Monday, March 5, 2012

एक्लो चिन्तन

पद्म देवकोटा

भीडमा मिसिन नचाहानु कायरता होइन, प्रवृत्ती हो । भीडले व्यक्ति भन्दैन; व्यक्ति भीडमा सजिलै हराउँछ । भीडले समूहको बलमा मूल्य, मान्यता, विवेक, तर्क, लाज सबै हराउँछ किनभने भीडको अन्तस्करण हुँदैन । भीडले लिएको निर्णय जिम्माविहीन र तत्कालै कार्यान्वयन हुने खालको हुन्छ । यसलाई न कानुनको आवश्यकता छ, न त्रास । भीड सजिलै उत्तेजित भइदिन्छ, यसको प्रत्येक दावी समूहको दवाबले सत्य नै कहलिन्छ, यसको आचरण सभ्यता–निर्मित कानुनभन्दा सँधै माथि रहिदिन्छ । भीडको नेताले सेतोलाई कालो हो भनेर दावी गर्यो भने भीडले हो भनिदिन्छ – उसले मन्चमा उभिएर फलाकेका मूर्ख कुराहरू सुनेर यौटाले ताली पिटेपछि भीडको अनुकरणात्मक आदतले ताली पिट्छ – बुझेर होइन कि विनासोच मानव कार्यको सहज र प्राकृतिक अनुकरणमा आदति समर्थन स्वरूप । भीड संख्यामा मात्र छैन, त्यस संख्याको स्वभाव र प्रवृत्तीमा छ ।
भीडको नेतृत्वबाट मुक्ति पाएर अरूले गर्दै आएका कुरा नगर्न सार्है कठीन छ । घुस नखान र नखुवाउन, झुठ नबोल्न, आर्काको मालसामान नचलाउन र यस्तै गलत आचरणबाट अलग्ग रहन यस कारणले कठीन छ कि हामी भीडले गरेको कुरालाई नसोचिकनै समर्थन गरिरहेका हुन्छौं । भीडको समर्थन हाम्रो विचारशून्यताको सबैभन्दा प्रष्ट द्योतक हो । हामी भीडमा आफ्नो विवेक हराउँछौं, अन्तस्करण हराउँछौं, ह्दयनै पनि हराउँछौं । पानीमा घोलिएको चिनीको दाना जस्तो हामी भीडमा भीड बन्छौं । त्यसले जे सोच्छ, त्यही सोच्छौं; त्यसले जे गर्छ, त्यही गर्छौं ।
अनि एकान्तमा हामीले हाम्रो आचरण र सोचका बाह्य समर्थन नपाएपछि आफ्नै आत्मासँग कुराकानी गर्ने फुर्सद पाएर बस्दा हजारौँ प्रश्नका तीखा चुच्चाले बिझाएर जो छट्पटाउँछ त्यो जिउँदो मानिस हो । अरू त मरिसके किन कि भीडको आचरणमा भीरबाट सामूहिक आत्महत्यामा हाम्फाल्ने भेंडा जस्तै त्यो व्यक्ति अब व्यक्ति छैन जसको न विवेक छ, न अन्तस्करण, न ह्दय । भीडको आदेश पालना गरेर कुनै आर्को व्यक्तिलाई निर्घात कुट्ने हातले अब आफ्नो बच्चाको गाला कसरी मुसार्ला ? भीडले दिएको आदेश अनुशार आर्को व्यक्तिलाई सक्दो पीडा दिएर मार्ने ह्दयले अब आफ्नो परिवारलाई कसरी प्रेम गर्छु भन्न सक्ला ? भीडको आचरण अपनाइसकेको व्यक्तिले न आफूबाट न अरूबाट सभ्य र शिष्ठ आचरणको संभावना देख्छ । भीडमा विलाउनु मानवता गुमाउनु हो ।
समाज भीडभन्दा फरक कुरा हो । समाज सामूहिक नैतिक आचरण र सभ्यताको निम्ति सोचमा डुब्न सक्छ । संवेगभन्दा छलफल, तर्क, सोच र सतर्कताकासाथ समझदार निष्कर्शमा पुगेर सामूहिक हितको चिन्तन गर्छ । भीडमा व्यक्ति नाश हुन्छ भने समाजमा व्यक्ति खारिन्छ र उसको व्यक्तित्वको विकाश हुन्छ । समाजले व्यक्तिलाई पथनिर्देशन गरिरहेको हुन्छ जसरी कि व्यक्तिले समाजलाई सभ्यता जोगाउन आग्रह र सहायता गरिरहेको हुन्छ ।
तरै पनि व्यक्तिको पूर्णता चम्किन समाज मात्रले पुग्दैन, एकान्त पनि चाहिन्छ । समाज त्यो बाहिरी आधारमात्र हो जसको समर्थनले व्यक्तिको सोच र व्यबहारलाई कुनै दिशातर्फ प्रोत्साहन गर्छ । व्यक्ति छरिन चाहान्छ, समाजले उसलाई एकत्रित हुन सिकाउँछ । व्यक्ति पोखिएर वरीपरी बग्न चाहान्छ, समाजले उसलाई एकै ठाउँमा संकलित भएर गहिरिन सिकाउँछ । व्यक्ति उड्न चाहान्छ, समाजले उसलाई सामूहिक हितका लागि धर्तीमा नै उभिन सिकाउँछ । व्यक्ति अनन्त संभावनालाई केलाएर सबै प्रकारका अनुभव स्वीकार्न चाहान्छ । उसकालागि जीवन अनुभूतिको लहर हो, ताँती हो, जसको लामबद्धतामा विभिन्नता, फरक स्वाद, नयाँ मिठास, अनौठो र अप्रत्यासित रम्रम् जति प्रचुर छ जिउनुको अर्थ उति चर्किएको हुन्छ । व्यक्ति बाँच्न चाहान्छ र बाँच्नु भनेको नदीझैं बग्नु हो, बादलझैं बाक्लिनु र पातलिनु हो, हावाझैं तरङ्गिनु हो । व्यक्ति बाँधिन चाहाँदैन; उसको लागि बन्धन मृत्यु हो, स्वतन्त्रता जीवन हो । ऊ बोल्न चाहान्छ, हिड्न चाहान्छ, सुत्न चाहान्छ, नयाँ बिहानीमा लामो र मिठो स्वास फेर्दै आँखा खोल्न चाहान्छ, परिवारको प्रेममा रमाउन चाहान्छ, सुरक्षा चाहान्छ, अभय चाहान्छ, विश्व डुल्ने स्वतन्त्रता र अवसर, सुविधा र मिठास चाहान्छ । समाज उसलाई सँधै अरू अलिकति त्याग गर्न प्रोत्साहन गरिरहन्छ, उसको प्रवाहको दुइतिर किनारा बाँधेरै राख्न चाहान्छ । तर जब समाज उसको प्रवाहमा बाधा बन्न थाल्छ व्यक्तिले त्यस समाजलाई नै त्यागिदिन्छ र आर्कै विश्वमा छाँगा झरिदिन्छ किनभने उसको जिउने जन्मसिद्ध अधिकारको विरुद्ध ठडिएका सारा बाधक तत्त्वहरू नकार्नु वा भत्काएर अगाडि बढ्नु उसको नदी–स्वभाव हो । उसलाई डाँडा र मैदानका निर्जन र प्राकृत रफ्तार प्यारो लाग्छ ।
समाजको काम व्यक्तिको जीवनमा बाधा ठडाउनु होइन । लेनदेनको क्रममा समाजले व्यक्तिलाई स्वतन्त्रता र मानव अधिकार देओस्, व्यक्तिले समाजलाई आफ्ना भावनाका खुश्वु दिन्छ । समाजले व्यक्तिलाई अन्न, कपडा र वास देओस्, व्यक्तिले समाजलाई आफ्नो सच्चा परिश्रम दिन्छ । समाजले व्यक्तिलाई अवसार देओस्, व्यक्तिले समाजलाई आफ्नो क्षमता अनुसारको देन दिन्छ । तर जब लेनदेन एकतर्फी हुन खोज्छ, जब समाज र त्यसले सिर्जिएको राज्यव्यवस्थाले व्यक्तिको शोषण गर्दै उसलाई न हिंड्न सडक, न पढ्न विजुली, न पिउन पानी, न खान अन्न दिन्छ, तव व्यक्तिले पनि यस्तो समाजलाई त्यागेर विदेशिन्छ अथवा सशस्त्र अमानवताको मार्ग अपनाउँछ । जब राज्यको करले व्यक्तिको ढुकुटीमा छाम्छाम् छुम्छुम् गर्छ र त्यहाँबाट उठाएको सम्पतिले सुविधा दिन चाहाँदैन वा सक्दैन, त्यो दिउँसैको डँकैति हो । जब शिल्प, शिक्षा र चेतनाको अभावमा न्यायसमेत निदाउँछ, यस दुर्दशामा व्यक्तिले बाँच्नका निम्ति सोचेका उपायहरूउपर राज्यले बोल्ने अधिकार छैन किनभने राज्य आफैं चुकिसकेको छ ।
यसरी चुकेको राज्यको नागरीक आफ्नै मुलुकमा विरानो भएको अनुभव लिएर एक्लिएपछि ऊ एक्लो चिन्तनमा लाग्छ – त्यस्तो चिन्तन जुन भीडले गरेको भन्दा फरक भएकोले असामयिक छ । भीड दैनिक भौतिक खानपान, समाचार माध्यमको बुई, दौलतको प्रदर्शन, छद्म–विद्वताको धाक, शक्तिको प्रकाश र खोक्रो सफलताको रवाफमा प्रशन्न मुस्काइरहेको बेलामा व्यक्ति एक्लो चिन्तनमा तरङ्गिइरहेको हुन्छ – “यिनीहरूले भन्दैमा हुन्छ र ? सत्य आर्कै छ ! भौतिक सम्पन्नताभन्दा भावनाको श्रीसम्पतिमा मानिस हुनुको अर्थ अझ प्रगाढ छ । सच्चा शक्तिकेन्द्र व्यक्तिको ह्दय हो जसको पवित्रता र संवेदनशीलतामा मानव सभ्यता आश्रित छ । आफैंप्रतिको इमान्दारीता हराएको मानिसको भीड कहिल्यै पनि सभ्यताको त्यो स्वर्णयुगतर्फ फर्किन सक्ने छैन जहाँ उदार मानवतावादले प्राणी मात्रको जयलाई जिवनको लक्ष देख्न सकोस् । आजको यिनीहरूको विद्वता पाखण्डीको सपना हो; सद्भावको स्वर्णप्रभामा मानवताको सार छ ।”

जेठ ३०, २०६८

No comments:

Post a Comment