Wednesday, April 10, 2024

आदि अणु

१. माटो व्युँती माटो बुझ्न
    प्रश्न उठाउँछ लाख ।
माटो के हो ? प्रश्न गरेपछि
यही क्षमताको जादू बुझ्ने
    मनमा उठ्दछ चाख ।

२. के माटोबाट प्रश्न उठेछ
    घाँस, विरुवा, बोट सरी ?
फूल माटो कि चेतन माटो ?
    बुझूँ समस्या म कसरी ?
अनुभवभन्दा तर्क छ सत्य
    भन्ने मेरो के आधार ?
अचूक सत्य मेरो निम्ति
    केवल दिलको प्यार !

३. सृष्टिकारक आदि अणुको
    विस्फोटनको भिक्षा यो
मानव जीवन ! प्रेम भनेको
    यसकै सिङ्गो दीक्षा हो ।
ब्रह्माण्डसँग यो फैलिजान्छ,
    जीवन लहरो अनन्त तान्छ,
मूल अग्नीको ज्वालाबाट
    जीवनदायी पानी तान्छ ।
यसले केवल दिलको तर्क
    मात्रै मान्छ, मात्रै मान्छ ।

 

- पद्म देवकोटा

 

No comments:

Post a Comment