Tuesday, August 24, 2021

लाज हराएको देश

हो, यो “हल्लै हल्लाको देश” हो ।

अनि यो सपना देखाउने र देख्नेको देश हो ।

अनि यो भ्रमको खेति गर्नेको देश हो ।

साथै यो लुट्ने र ठग्नेले चलाएको देश हो ।


यहाँ मानिस जिउँदै ईंटाभट्टामा पोलिन्छन्,

अनि बलात्कृत भएर मारिन्छन्,

अथवा तुहिनका तार काटेर 

पार गर्दैगरेको युवालाई भेलमा खसाल्दा पनि 

प्रत्यक्षदर्शी जति मौन बनेर बस्नुपर्छ । 


यहाँ आगो र पानीले ज्यान जाँदा 

भाग्य यस्तै रहेछ भन्नुपर्छ ।

यहाँ खान नपाएर छटपटाउँदा

ईश्वरको इच्छा यस्तै रहेछ भन्नुपर्छ ।

यहाँ काम नपाएर विदेसिँदा

लास बनेर स्वदेश फिर्नुपर्छ ।

मालिकबाट कुनै दया भएको रहेछ भने

एक भोट भएर कसैको बाकसमा खस्नुपर्छ । 


विरोध जनाउनु महापाप हो ।

विरोध नजनाउनु जघन्य अपराध हो ।

तर हे दलहिन मानिस हो !

बुझ ! सत्यको सिधा बाटो समाउनु

महाशठपनाको अक्षम्य पाप हो ।


सिक ! सिक उनिहरूसँग बलियो बन्न ।

आफ्नै कर्तुत नकार्न, होइन भन्न ।

अदालत छल्न, शत्रु गाल्न,

शक्ति ढाल्न, 

आफ्नै घरमा आगो बाल्न,

गोटी चाल्न ।


नत्र 

तिमी केवल एक शीकार !

किन कि बाँचिरहेछौ यस्तो याममा

जहाँ सिङ्गो दुनियाँ आज

देखाइरहेछ नाङ्गो नाच, 

नाङ्गो नाच !


यो “हल्लै हल्लाको देश”मा 

मैलो भूमरीमा छ समाज 

किन कि हरायो यसले, 

कसरी कुन्नि ?

सम्पूर्ण लाज !


भदौ १, २०७८ 


Friday, August 6, 2021

जगमान गुरुङलाई फेसबुकमा जवाफ

 २०७८ श्रावण २२ शुक्रबारको “नयाँ पत्रिका”मा “नयाँ पुस्ताले देख्न पाउने छैनन् महाकवि देवकोटाको घर” शीर्षकको लेखमा फेरि पनि महाकविका छोराछोरीलाई दोषी देख्ने प्रवृत्ती छर्लङ्गिएको छ । अरू सामान्य मानिसले बोलेको भए म यो जवाफ लेख्ने थिइन, तर नेपाल प्रज्ञा–प्रतिष्ठानका उप–कूलपति जगमान गुरुङले “पद्म देवकोटाले म जन्मिएको घर भत्काउँदा दु:ख लागेको बताउँदै आउनुभएको रहेछ । सरकारबाट पैसा लिएपछि यसो भन्नु राम्रो होइन, कि त पैसा नलिएको भए हुन्थ्यो” भनिसकेपछि म चुप लाग्न सकिन । मैले आफूले अनुभव गरेको दु:ख मेरो आफ्नै फेसबुकमा व्यक्त गर्नु गल्तिभयो भन्ने हैसियत के उहाँ उप–कूलपति भएवापत आएको हो ? अनि के देवकोटा परिवारले चाहिँ सो घरजग्गा सित्तैमा सरकारलाई दिनुपथ्र्यो भन्ने उहाँको भनाई हो ? उहाँलाई यति पनि थाहा रहेनछ कि सो घरजग्गा “तीन करोडभन्दा बढी मूल्यमा”मा हैन कि दुई करोड पचास लाखमा बेचेको हो । अनि सो रकम पद्म देवकोटाले मात्र बैंकमा लुकाएको छैन । 

साथै, जगमान गुरुङले बताउनु भएको रहेछ, “छोराछोरीले घर संरक्षण गरेको भए प्रतिष्ठानले उक्त घर भत्काएर नयाँ घर बनाउन हातै नहाल्ने” थियो । यस्ता कुरा बताउनु हुने जगमान गुरुङलाई मेरो एक प्रश्न छ – २०४८ सालमा घरको छानो चुहिएर घरै भत्किने स्थिति आउँदा कस्ले छानो फेर्‍यो होला ? 

क) नेपाल सरकारले

ख) नेपाल प्रज्ञा–प्रतिष्ठानले

ग) जगमान गुरुङले 

घ) महाकविका छोराछोरीले ? 

साउन २२, २०७८


Monday, August 2, 2021

“यादव खरेलको महाकवि प्रेम” उपर टिप्पणी

 कात्तिक २८, २०७७ को इकागजमा सामीप्यराज तिमल्सेनाले लेख्नुभएको  “यादव खरेलको महाकवि प्रेम” शीर्षकको लेख पढेँ । 

लेखिएको रहेछ, “छोराछोरीको कुरा राख्न पाएको भए राम्रै हुन्थ्यो होला तर छोराहरूले खासै रुचि देखाउनु भएन ।”

मेरो संझनामा यादव खरेलजीले पहिले मसँग पनि अन्तर्वाता लिने सोच राख्नुभएको थियो, तर कुनै कारणवश उहाँले मलाई एक दिन भन्नुभयो, “मित्रनाथजीको उमेर पनि भइसकेकोले यस वृत्तचित्रमा उहाँको अन्तर्वाता राख्न उचित होला । तपाईंको नराखौ है ?” मैले यस विषयमा हुन्न भन्ने ठाऊँ थिएन । मेरो पनि अन्तर्वाता राख्नुपर्छ भन्ने वाला म पक्कै थिइन !