Wednesday, April 10, 2024

आदि अणु

१. माटो व्युँती माटो बुझ्न
    प्रश्न उठाउँछ लाख ।
माटो के हो ? प्रश्न गरेपछि
यही क्षमताको जादू बुझ्ने
    मनमा उठ्दछ चाख ।

२. के माटोबाट प्रश्न उठेछ
    घाँस, विरुवा, बोट सरी ?
फूल माटो कि चेतन माटो ?
    बुझूँ समस्या म कसरी ?
अनुभवभन्दा तर्क छ सत्य
    भन्ने मेरो के आधार ?
अचूक सत्य मेरो निम्ति
    केवल दिलको प्यार !

३. सृष्टिकारक आदि अणुको
    विस्फोटनको भिक्षा यो
मानव जीवन ! प्रेम भनेको
    यसकै सिङ्गो दीक्षा हो ।
ब्रह्माण्डसँग यो फैलिजान्छ,
    जीवन लहरो अनन्त तान्छ,
मूल अग्नीको ज्वालाबाट
    जीवनदायी पानी तान्छ ।
यसले केवल दिलको तर्क
    मात्रै मान्छ, मात्रै मान्छ ।

 

- पद्म देवकोटा

 

वर्षा

गाढा नीलो जलधिहृदको सारको सुस्त बोली
चढ्दै उक्ल्यो ज्वलन नभको शान्त पार्दै छिचोली ।
चर्काधर्का किरणकिरणै व्योममा ती उज्याला
पोल्थे ज्यादै, जलद नभमा फैलियो ढाक्न सारा ।।

बाक्लो जालो नभभर जसै वाष्पको टम्म लाग्यो
के के के के मनभर यसै भावको भार जाग्यो ।
बोली बोलूँ भनिकन कतै गड्गडाएर आयो
थोपा थोपा छरछर छरी बर्बराएर गायो ।।

थोपा झर्थे तपतप यसै भू सिंगारी, रसाई,
बुट्टा बन्थे जमिन भरनै शुष्कले भिज्न पाई ।
बोल्थ्यो भाषा सगरहृदको पात हाँगा नचाई
यस्ले गायो अवनितलमा शस्य सारा हँसाई ।।

झम्झम् वर्षी तृण र तरुमा छन्दको मूल दीक्षा
झर्थ्यो, उठ्थ्यो सरस दिलमा गाउने तीब्र ईच्छा ।
खोलूँ आफ्नो हृदय पनि यो वृष्टिको ताल टिप्दै
भन्दै झीना सबतिर जरा फैलिए गान खोज्दै ।।

छंछंछंछं छमछम सबै टिप्न भाषा प्रयास
गर्दा साना कुसुमविरुवा छर्न खोज्छन् सुवास ।
यिन्कै गर्दै अनुकरण यो लेख्न खोज्दो छु केही
खोली यो कुड्मल दिल फुले वास्निनेनै छ देही ।

आओस् वर्षा नवरस छरी झार्छ कालो विषाद,
हाँसोस् वर्षा मधुर स्मितिमा काव्यको पाद पाद ।
रुख्खा सुख्खा दिल पनि सफा आद्रता ली मिठास
गद्गद् एक्लै नभमुख गरी फेर्दछ स्वच्छ स्वास ।।

बग्दै जाने कलकल गरी अन्त्यमा सागरै हो
पानी पर्दा सब नद मिली खोज्न जाने त्यतै हो ।
जम्दै भर्दा विफल पलमा भर्छ यौटा तलाऊ
नाच्दै कुद्ने मन लहर भो ! भिज्न हे मित्र आऊ ।। 


- पद्म देवकोटा

छोरालाई स्कूल पठाउँदी

डोन्ट् क्वारल्, अब लेट् भयो बस छुटे जाने कसोरी उता ?
क्विक्ली शर्ट लगाउ लौन झगडा छोडेर ओबे गर ।
के होम्वर्क् सकियो ? छ ध्यान जति प्ले गर्ने कुरामा सँधै,
हाल्यौ पेन्सिल ? के किताव सब ती ब्याग्मा त पुट् गर्दियौ ? 

ह्याङ्की खै ? छ सिगान नोज भर क्या डर्टी तिमी छौ हरे !
के भन्लान् सब फ्रेन्डले ? पुछ सफा त्यो नोज राम्रोसित ।
लेट् भो जान अहो ! ल पुट् गर छिटो, योर् शुज लगाऊ अब,
लन्च्बक्स् चैं नलिई नदौड यसरी हङ्ग्री बनौला भरे !

क्या हेभी ! तर क्यारि गर्न तिमीले पर्ने छ नै ब्याग यो ।
बी गुड् ब्वाइ, झगडा नगर्नु बसमा, स्कूल्मा बसी राम्ररी
ईंग्लीस्, म्याथ पढे, गरे सब कुरा सर्ले भनेका जति ।
मम्मीले घरमा बसेर अनि के डार्लिङ् म तिम्रा सबै
मीठा स्नेक्सहरू बनाउँछु तिमी आई सबै टेस्ट गरे ।

नाउ् गो ! वेट् ! शु लेसै  खुलेछ पख यो टाइ् गर्छु म, लौ भयो !
ओके बाइ ! पढेर आउनु भरे, वान् लाष्ट किस् ! लौ भयो !

- पद्म देवकोटा

बुद्ध संझेर

१. के चेतना प्ल्याङ्कको लम्बाईभन्दा सानो होला ?
सापेक्षितताको पारावारमा क्षितिजकिनारा यसले छोला ?
अणुका विन्दु, अणुका वायु, अणुका आगो, पानी, वतास,
सब मूल तत्त्वको सृष्टि हामी !
    हाम्रो प्रश्नमा यसको बास ?
अचम्म लाग्छ हे साथी ! मलाई,
    सोची ल्याउँदा अलिकति त्रास !
बोध खुलेका भन्छन् यस्ता
    सोच गलत हुन् ! लेऊ आस !

२. नहुनु हैन शून्य भनेको, न त हो रीत्तो खाडल कालो,
अभावमय यो हैन अवस्था, दृष्टिकोणको माया जालो ।
मूल्यविहीन प्रशस्ती मात्र, भ्रमको झल्झल पनि हैन ।
यथार्थ भइकन मानव दिलको सत्य भने यो हैन ।
अचम्म लाग्छ हे साथी ! मलाई,
    संसार सागर चल्छ अस्थिर,
बोधिसत्वको डिलमा बस्दा
    कसरी नलागोसर उसकन पीर ?

पद्म देवकोटा