Monday, January 17, 2022

कोही अलि छुच्चो भइदिए !


Public
कविताको कुरामा पनि काव्यात्मकताका समालोचकिय मान्यताप्राप्त मापदण्डहरू छन् । तिनका आधारमा कविता कविता हो कि ठट्ठा हो भन्ने कुरा छुट्टाउन केही हदसम्म सकिन्छ । जुनसुकै उद्गारलाई पनि कविता भन्ने र त्यसमै आनन्द लिने आदतले कालजयी काव्य सिर्जन संभव छैन ।
मैले फेसबुकमा निम्न हरफहरू राखेर प्रश्न गरेको थिएँ – के यी हरफहरूलाई कविता भन्न मिल्छ ? मेरो बिचारमा मिल्दैन किनभने यी हरफ त झिलिमिली मात्र हुन् । मैले मिल्छ भनेको खण्डमा मेरा मित्रजनले सही थाप्लान् र वावासमेत गर्लान् तर यसमा हरफ भाँचेको रूपबाहेक काव्य कहाँ छ ? खोई ?
                        नीलो आकाशको मुन्तिर
                        लहराएको हरियो फाँट
                                    कति सुन्दर छ ।
                        यसको किनारमा बसिरहन्छु,
                        हावा सिर्सिर बहिरहन्छ
                                    म विश्वलाई बिर्सिन्छु ।
आकाश र फाँटका रङ बताउँदैमा बिम्ब बन्यो त ? यो त मेरो पाँच वर्षे नातिले पनि बताउन सक्छ । उसमा र कविमा के फरक होला ? “कति सुन्दर छ” भन्दैमा त्यसको सौन्दर्य खुल्यो त ? भनिदिनु र वर्णन गर्नुमा अन्तर छ । मेचमा बस्नु र चहुरको किनारमा बस्नुले काव्यात्मकतामा अन्तर आउँछ र ? के “म मेचमा बसिरहन्छु” भनेको भए कम काव्यात्मक हुन्थ्यो यो ? बसेको त मेचमै थिएँ यी हरफ कोर्दा । वर्डस्वर्थले भनेझैं मेरो कल्पनाले चहुरको किनारा खेलाएवापत त्यही व्यक्त भयो । यस अर्थमा चहुरको किनारा उतार्दा काव्य बन्यो त ? अनि कल्पना त आयो नि भन्नुहोला । के मैले घरमा बसेर इन्द्रचोक सम्झिएँ भने म कवि बन्छु र ? अनि हावा बहने कुरा अर्को गफै हो । त्यो बहे पनि नबहे पनि बहेको थियो भन्नासाथै सुन्दर लाग्छ । हो काव्य पनि एक कथन परम्परा हो । तर हावासँग “सिर्सिर” शब्द आदतले नै पनि आउँछ, हैन र ? कति बनावटी कुरा छन् यी हरफमा ! कति इमान्दारीताको कमी ! “म विश्वलाई बिर्सिन्छु” भन्दा यस उक्तिमा ढोङ्गीपना देख्नुभएन ? विश्व त त्यही नीलो आकाश र हरियो चहुरमा सदृश छैन र ?
देखे पनि कसरी बताउनु ? यो त पाठकको समस्या हो । बिचरो पाठक ! उसले कविको नङ उक्किएर देखिएको मासु जस्तो कमलो ह्दय दुख्ला कि भनेर आलोचनात्म भाव जति लुकाएर वावा गरिदिन्छ । कविता लेखेँ भन्ने व्यक्ति दङ्ग पर्छ । लेख्नेको साहस बढ्छ । अरू त्यस्तै “कविता” लेख्छन् । कविता लेख्न कति सजिलो रहेछ भनेर अरूले पनि नक्कल गर्न थाल्छन् । नेपाली हाइकुको गति हेर्नुहोस् ! अनि त जे लेखेर कविता हो भनेर छापे पनि त्यो कविता बनिदिन्छ ! कस्तो चमत्कर छ यो ! यसै गर्दा त क्रमबद्ध रूपमा वनफँडानी व्याप्त हुन्छ । हामी एकअर्कोका अलि बढी माया गर्छौ । त्यसैले त हाम्रो अवस्था बेहाल छ । कार्यकारी कडा नहुँदा भ्रष्टाचार बढेझैं, शिक्षक कडा नहुँदा विद्यार्थी कमजोर भएझैं, समालोचक कडा नहुँदा साहित्य फितलो बन्छ । कोही अलि छुच्चो भइदिए ! कुनै समालोचकले छुच्चो नभए तापनि रित्तो प्रशंसामा लिप्त नभइदिए ! गुण र दोष देखाउनु इष्र्या गर्नु होइन । कडा भयो भनून्, तर समालोचकले सत्य मात्र बोलिदिए पनि साहित्यको अलि सुधार हुनेथियो । जहाँ समालोचक गुणगायक बन्छ त्यहाँ स्तरिलो साहित्यको अभाव पक्का छ ।