभाषाका, दृष्टिकोणका, सिर्जित सत्यका जस्तै अन्य अनेकौं कुराका आधारमा विभिन्न दार्शनिक, समाजशास्त्रिय, सांस्कृतिक, आदि स्थानमा नीजित्व स्थापित गर्दै आउन थालेको छ । उदाहरणको निम्ति हिजोको दर्शनशास्त्र आजका साहित्यका सिद्धान्तहरूमा परिणत हुँदै सिङ्गो समालोचना नै जीवनजगत बुझ्ने साहित्यिक अभियानमा परिणत भइसकेको अवस्था छ । यसै सिलसिलामा पाश्चात्य जगत्मा करीव सन् १९६०–१९९० को बीचमा साहित्यले आफ्नो क्षेत्र फैलाउने क्रममा क्रमश: “सांस्कृतिक अध्ययन”मा रूपान्तरित भयो ।
त्यसैले एकातिर साहित्यले मनोरञ्जन दिन्छ भन्ने कुरा बेठीक होइन, तर आनन्दका वस्तु र कर्मलाई सामाजिक र सांस्कृतिक परिवेशमा राखेर चिन्तनलाई र यसकै माध्यमबाट समकालीन दर्शनलाई समेत समेट्दै पाश्चात्य जगत्ले सन् १९६० को दशकमा “साहित्य”को अझ व्यापक फैलावट खोज्दै नारी साहित्य, लोकप्रिय साहित्य र जनताको साहित्यको माग राख्दै आएको हो । यसले साहित्य समालोचना र राजनीतिलाई अझ निकट ल्याएर माक्र्सवादलाई थप पुष्ठी गरेको छ । सन् १९७० को दशकमा पहिले साहित्य नभनिने पाठहरू पनि साहित्य कहलिन थाले । सन् १९८० को दशकमा साहित्यको नयाँ नामाकरण भयो र यो सांस्कृतिक अध्ययन कहलिन थाल्यो । अनि यसै गरी क्रमश: साहित्य पढाउने कुरा नभएर अध्ययन गरिने पाठमा परिवर्तित भयो, जुन पाठ लिखित अक्षर मात्र नरहेर लेक मिशिगनका किनारमा लामबद्ध उभिएका गगनचुम्बि भवनहरू, साम्राज्यबाट स्वतन्त्रताप्राप्त भारतेलीले भीरेका टाई र सुट, र रानीपोखरीको आकाशे पुलबाट देखिने व्यस्त सडकको भाग पनि बन्न सक्यो ।
यस सन्दर्भमा साहित्य अनुभवभित्रको विश्वप्रति सचेत चिन्तन तथा प्रतिक्रिया बन्दो छ भने यो अध्ययन गर्न नालायकको विषय ठान्नु हाम्रा भौतिक आवश्यकतालाई सर्वश्रेष्ठ मान्नु हुन जान्छ । कल्पना, उत्सुकता र बौद्धिकताका अभावमा मानव परिचय यौन, खाना र वस्त्रको तहमा ओर्लिएको समाजलाई लाखौं प्रवीण वैज्ञानिकले जोगाउन सक्ने छैनन् भन्ने मान्यता साहित्यले राखेको छ ।

आषाढ १२, २०६७
मैतीदेवी
चारु मित्र चौतारी स्मारिका २०६७, चावहिल, पृष्ठ ६१-६३