Tuesday, August 24, 2021

लाज हराएको देश

हो, यो “हल्लै हल्लाको देश” हो ।

अनि यो सपना देखाउने र देख्नेको देश हो ।

अनि यो भ्रमको खेति गर्नेको देश हो ।

साथै यो लुट्ने र ठग्नेले चलाएको देश हो ।


यहाँ मानिस जिउँदै ईंटाभट्टामा पोलिन्छन्,

अनि बलात्कृत भएर मारिन्छन्,

अथवा तुहिनका तार काटेर 

पार गर्दैगरेको युवालाई भेलमा खसाल्दा पनि 

प्रत्यक्षदर्शी जति मौन बनेर बस्नुपर्छ । 


यहाँ आगो र पानीले ज्यान जाँदा 

भाग्य यस्तै रहेछ भन्नुपर्छ ।

यहाँ खान नपाएर छटपटाउँदा

ईश्वरको इच्छा यस्तै रहेछ भन्नुपर्छ ।

यहाँ काम नपाएर विदेसिँदा

लास बनेर स्वदेश फिर्नुपर्छ ।

मालिकबाट कुनै दया भएको रहेछ भने

एक भोट भएर कसैको बाकसमा खस्नुपर्छ । 


विरोध जनाउनु महापाप हो ।

विरोध नजनाउनु जघन्य अपराध हो ।

तर हे दलहिन मानिस हो !

बुझ ! सत्यको सिधा बाटो समाउनु

महाशठपनाको अक्षम्य पाप हो ।


सिक ! सिक उनिहरूसँग बलियो बन्न ।

आफ्नै कर्तुत नकार्न, होइन भन्न ।

अदालत छल्न, शत्रु गाल्न,

शक्ति ढाल्न, 

आफ्नै घरमा आगो बाल्न,

गोटी चाल्न ।


नत्र 

तिमी केवल एक शीकार !

किन कि बाँचिरहेछौ यस्तो याममा

जहाँ सिङ्गो दुनियाँ आज

देखाइरहेछ नाङ्गो नाच, 

नाङ्गो नाच !


यो “हल्लै हल्लाको देश”मा 

मैलो भूमरीमा छ समाज 

किन कि हरायो यसले, 

कसरी कुन्नि ?

सम्पूर्ण लाज !


भदौ १, २०७८ 


No comments:

Post a Comment