Sunday, April 8, 2012

ज्ञान र विश्वास

पद्म देवकोटा

विश्वासको निम्ति म ज्यानको बाजी लगाउन सक्छु, ज्ञानको निम्ति त्यसो गर्नुपर्ने आवश्यकता मलाई कहिल्यै लाग्दैन । विश्वास मेरो हो, मेरो निष्कर्शको परिणाम हो; ज्ञान मानवजातको साझा सम्पति हो जो कालान्तरमा बढ्दै र खारिँदै जान्छ । विश्वास अन्तत्त्वगत्त्वा म हूँ – मेरा इन्द्रियद्वारा प्राप्त बाह्य संसारको अनुभव जसका आधारमा मेरा सरल यथार्थवादी धारणा उभिएका छन्, मेरा झुकाव लच्किएका छन्, मेरा मूल्य र प्राथमिकताले स्थान पाएका छन् र मेरो परिचय बुनिएको छ । मेरो व्यक्तित्वको ठूलो अंश मेरो विश्वासले रङ्गिएको छ । ज्ञानले मेरो व्यक्तित्व बिगार्ने काम पनि गरेको हुनसक्छ किनभने यसले अहंलाई पाखण्डीपनको शिखरत्वतिर उकासेको हुनसक्छ । ज्ञान मलाई घरपरिवारले, समाजले, शिक्षाले र अनुभवले पनि दिएको हुन्छ । विश्वास मेरो ह्दयको बोलि हो । ठीक होस् वा बेठीक, विश्वास मेरो निजस्व हो; ज्ञान सामाजिकताको प्राप्ति । म अरू जस्तो होइन कि आफू आफै जस्तो रहन चाहाने हुनाले मलाई ज्ञानभन्दा विश्वास ठूलो लाग्छ ।
म ज्ञानलाई सोर्हैा आना नकार्न पनि चाहाँदिन किनभने यसकै निर्माणमा मेरा कतिपय विश्वास आश्रित छन् । धारणाका शीखामा चढेका प्रत्यक्ष बोधका प्रज्ज्वलनशील खुराकको ज्वालाले प्रकाशित ह्दयका विश्वास मेरा निम्ति स्तुत्य छन् । यस ज्योतिले बराबर अन्तज्र्ञानको चमक लिएर रहस्योद्घाटन गरेको अनुभव केही विशिष्ट मानिसहरूले पाएका पनि छन् र तीनबाट मार्गप्रदर्शित हुनेले जीवन सार्थक भएको अनुभव पनि गरेका छन् । भौतिकता नकार्नु आफ्नो देह नकार्नु हो । म त्यसो गर्न सकिरहेको छैन किन कि देहको अभावमा म को हूँ भन्ने कुरा कहिले पनि प्रष्टसँग बुझ्ने छु जस्तो मलाई लाग्दैन । म यही ज्ञानको अस्पष्टतामा भावना र विश्वासका मिथकीय निर्माण खोज्दै अन्तरीक्षको कालो दुलोमा विराट स्वरूपको मुख देख्छु जसले एकातिरबाट निल्दै आर्कोतिरबाट वकल्दै छ । हिन्दूहरूको मिथकीय कल्पनाको म प्रशंसक हूँ । मलाई यशोधाले कृष्णको मुखभित्र चिहाउँदा पाएको ब्रह्माण्डको दर्शन कालो दुलोपारिको संसारको दर्शन जस्तो लाग्छ । कालो दुलो पारिपटी आर्को ब्रह्माण्डीय विस्फोटनको यथार्थ वैज्ञानिक तथ्य प्रमाणित नभइसकेको अवस्थामा पनि यो ह्दयले स्वाद लिन सक्ने यस्तो विश्वास हो जसलाई मानव ज्ञानका थप निर्माणले गलत सावित नगरूञ्जेलसम्मका लागि सत्य मानिदिंदा बिग्रिने केही छैन । समाधिस्थ साधुको अन्तरीक्ष उडान वैज्ञानिक महात्माको अन्तरीक्ष यात्रासँग प्रतिस्पर्धा नगर्ला, तर विज्ञान त्यस प्रकारको ज्ञान हो जसलाई हाम्रा विश्वासले संपूर्णतामा नभए तापनि सगौरव अँगालेकै छ ।
म केवल अन्धविश्वाससँग डराउँछु । यसका आधार ज्ञान नभएर ढिप्पी, घमण्ड, पूर्वाग्रह र अज्ञान छन् । अन्धविश्वासले तर्क गर्दैन । भूतप्रेत देख्नेले परलौकीक चमत्कारको असीम संभावनालाई अगाडि सार्दै राखेका ‘तर्क’ मेरा निम्ति सुपाच्य छैनन् । भौतिक आँखाका लागि विद्युतीय–चुम्बकीय संवेदना यथार्थ हुन् भने अभौतिक भूतको दृश्य आँखाका नभएर मनका कथा हुनुपर्छ भन्ने तर्क नमान्ने ढिप्पीसमक्ष म अवाक् छु । भावनाका यात्रामा भने फेरी मलाई विश्वास राख्न मन लाग्छ । एकातिर मेरा निम्ति पितृश्राद्ध कार्य सामाजिक सम्झौता मात्र हो भने श्राद्धको क्रममा उठेर दुइ पाइला दक्षिणतर्फ चाल्दा गया पुगेको ठान्नु श्रद्धाको कार्यमा सुविधा प्रदान गरेको उदाहरण पक्कै हो । गयाको वालुवामा विष्णुपादीका थमाउँदा तीर्थश्राद्ध हुन्छ भन्ने “ब्राह्मणम् वचनं परिपूर्णमस्तु” छँदैछ । कुनै लाभ नगर्ने वा सुविधा नबढाउने सम्झौता आत्मपराजय हो । ब्राह्मणको वचन त्यस बेलासम्म परिपूर्ण हुन्छ जनु बेलासम्म यसले मेरो (र अरूको पनि) हित गर्छ । सुविधाको अभावमा मात्र हाम्रा अधिकारका प्रश्न उठ्छन् । तर एक पटक गयामै गएर श्राद्ध गर्नुपर्छ भन्ने कृत्रिम बाध्यताको म घोर विरोधी यस कारणले छु कि मलाई आफ्नो संस्कार र संस्कृति जोगाउन विदेसिनु पर्ने बाध्यता त्यस सांस्कृतिक उपनिवेशवादी तर्कको उपज हो जस्तो लाग्छ जसले गर्दा भारतले नेपालउपर धेरै खेल्ने ठाऊँहरू पाएको छ । त्यसैले गया जानै पर्ने बाध्यता तोड्नै पर्ने अन्धविश्वासको कोटीमा राखेको छु ।
जीवनमा ज्ञान, विश्वास र अन्धविश्वासको प्रभाव विभिन्न रूपमा परिरहेको हुन्छ । हाम्रो चेष्टा अन्धविश्वास फारेर ज्ञानमार्फत् विश्वास दरीलो पार्दै लैजाने हो भने ज्ञानको प्रकृति र यसको विश्वाससँगको आपसी सम्बन्ध बुझ्नु पनि आवश्यक छ । बुद्धि, अनुभव र अन्तज्र्ञानका तीनवटा बाटाबाट ज्ञान प्राप्त हुने कुरा दार्शनिकहरूले बताए तापनि म आफूले पालेको कुक्कुलाई हेरेर चकित पर्छु । हामी अनुभव गरेपछि ज्ञान प्राप्त हुन्छ भन्छौ – अगुल्टोले हानेको कुक्कुर विजुली देखी डराउँछ रे ! तर मेरो कुक्कुर पार्खाल लगाएको कम्पाउण्डमा दुगुर्दै खेलेको हेर्दा त्यो गएर पर्खालमा कहिले पनि ठोक्किएको देखेको छैन । पर्खालतिर हानिएको कुक्कुरले त्यसमा ठोकिन्छ भन्ने अनुभवविना ज्ञान कसरी पायो ? त्यसको बुद्धि छ भनु भने त्यो प्रमाणित गर्ने मेरो क्षमता छैन । मानिसको ज्ञान भाषामा हुन्छ भन्ने आजको तर्कको वैज्ञानिक प्रयोग कुक्कुरमा लागू गर्न समेत सकिँदैन । जुन नियम लागू गर्न सकिँदैन त्यो नियम निरर्थक छ । कुक्कुरलाई अन्तज्र्ञानी भन्नु हास्यास्पद कुरा हुन जान्छ । तर पर्खालतर्फ सोझै कुदेको कुदेको कुक्कुर विना अनुभव, विना तर्क, विना धारणा, विना अन्तज्र्ञान सो पर्खालसँग नठोक्किएर फर्किनुले त्यसको अन्तर्चेतन र विश्व दुवै यथार्थ हुन् भन्ने कुराको प्रत्यक्ष प्रमाण भएको कुरा सरल यथार्थवादकै आधारमा पनि नकार्न कठीन छ । सरल यथार्थवादभन्दा उपल्ला कुरामा दार्शनिक शब्दजाल बिछाएको बाहेक पाइन्न । तर पनि सरल यथार्थवाद सबै प्राणीको आधारभूत ज्ञान हो भने भाषायुक्त प्राणीको ज्ञान यही जटिल शब्दलाजमा समातिन्छ ।
अनि, यस प्रत्यक्ष प्रमाणमा विश्वास गर्नुको अर्थ आफ्नो अनुभवलाई आधार बनाएर यौटा दृष्टिकोण अँगाल्नु हो । दर्शकपिछेको दृष्टिकोण अलग हुने संसारमा अन्य आधारको अभावमा सबै दृष्टिकोण उत्तिकै सही/गलत हुने भएकाले ज्ञानले शक्तिको आश्रय लिन्छ । यसको अर्थ ज्ञान शक्ति हो भनेको हैन; शक्तिशालीले ज्ञान के हो भनेर बताउँछन् । प्राज्ञिक संस्था बलियो भए प्राज्ञले ज्ञानको परिभाषा गर्छ; राजनीति बलियो भए राजनीतिक संगठनले ज्ञानको परिभाषा गर्छ । परिभाषा जसबाट आए पनि ज्ञान भाषामा मात्र उपस्थित छ । अनुभवलाई भाषामा नढालेको खण्डमा त्यो ज्ञान बन्न सक्दैन । भाषा कुनै संस्कृति वा समाजको साझा सम्पति भएकै कारणले ज्ञान पनि समाजकै सम्पति हो । तर विश्वास नितान्त व्यक्तिगत आर्जन हो ।
अनि, शिक्षाको मूल उद्देश्यमध्ये यौटा यो पनि हो – चरित्र निर्माणको प्रक्रियामा ज्ञान खार्दै विश्वासलाई विश्वमा साकार पार्नु हो । धार्मिक विश्वास प्रवल भएको मुलुकमा मन्दीर धेरै हुन्छन् जसरी कि चार्वाक विश्वास प्रवल भएको मुलुकमा मोजमज्जाका स्थान र साधन प्रशस्त हुन्छन् । विश्वासले कोरेको भूगोलमा बाँच्नु मानिसको नियति हो । आफ्ना विश्वासले कोरेको भूगोलमा बाँच्न नपाउनु उसको दुर्भाग्य † लादिएका विचारधारा सामाजिक अस्वस्थताका लक्षण हुन् भने वैचारिक अभिव्यक्तिको स्वतन्त्रताको अभावमा सचेत व्यक्तिलाई दु:ख मात्र छ । दु:ख त कुनै पनि व्यक्तिलाई भौतिक अभावै अभावको अवस्थामा छँदैछ । तर फोस्रो राजनीतिक र दार्शनिक सिद्धान्तवादीताभन्दा ज्ञान र चेतनाको धेरै उपल्लो कोटीमा पुगेका मानिसहरूमा भौतिक अभावले त्यति छटपटी नल्याउला जति कि वाक् स्वतन्त्रताको हनन्ले ल्याउला । यस उच्च चेतनाको अवस्थामा आर्थिक गरिबी–रेखा दु:खभावको कृत्रिम चित्र बन्न जान्छ किनभने सुखको मापदण्ड अन्यत्र छिपेको हुन्छ । यसैले जीवनको स्वाद भौतिक सामग्री खरीद गर्ने क्षमतामा मात्र सिमित रहन सक्दैन । त्यसैले पनि बोल्न चाहेर पनि नपाएको गरिबको पीडा अझ ठूलो छ । तर पनि आवश्यक भौतिक सामग्री खरीद गर्न नसक्नुको ताडना असम्पन्न र अस्थिर मुलुकका जनताका दैनिक अनुभव हो । जुन मुलुकका प्रहरी सुडान काण्डले खोरमा जाकिएका छन्, जनसेना वर्षाैंसम्म क्याम्पमा थुनिएको छ, बाटोघाटो अस्तव्यस्थ छन्, आर्थिक संस्थाहरू अन्यौलमा छटपटाउँदै डुब्दैछन्, मन्त्रीमण्डल प्रत्येक ऋतुसाथै फेरिन्छन् र जनताले आसा र आश्वासनमा मात्र बाँच्न परिरहेछ, त्यस मुलुकमा न शिक्षा न स्वास्थ्य न सभ्यता बाँकी रहन्छ । आफ्ना पार्टीका मानिस मात्र देशका जनता हुन् भन्ने पूर्वाग्रही नेताहरूले डसेको नेपाली जनसागर त्यो गृहयुद्धपश्चात् भत्किएको राष्ट्रमा पिल्सिरहेको छ जसको बारंबार मर्मत, सम्भार वा पुन:संरचनाका दायित्व दातृ मुलुकले सगौरव लिँदै अझ धनी हँुदै गइरहेका छन् । यस विजोगमा, यस अन्धकारमा बाहिरबाट कसैले बत्ती बालिदेला भन्ने आसा राख्नु बेहोसीपना हो । आत्मविश्वास र ह्द्ध्वनिको भरमा कर्तव्यनिष्ठता र धैर्य देखाउनु सिवाय सडकमा नउत्रिने व्यक्तिहरूको विकल्प मार्ग न हिजो थियो न आज छ । आजका दिनमा पनि ज्ञान दु:खको श्रोत र विश्वास संतोषको बाटो रहेको छ । मलाई ज्ञानले पोल्छ; “सुनको दिन एक उदाउँछ रे” जस्तो विश्वासले मलम लागाईदिएर शीतल पार्छ । यस विश्वास विश्वमा साकार भएको दिन राष्ट्रले यौटा विजय हासिल गर्नेछ ।
तर विश्वास के को ? बजारमा किनेको दाल, चामल, फलफूल, सागसब्जीसमेत खाद्यपदार्थ हुन् कि विष हुन् भन्ने अस्पष्टतामा बाँच्नु परेको दुनियाँले केमा विश्वास गर्ने ? कसमा विश्वास गर्ने ? असफल राष्ट्रको यौटा आर्को लक्षण विश्वासघात हो । परिवार, समाज र राजनीति तीनवटै तहमा यो लक्षण एकैताल देखापर्छ । यसैले सुरक्षा कतै छैन । दण्डहीनताको पराकाष्ठामा शक्तिशालीको आँखाको इशारामा न्याय बाँढिन्छ । यस अवस्थामा मानिसले परलौकीक न्यायमूर्तीले जीवनमा पाएको दु:खको भर्ना स्वर्गमा सुखैसुख दिलाउँछ भन्ने बाहेक छैन । त्यसैले पिल्सिएको अशिक्षित जनता भाग्यवादी भए भनेर म तिनीहरूलाई दोष दिन्न । अलिकति शिक्षित र विवेकीको निम्ति अरू पनि निकाश छन् । ती मध्ये सर्वोत्तम निकाश अरू जस्तो नबनेर आफ्नो दर्द पिउँदै वरपरका मानिसको हितमा लाग्ने हो । आफूले अरू दुइजना व्यक्तिलाई सज्जन तुल्याउन सक्यो भने विश्व अझ सुन्दर बन्ने छ भन्ने विश्वासमा आफूलाई अर्पिने बाहेक विकल्प देख्दिन । ज्ञानले यो विश्वाससमेत निभाई दिन्छ कि जस्तो गर्छ ।
वास्तवमा मानिसले अन्त्यमा सुख हैन कि सुरक्षा मात्र खोजेको हो भने जस्तो पनि लाग्छ । मृत्युबाट अभय, जीवन नाशगर्ने तत्त्वहरूबाट अभय । खान नपाए मरिन्छ; त्यसैले खान पाउने अधिकार मूल्यवान छ । कुन खाद्यपदार्थले किन र कसरी जीवन लम्बाउँछ वा छोट्याउँछ भन्ने ज्ञान पनि त्यसै कारणले महत्त्वपूर्ण छ । अनि अहंमात्रवादीतामा पुग्नुअगाडि आफ्ना कर्मले अरूको आयु लम्बिन्छ अथवा मन प्रशन्न हुन्छ भन्ने विश्वासले अनेकौं वर्त र धार्मिक रीतिरीवाजका थालनी भएका छन् । ज्ञानको मापदण्डमा कतिपय विश्वास अन्धो र तर्कहीन देखिन्छ । तर तर्कले पनि सम्भावनासम्म देखाउने हो । निश्चित ज्ञान यौटै छ – जन्मिएको मानिस एकदिन मर्छ । आगमनात्मक तर्कका वैज्ञानिक अपेक्षा आदति अनुभवमा उम्रिएको छ । मानव ज्ञानको सुनिश्चितता उपर धेरै दार्शनिकले प्रश्न उठाइसकेको अवस्थामा कसैले तर्क वा विज्ञानका आधारमा विश्वासभन्दा ज्ञान ठुलो भन्छ भने उसको विश्वासको कदर गर्ने सिवाय मेरो विकल्प रहँदैन ।
दर्शनको अभिप्राय ज्ञानको निश्चितता प्रमाणित गर्ने नै हो भने यो व्यर्थको चक्कर मात्र हो । बोध र बुझाई अनन्त छन् । यिनै विविधतामा आनन्द छ । पट्यार लाग्दो एकनाशको भावबाट मानिसको चंचल मनले बच्न पाएको छ । निश्चित मृत्युको सामुन्ने आफ्नो अमरत्वमा विश्वास राख्नु अन्धविश्वास हो, तर यसमा अति ठुलो मिठास छ । अनि, गणितीय ज्ञान तथ्यको पुनरूक्ति र विज्ञान संभावनाका अभिव्यक्ति मात्र हुन भने के मैले आफ्नै ह्दयको ध्वनिलाई प्रथमिकता नदिऊँ ? “हिंसा पाप हो !” भनेर चिच्याउने आफ्नो ह्दयको ध्वनिलाई कुन जीवशास्त्रले मानिस बराबर बोका प्रमाणित गरेको छ र म त्यसलाई सहजै नकारूँ ? म आफू भएर बाँच्नका लागि मेरा मूल्य र मान्यता, मेरा धारणा र झुकाव, मेरा प्राथमिकताहरूमा टेकेर उभिन नसकेको दिन म त्यस साधारणताको गर्तमा पर्छू जसबाट आफ्नो स्वत्व लिएर उठ्न मलाई निकै कठीन हुने छ । मेरा आधारसहितका विश्वास नै मेरो संपूर्ण विश्व हो । यस विश्वमा बाँच्ने क्रममा आएका बाधाहरू ती ज्ञान हुन् जसका अभिप्राय मेरा विश्वास बदल्नु रहेको देखिन्छ ।

साउन २७, २०६८
मैतीदेवी, काठमाडौं

No comments:

Post a Comment