Monday, May 14, 2012

चिन्तकको साम्राज्य


पद्म देवकोटा


                डब्ल्यु.बि. येट्सले बाइजन्टियमलाई आफ्ना कवितामा कलाको राजधानीको रूपमा प्रस्तुत गर्दै त्यसको बादशाहको बैठक सजाउन राखिएको सुन र चाँदीले बनेको रूखको हाँगामा अनन्त मिठो गीत गाउने सुनको चराको रूपमा आफूलाई प्रस्तुत गरेका छन् । यस कहिल्यै नखिइने, नउग्लिने, ननाशिने धातुमा अमरत्वको प्रतीक पाएका कविले प्रकृतिउपर कलाको विजयलाई मानवजातकै श्रेष्ठ उपलब्धी ठहराएका छन् । अमरत्व जीवनको आदर्श हो । मृत्यु र नाशवान प्राकृतिक वस्तुहरूको यथार्थउपर स्थायित्व र अमरत्वको प्रलोभनले डोर्‍याएका मानव कर्महरूका ताँती असंख्य छन् । हामी जीवनको मात्र होइन, सुख, शान्ति, आरोग्य, श्रीसम्पति, शक्ति र प्रभाव, धाक र इज्जत, सबैको स्थायित्व चाहान्छौं । तर ह्दयको अन्तरमा हामीले ढाकेर राखेको यौटै अकाट्य सत्यको प्रकाशले हामीलाई सम्झाउन छोड्दैन, “म महाकाल हूँ ! म तिमीलाई कुनै पनि बेला बोलाउन सक्छु । अनि तिमी तिमी रहँदैनौ !”
                निश्चित मृत्युको सामुन्ने सबै मानव कर्मको व्यर्थता पाउने नास्तिक अस्तित्ववादले मृत्युपछिको घोर अन्धकारमा ज्योतिको झिल्को नभेटेकैलै माटोको डल्लो र मानिसको डल्लोमा फरक देखेन । देख्यो त विषादमय अस्तित्वमा कर्मको आवश्यकता मात्र । उसका लागि जीवनको अर्थ नै दु:ख बन्यो । जीवन त पत्थरकै पनि छ ! पृथ्वीकै पनि छ ! मानिसको र माटोको जीवनको अन्तर पारिभाषिक मात्र हो । जीवन हुनु र नहुनुभन्दा जीवितको संभावना प्रयोग हुनु र नहुनु महत्त्वपूर्ण कुरा हो । यस अर्थमा माटोको बाँझोपन र मानिसको बाँझोपन यौटै हो । हामीलाई उर्वरता सुन्दर लाग्छ, सृष्टिझैं सिर्जना सुन्दर लाग्छ । हाम्रो ह्दयदेखिनै आफूले सोचेको वा अनुभव गरेको तर सुन्दर अभिव्यक्ति दिन नसकेको कुरा आर्कोद्वारा अभिव्यक्त भएको पाउँदा उसप्रति यौटा यस्तो श्रद्धाभावको फोहोरा छुट्छ जसको पोषणमा स्रष्टाहरू अझ फस्टाउँछन् । सिर्जनात्मक अभिव्यक्तिहरू यसैले पनि निश्चित मृत्युउपरका ससाना विजय जस्ता लाग्छन् ।
                यसरी आफूले नसोचेको वा सोच्न नसकेको कुरा सोचेर बस्ने आर्को बेग्लै समूह छ जसले चीसो माटोको डल्लो र ह्दयको अन्तरमा छिपेको ज्योतिको सम्बन्ध बारे धेरै सोच र तर्कमा एक्लो घोत्ल्याईंका प्रशस्त क्षण बिताएको छ । यस समूहले आफू र विश्व बुझ्ने प्रयासमा त्यो छत्यो छैनको विवादमा युगौं युग बिताएको छ, तर्क दोहोराएको  छ, विश्वास कसेको छ अथवा मानव अवस्था, सामाजिक आवश्यकता र सांस्कृतिक सौन्दर्यलाई लिएर शब्दको प्युरी प्रशस्त कातेको छ । आफ्नो दृष्टिकोण स्थापना गर्न बौद्धिक उर्जा खर्च गर्दै केवल चिन्तन सपार्न जीवन अर्पण गरेको छ । ज्यानको बाजी नलगाईकन सिकन्दर बादशाह भएका छैनन् । सामुद्रिक आँधि र छाल नखेपिकन बेलायतले विश्वविजेता बन्ने कल्पना गर्नु दिवशस्वप्ना हुने थियो । ज्यानको बलिदानले मात्र साम्राज्यको संभावना खोलेको छ । चिन्तनको उँचाईमा जीवन अर्पिने नेपालीको टडकारो अभाव आजसम्म पनि हामीलाई नमिठो लाग्छ । तर विश्वमा चिन्तकको कमी छैन । उनिहरूको अस्तित्व बोध गर्ने तरीकाले चिन्तकको साम्राज्यको चंचल सिमाना कोर्छ । अनि यी चिन्तकहरूको उँचाइमा पुग्न नसकेवापत सँधै आफ्नो रूमल्लिएको दिमाग तल्लो श्रेणीको रहेको तीक्त अनुभवमा छट्पटाउने एकथरी मानिस छन् जसलाई न प्रकृतिले आशीर्वाद दियो न मिहेनतले गन्तव्यसम्म पुर्‍यायो । अनि जति पढे पनि उनिहरू शायद चिन्तनको उपनिवेशमा आफ्नो स्वावलम्बन निस्सासिएको अनुभव गर्दाहुन् ।
                वस् ! यही निस्सासिएको क्षणको अनुभव गर्दै एक दिन एक जना बुद्धिमान र पढ्न रूचाउने व्यक्तिले मसँग प्रश्न गर्नुभयो, “के यी चिन्तकहरूले हामीलाई दाश बनाएका हैनन् ? ... एक प्रकारले ? आखिरमा दृष्टिकोण र परिभाषा बाहेक केही पनि छैन ! हजारौँ अपठितले सरल पाराले बताएकै कुरा कुनै ख्यातिप्राप्त चिन्तकको मुख वा कलमबाट जटिल भएर निस्कियो भने हामी त्यसलाई सुनको अक्षरमा कुँदेर राख्छौं । कसले भन्यो भन्ने कुराले शक्तिको खेलमा ठूलो महत्त्व पाएको जस्तो मात्र लाग्छ । अन्त्यमा मृत्यु (वा प्रकृतिको चक्र) मात्र सत्य हो । यस सन्दर्भमा हामी सबै समान छौं ।यस्तो अभिव्यक्ति मानिसले पढेर मात्र के हुन्छ भन्ने छलफलको सिलसिलामा निस्किएको थियो । जति ज्ञान हासिल गरेको भए तापनि सभ्यताको विकाशशब्दजालमै अड्किएको साझा अनुभव बाँढ्दै अन्त्यमा मानव जैविक गुणहरूको यथार्थ विरूद्ध बौद्धिकताका भाषिक निर्माणहरू सार्‍है कमसल भएको तथ्य हामी दुवैले स्वीकारेका थियौं । तर उहाँको यस तर्कले मेरो मनमा आर्को प्रश्न उठायो, “दाश बनाइन्छ कि बनिन्छ ?”
                जो नाइजेरियाको शिशुवालीमा उत्पादित नवजात दाश होइन, त्यसको आत्मालाई कसैले पनि उसको इच्छाविरूद्ध दाशत्व स्वीकार्न लगाउन सक्दैन । दाशत्व स्वीकार्न बाँच्ने बाध्यताले आत्मसम्मान मेटेको अवस्था आवश्यक पर्छ । दैनिक जीवन धान्न धेरै शिक्षण संस्थामा एकै पटक कुदिरहेका वा कुद्न बाध्य भएका पेशेवर अध्यापकहरू चिन्तकका साम्राज्यका एक थरी दाश हुन् किनभने उनिहरूले ती चिन्तकका प्रचार गर्ने र उनिहरूले भनेका कुरा दोहोराउने जागीर पाएका छन् । सालैपछि आर्कोको विचार (त्यो पनि बराबर अस्पष्ट र गलत पाराले) दोहोराएर एक प्रकारको आत्मसन्तुष्टि लिनुलाई कुन विषेशण प्रयोग गर्दा ठीक होला ? चिन्तनको प्रतिध्वनीमा सक्कली स्वरको सुरीलोपन र स्पष्टता रहँदैन । कोहीकोही त कुनैकुनै चिन्तकका अनुयायी पनि बन्लान्, तर नव प्रयोगका शब्दबाढीमा तरङ्गिन शिपालु कैयन छद्मविद्वानका नियमित अस्पष्ट अभिव्यक्तिमा पाश्चात्य चिन्तनका कुइरोलाई आफ्नोपन दिने प्रयाससम्म पनि छैन भने यिनीहरू ती चिन्तकका साम्राज्यले प्रयोग गरेका व्यक्ति हुन् जसको न आफ्नो स्वतन्त्र विश्व छ, न आफ्नो स्वत्व ! यी सब चिन्तकको साम्राज्यका दाश हुन् किनभने यिनीहरूले चिन्तकलाई मालिक वा कप्तान देखेका छन् जसका आदेश पालना गर्नुमा उनिहरूको परिचय स्थापित रहेको, जसका तर्क दोहोर्‍याउनुमा उनिहरूको बौद्धिकता झल्किएको र जसका नाम उच्चारण गर्नुमै पनि उनिहरूको मार्यादावृद्धि भएको उनिहरूलाई नै अनुभव हुन्छ । त्यसैले यस वर्गमा त्यो सामाजिक नेतृत्व दिन्छु भन्ने समूह पनि थप्न सकिन्छ जसले आयातीत चिन्तन लागू गरेर राष्ट्र बनाउन अगिसर्छ । बेलायत आयातीत चिन्तनले साम्राज्य बनेको होइन । हजारौँ शताद्वीको चिन्तन र अनुभवले भित्रैबाट पुष्ठ र खँदिलो बन्दै आएको सभ्यताको नमुना हो । नेपालमा भने हरेक आवश्यक वस्तुझैं राष्ट्रनिर्माणका लागि दर्शनसमेत महँगो भाँढा तिरेर भित्र्याउनु परेको छ किन भने यहाँ चिन्तनको अभाव र पेट्रोलियम पदार्थको अभाव यौटै छ । बाँच्नु पर्ने बाध्यताले जसरी नेपाल आर्थिक उपनिवेश बनेको छ, चिन्तनको अभावले साँस्कृतिक उपनिवेश बनेको छ । यसको श्रेय छद्मविद्वताका प्रमाणपत्र किनबेच गरेर बस्ने आजको सिङ्गो जमातलाई जान्छ ।
                दाशत्व स्वीकार्नु भनेको आत्मा बेच्नु हो, आफैंलाई धोका दिनु हो, अवशरका नाचमा लुगाफेरे झैं मूल्य र मान्यता बदल्दै हिंड्नु हो । चलन चल्तीको सामान्य आचरणभन्दा माथि उठेर आफ्नो ह्दयको निणर्य अनुशार आफैंले रोजेका मूल्यहरूको समर्थनमा स्वार्थ, आर्थिक प्रलोभन र पदलोलुपता त्यागेर आफ्नो सिद्धान्तमा अडिग हुनु चरित्रनिर्माण गर्नु हो । मलाई कुनै पनि अवशरवादीभन्दा इमान्दार चोर चरित्रवान् लाग्छ । ईमान गुमाएका नेता, करोडपति, डाक्टर, प्राध्यापक वा कोही पनि किन नहुन, यी सारा दाश हुन्  किनभने उनिहरू आफ्नै चरित्रका मालिक कहिल्यै हुन सकेनन् । शिक्षाद्वारा समाजलाई मार्गनिर्देशन गर्नु पर्ने वर्गले त इमान गुमाएको छ भने नेपालको चिन्तक र आइसलण्डको सर्पमा के फरक ? अरूलाई र परिस्थितिलाई जति दोष लगाए पनि आत्मा स्वेच्छाले बेचिन्छ बाँचिरहने इच्छाले, आर्थिक वृद्धिको लोभले, ख्यातिको प्रलोभनले । स्वार्थत्याग गर्न सक्नेले आत्मा बेच्ने बाध्यताको अनुभवसमक्ष घुँडा टेक्दैन । सिसिफसको इच्छाशक्तिले निरर्थक कार्यको बाध्यता जस्तो सजायलाई स्वेच्छिक कर्ममा परिवर्तन गर्न सके वापत उसलाई मुक्तिको अनुभव मिलेथ्यो । ऊ सच्चा सम्राट हो । सम्राटले आफूलाई बुझेको हुन्छ । उसका इच्छा र आवश्यकता आफ्नै अधिनमा हुन्छन् र यिनका सीमारेखा प्रष्टसँग कोरिएका हुन्छन् । यस्तो व्यक्तिले मात्र आफ्नो घाम छेक्ने सिकन्दरलाई हट्ने आदेश दिन सक्छ । भौगोलिक क्षेत्र उपरको विजय हासिल गर्ने सेनाबलका सम्राटभन्दा ऊ अझ टिकाउको बादशाहा छ । ऊ न अरूलाई बेच्छ, न आफू बेचिन्छ । ऊ बाँच्नुको बाध्यतामा कसैको दाशत्व स्वीकार्दैन ।
                परिस्थितिलाई जति दोष लगाए पनि आत्मा स्वेच्छाले बेचिन्छ, बाँचिरहने इच्छाले बेचिन्छ । आफू र जगत् बुझ्ने प्रयासमा दशकौंको त्याग र तपस्याले खारेको साधारण दिमागले अझै पनि त्यो अद्भूत बोधिसत्वमा पुर्‍याउँदैन जहाँ नयाँ रहस्य खुल्दाको मादले रुमाल बेरिएर राजाको बैठकमा फेला पारें ! फेला पारें !” को गीत गाउँदै विद्वता उपस्थित हुन्छ । यसको निम्ति प्रतिभै चाहिन्छ । तर यसरी उपस्थित भइसकेको विद्वताले त्यस राजाउपर तुरुन्तै विना बन्दुक, विना तरवार, विना सेना विजय प्राप्त गरिसक्यो जसको कारणले ऊ सम्राट बन्न पुग्दछ । स्नानघरबाटै विश्व जित्नु चमत्कार हो, मानव जादूको अनुपम उदाहरण हो । यसैले यो श्रद्धेय छ, पूजनिय छ । आस्थावानले साकार प्रभुको दाश बन्न पाउनु गौरवको कुरा ठानेझैं हामीलाई यस प्रकारका जीवित मानवजादूका दाशत्वदाशत्व नलाग्न सक्छ । सच्चा श्रद्धाप्रेरीत आत्मसमर्पणलाई दाशत्व भन्न नमिल्ला !
                तर अमूर्त ईश्वरको पूजासेवा र जीवीत व्यक्तिको पूजा यौटै हुन सक्दैन । एकातिर मानववादका ती क्षण थिए जहाँ गुरु देवो भव:को आदर्शले शिष्य अनुशासित थिए । अनि चसरलाई बेलायतका होमर भन्न पाएर अङ्ग्रेजहरू दङ्ग थिए । माओ चेतुङ्गको चिहान अघिल्तिर उभिएर भगवान भेटेको अनुभव गर्ने मानिस जीवित छन् ! आर्कोतिर प्रतिभापूजनको नेपालमा फस्टाएको संस्कार विश्वका कतिपय मुलुकमा प्रतिभाकदर मात्र रहेको छ । व्यक्तिपूजाको अन्त्यमा आधुनिकताले प्रतिमानववादको पुष्टी गरेको छ भने प्रतिमानववादभित्र मानववादका जरा यसरी झ्याङ्गिएका छन् कि मानववादको गौरव केहीले पनि घटाउन सक्दैन । तर आजको चिन्तनले व्यक्तिपूजा नकारिसकेको अवस्थामा चिन्तक यस अर्थमा मात्र सम्राट छ कि ऊ अरूले पुजा गरेर होइन कि आफ्नै चिन्तनको आश्रयमा जीवित छ, उच्च छ, श्रद्धेय छ । श्रद्धेय यसकारणले छ कि ऊ कहिल्यै पनि तिमी सुन ! म भन्छु !” भनेर बस्दैन । त्यसैले प्रत्येक ह्दयले उसका चिन्तन श्रद्धाको सुनले लिपिवद्ध गरिदिन्छ । ऊ आफ्ना विचार अरूउपर लादेर म ठीक छु ! मैले भने अनुशार विश्व चल्नु पर्छ !” भन्दैन । ऊ आदेश दिंदैन, इसारा गर्छ । ऊ आफ्ना चिन्तनका शीखर भाषामा मानवताका लागि उतारेर अन्य चिन्तनका शीखरहरूको खोजमा लाग्छ । उसका विचार र अभिव्यक्तिले टेकेका ठाउँहरू उसको साम्राज्य हो । उसको साम्राज्य देश र कालमा यसरी फैलिएको छ कि त्यसको विरोधमा आएको चिन्तनले यसकै बलबाट अस्तित्व पाउँछ । रावण बलियो शत्रु नभएको भए रामको गाथा लेखिने थिएन । तर रामको विजयले रावण माटोमा मिलेको छैन ।
                तर मसँग प्रश्न गर्ने विद्वानको आशय यति मात्र थिएन । सक्रेटिसदेखि रिचर्ड रोर्टीसम्म दर्शन र विज्ञानका खोज समाप्त नभएको सन्दर्भमा मानव सभ्यताका रूपान्तरणहरू जति अध्ययन गरे पनि लोभ, काम, मोह, ईष्र्या, आदिका जैविक यथार्थ सही शिक्षामार्फत अनुशासनमा राख्ने मानव प्रयास निरन्तर विफल भएको सन्दर्भमा चिन्तनको अर्थ र उद्धेश्य कसरी बुझ्नु पर्ला ? कुनै पनि चिन्तनको दैनिक जीवनसँग सम्बन्धविच्छेद गरिदिने हो भने त्यसको अर्थ लाग्न छाड्छ । त्यसैले हाम्रा पुस्तकालयले ती चिन्तन र सिर्जनाको संकलन राख्छन् जसको मानव समाजसँग कुनै नकुनै रूपमा सान्दर्भिकता बाँकी छ । यही सान्दर्भिकता बाँकी भएकोले यसका पाठक छन् । तर पढेर मात्र के हुन्छ र ? हजारौँ वर्ष अगाडीका वा आजकै चिन्तन पनि पढेर, बुझेर मात्र पुग्दो रहेनछ । हाम्रो परिचय, हाम्रो अस्तित्व, हाम्रो महत्त्व वा सामाजिक उपयोगिता ती चिन्तनका पक्ष वा विपक्षमा उभिएर मात्र होइन कि थप चिन्तन गरेर र आफ्नै अनुभवका आधारमा थप निष्कर्शमा पुगरे अर्थात् मानव ज्ञानको वृद्धि गरेर मात्र प्रष्टिंदो रहेछ । त्यसैले मैले ती विद्वानलाई आफूले गर्न नसकेको कुरा जवाफको रूपमा बताएँ, “चिन्तकको साम्राज्यमा उपयोगी वासीन्दा ती हुन् जसले आफ्ना अनुभवका आधारमा आफ्ना् सोचलाई यी सम्राटका कसीमा तीखार्दै लैजान्छन् । यहाँ दाशत्व हैन, आत्मअभिव्यक्ति महत्त्वपूर्ण कुरा हुन जान्छ । यौटा किताब पढेर यौटा लेख नजन्माउने व्यक्तिले जीवनको संभावना खेर हालेको हुन्छ ।
                यस विश्वमा यति धेरै पुस्तकहरू छन् कि ती सबै पढेर साध्य पनि छैन । त्यसैले फ्रान्सिस बेकनले भनेझैं कुनै पुस्तक चपाउनु पर्छ, कुनै निल्नु पर्छ, कुनै पचाउनु पर्छ । बेकन बेलायतको त्यो मानववादको मध्ययुगमा लेखिरहेका थिए जसले मानिसलाई भाषागत् दृष्टिकोणबाट हेरेर ऊ बोल्ने प्राणी भएकोले राम्ररी बोल्न सक्नुमा मानिसको क्षमता देख्थ्यो । राम्ररी तर्क प्रसारण गर्न सक्नु वक्ताको मानवीय क्षमता भएको हुँदा यस क्षमताको सबैभन्दा राम्रो विकाश पढेर हुन्छ भन्ने निष्कर्शमा पुगेको त्यस युगले किन पढ्ने ?” भन्ने प्रश्नको यौटा सही उत्तर दिन सकेको थियो । यस अर्थमा पढाईले दाश बनाउने भन्दा स्वतन्त्रता दिलाउने उद्देश्य राखेको हुन्छ । उच्च चिन्तनका हजारौं राजमार्ग मध्ये कुन चाहीँमा चल्ने हो भन्ने निर्णय लिने मानिस दाश हुन सक्दैन । कुनैमा पनि नहिंडेर आफ्नै बाटो बनाउनेहरू भने दुर्लभ छन् ।
                यसैगरी बीसौं शताद्वीले ज्ञान बराबर शक्तिको गणितीय निक्र्यौल प्रस्तुत गर्दै पढ्नुको आर्को उद्देश्य बतायो । सूचना, जानकारी, घटनाबोध आफैंमा केही नहोलान्, तर व्यक्तिउपरको यिनका प्रभावले समाज र संस्कृति बदल्दै जाने भएकाले यी सूचना, जानकारी, घटनाबोध उपरका चिन्तन बारे पढ्नु आवश्यक भइदिन्छ । अन्त्यमा हाम्रो भाषा हाम्रो स्वभाव हो; हाम्रो स्वभाव हाम्रा विश्वास, प्रवृत्ती, धारणा, घृणा र प्रेमका समष्टिगत स्वरूप हो । सिंहको छाला ओडेर मुख नखोल्ने गधाले विश्वलाई झुक्याइरहला, तर जो मानिस आँगर्छ, उसले आफूलाई नचिनाउन असमर्थ छ ।
                तव त चिनिनु नै छ यस चिन्तकको साम्राज्यमा भने किन यही साम्राज्यकै शिक्षित वासीन्दाको रूपमा नचिनिनू, आफूलाई अभिव्यक्त गर्नु नै छ भने चिन्तनको तहमा नउक्लिएर मझौलो र कुरौटे बन्दै टेबुल गफ र हिस्सिट्युलीका जुठा शब्दका छिटा किन छर्नु ? किन चरित्रहत्याको मार्ग अपनाउनु ? किन देखासिकीमा ओर्लिनु ? क्षमता भएका मानिसले ती वाणी बोलुन् जसले चिन्तकको साम्राज्यमा यी पनि वासीन्दा हुन् भन्ने बताउन् । नत्र मृत्युको एक्लो सत्य विरूद्ध लाखौं झुठले विजय पाउने आसा इत्ती पनि छैन ।

आषाढ २०, २०६८

No comments:

Post a Comment